आफूले आफैलाई फर्केर हेर्दा

 

-मोहन गिरी

साहित्य / संस्मरण

अहिले मैले ७३ वसन्त पार गरिसकेको छु । मात्र बसन्त होइन, गृष्म, वर्षा, शरद, हेमन्त, शिशिर पनि त हो । ऋतु परिवर्तन जस्तै जीवन पनि त परिवर्तनशील छ । जीवनमा पनि विभिन्न उकाली ओराली, द्यौराली, भञ्ज्याङको यात्राको क्रममा आरोह अवरोह, विश्राम, थकाईका सुस्केरा र रमाइला क्षणका मन्द मुस्कानसँगै अवस्था र परिस्थिति अनुकूल बन्दै जीवनयात्रा अगाडि बढाउनु पर्दो रहेछ । जीवनयात्राको क्रममा कतिपय सुकर्म र दुष्कर्म दुवै भए होलान्, दुष्कर्मप्रति पश्चाताप र सुकर्मप्रति गौरव महशुस हुनु स्वाभाविकै हो । जेहोस्, जीवन धकेल्दै आइयो आजसम्म । धकेल्दै आएको जीवन पनि के जीवन, यो पूर्णछैन जस्तो लाग्छ । जीवन हो भनौं भने हो जस्तो छैन, जीवन होइन भनौं भने जीवन त हो नि । हो, होइन, छ छैन भित्र अल्झिँदै गर्दा कहिले त अल्मलाइदिन्छ । हो, होइन, छ, छैन भित्र अल्झँदै जीवनको परिभाषा खोज्यो भने यसैमा यसको सार भेटिन्छ । यसलाई द्वन्द्वात्मक , भौतिकवादले पनि संकेत गरेको जस्तो लाग्छ । हुन त मानवीय जीवन आमा कै गर्भबाट शुरु हुन्छ । मानिस जन्मे पछि शिशु अवस्था न त बदमास हुन्छ, न त सज्जन नै हुन्छ । पारिवारिक संस्कारको प्रभाव, छिमेकीको प्रभाव, संगति र विसंगतिको प्रभाव, क्षेत्रीय वा भेगीय प्रभाव, शिक्षा दीक्षाको प्रभाव, पुर्खौली विरासतको प्रभाव, आर्थिक अवस्थाको प्रभाव, इष्टमित्र नातेदारको प्रभाव, स्वास्थ्य स्थितिको प्रभाव, आफ्नो समुदायको संस्कृति संस्कारको प्रभाव, आदि तत्वहरुको प्रभावले मानिसको मनोवृत्ति, कार्यकौशलता, उसको लगन, परिश्रम, ठीक बेठिक छुट्याउने, वुद्धि विवेक, दया, माया, सहानुभूति, संवेदना, गहन चिन्तन, खोज अनुसन्धान आदि विषयले महत्वपूर्ण भूमिका खेलेको हुन्छ र मानिसले मानवीय जीवन य ात्राको रथ अगाडि बढाइरहेको हुन्छ । यसरी अगाडि बढ्ने क्रममा मानिसका कर्महरु कुनै ठीक परिणाम दिने र कुनै दुष्परिणाम दिने हुन सक्छन् । यही द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणमा जीवनयात्रा अगाडि अगाडि बढ्दै बढ्दै अन्तमा एक्लै एक्लैमा टुंगिन्छ सारमा भन्नुपर्दा, मलाई लाग्छ ।

२००७ साल माघ १२ गते म प्यूठान नगरपालिका–१० मरन्ठानामा जन्मिएको र २०/२१ वर्षसम्म त्यही हुर्किबढेको हुँ । निम्न मध्यम पुँजीपति आर्थिक अवस्थाको किसान परिवारमा जन्मेको १०÷१२ वर्षसम्म खुट्टामा जुत्ता थिएनन् । घरपायकमा स्कूलहरु पनि थिएनन् । मेरो बुबा लगायत काकाहरुको पहलमा खलंगा बजारका तीन कलास पढेका चन्द्र श्रेष्ठलाई हाम्रो गाउँमा शिक्षकको रुपमा ल्याइयो । उहाँबाटै तीन कक्षासम्मको अनौपचारिक शिक्षा प्राप्त गरियो । त्यसपछि काकाका छोराहरु म लगायत तीन दाजुभाई खलंगाको स्कूलमा पाँच कक्षामा भर्ना भयौं र पाँच कक्षा पास गरेपछि हामी पायक पर्ने ठाउँ बाग्दुलामा पढ्न शुरु ग¥यौं । वर्षायाममा झिमरुक नदी पौडेर पार गरी स्कूल जान पथ्र्यो । तत्कालमा पुल थिएन । मैले नौं कक्षामा पढ्दै गर्दा पढ्न छोडेर बागलुङ बुर्तिवाङको एउटा प्रा.वि. मा शिक्षक हुन पुगे । पचहत्तर रु. तलवले महिना गुजार्न धौधौ पथ्र्यो, तर पनि त्यहाँको उत्तरगंगा माविबाट टेष्ट परीक्षा उतीर्ण गरी तम्घासमा एस.एल.सी. परीक्षा दिन गएँ । तर म्याथमा गुल्टुङ खाइएछ । यो २०२६ सालको कुरो हो । अनि म प्यूठान आएर २०२७ मा प्राइभेटबाट एसएलसीको लागि फारम भरें । प्यूठान रातामाटा स्कूलमा परीक्षाकेन्द्र भएकोमा प्रशासनले एक्कासी खलंगामा केन्द्र तोकेपछि रातामाटामा ठूलो आन्दोलन भयो । सेना पुसिलबाट अप्रेसन गराइयो । थुप्र विद्यार्थीहरुले सेना–प्रहरीको बुटालाठी खानु प¥यो र प्रहरी हिरासत कुर्नु प¥यो । इक्ज्याम्टेड र प्राइछभेटको परीक्षा माघ २ गतेबाट हुनेमा हामी करिब ४८ जना खलंगा परीक्षा दिन गएनौं । २०२७ सालको परीक्षा पनि त्यस्तै भयो। २०२८ सालमा बाग्दुलामा परीक्षाकेन्द्र तोकिएपछि म पनि परीक्षामा समावेश भएर २०२८ सालमा एस.एल.सी. पास गरे । रातामाटाबाट खलंगा सेन्टर सार्नुको मतलव रातामाटा स्कूल कम्युनिस्टहरुको प्रभाव क्षेत्र हो भन्ने प्रशासनको ठहर थियो । त्यो बेलाको घटनाले मलाई कम्युनिस्ट विचारप्रति आकर्षित ग¥यो । एस.एल.सी. पास गरेपछि २०२९ साल भाद्र महिनामा बुबाको कोटबाट पैसा चोरेर म काठमाडौं लागे । २०२९ मा म जगदम्बा कृषि भवन पाटनमा १ वर्षे आइ.एसी.एजी. मा भर्ना भए । २०३० सालमा परीक्षा दिन रामपुर क्याम्पस चितवनमा पुगियो । अनि परीक्षा पास गरेपछि ३० सालमा नै अस्थायी नियुक्ति लिएर सिन्धुपाल्चोक पुगें । जागिर गर्ने क्रममा आइए पनि पास गरें । २०३१ सालमा राजा वीरेन्द्रको राज्यभिषेकको अवसरमा जिल्लामा कम्युनिस्टहरुको खोजतलास शुरु गरियो । म लगायत १८ जनाको लिष्ट तयार भएछ । मैले मेरै अफिसको हाकिम मुकुन्दकुमार चालिसेबाट थाहा पाएँ । अनि म विदा लिएर सिन्धुपाल्चोकबाट भागें । म प्यूृठान जिल्लामा आएर लुङमा गाउँको निमाविमा शिक्षक भएँ । त्यो बेला पशुपति शमशेर सिन्धुपाल्चोकबाट माननीयमा उठ्ने भएपछि मेरा साथीहरु जुन स्रोह जना जेलमा थिए, उनीहरुले पंचायती व्यवस्था स्वीकार गरी पशुपतिलाई चुनावमा सघाउने शर्तमा उनीहरुको रिहाई भयो । त्यसैको सिलसिलामा म पनि रिहाई भएछु । मलाई अफिसले हाजिर हुन आउने पत्र लेख्यो र करिव ८ महिनापछि म सिन्धुपाल्चोक कृषि शाखामा हाजिर भएँ । मेरो कार्य क्षेत्र बाह्रविसे रह्यो । त्यहाँ रहँदा मेरो सम्पर्क अमृतकुमार बोहरासँग भयो । त्यसबेला उनी झापाली कम्युनिस्ट भनेरचिनिदा रहेछन् र फरार सूचिमापरेका रहेछन् । उनीसँगको संगतमा म पनि झापाली कम्युनिस्ट पार्टीको सम्पर्कमा रहें । ०३२ सालतिर स्वीस प्रोजेक्टको लागि डाँडापाखर भन्ने ठाउँमा ८० रोपनी गाउँलेको जमिन अधिकरण गर्नु पर्ने भयो । त्यो पनि मेरो कार्यक्षेत्र अन्तर्गत पर्दथ्यो । जग्गा अधिकरण गरिहाल्ने र मुआव्जा वापतको रकम पछि दिने भन्ने सुनेपछि त्यहाँका तामाङबासी थरका जग्गा धनीहरुले विद्रोह शुरु गरे । यो विद्रोह गराउने झापाली कम्युनिस्ट नै हो, यहाँ कार्यरत जे.टि.ए. कै काम हो भनी प्रशासनले मलाई सोधपुछ शुरु गर्न थाल्यो । म विकास विरोधी थिएन र तामाङ कृषकलाई मैले उचालेको पनि थिएन । प्रशासनले म माथि टर्चर गर्न थालेपछि मेरो हाकिम मुकुण्ड कुमार चालिसेले मेरो डिफेन्स लिनुभयो । त्यसपछि सी.डी.ओ. ले मलाई अफिसमा बोलाएर त्यहाँको जग्गा अधिकरण कसरी गर्नु सकिन्छ भन्ने कुरा गरे । मैले भने “जग्गाको पैसा हातमा थमाएर जग्गा अधिकरण गर्न मान्छन् जस्तो लाग्छ, यसबारेमा मैले सक्दो पहल गर्छु भनेपछि म त्यो समुदायसँग भेटघाट र सम्झाउने बुझाउने गर्न थालेपछि उनीहरु राजी भए ।

सरकारले पनि पैसा दिंदै जग्गा पास गराउने अवस्था मिलायो । यसरी जग्गा अधिकरण गर्नेमा पहल गरेकोमा तत्कालको लागि प्रशासन त खुशी नै भयो । डाँडापाखरमा प्रोजेक्टको काम शुरु भयो । यो बहुमुखी योजना थियो। यो योजनाले त्यहाँ भर्ना भएका कतिपय कर्मचारीलाई उच्च शिक्षाको अवसर पनि दियो । म मेरो अफिसबाट त्यो प्रोजेक्टमा कोअर्डिनेशन गरेकोले म पनि स्वीटजरल्याण्ड वि.एस.सी. एजी, पढ्न जाने एक प्रकारले निश्चित जस्तै थियो । तर पुरानै आरोप लगाएर प्रशासनले प्रोजेक्टमा सूचना गरेपछि मेरो योजना असफल भयो । त्यसपछि मलाई सरकारी जागिरमा रहर जाँगर मर्दै गयो । अनि म केही दिनको लागि बेतलवी विदा लिएर हिंडे । रोल्पाको गजुलमा प्रस्तावित माविमा शिक्षक भएँ । त्यसबेला प्राइभेटबाट वी.ए. पास गरिसकेको थिएँ । त्यहाँ करिव ८÷९ महिना जति पढाउने गर्दा सिन्धुपाल्चोकबाट अफिसले हाजिर हुन आउने पत्र व्यवहार ग¥यो । मैले स्र्कलरशीपमा पढेकोले पाँच वर्ष कृषिमा अनिवार्य सेवा गर्ने कवुलियत गरेको थिएँ । पाँच वर्ष सेवा नगरेमा स्कलरशीप पाए वापतको रकम फिर्ता गर्नुपर्ने र दण्डसजाय पनि हुने भन्ने बुझिएकोले म फेरि सिन्धुपाल्चोकबाट हाजिर हुन पुगे । त्यहाँ पंच बनिसकेका मेरा पुराना साथीहरुले मलाई पंचायती व्यवस्था समर्थन गर्नको लागि दबाब दिन थाले । ती साथीहरु मध्ये एक जना जिल्ला पंचायत सभापति कोही विभिन्न जनवर्गीय संगठनका सभापति र कोही प्रधानपञ्च नै थिए । कोही सरकारी जागिर खाएर मन्त्रालयको सचिवसम्म पुगे । पहिले भर लाग्ने साथीहरु अब डर लाग्ने भएपछि मलाई त्यहाँ बस्नु मन लागेन र क्षेत्र परिवर्तन गरेर नेपालगन्ज क्षेत्रीय कृषि निर्देशनालयमा पुगे । अनि मेरो कार्यक्षेत्र रुकुम जिल्ला तोकियो र २०३४ सालसम्म म कृषिमा नै जागिरे भएँ । कृषिमा सेवा अवधि पाँच वर्ष भइसकेकोले मैले कृषिमा राजीनामा दिएर रुकुमकोट रुकुममा २०३५ मा माविस्तरको अस्थायी शिक्षकमा कार्यरत रहे । रुकुम जिल्ल्लामा त्यो बेला रुकुमकोट आला भन्ने ठाउँमा केही माले समर्थक साथीहरु थिए तर जिल्लामा खासै प्रभाव थिएन । मस्तबहादुर श्रेष्ठ लगायत हामी केही साथीहरुले जिल्लामा मसाल पार्टीलाई समर्थन गर्ने गरी जिल्ला कमिटि गठन ग¥यौं । त्यो बेलामा ६÷७ जना रुकुमेली साथीहरु (मस्त बहादुर श्रेष्ठ, देवी गौतम, पदम पुन, श्रीकुमार पुन, चन्द्र बहादुर पुन, खडगबहादुर बुढा अनि प्यूठानीमा मोहन गिरी, विश्वेश्वर पोख्रेल, विद्याधर थापा) लगायतले जिल्ला पार्टी गठन गरी कार्य विभाजन गर्दा मलाई जिल्लामा अखिल छैठौंको निर्माण गर्ने जिम्मा प¥यो । यही कमिटीको पहलमा रुकुम जिल्लामा नेराशिसं र अन्य जनवर्गीय संगठनहरु निर्माण भएका थिए । म अखिल छैठौंको विद्यार्थी संगठन निर्माणमा व्यस्त रहे । मुसिकोटबाहेक जिल्लाको अन्य माविमा अखिल छैठौं निर्माण भयो । मुसिकोटमा दिलिप सापकोटा (रुँघा घर भएका) विद्यार्थीको नेतृत्वमा करिव ६ महिना जति पटकपटक गरी विद्यालयमा आन्दोलन भयो । नेराशिसंको गठन भएपछि सदरमुकाम माविका प्र.अ. सुधिर कुमार शाहसँग हामी जोडिन पुग्यो र सदरमुकामको विद्यार्थीको मामला पनि टुग्याइयो ।
अखिल छैठौंबाट अध्यक्ष र अन्य पदहरु बाँडफाँड गरी विद्यार्थी मामिला टुंग्यायौं । २०३६ सालमा हेटौंडामा हुने ने.रा.शि.स. को अधिवेशन सम्मेलनमा रुकुम जिल्लाको प्रतिनिधि हुने गरी पठाइयो र प्रशासनको कडा निगरानीमा पनि म हेटौंडा सम्मेलनमा भाग लिन पुगें । तत्कालको समयमा सितल मावि चौरजहारीका प्रअ डिल्लीराज खनाल, नारायण शर्मा, डिल्ली अधिकारी, अमर गिरी, नरबहादुर अधिकारी लगायतका दंगाली साथीहरुको योगदान पनि संगठन निर्माणमा उल्लेखनीय रह्यो । रुकुमको जनवर्गीय संगठनमा हेमन्तप्रकाश वली, शशि कार्की, लोकेन्द्र विष्ट, हिराचन्द मल्ल, यदु गौतम, जनार्दन शर्मा (गौतम), रुकुम कोटका नरबहादुर मल्ल, भुपेन्द्रा मल्ल, शारदा गौतम, कृष्ण रेग्मी, मस्तबहादुर विष्ट, पूर्ण घर्ती, दलबहादुर कार्की, कृष्ण विक्रम शाह, हरिजंग शाह, पूर्ण मल्ल, विजय मल्ल, शेरबहादुर शाह, पोखर शाह, टेकबहादुर थापा , नरेन्द्र जंग शाह, रमेश शाह, मोहन कृष्ण श्रेष्ठ लगायतका विद्यार्थी साथीहरुको योगदान पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ । सांस्कृतिक क्षेत्रमा प्यूठान घर भएका भेटरीनरीमा कार्यरत कर्मचारी लीला पुन, भूपेन्द्रा मल्ल अर्घाखाँची घर भएका स्वस्थ्य चौकीका कर्मचारी विष्णु चुँदाली लगायतको योगदानलाई उच्च मूल्यांकन गर्नुपर्दछ । कतिपय प्यूठानी, दगाली र धेरै जसो रुकुमेली साथीहरुको पहलमा ने.क.पा.(मसाल) पार्टीको रुकुम जिल्लामा राम्ररी जग बस्न पुग्यो र यही जगमा रुकुम,रोल्पा, जिल्लाबाट जनयुद्ध शुरु भएको जगजाहेर छ । तत्कालको स्थितिमा पूर्ण घर्ती, भूपेन्द्रा मल्ल, मस्तबहादुर विस्ट, लीला पुन लगायतले जनवादी गीतका माध्यमबाट जनचेतनामूल सांस्कृतिक कार्यक्रम संचालन गरेपछि यसले जिल्लामा छुटै रनक ल्यायो ।

तत्कालीन स्थितिमा पंचायतभित्र पनि गुट, उपगुट हुने गथ्र्यो । रुकुम जिल्लामा माननीय ध्रुवविक्रम र माननीय लोकेन्द्रबहादुर शाहको एउटा गु्रप थियो र गोपाल जी जंगशाहको अर्को गु्रप थियो । रुकुम जिल्लाको पूर्वी क्षेत्रमा हाम्रो कारणले धेरै जसो गाउँ पंचायतमा हाम्रो संगठन विस्तार भइसकेको हुँदा ध्रुव विक्रम र लोकेन्द्रबहादुर शाह हाम्रो पक्षमा केही सवालहरुमा हामीप्रति केही नरम वा उदार देखिने हुनाले पनि हामीलाई संगठन विस्तार गर्न केही सहज भएको थियो । गोपालजंग भन्दा ध्रुव विक्रम र लोकेन्द्र शाहहाम्रो नजरमा पंच भए पनि केही उदार वा नरम महशुस हुन्थ्यो । प्रायः जसो श्रीकुमार पुन, मस्तबहादुर श्रेष्ठ र मलाई धरपकड गर्ने वारेन्ट पुर्जी काट्ने, निगरानीमा राख्ने जस्ता कार्यहरु प्रशासनले गर्दथ्यो र कतिपय स्थितिमा प्रहरी हिरासतमा बस्नु पथ्र्यो । कहिले त जिल्ला छोडेर भाग्नु पथ्र्यो । हामीमाथि प्रशासन लगाउनुमा गोपाल जंगको भूमिका उल्लेखनीय रहन्थ्यो । रुकुम जिल्लामा हामीहरु प्रशासनको आँखाको कसिंगर भयौं । तर पनि हामी हरेश नखाई आफ्नो उद्देश्यमा डटिरह्यौं । २०३६ साल पछि ने.रा.शि. स. को आन्दोलनको कारण अस्थायी दरबन्दीमा रहेका शिक्षकहरुलाई स्थायीमा लैजाने नीति बन्यो । यही क्रममा अधिकांश शिक्षकहरुले स्थायी दरबन्दी नियुक्ति पाएँ । मेरो सवालमा भने राजा र व्यवस्था मान्छु भन्ने कागज गरे मात्रै स्थायी गराउने भनेपछि मैले त्यस्तो कागज लेखी बुझाउन इन्कार गरे । अनि मैले स्थायी नियुक्ति पाइन । यसबारेमा ने.रा.सिंस. रुकुमले धेरै आवाज उठाए पछि अरुले भन्दा एक वर्ष ढिला २०३८ मा मात्र मैले स्थायी मावि शिक्षकको नियुुक्ति पाएँ । म रुकुमकोटमा पढाउँदै गर्दा रोल्पाको थवाङमा निर्वाचन बहिष्कार गरेको निहुँमा प्रहरी अप्रेशन शुरु भयो । रोल्पा प्रशासनले थवाङमा निर्मम, क्रुर र अमानवीय तरिकाले दमनचक्र चलायो । थुप्रै युवा तथा वृद्ध पंचहरु समेत कोही फरार भए र कोही जेलमा नरकीय जीवन बिताउन बाध्य भए । तत्कालको स्थितिमा त्यहाँको माविको प्र.अको पनि थवाङ अप्रेशनमा ठूलो हात रह्यो भन्ेन त्यहाँको जनताबाट आरोप आएपछि त्यहाँका प्र.अ. पनि अन्यत्र सरुवा भए। थवाङको बलभद्र माविको स्थिति निकै नाजुक भएको अवस्था विशेषलाई ध्यानमा राखेर रुकुम जिल्ला कमिटीले मलाई सरुवा भएर थवाङ जानेर त्यहाँको स्थितिलाई सम्हाल्ने आदेश ग¥यो ।

अनि मैले स्कूलबाट सरुवाको सहमति लिएर रोल्पा लिवाङमा अनुमतिको लागि पत्र पेश गरें । जि.सि. अ.ले अहिले प्र.अ. भएर थवाङमा पढाउँदै गर्नुहोस् र यहाँ शिक्षा समितिको मिटिङ भएपछि तपाईलाई अनुमति दिइने छ भनी आश्वासन दिए । एक वर्षसम्म पनि अनुमति नदिएपछि मैले फेरि अनुमतिको लागि निवेदन पेश गरें । केही दिनपछि मेरा ठाउँमा प्र.अ. बनाएर अर्कैलाई पठाएको र अनुमति दिन नसकिने व्यहोराको कागज हात प¥यो । अनि विद्यालयको संचालक समितिको बैठक बसाली शिक्षा कार्यालयले पठाएको शिक्षकको आवश्यक नभएको भन्ने निर्णय गराइ सो निर्णय बमोजिम उक्त शिक्षकलाई फिर्ता पढाइएको व्यहोरा सहितको पत्र शिक्षा कार्यालयमा पठाइयो । त्यसपछि मेरो र रोल्पा जिल्लाको प्रशासनिक निकाय बीचमा भीषण संघर्षको सुरुवात भयो । तत्काल कै समयमा महारानीको जन्मोत्सवमा सांस्कृतिक टोली थवाङबाट सुर्खेतमा गई जिल्लाको प्रतिनिधित्व गर्ने भएकोमा मैले सांस्कृतिक टोली सुर्खेत पठाइन । पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनलाई लिवाङ माविले राजनीति गरेको आरोपमा स्कूलबाट निस्कासन गरेको थियो । उनी पढ्नको लागि थवाङआएपछि “लिवाङले पढ्न दिएन, तर थवाङले पढ्न दिन्छ” भन्दै स्कूलमा निःशुल्क पढ्न पाउने व्यवस्था पनि गरी दिएँ । थवाङ रहँदा भू.पू. ब्रिटिश सैनिकको तर्फबाट ब्रिटिस वेलफेयर अफिसमा थवाङ गाउँ र स्कूल बीचको खोलामा पुन हालिदिने निवेदन पेश गरे र पुल पनि निर्माण भयो । यही कार्यरत रहेको अवथामा एक जना स्वीस इन्जिनियरसँग थवाङमा भेट भयो । उनीले पनि विकट गाउँहरुमा स्वीस सरकारको तर्फबाट पुल निर्माण गर्न सकिन्छ भन्ने आश्वासन दिएपश्चात् तत्कालको प्रधानपञ्च तुलकुमारी बुढा र मेरो पहलमा भकिवाङबाट मरन्ठाना गाउँ जोड्ने लामो पुलको निम्ति सर्वे गराउने काम भयो । यो पुलको योजना पनि म त्यहाँबाट हिंडेपछि सम्पन्न भयो । अहिले पनि त्यो पुन छँदैछ । मैले शिक्षा कार्यालयले पढाएको शिक्षक फिर्ता गरेपछि शिक्षा कार्यालयले विद्यालयको अनुदान रोक्का ग¥यो । जलजला पुजा आजाबाट उठेको रकमले शिक्षकको तलव बुझाउने गरे । मलाई २०४१ सालमा सिडियो कार्यालयमा सम्पर्क गर्ने भनी प्रहरीले सूचना गरेपछि म लिवाङ सदरमुकाम गएँ । सी.डि.ओ., जि.शि.स. र प्रहरी अफिसरको सामु मलाई केरबार गर्न सुरु गरियो । मैले जे जति भए गरेका कामको स्पष्टीकरण मैले पत्रमार्फत् जानकारी गराइसकेको छु भनेपछि सी.डी.ओ. र जि.शि.अ. ले “तपाईका स्पष्टीकरण पूरै अराजक छन् । तपाईले गरेका क्रियाकलाप हामीले एक एक रेकर्ड गरेका छौं । १ नं. नन्दबहादुर पुनलाई थवाङ स्कूलमा भर्ना गरेको २ नं. शिक्षा कार्यालयले पठाएको शिक्षक फिर्ता गरेको ३ नं. जिल्लाको कुनै पनि प्रशासनिक निकायलाई जानकारी नदिई ब्रिटिश र स्वीस सरकारको तर्फबाट पुल निर्माणः गर्न लगाएको ४ न. सांस्कृतिक टोली थवाङबाट सुर्खेत नपठाई महारानीको जन्मोत्सवमा असहयोग गरेको ५ नं. आफूले आफैलाई हेडमास्टर घोषणा गरेको ६ नं. प्रहरी अप्रेशन पछि थवाङमा कम्युनिस्ट संगठन समाप्त गरेकोमा तपाईबाट पुनजीवित गर्ने कार्य गरेको । ७ नं. विदेशी शक्ति राष्ट्रसँग सम्बन्ध स्थापना गरी थवाङलाई छुट्टै राज्य घोषणा गर्ने नियत देखिएको हुँदा हामीले तपाईलाई जिल्ला निस्काशन गर्ने योजना गरेका छौं । यो हाम्रो सदासयता भनौं वा उदारता हो । हामी पनि बाध्य छौं भनेपछि आफै कुरा बुझ्नुस, तपाईले ५ दिनभित्र जिल्ला छोड्नुस्” भनेपछि मैले भने “मलाई जिल्ला निस्कासनको पत्र दिनुस, म जिल्ला छोडिदिन्छु भन्दा सिडीओले झोक्किदै भने “पत्र चाहियो । कि तातो गोली चाहियो ?” तपाईहरुलाई त्यस्तो लाग्छ भने म जिल्ला छोडी दिउँला भनेर त्यहाँबाट विदा भएँ । त्यसपछि म थवाङ आए र विद्यालयको िहसाव किताव र अन्य कागज पत्र मिलाउन अन्डरग्राउण्ड रुपमा करिब १५ दिन जति बसें । यो बीचमा प्रहरीले निकै खोजी तलास गर्दै थियो । त्यहाँ स्कूलको कागज पत्रको काम सिध्याएपछि २०४१ सालमा म थवाङबाट विदा भएँ ।

“जिल्ला निस्कासन गर्नुपर्ने मेरो पनि बाध्यता हो” भनेकोबाट अनुमान गर्न सकिन्छ कि जिल्लाका माननीयहरु, अन्य पन्चहरुको दबाब र मेरो रेकर्ड गृह मन्त्रालय, शिक्षा मन्त्रालयसम्म नकारात्मक रहेको हुनुपर्छ । मलाई रोल्पाबाट जिल्ला निस्कासन गरेको बारेमा सम्पूर्ण जानकारी प्यूठान पुन्यखोला निकासी तत्कालमा सी.डी.ओ. कार्यालय रोल्पामा सुब्बा पदमा रहनु भएको हरेराम भट्ट जिउँदो साक्षी हुनुहुन्छ । त्यो बेला रोल्पा जिल्लामा भएका प्यूृठानी कर्मचारी, शिक्षक, व्यापारी सबैलाई धेरथोर रुपमा जानकारी छ ।

थवाङबाट म घरमा आइपुगे । जिल्ला निस्कासन भएको कुरा प्यूठानमा पनि व्यापक भएको रहेछ । मेरा इष्टमित्र र घरपरिवारबाट पनि धेरै किचकिच सुन्न प¥यो । प्यूठानमा पनि प्रशासनबाट निगरानी सुरु भयो । अनि म अर्घाखाँची ढाकावाङको माविमा शिक्षक हुन पुगे । त्यहाँ करिव १ वर्ष शिक्षक भइरहँदा पनि अर्घाखाँचीमा प्रशासनले दुःख दिने संकेत मिल्यो । त्यसपछि म काठमाडौंतिर लागे. । २०४३ सालमा मैले १ वर्षे बी.एड पास गरें । काठमाडौंमा रुकुमका माननीय ध्रुव विक्रम शाह र जिल्ला सभापति लोकेन्द्र बहादुर शाहसँग भेट भयो ।उहाँहरुले हामीले जि.शि.अ.लाई मेसेज गछौं, तपाईको शिक्षक दरबन्दी त रुकुममा नै छ । त्यहाँ गएर हाजिर हुनुस र आठविसकोट माविमा प्र.अ. भएर काम गर्नुहोस्” भनेपछि म रुकुमतिर लागें । ने.रा.शि.स.का शिक्षक र जि.शि.अ. सँग भेट गरें । मलाई आविसकोटमाविमा पठाइयो । १०÷१२ दिन जति त्यहाँ रहँदै गर्दा प्रहरीले मलाई गिरफ्तार गरेर मुसिकोट ल्यायो । प्रहरी हिरासतमा १४÷१५ दिन त्यही बसें । अनि मैले भने “कि त मलाई जेल पठाउनु प¥यो, किन त छोडिदिनु प¥यो । यस्तो के गरेको ? अब म यही आरमण अनसन बस्छु” भनेपछि केही पंचहरु मलाई भेट्न प्रहरी कार्यालयमा आए । उनीहरुले भने “राजा र व्यवस्था, मान्छु भन्ने एउटा सानो कागज गर्नुस्, हामी सी.डीओ.सँग कुरा गरेर यहाँबाट छुटाउँछौं ।“मैले भने यदि प्रमाण छ भने मलाई जेल पठाइ दिनुप¥यो । सी.डी.ओ. को शंकाको भरमा मैले त्यस्तो कागज गर्दैन । म नेपाली नागरिक भएकोले र शिक्षक कर्मचारी पनि भएकोले सी.डी.ओ.ले जागिर त खाएका छन् तर राजा र व्यवस्था मान्छन् वा मान्दैनन् ? मलाई पनि शंकै लागेको छ । “राजा र व्यवस्था मान्छु भन्ने कागजमा सी.डी.ओ.ले र मैले सँगै दस्तखत गर्ने होभ ने म कागज गर्न तयार छु भनेपछि सी.डी.ओ. ले त्यस्तो कागज गर्छ त ? भनेपछि मैले भने “मैले पनि यस्तो कागज गर्दैन ।” यति कुराकानी भएपछि उनीहरुले सी.डीओ.लाई यो कुरा पु¥याए होलान् क्यारे । त्यसपछि रातिको ११ः०० बजे मलाई थुनुवा कोठाबाट बाहिर निकालियो र हतियार सहितका ५ जना प्रहरीले मलाई त्यहाँबाट हिंडाए । रातिमा यसरी मलाई हिरासतबाट निकाल्नुको तात्पर्य मेरो कुनै अज्ञात ठाउँ वा कतै जंगलमा लगेर मार्दैछन् जस्तो लाग्यो । रातिराति हतकडी सहित म डो¥याएँ । जंगल, खोला,खोल्सा आउँदा यही मार्छन् होला जस्तो लाग्यो । तर त्यस्तो भएन । मलाई खुरुखुरु हिंडाउँदै मुसिकोटबाट खाराको खौला छेंडा भन्ने ठाउँमा लगियो । रातको करिब ३ बजिसकेको थियो । त्यहाँ कुनै वस्ती थिएन । घनघोर जंगल मात्रै थियो । अब यही त मार्ने होलान् भन्ने लागेको थियो तर त्यो टोलीको कमाण्डरले भने “तपाईलाई जिल्ला निस्काशन गर्ने आदेश अनुसार यहाँ ल्याइएको हो । यहाँबाट अब सल्यान जिल्ला पर्छ । तपाईलाई सल्यान जिल्लामा टेकाइयो । फर्केर फेरि रुकुम नआउनुहोला, हामीलाई नै दुःख हुने हो” भनेपछि अब मार्ने योजना रहेन छ भन्ने लाग्यो ।

यो रातमा सुनसान जंगलमा छोडेपछि “म कहाँ जाने, भनेपछि प्रहरीले रुख चढेर बस्ने सल्लाह दिए र रुख चढाए पनि । उज्यालो भएपछि सल्यानतिर लाग्नुहोला” भनेर हिंडे । त्यसपछि म रुख चढेर हाँगाका कापमा उज्यालो हुन थाल्यो । चरा चुरंगी कराउन थाले । राम्रो गरी बाटो देखिंदै जाने भएपछि म रुखबाट ओर्लेर सल्यानतिर लागें । यसरी हिंड्ने क्रममा मेरो चप्पलको फिता छिन्यो। खाली खुट्टा हिंड्दा अत्यन्तै कष्ट भयो । प्रहरीले थुनुवाकोठाबाट निकाल्दा त्यहाँ कोठामा २ जना रक्सी पिएर बजारमा हल्ला गर्नेलाई पनि ल्याएर थुनेका थिए । मलाई रातिमा निकालेपछि मार्ने नै होला भन्ने ठानेर “तिमीहरुले मेरा नयाँ जुत्ता लगाउनु र तिम्रा चप्पल मलाई दिऊ” भनी जुत्तासँग साटेको थिएँ । पुराना चप्पल भएकोले फिता छिन्यो । अनि म विस्तारै खौला छेडाबाट ओरालो लागें । करिव १ घण्टाको हिंडाईपछि २÷४ ओटा होटल भएको सानो बजार इलाकामा पुगें ।
त्यहाँ दशैं विदामा घरतिर हिंडेका १ जना रुकुम सी.डीओ. कार्यालयका सुब्बा र अर्को चितवन घर भएका जि.शि.का का. सुब्बासँग त्यही होटलमा भेट भयो । उनीहरुले मलाई चिनेका रहेछन् र उनीहरुसँग कुराकानी भयो। उनीहरुले त्यहाँ चिया नास्ता खुवाए र मलाई १ जोर चप्पल किनिदिए । तिनीहरु मध्ये एक जना नेपाली कांग्रेस र एक जना माले समर्थक भएको बुझिन्थ्यो । अनि उनीहरुसँगै म दाङसम्म आएँ । दाङमा आएपछि धेरै साथीहरुसँग भेट भयो र उनीहरुले दुई चार सय दुई चार सय जति सहयोग गरे । म त्यहीबाट काठमाडौंतिर लागें । काठमाडौंमा योजना पत्रिका लगायत कतिपय पत्रिकाले मेरो जिल्ला निस्कासनको बारेमा समाचार प्रकाशन गर्ने काम गरे । त्यहाँ मैले धु्रव विक्रमलाई भेटेर “ममाथि धोका गर्नु भयो” भन्ने प्रश्न राखें । ध्रुव विक्रमले सीडीओलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गराए र मलाई फेरि रुकुम जामन भनेका थिए । तर म गइन ।

२०४५ सालको अन्त्यतिर म धादिङ जिल्लाको क्षेत्रपाटी भन्ने ठाउँमा अवस्थित महेश धर्म माविमा शिक्षक भएँ । यही शिक्षण गर्ने क्रममा मैले प्राइभेटबाट मास्टर डिग्री पनि पास गरे । २०४६ सालको आन्दोलनमा धादिङ जिल्लामा प्रशासनले शिक्षकमाथि निकै निगरानी गरेको थियो । जिल्लामा मलाई र गंगालाल तुलाधरलाई वारेन्ट जारी गरी सकेको रहेछ गंगालाल तुलाधरलाई पकडेर हात र खुट्टाका नङमा पीन रोप्ने काम भएछ । खानीखोला चौकीमा मैले रुकुममा पढाएको १ जना विद्यार्थी पुलिसको हबल्दार भएकोले उसले मलाई भाग्ने सूचना ग¥यो र म धादिङबाट भागेर अर्घाखाँची आइपुगें । २०४६ सालको आन्दोलनले चर्को रुप लिइसकेका थियो । म अर्घाखाँचीमा भइरहेको आन्दोलनमा सरिक भएँ । अब प्यूठानमा पनि आन्दोलन चर्काउन प¥यो भन्ठानेर म चैत्र २५ गते प्यूठानतिर लागे ।

२०४६ चैत्र२६ गते बहुदल घोषणा भयो । अनि प्यूठानमा विजय जुलुसको आम सभामा सम्मिलित भई वक्तव्य दिएँ । यहाँ प्यूठानमा स्वर्गद्वारी क्याम्पसमा लेक्चरर आवश्यक भएको कुरा बुझेपछि म फेरि धादिङतिर लागे । धादिङमा शिक्षक पदबाट राजिनामा दिएर त्यहाँबाट विदावारी भई प्यूठानमा स्वर्गद्वारी क्याम्पसमा प्रध्यापन कार्य शुरु गरें । मैले यहाँ २५ वर्षसम्म पढाउने क्रममा सहायक क्याम्पस चीफ र ७ वर्षसम्म क्याम्पस चिफ भएर काम गरें र उमेरको हदको कारण २०७२ सालमा क्याम्पसबाट विदा भएँ । प्यूठानको बसाई अन्य जिल्ला सिन्धुपाल्चोक, रुकुम, रोल्पा, अर्घाखाँची, धादिङ जस्तो उर्जाशील सक्रिय रहेन । यहाँ विभिन्न पार्टीमा काम गर्ने अधिकांश कार्यकर्ता र नेतामा अक्सर गरेर नश्लवादी चिन्तन, अवसरवादी र स्वार्थी प्रवृत्ति, काम भन्दा कुरो बढी, जोखिम मोल्ननसक्ने, अरुले गरेपछि हो भैले पनि गरेको हुँ भनी त्यो कामको जस लिने यस्तो वातावरण प्यूठानमा देखियो । जनजाति, दलित जाति, अल्पसंख्यक जाति अहिले पनि सत्ताको माथिल्लो निकायमा छैनन् । यस्तो स्थितिले मात्र नभई मेरो आफ्नो घरायसी व्यवहार, म रोगबाट ग्रसित र घुँडाको हड्डी खिइएर ६ पटकसम्म अप्रेशन गर्नु परेको कारण पनि म राजनीतिमा त्यति सक्रिय हुन सकिन । तर पनि मसाल पार्टीको समर्थन गरिरहें । म क्याम्पसको प्रशासक भएर रहँदा पनि अनय पार्टी प्रति पूर्वाग्रही दृष्टिकोण राखिन । क्याम्पस हाताभित्र पसेपछि राजनीतिको झोला बाहिर नै बिसाउन पर्छ भन्ने मेरो मान्यता रह्यो । मेरो कार्यकालमा भवन निर्माण तथा क्याम्पस हाताभित्र जमिन सम्याउने, क्याम्पसको जग्गामा वाउन्डेरी वाल निर्माण तथा क्याम्पस हाताभित्रजमिन सम्याउने, क्याम्पसको जग्गामा वाउन्डेरी वाल निर्माण, प्रशासकीय भवन र लाइब्रेरी निर्माण गर्ने कार्य भयो । क्याम्पसको पठन पाठनमा विशेष ध्यान दिइयो । मेरो प्रशासनिक कार्यकालमा विद्यार्थी संगठनहरु बीच भैझगडा र झडप भएन । विद्यार्थीका जायज माग पूरा गर्नेमा सदैव मैले जोड दिएँ ।
२०५२ सालदेखि ने.क.पा. मशाल (मोटो मशाल( ले जनयुद्धको घोषण ग¥यो । नेकपा (मसाल) (सानो मसाल) को विश्लेषण थियो “यो क्रान्तिकारी लफ्फाजी हो । यो इण्डियाद्वारा संचालित छ र यो युद्ध क्याररिस्टको उपज हो ।” भन्दै गर्दा म पनि विश्वस्त भएँ । जनयुद्धको नाममा चन्दा, आतंक, भिन्न मत राख्ने प्रति हत्या, हिंसा, कुटपिट, घृणा र सुराकी जस्ता आरोप लगाउने कुराले जनयुद्ध खासै हो जस्तो लागेन । यसकारण २०५९ सालमा सुराकीको नाममा मलाई माओवादीले अपहरण गरेर ६३ दिनसम्म प्यूठानको पूर्वी उत्तरी भेगमा घुमायो । यो बीचमा खासै शारीरिक ट्रचर गरेनन् तर मानसिक ट्रचर निकै गरे, खासगरी नेता भनाउँदाहरुले । त्यो बेला सुराकी भनेपछि सफाया गर्ने उद्देश्यको निम्ति अपहरण गरिएको थियो । तर रुकुम र रोल्पामा मैले संगठन विस्तार गरेको देख्ने र थाहा पाउनेहरुका कारण म सफाया भइन । तारिखमा छोड्ने काम भयो । अधिकांश प्यूठानी माओवादीले त मलाई सिद्धाइ दिने नियत नै राखे जस्तो लाग्छ । पछि मुद्दा फैसला गरियो । अपहरण नगरी सोधपुछ गर्नुपर्नेमा जिल्ला पार्टीको कमजोर भएको महशुस गरियो भन्ने फैसला सुनाइयो । यदि मारेको भए सुराकी भएकोले मारेको भन्ने हुन्थ्यो होला । धन्य हो, तर मारिएन, अझै बाचिएकै छ ।
२०६१ साल माघ २४ गतेको दर्दनाक घटनाले मलाई अझै पनि झस्काइरहन्छ । बिहानी क्याम्पस भएकोले म क्याम्पसबाट घरतिर लागें । करिब १ः०० बजे म खरिकोट बजार पुगें । त्यसपछि म मजुवाको मावितिर लागें । त्यहाँ पुग्दा माओवादी कार्यकर्ताले विद्यार्थीहरुलाई एउटा कोठामा राखेर क्लास दिंदै गरेका रहेछन् । त्यहाँ मेरी छोरी कल्पना गिरीले क्लास दिइरहेको देखें । शिक्षकहरुले पढाउन नपरेकोले खाली बसेको देखें । अनि म शिक्षकहरुसँग चेस खेल्न शुरु गरें । खेल्दै गरेको करिव आधा घण्टामा हाम्रो अगाडि केही युवकहरु देखिए । मलाई लाग्यो कार्यक्रम भएकोले यिनीहरु पनि माओवादी नै होलान् । यत्तिकैमा एउटाले सोध्यो “तपाईहरु शिक्षक हो? “अँ हो भन्द थियौं अनि उसले भन्यो “विद्यार्थीलाई माओवादीबाट क्लास लिन लगाउने अनि शिक्षक चेस खेल्ने” भन्दै गर्दा ती मध्ये अरु २ जनाले पिस्तोल निकालेर हामीलाई ताकि रहे । यसो चारैतिर हेर्दा सेना पुलिसले घेरा हालिसकेको रहेछ ।
त्यतिकैमा एउटाले भन्यो “यिनीहरुलाई खरिबोट बजारतिर लैजाऔं ।” अनि हामी प्रहरीको घेरामा खरिबोट बजारतिर आयौं । त्यहाँ विद्यार्थीहरुको भागदौड सुरु भयो । खरिबोट बजार नजिकै पु¥याउँदा त्यहाँ सेना प्रहरीको अर्को लर्को आयो । त्यहाँ कमाण्डरले फेरि स्कूलतिरै फिर्ता गर्ने आदेश दिएपछि हामी स्कूलतिरै फर्कियौं । त्यही क्रममा माविका प्र.अ. श्री मेघबहादुर के.सीलाई बुटले हिर्काएर बाटोबाट हुत्याइयो र उहाँ खेतमा पल्टनुभयो । त्यस्तै प्रकारले अरु १/२ जना शिक्षकलाई पनि कुटपिट गरियो । म लगायत केही मानिस हामी स्कूल नजिकै आइपुग्दा एउटा होटलमा पसेर एउटा कोठामा छिस्केनी बन्ध गरेर बस्यौं । २०/२२ फायर बन्दुकको आवाज आयो । त्यसबेलासम्म मेरी छोरीलाई मारिसकेका रहेछन् । अनि लासलाई विद्यालयको प्रांगणमा राखिसकेका रहेछन् । त्यस एरियामा मानिसको आवतजावत बन्द गरिएको थियो ।
मेरी छोरीको हत्या पछि कुनै एउटा नाकाबाट आवत जावत खुला गरियो । अनि म पनि होटलबाट निस्केर घरतिर लागें। घरमा नपुग्दै स्कूलबाट मलाई इशाराले बोलाइयो । अनि मलाई शंका लागि हाल्यो, छोरीलाई मारिसकेछन् । अनि म त्यहाँ पुगेपछि यो तपाईको छोरी हो कि होइन भनेर सोधियो । मैले “हो, भने” । त्यसपछि कमाण्डर नै होला क्यारे, उसले भन्यो “तपाई क्याम्पस पढाएर सरकारको पैसा खाने, छोराछोरी माओवादीमा पठाउने?” अनि मैले भने “ख्याल ठट्टा नगर्नुस्, यहाँ मेरो छोरीको हत्या भएको छ । म माओवादी होइन, माओवादी भैदिएको भए के माओवादीले मलाई ६३ दिनसम्म अपहरण गर्छ ?” भनेपछि कमाण्डरले त्यहाँ अरु मानिसलाई पनि सोध्यो ।

त्यसपछि ओके टोकेबाट मातहतको कार्यालयमा सोधपछि उसलाई पत्यार लाग्यो होला र भन्यो “वार भएपछि यस्तै हो । मौका पाएको भए तपाईको छोरीले पनि हामीलाई यस्तै गरी माथ्र्यो होला, अब लास बुझ्न्ुहोस्” भनेर एउटा कागजमा दस्तखत गराई सेना प्रहरी त्यहाँबाट हिंडे । त्यो बेला करिब साँझ पर्न लागेको थियो । त्यहाँ विस्तारै विस्तारै हजारौं मानिसहरुको जमघट भयो । राति ८÷९ बजेतिर माओवादीहरु पनि आए । उनीहरुले भने “हामीले झिमरुक नदी किनारमा खाडल खनेका छौंं । त्यहाँ सदगत गर्नेहो । नारा लगाउँदै लास लैजान पर्छ” भन्ने आदेश जारी गरे । यो कुरा त्यहाँ उपस्थित कुनै पनि मानिसलाई राम्रो त लागेन तर, मुख फोर्न सकेनन् । अनि मैले भने “यसो गर्दा अरु खतरा बढ्न सक्छ । मैले आफ्नो कुलु धर्म अनुसार शव समाधिस्त गर्न पाउनुपर्छ ।” भनेपछि बाबुले भनेको ठीक हो भनी त्यहाँ उपस्थित मासले राय प्रकट गरे । अनि माओवादीले शहिद घोषणा कार्यक्रम गरेपछि मैले सबै इष्टमित्र, शुभेच्छक समवेदना दिनेहरुलाई विदा गरें र आफ्नै दाजुभाई, छरछिमेकको मद्दतले शव समास्ति गर्ने गरें ।

विद्रोही पक्ष र सरकारी पक्ष शान्ति प्रक्रियामा आएपछि नेपालगन्जबाट आएका कार्यकर्ताले “तपाईको निहत्था छोरीलाई लखेटी लखेटी मारेको रेकर्ड हामीसँग छ , मुद्दा गर्न सक्नुहुन्छ भने हामी त्यो रेकर्ड उपलब्ध गराइदिन सक्छौं” भनेका थिए । मैले माओवादीका जिम्मेवार नेतालाई भनेपछि उनले हाम्रो आफ्नै पार्टीले यस्ता मुद्दा उठाउँछ । तपाईले मुद्दा गर्नु पर्दैन भने” पछि द्वन्द्व पीडितबाट निवेदन दिने क्रममा निहत्था मेरी छोरीको हत्या सम्बन्धमा छानवीन गरी दोषीलाई कार्वाही गरी पाउँ भनी निवेदन पनि दिएँ तर त्यो त्यतिकै हरायो ।

मलाई कतिपय साथीहरुले भन्ने गर्छन् “तपाई प्यूृठानमा आएपछि किन सेलाउनु भयो, किन चाउरिनु भयो?” हो, म थन्किए, सेलाएँ, चाउरिएँ । “मरिच किन चाउरियो आफ्नै रागले” भने झैं भयो । यो दलाल पुँजीवादी व्यवस्थाले देश र जनताको कल्याण गर्न सक्दैन भन्ने बारेमा म ढुक्क छु । नेपालका लगभग ठूला र पुराना पार्टीका नेताहरु दर्शन, वाद, सिद्धान्त र नीतिबाट स्खलित भइसके । सिद्धान्तवादी केही नेता र कार्यकर्तालाई पार्टीबाट नै पाखा लगाइसके । सत्तामा जसरी भए पनि पुग्नुपर्छ भन्ने मनसायबाट विजातीय तत्वसँग पनि गठबन्धन भइरहेको छ। रुख मतदान गर्नेले हसिया हथौडामा, हँसिया हथौडामा मतदान गर्नेले रुखमा, अनि खाटी कम्युनिस्ट मानिएकाले कही रुखमा, कही हसिया हथौडामा मदतान गरेका छन् । जसरी पनि मिलिजुली सत्तामा पुग्ने र देशलाई बर्बादीमा लैजाने काम भइरहेको अवस्थामा नेकपा माओवादी र मसालमा खास तात्विक भिन्नता देखिंदैन । यस्तो गन्धा राजनीतिमा सक्रिय भएर काम गर्ने मलाई चाहना भएन ।

हालसम्मलाई सत्ताबाट बाहिर रहेको दलाल पुँजीवादी व्यवस्थाको विरोध गर्दै आएको विप्लवद्वारा नेतृत्व गरिएको नेकपा पार्टीको समर्थन गरेको छु । यो पार्टीले केही गर्ला कि भन्ने आशा त गरेको छु । तर पूरै भरोसा छैन। हाम्रो गाउँमा बुढापाका भन्ने गर्छन् “यो मान्छेले केही गर्ला जस्तो थियो, तर काँत्रे खोलाको झाँक्रीले हानिहाल्यो ।” “त्यस्तै माओवादीले पनि केही गर्ला कि जस्तो गरेको थियो । तर जलजलाको जलझाँक्रीले हानिहाल्यो ।” त्यस्तै पो हुने हो कि भन्ने सकिन्छ र ? जे होस् मान्छे भएपछि आशा मार्नु हुँदैन । आशाको त्यान्द्रोमा जीवन चलायमान हुन्छ भन्ने सोचेर जिन्दगी गुजारिरहेको छु ।

(समाप्त)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित