-प्रमोद धिताल
विषय प्रवेश
दार्शनिक अध्ययनका लागि सर्वप्रथम जिज्ञासु मन हुन जरुरी छ । बिना संदेह र जिज्ञाशा दार्शनिक अध्ययनतिर मानिस जान सक्दैन । जसलाई यो दुनियाँ ठिकठाक चलिरहेको छ, अरु कसैले बुझेको कुरामा विश्वास गरिदिए र त्यसैलाई बोकेर हिडे पुग्छ भन्ने लाग्छ, उसलाई पनि दार्शनिक अध्ययनको जरुरत छैन । त्यस्तो व्यक्तिलाई लाग्छ कि दर्शनको अध्ययन क्षेत्र आम मानिसहरुको चासोको विषय नै होइन । बरु यो फुर्सदिला, सीमित र सौखिन मानिसहरुको क्षेत्र हो । उनीहरुलाई आफै मेहनत गरेर यसलाई बुझ्नुपर्ने, ब्याख्या गर्नुपर्ने र बदल्नुपर्ने लाग्दैन, ती व्यक्तिहरुका लागि न दार्शनिक अध्ययनको आवश्यकता छ न यस्ता कार्यक्रमहरुको । कहिलेकाही उनीहरुका लागि यस्ता विषयहरु क्षणिक मनोरञ्जन र मन बहलावका साधन बन्न सक्छन्, त्यो बेग्लै कुरा हो ।
“दर्शन एउटा पुरातन विज्ञान हो । यो अन्य विज्ञानसँग यस कुरामा मिल्दोजुल्दो छ, जसले आसपासको जगतको अध्ययन गर्दछ । तर जगतको अध्ययनप्रति आफ्नो रवैयामा, आफ्नो विषयवस्तु तथा अध्ययन पद्धतिको मामिलामा तिनीहरुबाट भिन्न हुन्छ ।….प्रत्येक विज्ञान वरिपरिको जगतको एउटा ठोस अंश या क्षेत्रको त्यसका केही सम्पर्क या सम्बन्धहरुको अध्ययन गर्छ ।….दर्शनको प्रमुख विशेषता भनेको यसले हमेशा आसपासको सम्पूर्ण जगतको, त्यसको सार तथा दशाको स्पष्टीकरणको खोज गरिरहन्छ ।”१
दर्शनको उत्पत्ति दास युगीन समाजमा भएको थियो । दार्शनिक चिन्तन भ्रूणावस्थामा रहेको आदिम सामुदायिक समाजमा मानव शरीरको संरचना, मृत्युका कारण, शरीरका क्रिया–प्रतिक्रिया, विभिन्न प्राकृतिक घटनाहरुको कारणबारे कुनै जानकारी हुने कुरा भएन । दास प्रथावाला समाजमा हस्तकला, व्यापार र विज्ञानलाई विकसित गर्ने इच्छा राख्ने प्रगतिशील शक्तिहरुद्वारा दास स्वामीहरुका रुढिवादी अभिजात वर्गीय कबीलाहरुको राजनीतिक र आर्थिक शासको विरुद्ध संघर्षको दौरान भौतिकवादी विश्वदृष्टिकोणको विकास भयो । त्यसैगरी भौतिकवादले सामन्तवादी समाजमा आफ्नो विकासका लागि सामन्त वर्ग र तिनका विचारसँग संघर्ष ग¥यो । त्यसका लागि पूँजीवादले निकै ठूलो जीवन–मरणको लडाई लडेकोछ । तर जब ऊ आफै सत्तासीन भयो भौतिकवादलाई आफ्नो मुनाफाकेन्द्रित स्वार्थमा प्रयोग गर्न थाल्यो । आज पूँजीवादले विज्ञानको त्यसरी विकास गर्न चाहँदैन जसले समाजको हित गरोस् र मुनाफा नदेओस् । यसको अर्थ हो, भौतिकवादले आफ्नो विकासका लागि आज पूँजीवादसँग संघर्ष गर्नुपर्ने आवश्यकता छ ।
भौतिकवाद र यसका विशेषता
मानव सभ्यताको प्रारम्भिक चरणमा विचार, दर्शन र सिद्धान्त भन्ने केही कुराहरु थिएनन् । सुरुमा मानिसका सामु केबल प्रकृति थियो । उसको एकमात्र काम आफ्नो अस्तित्वरक्षाका लागि प्रकृतिसँग संघर्ष गर्नु थियो । त्यतिखेरको भौतिकवादको चरित्र आदिम खालको थियो । दर्शन, सिद्धान्त, धर्म जस्ता कुराहरुको विकास समाज विकासको दौरानमा धेरै पछि भएका हुन् । मानव जातीले नै विचार, दर्शन, सिद्धान्त, धर्म, ईश्वर लगायतका कुराहरुको आविष्कार गरेको हो ।
भौतिकवादको विकासका लागि युरोपको ठूलो योगदान छ । प्राचीन ग्रीक दार्शनिकहरु थेल्स, डेमोक्रिटस(जसलाई पश्चिमी भौतिकवादका पिता भनिन्छ), एपिक्युरस थिए । त्यसैगरी पुनर्जागरण र आधुनिक युगका दार्शनिकहरु थोमस हब्स(१५८८–१६७९), रेने देकार्त(१५९६–१६५०), डेनिस डिटरट, हलबाक, लुडबिग फायरबाख, माक्र्स, ऐंगेल्स उल्लेखनीय छन् । यद्यपि यीमध्य केहि दार्शनिकहरु कैयौं सवालमा भौतिकवादी थिए भने केहि सवालहरुमा अध्यात्मवादी । धर्म र ईश्वरको साम्राज्यमा रुमल्लिएको सामन्तवादसँग संघर्ष गर्ने दौरानमा विज्ञान र भौतिकवादको विकासमा पूँजीवादको निकै ठूलो योगदान छ । सत्तासीन भएसँगै आजको समयसम्म आइपुग्दा जब मुनाफा आर्जन मुख्य बन्यो आज विज्ञान र भौतिकवादको विकासमा त्यही पूँजीवाद बाधक बनेको छ ।
त्यसैगरि दक्षिण एसियामा भौतिकवादको विकासमा लोकायत(चारबाकहरुको विचार पद्धति) दर्शनको ठूलो योगदान छ । यस दर्शनको स्थापना वृहस्पतिले गरेका कारणले बार्हसपत्य दर्शन पनि भनिन्छ । यसका अनुयायीहरुको विश्वास के थियो भने विश्व भौतिक छ र पाँचवटा प्राथमिक तत्व पृथ्वी, जल, आगो, वायु र आकासबाट बनेको छ । मनुष्य सहित सबै जीवहरुको उत्पत्ति पनि यिनै तत्वहरुबाट भएको हो । मृत्युपश्चात जीवहरुको शरीर यिनै तत्वहरुमा मिसिन्छ । चारबाकहरुले ‘अनश्वर आत्मा’को कुरा, ईश्वर, नर्क, स्वर्गका धारणाहरुको पनि आलोचना गरे । उनीहरुको मत थियो–मृत्युपछि चेतना नष्ट भएर जान्छ । यसकारण पुनर्जन्मको मान्यतालाई इन्कार गरे । चारबाकहरुको विश्वास थियो भौतिक जगत कुनै पनि दैवी अनुग्रहबाट स्वतन्त्र छ । यस दर्शनसँग सम्बन्धित कुनै ग्रन्थहरु नभेटिएपनि यसको महत्वलाई कम आक्न मिल्दैन । कर्मकाण्ड, स्वर्ग–नर्कको मान्यतामाथि यसले ठूलो प्रहार ग¥यो । त्यसरी नै यस क्षेत्रमा अन्य कैयन विचार पद्धतिहरुमा पनि भौतिकवादी रुझान व्यक्त भएका छन् । ईसापूर्व ६०० पूर्व स्थापित सांख्य दर्शनमा गति, देश र काललाई पदार्थका गुणहरुको रुपमा ब्याख्या गर्दै त्यसबाट अभिवाज्य भएको कुरा उल्लेख गरे ।
\
चीनमा पनि दास प्रथाको विकास र उत्थानसँगै भौतिकवाद र अध्यात्मवाद दुई दर्शनहरुको विकास भयो । भौतिकवादको विकासका लागि मो त्जु(ईसा पूर्व ४७९–३८१) एक महत्वपूर्ण चिन्तक थिए । केहि समयपछि ताओवादसँगै भौतिकवादी विश्वदृष्टिकोणको विकास भयो । जसको स्थापना लाओत्सेले ईसापूर्व छैठौं–पाँचो शताब्दीमा गरेका थिए । “ताओ” अर्थात् प्रकृतिका नियमहरुद्वारा गतिको नियमन र सञ्चालन हुने उनको विश्वास थियो ।
जीवन र जगतका बारेमा हरेक मानिसको आफ्नै खालको बुझाई रहेको हुन्छ । त्यसलाई हामी विश्वदृष्टिकोण भन्छौं । जनिसुकै विचारदेखि मुक्त हुन खोजे पनि, दर्शनलाई केही मुठ्ठीभर व्यक्तिहरुको बुद्धिविलासको विषय ठाने पनि मानिस विश्व दृष्टिोणरहित हुन सम्भव छैन । त्यही विश्व दृष्टिकोण निर्माणका लागि सैद्धान्तिक आधार दर्शनले दिन्छ । जानेर होस् या नजानेर हरेक व्यक्ति कुनै न कुनै दर्शनको प्रभावमा परेकै हुन्छ । यद्यपि त्यो कुरा उसलाई थाहा नहुन सक्छ । कुनै पनि समस्या, घटना र विषयलाई हेर्ने हरेकका आफ्नै तरिकाहरु हुन्छन् । दर्शन भनेको जीवन तथा आफ्नो वरिपरिको जगतलाई हेर्न सघाउने शास्त्र हो । समाजमा विभिन्न दर्शनहरु छन्, तीमध्य एक भौतिवाद हो । जीवन र जगतलाई हेर्ने सवालमा आधारभूत भिन्नताका कारणले दर्शन दुई खेमामा बाँडिएको छ । एकथरि दर्शनले यो दुनियाँलाई स्थिर, बाह्य शक्ति या चेतनाबाट निर्मित, तथा सञ्चालित, मानिसले चाहेर पनि बुझ्न र बदल्न नसकिने, एक अर्कासँग असम्बन्धित एकाईहरुको जमघटको रुपमा परिभाषित गर्छ भने अर्कोले यसलाई गतिशील, अन्तर्विरोधद्वारा विकास हुने, एक अर्कासँग सम्बन्धित, बुझ्न, व्याख्या गर्न र बदल्न सकिने ठान्छ । यिनै मतहरुका आधारमा दर्शनको विभाजन अध्यात्मवाद र भौतिकवादको रुपमा हुनपुग्यो । संसार र यसमा घट्ने घटनाहरुलाई हेर्ने फरक ढंगका कारणले दर्शन विपरित कित्तामा उभिन पुगे । अध्यात्मवाद (जसलाई प्रत्ययवाद, भाववाद या आदर्शवाद पनि भनिन्छ)ले चेतनालाई प्राथमिक मान्दछ भने भौतिवादले पदार्थलाई । यही आधारमा भौतिकवादी दर्शनलाई सही, वस्तुवादी या वैज्ञानिक र भाववादलाई गलत, अवस्तुवादी या अवैज्ञानिक दर्शन पनि भनिन्छ ।
‘दर्शन व्यक्तित्वको मर्म हो भने सही दर्शन मर्मको पनि मर्म हो ।’२ भौतिवाद जीवन र जगतलाई हेर्ने सही या वैज्ञानिक दर्शन हो, जसले अध्यात्मवादी दर्शनसँग आधारभूत रुपमै भिन्नता राख्छ । शासक वर्गले जहिले पनि गरिखाने वर्गलाई आफ्नो अधीनमा राख्नका लागि बेठिक दर्शनको सहारा लिन्छ । जसले गर्दा शोषित–पीडित वर्ग सत्यको नजिक पुग्न र गलतका विरुद्ध संघर्ष गर्न नसक्ने हुन्छ । “चुसी खानेको दर्शन अलग्गै हुन्छ, गरी खानेको अलग्गै । गरी खानेले पनि चुसी खानेकै आँखाबाट संसारलाई हेर्नथाल्योभने चुसी खानेको स्वर्ग ज्यूँका त्यूँ बाँकि रहन्छ, त्यो कहिल्यै हल्ल्दिैन ।”३
“वैज्ञानिक भौतिकवादी विश्वदृष्टिकोण त्यो अवैज्ञानिक विश्वदृष्टिकोणको विरोधी हुन्छ, जो या त विश्वको स्वतःस्फूर्त बुझाई(तथाकथित सामान्य विश्वदृष्टिकोण) माथि या मिथ्या संकल्पनाहरु(विभिन्न अध्यात्मवादी धारणाहरु)माथि अथवा वास्तविकताको धार्मीक या पौराणिक बुझाई(धार्मिक विश्वदृष्टिकोण)माथि टिकेको हुन्छ ।”४
मानव सभ्यताको विकास, वर्गीय समाजको उद्भवसँगै दर्शनको विकासमात्र भएन निषेधको निषेध नियम दर्शनको क्षेत्रमा पनि लागू भयो । त्यसैगरि भौतिकवादका पनि विभिन्न रुपहरु छन् । प्रारम्भिक या प्राचीन भौतिकवाद, यान्त्रिक या अधिभूतवादी भौतिवाद र वैज्ञानिक भौतिकवाद । भौतिकवादी दर्शनको इतिहासमा वैज्ञानिक या द्वन्द्वात्मक भौतिकवाद नै आजसम्मको सबैभन्दा सही दर्शन हो ।
भौतिकवादका विशेषताहरु
भौतिकवादका केही महत्वपूर्ण विशेषताहरु छन् जसले यसलाई अध्यात्मवादी दर्शनभन्दा भिन्न कित्तामा राख्छ ।
क) संसार परिवर्तनशील छ
संसार र यसमा भएक जति पनि कुराहरु छन् ती सबै परिवर्तनशील छन् । दुनियाँमा स्थिर भन्ने कुरा केही छैन । कुनै पनि कुरा उस्तै र उही रुपमा कहिल्यै रहँदैन । हरेक कुराको जन्मसँगै विकास र विनाश हुन्छ । यसको अर्थ यो पनि हो कि प्रकृति र समाजका नियमहरुको अधीनमा रहेर मानिसले सचेतन प्रयत्नद्वारा परिस्थितिलाई बदल्न सक्छ । ढुङ्गा र लठ्ठीको सहाराले शिकार गरेर बाँच्ने मानिस आज विज्ञान–प्रविधिको युगमा आइपुगेको छ । यो उसले निरन्तर गर्दै आएको सचेतन प्रयत्नकै उपज हो । यदि आफूलाई भाग्य र परम चेतनाको भरमा छोडिदिएको भए मानिस प्रारम्भमा जुन अवस्थामा थियो, सधैं त्यही अवस्थामा रहन्थ्यो । जसरी संसार परिवर्तनशील छ यसभित्र भइरहेका अनेकौं परिवर्तनहरुका लागि मानिस एउटा महत्वपूर्ण कारक हो । जसरी आफू वरिपरिको वातावरण अनुरुप मानिस परिवर्तन भइरहेको हुन्छ भने वातावरण पनि मानिसको अनुकूलता र सचेतन प्रयत्न अन्तर्गत परिवर्तन भइरहेको हुन्छ । किनभने मानिस स्वयं पनि वातावरणकै एउटा हिस्सा हो ।
ख) जीवन र जगतलाई बुझ्न सकिन्छः भौतिकवादको मान्यता हो, यस संसारमा भएका जति पनि कुराहरु छन् तिनलाई बुझ्न सकिन्छ । यसले कुनै पनि विषयलाई आँखा चिम्लेर समर्थन गर्ने कुरालाई समर्थन गर्दैन । प्रयोग र संघर्षहरुको बिचबाट मानिसले संसारका अनेकौं रहस्यहरुका गुत्थी सुल्झाउदै आएको छ । तर जति कुरा मानिसले बुझेको छ, तीभन्दा धेरै कुराहरु बुझ्न बाकी नै छ । त्यही भएर भौतिकवादले निरपेक्ष सत्यको कुरा गर्दैन । हिजो जुन ज्ञान र आविष्कारलाई पूर्ण ठानिएको थियो आज विकास भएका नयाँ ज्ञान र आविष्कारहले त्यसलाई अपूर्ण सावित गरेका छन् । आज पूर्ण ठानिएको ज्ञानमा नयाँ–नयाँ जानकारीका आयामहरु थपिदै जान्छन् । यसरी ज्ञानको क्षेत्र निरन्तर विस्तार हुँदै जान्छ ।
ग) जीवन र जगतलाई बदल्न सकिन्छ
संसार परिवर्तनशील छ भने मानिसले आफ्नो बुद्धि–विवेक र सचेतन संघर्षबाट परिवर्तनका नियमहरुलाई प्रयोग गररे यसलाई बदल्न सक्छ । उसले आफू वरिपरिको परिवेश र आफू स्वयंलाई पनि निरन्तर बदल्दै आएको छ । कुनै समयको दास समाजलाई बदलेर सामन्ती समाज बन्यो, त्यसैगरि सामन्ती समाजको अन्त्य भएर पूँजीवादी समाज बन्यो । पूँजीवादी समाज पनि बदलिएर यो भन्दा उन्नत समाज बन्न सक्छ भन्ने इतिहासले पनि साबित गरेको छ । यी सबै घटनाहरुमा मानिसको सचेतन प्रयत्नले काम गरेको छ । सचेतन प्रयत्न र परिवर्तनको कुरा गर्दा मानिस स्वयंले पनि आफूलाई निरन्तर बदलिरहेको छ । उत्पादन, वैज्ञानिक प्रयोग र वर्ग संघर्षमा सहभगिताले नै समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्छ । यी गतिविधिहरुबाट अलग रहेर मानिसले जीवन र जगतलाई बदल्न सक्दैन ।
घ) विकास र विनासको मूल कारण आन्तरिक हुन्छः कुनै बस्तु या घटनाको विकास या बिनासको मुख्य कारण आन्तरिक हुन्छ । त्यसका अनेकौं सहायक कारणहरु पनि हुन्छन् । पहाडमा पहिरो जान्छ, एउटा बुझाईले भन्छ–वर्षातले गर्दा पहिरो गयो । तर अर्को बुझाईले भन्छ–वर्षात सहायक कारण त हो तर आन्तरिक कारण पहिरो गएको माटोको कम्जोर आन्तरिक अवस्था हो ।
ङ) सही विचारको कसी व्यवहार होः
कुनै पनि सिद्धान्त त्यतिखेर औचित्यहीन हुन्छ, जब त्यो पुस्तकदेखि पुस्तक, ब्याख्यानदेखि ब्याख्यान र दिमागदेखि दिमागसम्म सीमित हुन्छ । सिद्धान्त सही छ या गलत भन्ने कुराको मापन अभ्यासले गर्छ । त्यसरी नै शब्द र कर्मबिचको एकता नै त्यो कसी हो जसले कुन व्यक्ति के हो भन्ने कुराको फैसला गर्छ । जस्तो कि भौतिकवादी पुस्तक पढ्नु, प्रशिक्षण लिनु, त्यसलाई ब्याख्या गर्न सक्ने हुनु भौतिकवादी चिन्तन–कर्महरुमध्यको एउटा पक्ष हो । तर यसैले कोही भौतिकवादी हो या होइन भन्ने कुराको फैसला गर्दैन । व्यक्ति भौतिकवादका बारेमा जानकार हुँदाहुँदै पनि विश्वदृष्टिकोणदेखि लिएर जीवनका सबै पक्षहरुमा भौतिकवादी व्यवहार देखाउछ कि देखाउँदैन भन्ने कुराले समग्रमा त्यो व्यक्ति को हो भन्ने कुराको निर्धारण गर्छ । तर हामीकहाँ भौतिकवादी तर्क गर्न सक्ने भएमा भौतिकवादी भइहालिन्छ भन्ने भ्रम छ । हाम्रो समाजमा यस्ता भौतिकवादीहरुको नै बाहुल्यता छ, जो मुखले भौतिकवादी तर चिन्तन अभ्यासका हिसाबले अध्यात्मवादी छन् ।
भौतिकवाद भन्छ सही विचारको कसी व्यवहार नै हो । व्यवहार भनेको उत्पादनका लागि संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग हो । तर यसको विरोधी दर्शन भन्छ–सही विचारका लागि व्यवहारको जरुरत छैन, त्यो दिमागभित्रै पैदा हुन्छ ।
“वस्तुहरु हाम्रो बाहिर विद्यमान छन् । हाम्रो अवबोधन र विचार तिनका बिंब हुन् । यी बिम्बहरुको सत्यापन, वास्तविक र मिथ्या बिम्बहरुको बिचमा विभेदीकरण व्यवहारबाट हुन्छ ।” र अगाडिः “संज्ञानको सिद्धान्तको पहिलो र आधारभूत दृष्टिकोण जीवनको, व्यवहारको दृष्टिकोण हो ।”५
भौतिवादबारे फिंजाइएका केही भ्रमहरु
भौतिकवादी दर्शनबारे फैलाइएको एउटा भ्रम हो–यो दर्शन खन्चुवाहरुको दर्शन हो । अर्थात् भौतिक सुखसुविधा र वस्तुलाई केन्द्रमा राख्छ । यसबाहेक भौतिवादी दर्शनसँग कुनै संस्कृति, आचरण र नैतिकता भन्ने हुँदैन । यसले केवल भौतिक पक्षलाई मात्र महत्व दिन्छ भन्ने खालको भ्रम छ । यसो भन्दै गर्दा भौतिवादलाई उपभोक्तावादको पर्यायको रुपमा परिभाषित गरिन्छ । तर यो इतिहासले सिद्ध गरेको र वर्तमान वास्तविकतासँग मेल नखाने कुरा हो । त्यसैगरी भौतिकवादमाथि लागेको अर्को आक्षेप हो–योसँग कुनैउच्च आदर्श, मूल्य–मान्यता, नैतिकता र आचरण हुँदैन ।
जब कि आज पूँजीवादी व्यवस्था र अध्यात्मवादी दर्शन (अर्थात् प्रतिक्रियावादी दर्शन) को बीचमा गहिरो साइनो छ । जति पनि धार्मिक र ईश्वरीय चिन्तनहरु छन् तिनले जुन तरिकाले भएपनि यही शोषणकारी व्यवस्थालाई नै सघाउ पु¥याउछन् । अहिलेको व्यवस्थाको टिक्ने सबैभन्दा ठूलो आर्थिक–सांस्कृतिक आधार उपभोक्तावाद हो ।
एउटा भनाई हामीले सुन्दै आएका छौं–‘आवश्यकता नै आविष्कारको जननी हो ।’ तर आजको व्यवस्था(पूँजीवाद) र यसको अघोषित नारा भएको छ–‘आविष्कार नै आवश्यकताको जननी हो ।’ अर्थात् पूँजीवादले जे आविष्कार गर्छ, त्यो मानिसको आवश्यकता बन्छ । ‘खाऊ, पिऊ र मस्ती गर’, ‘मानिस जन्मजात स्वार्थी र लोभी प्राणी हो ।’, ‘पैसाभन्दा ठूलो केही छैन ।’, ‘मानिसका आवश्यकताहरु असीमित हुन्छन् ।’ जस्ता भाष्यहरु यसकै आधारमा निर्मित भएका हुन् । आज भौतिकवादविरोधी या भाववादका अनुयायीहरु नै सबैभन्दा बेसी उपभोक्तावादी देखिन्छन् । “ब्रम्ह सत्य र जगत मिथ्या”का अनुयायीहरु नै उपलब्ध भएसम्म सबैखाले भौतिक सुखभोग गर्न चाहन्छन्, तर समाजका विकृतिहरुको दोष भौतिकवादलाई दिने गर्छन् । भौतिकवाद अघाएको पेटको दर्शन होइन । न यो बन्द कोठामा ध्यान गरेर ज्ञान पाइन्छ या गूरुभक्ति नै ज्ञानको स्रोत हो भन्ने हावादारी कुराको बिचबाट विकास भएको हो । बरु यो प्रयोग, प्रश्न, परीक्षण, विद्रोहका आँधीबेहरी र संघर्षको बिचबाट पैदा भएको दर्शन हो । व्यवहारभन्दा बाहिर कुनै ज्ञान हुँदैन–यो नै भौतिकवादी दर्शनको मूल कुरा हो ।
भौतिकवादले वर्गसमाजमा त्यस्तो कुनै आचरण र नैतिकताको समर्थन गर्न सक्दैन, जुन वर्गस्वार्थभन्दा माथि होस् । दाशयुग र दाश समाजमा दाशहरुको कुनै मानवीय मूल्य थिएन । उनीहरु मालिकहरुद्वारा खसी कुखुराझैं किनबेच र उपहार दिइने बोल्ने माल थिए । दाशहरुमाथि गरिने अमानवीय व्यवहार नै त्यतिखेरको दाश मालिकमा आधारित समाजको आचरण र नैतिकता थियो । त्यसैगरि सामन्तवादी युग र समाजमा स्त्री, दलित र जनजातीहरुमाथि उत्पीडन गर्नु र उनीहरुको श्रमको शोषण गर्नु सदाचारभित्र पथ्र्यो । खातापिता वर्गका निम्ति यो सदाकालदेखि नैतिकता र सदाचारभित्र पर्ने कुरा हो । आज आएर महिलारुको बस्तुकरणदेखि मानिसलाई उपभोक्ता प्राणीमा बदल्नु र श्रमको शोषणमार्फत मुनाफा कमाउनु पूँजीवादी आचरण र नैतिकताभित्र पर्छन् ।
यसको विपरित भौतिकवादी आचरण र नैतिकता बहुसंख्यक जनता या समाजको हितसँग जोडिन्छ । समाजको हितसँग बाझिने सदाचार र नैतिकता दुराचारी र अनैतिक हुन्छ । यसले आचरण र नैतिकतालाई ईश्वरीय सत्ता या धर्मसँग जोड्ने कुराको विरोध गर्छ । नैतिकता, आचरण, संस्कार, मानवीय संवेदना, परोपकार जस्ता कुराहरुलाई धर्म र ईश्वरीय सत्ताबाट मुक्त गरेर मात्र सार्थक बनाउन सकिन्छ । आज कुनै दुनियामा आचरण, नैतिकता र मानवीय कल्याणको आवरणभित्र मानवतालाई खोक्रो बनाउने काम भएको छ भने त्यो धार्मिक दुनिया हो । धर्मका नाममा जेजति द्वन्द्व, लडाइँ झगडा, मारकाट र विध्वंशहरु भएका छन् त्यति सायदै अरु कुनै खाले द्वन्द्व या युद्धबाट भएका होलान् । ईश्वरीय सत्ताबाहेक पनि आचरण र नैतिकताको विकास हुन्छ भन्ने कुरा बौद्ध र जैन धर्महरुलाई हेरे पुग्छ । कर्मकाण्ड र मूर्ति पूजाको बिरुद्ध विकास भएको बौद्ध धर्म आचरण र नैतिकतासम्बन्धि अनेकौं शिक्षाहरुले भरिएको छ ।
त्यसैगरि आजभोलि विज्ञानद्वारा भौतिकवादको खण्डनको भ्रम फैलाइदैछ । भौतिकवादले कुनै पनि कुरालाई स्थिर र अपरिवर्तनीय मान्दैन । मानिसको ज्ञानको सीमा छ र सत्य सापेक्ष हुन्छ । त्यसैगरि विज्ञानका आविष्कारहरु पनि सापेक्षित रुपमा सत्य हुन् । विज्ञानले पत्ता लगाउन बाकि धेरै कुराहरु छन् । अन्तिम सत्य भन्ने कुरा केहि हुँदैन । सबै कुराको जवाफ आदर्शवादीहरुसँग मात्र हुन्छ । किनभने उनीहरुका लागि यो संसार अपरीवर्तनीय, जड र स्थिर हो । उनीहरुको ज्ञान संदेह, तथ्य, तर्क, परीक्षण र निरीक्षणमा होइन आस्था, विश्वास र भक्तिमा आधारित हुन्छ । ज्ञानको क्षेत्रमा प्राप्त भएको नयाँ उपलब्धीले पुरानो ज्ञानका उपलब्धीहरुलाई पनि आफूसँगै समेटेको हुन्छ भने त्यसका कम्जोरीहरुलाई निषेध गरेको हुन्छ । यस कुरालाई विज्ञानले कहींनेर खण्डन गर्दैन, बरु समर्थन नै गर्छ । भौतिकवाद आफ्नो स्वभावले नै एउटा रचनात्मक दर्शन हो । निरन्तर परिवर्तनशील विश्वका बारेमा स्पष्ट हुँदै बद्लिदा ऐतिहासिक अवस्थाहरुमा यो स्वयं पनि विकसित र परिष्कृत हुँदै जान्छ । नयाँ–नयाँ वैज्ञानिक आविष्कार र व्यवहारिक क्रान्तिकारी अनुभवले समृद्ध हुँदै जान्छ ।
अर्को अर्थमा यो यसकारण विकसित हुँदै जान्छ कि भौतिकवादी दर्शन श्रमजीवी वर्गीय मुक्ति आनेलनको सैद्धान्तिक हतियार हो । क्रान्तिकारी व्यवहारसँग अद्यावधिक नभएर या समाजका ज्वलन्त प्रश्नहरुको उत्तर नदिएर यसको विकास असंभव हुन्छ । त्यसैगरि यो आलोचनात्मक र स्व–आलोचनात्मक हुन्छ । यसले केबल ती निष्कर्षहरुलाई मात्र स्वीकार गर्छ, जुन वास्तविकताको अनुरुप छन् । सामाजिक प्रगतिको सेवा नगर्ने निष्कर्ष र विचारहरुलाई छोड्नु यसको विशेषता हो । भौतिकवाद रुढ मतहरुको होइन सक्रियताको पक्षपाती हुन्छ । यसकारण पनि भौतिकवादलाई विज्ञानको विरुद्धमा उभ्याउने प्रयास गलत छ ।
समाजमा दार्शनिक समन्वयको भ्रम पनि छ । कतिपय मानिसहरु दुई दर्शनबिच समन्वयको भ्रम दिने गर्छन् । भौतिकवादी दर्शनले जीवन र जगतका भौतिक पक्षहरुमा मात्र केन्द्रित छ । यसले मनोवैज्ञानिक, नैतिक, सांस्कृति तथा आचरणको पक्षलाई समेट्न नसकेको कारण अध्यात्मवादलाई जोडेर लैजानुपर्ने हास्यास्पद प्रस्ताव पेश गर्छन् । ज्ञानको क्षेत्रमा रहेको यो बचकाना तर्क हो । भ्रम र वास्तविकता अनि सही र गलतको बीचमा समन्वय हुँदैन, बरु संघर्ष हुन्छ । दार्शनिक अध्ययनको मूल प्रश्न नै चेतना प्राथमिक कि पदार्थ भन्ने हो । यी भनेका एक आपसमा विरोधी विचार हुन् । यी दुई दर्शनको बीचमा समन्वय असंभव छ ।
भौतिकवादी दर्शनको नैतिकता र आचरण भनेकै समाज हित, मानवको बहुमुखी मानसिक सांस्कृतिक विकास हो । यो कुरा बुझ्नका लागि भौतिकवादी दर्शनलाई आफ्नो राजनीतिक दर्शनका रुपमा स्विकार गर्ने व्यवस्थाहरुले गरेका बौद्धिक, सांस्कृति र नैतिक विकासहरुको इतिहास अध्ययन गर्न आवश्यक छ ।
भौतिकवादी किन हुने ?
गौतम बुद्धले अज्ञानतालाई दुःखको कारण बताउनुभयो । यसैगरी वैज्ञानिक भौतिवादका प्रवत्र्तक कार्ल माक्र्सले भन्नुभएको थियो–“अज्ञानताले कसैलाई फाइदा गरेको छैन र यो कैयौं विपत्तिहरुको कारण बन्नेछ ।”६ दर्शनको क्षेत्रमा स्थापित परम्परागत मान्यता र अभ्यासमाथि प्रश्न उठाउदै उहाँले यो पनि भन्नुयभो–“दार्शनिकहरुले विभिन्न तरिकाले विश्वको केवल व्याख्या गरेका छन्, तर प्रश्न विश्वलाई बदल्नु हो ।”७ यो नै त्यस्तो महत्वपूर्ण र सर्वाधिक उन्नत आधार हो जसले हामीलाई भौतिकवादी हुनुपर्छ भन्ने निश्कर्षमा पु¥याउँछ ।
समाज र जीवनमा यदि खराबीहरु छन् भने त्यसलाई बदल्नु अनिवार्य हुन्छ । यदि बदल्न अनिवार्य छ भने त्यसलाई बुझ्नु पनि अनिवार्य छ । ठीक ढंगले समाजलाई नबुझिकन यसलाई बदल्न सकिन्न । त्यो आधार भौतिकवाद नै हो जसले हामीलाई समाज बुझ्न र सही विश्वदृष्टिकोण निर्माणका लागि दिशासूचकको काम गर्छ ।
आज जतिसुकै हामी वैज्ञानिक र आधुनिक युगमा छौं भनेपनि पढेलेखेको शिक्षित जमात नै अतीतमुखी, सडेगलेका, थोत्रा भइसकेका विचारहरु बोकेर हिडेको छ । यसको एउटै कारण हो, आजको व्यवस्था अन्तर्गत जुन वर्ग सत्तामा छ त्यस्ता विचारहरुले उसलाई नै टिक्न र स्वार्थपूर्तिक लागि सघाउछन् । उसले शिक्षित, प्राविधिक, वैज्ञानिक, राजनीतिकर्मी र बौद्धिकहरु पनि आफू अनुकूलकै निर्माण गर्छ । अहिले हे¥यो भने राज्यसत्तादेखि तमाम समाजिक संस्थाहरुमा भौतिकवादी, धर्मनिरपेक्ष, प्रगतिशील र वैज्ञानिकभन्दा पनि सडेगलेका रुढिग्रस्त, अवैज्ञानिक, धार्मिक तथा उपभोक्तावादी विचारहरु नै फैलाउने काम भइरहेको छ । किनभने भौतिकवादी र वैज्ञानिक विचारहरुले त्यो वर्गको स्वार्थको हित गर्न सक्दैनन् ।
यसबाट प्रष्ट हुने कुरा हो–यदि हामी समाज र विद्यमान समस्याहरुप्रति जवाफदेही हुने हो भने भौतिकवादी हुनुको विकल्प छैन । यसले समाज र मानव जीवनमा विद्यमान समस्याहरुलाई वस्तुवादी ढंगले पहिचान गर्न र समाधानका लागि बाटो देखाउछ । यसका विपरित अध्यात्मवादले समस्याहरुलाई कुनै अलौकिक चेतनाको जिम्मामा छोडिदिएर जीवन र जगतदेखि पलायनको बाटो रोज्न लगाउँछ ।
आज विज्ञानको ठाउँमा छद्म विज्ञानले लिएको छ । जसले अवैज्ञानिक, रुढिग्रस्त, अन्धविश्वासमा आधारित भाग्यवादी गतिविधि, अभ्यास र परम्पराहरुलाई पनि विज्ञानमा आधारित भनेर अज्ञानताको खेती गर्छ । धार्मिक धन्दाहरुलाई नयाँ–नयाँ रुप–रङ्हरुमा प्रबद्र्धन गरिदैछ । जसले मानिसलाई पहिलेभन्दा मानवीय, विवेकशील, तर्कशील र वैज्ञानिक विश्वदृष्टिकोणयुक्त भन्दा पनि थप रुढिग्रस्त, अन्धभक्त र अतीतमुखी बनाउदै लगिरहेको छ । यस्तो अवस्थाबाट समाजलाई मुक्त गर्न र एउटा वैज्ञानिक सोंचमा आधारित मानवीय समाज निर्माणका लागि मानिस भौतिकवादी हुन जरुरी छ । भौतिकवादी हुनुको अर्थ हो–वैचारिक भ्रम र भुलभुलैयाको संसारबाट आफूलाई मुक्त गर्नु । अवस्तुवादी, अवैज्ञानिक र भ्रममा आधारित ज्ञान(मिथ्या ज्ञान)बाट मुक्त भएर वस्तुवादी, वैज्ञानिक र यथार्थमा अधारित ज्ञानको दिशामा यात्रा गर्नु ।
हामीले चाहेर होस् या नचाहेर जन्मिसकेपछि सामाजिक प्रशिक्षणका माध्यमबाट सत्ताधारी विचारको प्रभाव स्वतः पर्न थाल्छ । आजका दिनमा त्यो सत्ताधारी विचार भनेको अध्यात्मवाद र उपभोक्तवादमा आधारित विचार हो । जसलाई प्रबद्र्धन गर्नु पूँजीवादको महत्वपूर्ण काम हो । यतिखेर अध्यात्मवाद र उपभोक्तावाद एउटै सिक्काका दुईवटा पाटाजस्तै छन् । त्यसकारण आजका बच्चाहरुमा पनि हामीले अतीतमुखी, भाग्यवादी र अध्यात्मवादी दर्शनको प्रभाव नै बढि देख्छौं ।
विद्यमान व्यवस्थामा धर्मनिरपेक्षता केबल फलाक्ने कुरा भएको छ । आज हरेक सामाजिक तथा शैक्षिक संस्थाहरुले बालबालिकाहरुलाई धार्मीक, रुढिवादी र अन्धविश्वासले भरिएको शिक्षा दिन्छन् । विद्यालयमा पुस्तकालय होस् नहोस्, पुस्तकालय भए पनि त्यसको सदुपयोग होस् नहोस् तर विद्यालयको प्रांगनमा हिन्दू धर्ममा आधारित मन्दिर अवश्य हुन्छ । हरेक दिन मन्दिरको निर्जीव मूर्तिलाइ ढोग्न लगाएर जहाँ प्रश्न र अनुसन्धानको होइन, आस्था र भक्तिको तालिम दिइन्छ । सरस्वती पूजाको दिन ज्ञान प्राप्तिको स्रोत सरस्वती देवी हुन् भन्ने प्रशिक्षण दिइन्छ । ईश्वरको नाममा विहानी प्रार्थना अपवादलाई छोडेर प्रायः शिक्षण संस्थाहरुमा गराइन्छ । यही हो भौतिकवादी विरोधी शिक्षा प्रणालीको विशेषता । भौतिकवादी शिक्षण प्रशिक्षणका लागि राज्य र सामाजिक संस्थाहरुले नै आफ्नो मार्गदर्शक विचारका रुपमा भौतिकवादलाई अंगालेको हुनुपर्छ । तर अहिलेको राज्य व्यवस्थाले यसको विपरित अध्यात्मवादलाई मलजल गर्ने काम गरिरहेको छ ।
हाम्रो सामु विद्यमान जीवन–जगतका बारेमा गरिने प्रश्नबाट भौतिकवादी बन्ने प्रक्रियाको सुरुवात हुन्छ । भौतिकवादको यात्रा सत्यको खोजी र मुक्तितर्फको यात्रा हो । तर त्यो यात्रामा रुकावट त्यतिखेर आउछ जब हामी व्यवहारबाट कटेर भौतिकवादी बनिन्छ भन्ने भ्रम पाल्न थाल्छौं । बौद्धिक–मानसिक संघर्ष र जीवनका सबै पक्षहरुमा भौतिकवादी आचरण यसले माग गर्ने कुरा हो । यदि हामीले यो पक्षलाई अपहेलना गर्छौं भने प्रतिक्रियावादी दर्शनले मन्द विषलेझैं विचलित बनाएको हामी स्वयंलाई थाहा हुँदैन । तसर्थ भौतिकवादी बन्नुको अनिवार्य शर्त हो–बौद्धिक संघर्ष र सिद्धान्त–व्यवहारबिचको दोहरो सम्बन्धलाई गम्भीरतापूर्वक आत्मसात गर्नु । हामीले कुनै पनि भौतिकवादी पुस्तक पढेर या प्रशिक्षण लिएर मात्र आफूलाई भौतिकवादी बनाउन सक्दैनौ । एउटा भौतिकवादीको समग्र जीवनका लागि त्यो एउटा पक्ष मात्र हो । भौतिकवादको सही ज्ञान र त्यो अनुरुपको आचरणले मात्र भौतिकवादी हुन सम्भव छ ।
न्याप्रेमी, श्रमजीवी वर्ग र समाज रुपान्तरणका पक्षपातिहरुकाका लागि संसार भौतिकवादभन्दा अर्को कुनै सही वैचारिक हतियार छैन । भौतिकवादको गहन अध्ययन, यसको ज्ञानमा आधारित विश्दृष्टिकोणले नै हामीलाई आफ्नो दिशा र अवस्थाको निर्धारण गर्नका लागि कम्पासको काम गर्छ ।
सन्दर्भ सामाग्री
१.द्वन्द्वात्मक भौतिकवाद क्या है ?, वसीली क्रापीविन, प्रगति प्रकाशन मास्को, १९८६
२.व्यक्ति क्या है ?, ग.गिरिलेन्को, ल.कोर्शुनोवा प्रगति प्रकाशन मास्को
३.दर्शन भनेकै के हो ?, श्रेष्ठ श्याम, मूल्यांकन मासिक, पूर्णांक ५७, बैशाख–जेठ, २०५५, मूल्यांकन प्रकाशन गृह, काठमाडौ
४. द्वन्द्वात्मक भौतिकवाद क्या है ?, वसीली क्रापीविन, प्रगति प्रकाशन मास्को, १९८६
५.भौतिकवाद और अनुभवालोचना, वी.आई. लेनिन, प्रकाशन संस्थान, दिल्ली
६.च्झष्लष्कअभलअभक या ःबचह बलम भ्लनभकि, ल्ष्चबलवबल म्भद, ल्भध म्भजिष्, द्दण्द्दद्द
७.फायरबाख पर निबन्ध, कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स, संकलित रचनाएँ, तीन खंडो में, खंड १, भाग १, प्रगति प्रकाशन, मास्को, १९७८
(२०८३ अषाढ ६ गते भौतिकवादी समाज दाङद्वारा आयोजित विचारगोष्ठीमा प्रस्तुत कार्यपत्र)

