जलवायु परिवर्तनको संकटः भोटकोशीको बाढ

सन्तबहादुर नेपाली
चीनको हिमताल फुटेर भोटेकोशीमा भाद्र १० गते आएको बाढीले रसुवा, टिमुरे, स्याफ्रुबेशी, हाकुवेशी, त्रिशुली बजार, बेत्रावती, गल्छी, बैरेनी हुँदै दक्षिणतर्फ गएको बाढले किनारका सबै बस्ती र शहरहरु बगाएर लग्यो । ९०० जतिको शव फेला परे पनि ४ हजार भन्दा बढी सम्पर्कविहीन छन् । दश हजार घरधुरी यो विनासकारी बाढीबाट प्रभावित भएका छन् ।अझै पनि वास्तविक तथ्यांक सार्वजनिक हुन सकिरहेको छैन । सूचना संकलनका आधारमा सार्वजनिक गरिएको रिपोर्ट भन्दा कैयौं गुणा क्षति भएको अनुमान गरिएको छ । चीनसितको व्यापारिक नाका र तीर्थस्थल पनि त्यही क्षेत्रमा भएकाले स्थानीय तथा बाहिरका विदेशी नागरिकहरु अत्याधिक रहेको अनुमान गर्न सकिन्छ । नागरिकहरुको ज्यान मात्र गएको छैन, ठूला हाइड्रोपावरहरु, पुलहरु भवनहरु, सडक लगायत थुप्रै भौतिक संरचनाहरु ध्वस्त भए । मानववस्तीहरु केही क्षण मै उजाड भयो । खर्बौंको सम्पत्ति ध्वस्त भयो । इतिहासकै सबैभन्दा प्रलयकारी तथा विनाशकारी यो बाढीप्रति अहिले विश्व कै ध्यान आकर्षित भएको छ ।
पृथ्वीमा अनेकौं प्रलयकारी घटनाहरु घट्दै आएको विभिन्न सन्दर्भहरुबाट थाहा हुन्छ । यस्तै घटनाहरुबाट कैयौं सभ्यताहरु ध्वस्त भएका छन् । समुद्र उठेर पहाड बन्ने र पहाडहरु भासिएर समुद्र बन्ने गरेको प्रसंगहरु पनि हामी सुन्ने गरेका छौं । आज पनि भुकम्प तथा ज्वालामुखीका कारण कैयौं बस्ती बिलाएको सुनिन्छ । कतिपय देश डुब्ने अवस्थामा छन् । यसको तात्पर्य के हो भने प्रकृतिका घटनाहरु मानव निर्देशित हुँदैनन् । प्रकृति आफ्नो नियम अनुसार चल्ने गर्छ ।स्वयं मानिस पनि प्रकृतिको अंग हो । मानिसले स्वयं मानिसलाई नियन्त्रण गर्न सक्दैन । स्वभाविक प्रक्रियाले मानिस जन्मन्छ र स्वभाविक रुपले मृत्युवरण गर्छ । मानव समाजको प्रयासले कतिपय घटनालाई न्यूनिकरण गर्न सकिन्छ तर रोक्न सक्दैन । अहिलेको महाविपत्ति एकै दिन आकस्मिक आएको होइन,यसको लागि प्रकृतिमा लामोसम्म देखि क्रिया र प्रतिक्रिया हुँदै आएको छ। त्यसलाई मानिसले बुझेर पनि सतर्कता अपनाउन सकेन, जुन चाहिं मानव जाति कै कमजोरी हो ।
हिमताल फुट्ने खतरा धेरै पहिलेदेखि विज्ञहरुले भन्दै आएका थिए। खास गरेर विश्व पुँजीवाद तथा साम्राज्यवादले अति उत्पादन गरेर वायुमण्डललाई नै प्रदुषित गर्दै आएका थिए, जसका कारण पृथ्वीमा अत्याधिक हरित ग्याँस उत्सर्जन हुँदै आएको छ, त्यसबाट पृथ्वीको तापक्रम बढिरहेको छ । त्यसलाई नियन्त्रण गर्न हरेक वर्ष जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरु हुने गर्छ । पुँजीवादी तथा साम्राज्यवादी औद्योगिक राष्ट्रहरुले हरेक वर्ष हरित ग्याँस उत्सर्जनमा कमि ल्याउन प्रतिबद्धता पनि व्यक्त गर्छन् । तर कार्यान्वयन गर्दैनन् । किनकि त्यसो गर्नु उनीहरुको हितमा हुँदैन । त्यसको दुष्परिणाम नेपाल जस्तो अविकसित वा कम विकसित देशहरुले भोग्नुपर्छ । प्रकृतिलाई प्रदुषित गर्ने पुँजीवादी देशहरुले प्रदुषण गरिरहन्छन् । तर हामी जस्ता अविकसित देशहरुले त्यसबाट हुने क्षतिलाई भोग्न बाध्य पारिएका छौं ।
पृथ्वीको तापक्रम बढ्दै जानाले हिमालको हिउँ पग्लने र हिमालय श्रृंखलामा रहेका तालमा पानी बढ्ने र हिमालहरु काला डाँडामा परिणत हुने गरेको धेरै पहिलेदेखि नै हो । हामी यसबारे सतर्क नहुने हो भने तालहरु फुटन सक्छन् र त्यो पानी नेपालको तल्लो तटीय क्षेत्रलाई बगाउन सक्छ भन्ने धेरै पहिलेदेखि अनुमान गरिएको थियो । त्यसकारण हरेक कोप सम्मेलनमा पृथ्वीको तापक्रमलाई १.५ मा झार्नेबारेमा छलफल भइरहेको थियो । पहिले अनुमान गरे झैं अहिले त्यसबारे अध्ययन गर्दा पनि वैज्ञानिकहरु तिब्बततर्फ हिमालको हिउँ पग्लेर सिंगो पहाड नै तालमा खसेको हुँदा त्यो पानीले बाँध फुटाएको भन्ने सेटलाइटमा देखिएको तस्वीरले देखाएको भनिएको छ । यसबारे अरु पनि अनुसन्धान हुने नै छ । तर एउटा कुरा सत्य के हो भने पृथ्वीको तापक्रम बढ्नु र हिउँ पग्लनु तथा पानीको भारवहनले बाँध फुट्नु नै भोटेकोशीको बाढ आउनुको मुख्य कारण हो । यसलाई दैवी विपत्ति वा प्रकोप भनेर चित्त बुझाउनु सही हुने छैन ।
भोटेकोशीको बाढीले नागरिकहरुको ज्यान तथा भौतिक संरचनामाथि मात्र क्षति पु¥याएन, अर्बौं अर्बको लगानी, नीजि सम्पत्ति तथा ऐतिहासिक सम्पदा समेतलाई क्षति पु¥यायो । सरकारले जे जति उद्धार कार्य गरेको छ, त्यो अत्यन्तै थोरै छ । सरकारले सबै दल, संस्था, उद्योगपति व्यापारी तथा आम नागरिकलाई उद्धार र राहतमा काम गर्न छुट दिनुपर्छ । सरकारले रास्वपालाई मात्र छुट दिने अरुलाई रोक्ने र एकद्वार प्रणाली लागु गर्ने गर्दा जनताले तत्काल राहत पाउन सकेनन् । बाँच्नु मात्र ठूलो कुरो होइन, दैनिक आवश्यकता पनि पूरा हुनु प¥यो । जनता राहत र उद्धारका लागि तडपिरहेका छन् । तर सरकारसँग अर्बौं राहत संकलन भएरपनि वितरण कार्य गर्न सकेन । जनताका असल प्रतिनिधिहरुले सेवा गर्ने ठाउँमा अनुभवहीन, क्षमताहीन सामाजिक चेत नभएका अराजक व्यक्तिहरु हावी हुनुले तत्काल जनताले राहत पाउन र पुनस्र्थापित हुन सक्दैनन् ।
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनस्र्थापनाको लागि कैयौं वर्ष लाग्न सक्छ । त्यसको लागि नयाँ योजना नै बन्नु पर्छ । तर यसप्रकारका प्राकृतिक घटनाको पुनरावृत्ति हुन नदिन, जनधनको क्षति हुन नदिन बृहत कार्ययोजना बनाउनुपर्छ । हिमाली श्रृंखलामा अझै छो–रोल्पा ताल लगायत साना ठूला गरी दुई हजार भन्दाबढी तालहरु छन् । ती मध्ये कतिपय धेरै पहिलेदेखि फुट्ने अवस्थामा छन् । रिपोर्ट अनुसार ५३५८ तालहरु मध्ये ४२ प्रतिशत तालहरु तीन हजार मिटरमाथि उच्च हिमालीक्षेत्रमा पर्दछन् । यदि पृथ्वीको तापक्रम बढ्दै गयो र हिउँ पग्लेर ताल भरियो भने त्यो फुटेर तल्लो तटीय क्षेत्रमा आउन सक्छ । यो अवस्थामा विश्व समुदायलाई पृथ्वीको तापक्रम ०.०० डिग्री सेल्सीयसमा झार्न अनुरोध गर्नुपर्छ । हाम्रा सबै नदीहरु उत्तरबाट दक्षिण बग्ने हुँदा देशैभरी यो जोखिम रहिरहन्छ । दोस्रो कुरा, सरकारले मानव वस्ती बसाल्नका लागि वैज्ञानिक मापदण्ड बनाउनुपर्छ । खोलामा घर बनाउन दिनुहुँदैन । पहिलेका पुर्खाहरु बेशीमा खेती गर्ने र आफूहरु डाडामा बस्ने गर्थे । अहिले सबै भौतिक संरचनाहरु खोला तथा नदीको किनारमा बनाउने गरिदिएको छ । विकासको यो शैली बन्द गर्नुपर्छ ।
पृथ्वीको तापक्रम बढाउने तत्वहरुमा कार्वनडाईअक्साइड, मिथेन, कार्वनमोनो अक्साइड लगायतका विषालु ग्याँस हाम्रा छिमेकी देश चीन र भारतमा उत्पादन हुने गर्छ । हामी विषालु ग्याँस उत्पादन नगरेर पनि त्यसको दुष्परिणाम भोगिरहेका छौं । त्यसको साथै अमेरिका, जर्मन, जापान, कोरिया लगायतका औद्योगिक धनी देशहरुले आफ्नो अति उत्पादन कार्यलाई नरोक्दा समग्र वायु मण्डल प्रदुषित भएको छ । त्यसकारण यो प्राकृतिक भनिए पनि मानव सिर्जित संकट हो । यो स्थिति आउनुको कारण चीन, भारत, अमेरिका, जर्मन, जापान जस्ता पुँजीवादी तथा साम्राज्यवादी देशहरु नै दोषी छन् । साम्राज्यवादी तथा पुँजीवादी देशहरुको मानवताविरोधी हर्कतको विरोध गर्न र हरित ग्याँस उत्सर्जन प्रक्रियाको विरुद्ध आवाज उठाउन आम नागरिकले ध्यान दिऔं । तब मात्र हाम्रो जीवन दीर्घकालीन रुपमा सुरक्षित हुनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित