प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति

प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते संसदको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिने क्रममा संसदको रोष्टममा उभिएर नेपाल भारत सीमा विवादको विषयमा अत्यन्तै गम्भीर,आपत्तिजनक, सार्वभौमिकता विरुद्धको र राष्ट्रघाती अभिव्यक्ति प्रकट गरेका छन् । प्रधानमन्त्रीले आफु प्रधामन्त्री भए पछि नेपालले भारतको भूमि मिचेको रहेछ भन्ने थाहा पाएको भन्ने अभिव्यक्ति दिएका थिए । नेपालले कही कुनै भारतसँग सीमाना जोडिएका स्थानहरुमा सीमा मिचेको छ भन्ने तथ्य र प्रमाणहरु पाइँदैनन् । देशको प्रधानमन्त्रीको तथ्यहीन तथा आधारहीन अभिव्यक्तिले नेपाल र नेपाली जनताको शिर नुघाएको छ । नेपालले भोगेको भारतको सीमा अतिक्रमण र सीमामा नेपालीले बारम्बार भोग्नु परेको अन्याय, अत्याचार, भारतीय सीमा सुरक्षा बलले सीमानाका नागरिकमाथि गरेको अत्याचारको कम आँकलन गर्ने काम भएको छ । देशकै प्रमुखबाट अन्तर्राष्ट्रिय रुपमा नेपाललाई विस्तारवादी ठहराउने काम भएको छ ।
नेपाल भारतको सीमा विवाद सुगौली सन्धि पछि नै शुरु भएको विवाद हो,नेपालका भारतसँग सीमा जोडिएका जिल्लाहरुमा कहीँ न कही भारतले सीमा मिचेको छ । नेपालको भारतसँग २६ जिल्लामा सीमा जोडिएको छ । ती जिल्लाहरुमध्ये २४ वटा जिल्लामा भारतले सीमा मिचेको सीमा सम्बन्धी जानकारहरु बताउँछन् । भारतले नेपाली भूमि ६ सय ६ वर्ग किलोमिटर नेपाली भूमि विभिन्न ठाउँमा मिचेको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतले ३७२ वर्ग किलोमिटर ,नवलपरासीको सुस्तामा एकसय पैंतालिस वर्ग किलोमिटर, र अन्य स्थानहरुमा ८९ वर्ग किलोमिटर सीमा भारतले मिचेको सीमा सम्बन्धी जानकारहरु बताउँछन् । सीमा जोगाउने क्रममा भारतीय सुरक्षाकर्मीबाट नेपालीहरुको ज्यान सम्म गएको छ । सीमा मिचिएको विरोधमा कार्यक्रम गर्दा भारतीय एसएसवीको गोलीबाट कञ्चनपुरका गोविन्द गौतमको २०७३ फागुन २६ गते ज्यान गएको थियो । सीमामा रहेका नेपाली नागरिकहरुले भोग्नु परेका हेपाहा प्रवृतिहरु त कति छन् कति ?
नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा अतिक्रमण गरी भारतीय पक्षले एकतर्फी रुपमा भौतिक संरचनाहरु निर्माण गर्दै आएको छ । त्यस्तै नेपालको सुस्तामा भारतीय अतिक्रमण तीव्र रुपमा बढेको छ । ऐतिहासिक प्रमाण, नक्सा तथा अध्ययन अनुसन्धान,सर्वेक्षणहरुले नेपाली भूमि भारतीय पक्षबाट बारम्बार अतिक्रमणमा परिरहेको तथ्यहरु बोलिरहेको छ । नेपाली राजनीतिक तथा कुटनीतिक क्षेत्रमा नेपाली भूमि मिचिएको तथ्य र प्रमाणहरु पर्याप्त रहेको अवस्थामा प्रधानमन्त्रीले राष्ट्रहित विपरीत दिएको राष्ट्रघाती अभिव्यक्ति आफुलाई नेपाली हुँ भन्नेले दिने अभिव्यक्ति होइन । यो अभिव्यक्ति आत्मघाती, राष्ट्रघाती र भारतलाई खुशी पार्नकोलागि दिइएको अभिव्यक्ति हो ।
प्रधानमन्त्रीको अभिव्यक्ति आउने वित्तिकै भारतीय संचार माध्यमहरुले नेपालका प्रधानमन्त्रीको प्रसंशा गरिरहेका छन् । नेपालको सबैभन्दा ठूलो दल रहेको पार्टी रास्वपाको अध्यक्ष पाँच दिने भारतको भ्रमणमा जानु भन्दा एक दिन पहिले प्रधानमन्त्रीको यस किसिमको अभिव्यक्ति आउनु निकै दुःखदायी छ । रास्वपा भारतको दलाली गर्न लागेको यो अभिव्यक्तिबाट प्रष्ट हुन्छ । विगतमा सत्तासीनहरु जुनसुकै प्रकारको दलाली गरेर भए पनि सत्ता टिकाउन खोजेका थिए । अहिले रास्वपाको वालेन सरकार पनि त्यो भन्दा पनि तल गिरेर सत्ताकालागि राष्ट्रहित विपरीतको अभिव्यक्ति दिन पछि परेको छैन ।
प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति पछि सीमानाहरुमा वर्षौंदेखि संघर्ष गरेर नेपालीको राष्ट्रियता जोगाएका नेपालीहरुलाई पीडा भइरहेको छ । भारतीय पक्षबाट सीमा मिचिँदा लालपूर्जा आफ्नो हातमा भए पनि भोग चलन गर्न नपाइरहेका नेपालीहरुलाई पोलिरहेको छ । राष्ट्रको रक्षार्थ जीवन मरणको संघर्ष गरेका स्वाभिमानी नेपालीलाई अति दुखिरहेको छ ।
शासकहरु देशभक्त र स्वाभिमानलाई शिरमा राख्ने प्रकारको भएमा देशले गुमेको भूमि पनि फिर्ता ल्याउँछ तर दलाल परेमा देशको अस्तित्व गुमाउन पनि सक्छ । अन्य देशमा त्यस्ता घटनाहरु भइरहेका छन् । पपुलिस्ट मत पाए कै भरमा देशलाई जे गर्दा पनि हुने, जनतामाथि जस्तो सुकै दमन उत्पीडन गर्दा पनि हुने वा मनपरी ढंगले कानुन, विधि र पद्दतिलाई हातमा लिएर शासन गर्दा पनि हुन्छ भनेर शासन गर्न खोजिएको जस्तो देखिएको छ ।
प्रधानमन्त्रीको यो गैर जिम्मेवार अभिव्यक्तिका विरुद्ध सार्वभौमसत्ता सम्पन्न नेपालीहरुले जोडदार विरोध गर्नु पर्दछ । नेपालीहरुले आफ्नो जमिनको रक्षार्थ ज्यानको बाजी थापेर संघर्ष गर्नु पर्दछ । मिचिएका भूमिहरु फिर्ता ल्याउन चाल्नु पर्ने सबै कदमहरु चाल्नु पर्दछ । देशको स्वाभिमान गुमाउने,राष्ट्रहित विपरीतका अभिव्यक्ति दिन कसैलाई छुट छैन । सत्ता भन्दा माथि देश हो र हुनुपर्छ भन्ने कुरा सबैले बुझ्नु राम्रो होला ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित