चिया उद्योगीको समस्या तत्काल समाधान गर्न ध्यान देऊ

नेपाली चियाको मुख्य बजार भारतले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेको छ । भारतले नेपाली चियामाथि अघोषित रुपमा प्रतिबन्ध नै लगाएको छ । भारतको यस्तो अवरोधका कारण नेपाली चिया उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । भारतीय टी बोर्डले प्रयोगशाला परीक्षणको नाममा नयाँ प्रक्रियागत अवरोधका कारण निर्यात ठप्प बनेपछि नेपालका चिया उद्योगीहरूले उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपाल इलामले प्रेस विज्ञप्ति जारी गर्दै असार १ गतेदेखि आफ्ना सदस्य उद्योगहरू बन्द गर्ने घोषणा गरेको छ । झापाका उद्योगीहरूले पनि असार ४ गतेदेखि उद्योग बन्द गर्ने बताएका छन् । उद्योगहरु बन्द हुँदा उद्योगी सहित चिया टिप्ने मजदुरहरु, चियाखेती गर्ने किसानको रोजगारी गुम्दैछ ।
भारतीय चिया बोर्डले चिया भारतीय गोदाममा पु¥याएर रोकेर आठ–दस दिनपछि नमूना लिइ १५–२० दिनमा मात्रै रिपोर्ट दिने गरेको चिया उद्योगीहरु बताएका छन् । यसले चिया निर्यात ठप्प जस्तै भएको छ । उद्योगीहरूका अनुसार अहिले इलामको मात्रै करिब दुई लाख ५० हजार किलो तयारी अर्थोडक्स चिया भारत तर्फका गोदाममा थन्किएको छ । नेपालभित्रका उद्योगहरूमा थप १० देखि १५ लाख किलो तयारी चिया बिक्री हुन सकेको छैन ।
उद्योगहरूले हरियो पत्ति खरिद रोकेपछि हजारौं किसानको आम्दानी प्रभावित भएको छ । अहिले चिया उत्पादनको मुख्य समय हो । यो समयमा भारतले गरेको अवरोध र उद्योगबन्दले चिया क्षेत्र निकै प्रभावित भएको छ । नेपाली चियामा भारतीयको अवरोध पछि नेपालका साना ठूला गरी १२० हाराहारी चिया उद्योग,१०० भन्दा बढी साना–मझौला उद्यमी, किसान र श्रमिक गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार प्रभावित हुने उद्योगीहरुले बताएका छन् । आय आर्जनको राम्रो माध्यम बनिरहेको चिया खेतीमा भारतीय चिया बोर्डको नयाँ नियमले सबैलाई मार पर्ने देखिन्छ ।
भारतले नेपालमा निर्वाध रुपमा एकाधिकार बजार कायम गरेको छ । भारतीय उत्पादनको मुख्य बजार नेपाल रहँदै आएको छ । भारतीय पक्षबाट चिया सम्बन्धी नयाँ नियम भन्दै प्रक्रियागत झण्झटहरु सिर्जना गर्ने, निर्यात भएको चियामाथि पनि थप परीक्षणको नाममा गोदाममा सड्ने समयसम्म झुलाउने र रिपोर्टमा ढिलाई गरेर सताउने जस्ता कार्य गर्नु अत्यन्त गम्भीर विषय हो । नेपाली चिया उद्योगीहरुले चियाको भरपर्दो बजार अझै प्राप्त गर्न नसकेको गतिलो उदाहरण हो । चिया निर्यातमा अवरोध आउनु राष्ट्रकोलागि आम्दानीको स्रोत गुम्नु हो ।
यो उद्योगीहरुको समस्या होइन। दुइ देशबीचमा व्यापारको विषय देशको प्रमुख विषय पनि हो । यो विषयमा उद्योग बन्द गर्ने अवस्थासम्म पुग्दा सम्म पनि सरकारले कुनै ठोस पहलकदमी गर्न नसक्नु निकै दुःखदायी छ । सरकार राष्ट्रको उद्योग तथा कलकारखानाहरुको संरक्षणको नीतिमा गम्भीर बन्न नसकेको पनि यसले बताउँछ । सरकार उद्योगबाट उत्पादित समानहरुको बजारीकरणलाई व्यवस्थित गर्ने तौर तरिका नै छैन । यो अवस्थामा उद्योगहरुलाई कसरी प्रोत्साहन मिल्छ र ? नयाँ उद्योगीहरु देशमा आउन सक्छन् ? सरकार राष्ट्रका उद्योगहरुको संरक्षणमा विषेश ध्यान दिन नसक्दा सम्म र भरपर्दो बजार नहुँदा सम्म यस्तै दिनहरु भविष्यमा पनि आइरहन्छन् । यो अवस्थामा सरकारले छिटो भन्दा छिटो उद्योगहरु संचालन गर्न ध्यान दिनु पर्छ । भारतीय गोदाममा भण्डारण भएका र नेपाली गोदाममा रहेका उत्पादित चियाको तत्काल बजारीकरण हुनु पर्दछ ।
विगतमा अदुवा निर्यातमा भारतले अप्ठ्यारो पारेको घटना धेरै पुरानो नहुँदै फेरि अहिले चिया निर्यातमा भारतले समस्या पारेको छ । भारतबाट आउने आँप र केराको परीक्षणमा विषादी धेरै मिसिएकाले नेपालले आयातमा कडाई गरेको हुँदा भारतले त्यसको प्रतिशोध लिएको हुन सक्छ । नेपालले भारतबाहेक अन्य मुलुकलाई पनि निर्यात गन्तव्यको खोजी गर्नुपर्दछ र अहिले चिया निर्यातमा भारतीय अवरोध हटाउन कुटनीतिक पहलकदमीलाई पनि यथासीघ्र अगाडि बढाउनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित