क्रान्तिकारी प्रेस संगठन नेपालको सांगठनिक प्रतिवेदन

क्रान्तिकारी तथा जनपक्षीय पत्रकारहरूको गौरवशाली सङ्गठन ‘क्रान्तिकारी प्रेस संगठन’को तेस्रो राष्ट्रिय भेलामा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथिगण, आयोजक, प्रतिनिधि तथा पर्यवेक्षक एवम् सम्पूर्ण पत्रकार साथीहरूमा हार्दिक क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौं ।
शहीदप्रति श्रद्धाञ्जली तथा सम्मान
क्रान्तिकारी प्रेस संगठनको तेस्रो राष्ट्रिय भेलाको प्रारम्भमा हामी महान् जनयुद्ध, जनआन्दोलन र विश्वका विभिन्न मुलुकहरूमा क्रान्तिको प्रक्रियामा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । विशेषगरी नेपाली जनताको मुक्ति, स्वतन्त्रता र समानताका पक्षमा कलम चलाउँदा चलाउँदै तत्कालीन प्रतिक्रियावादी सत्ताबाट हत्या गरिएका अग्रज पत्रकार कृष्ण सेन ‘इच्छुक’ सहित सम्पूर्ण क्रान्तिकारी एवम् जनपक्षीय पत्रकार सहिद एवम् जनमुक्ति आन्दोलनका योद्धाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै बेपत्ता एवम् घाइते योद्धाहरुप्रति हार्दिक सम्मान छ ।

भूमिका
नेपालको कम्युनिस्ट आन्दोलन, जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र गणतन्त्र स्थापना हुँदै वर्तमान राजनीतिक अवस्थासम्म आइपुग्दा देशले नयाँ प्रकारको राजनीतिक, आर्थिक र वैचारिक संकटको सामना गरिरहेको छ । जनयुद्धले उठाएका राष्ट्रिय स्वाधीनता, जनजीविका, श्रमिक मुक्ति, जातीय तथा लैङ्गिक समानता र समाजवादी रूपान्तरणका प्रश्नहरू अझै समाधान भएका छैनन् ।यस प्रक्रियामा पत्रकारिता क्षेत्र केवल सूचना प्रवाहको माध्यम मात्र नभई यो वर्गसंघर्ष, विचारसंघर्ष र जनपक्षीय चेतनाको क्षेत्रका रूपमा विकसित हुन पुगेको छ । त्यसैले जनपक्षीय पत्रकारिताको भूमिका झनै महत्वपूर्ण बन्न पुगेको छ ।

अन्तर्राष्ट्रिय परिस्थिति
विश्व पुँजीवाद यतिबेला गम्भीर संकटबाट गुज्रिरहेको छ । आर्थिक असमानता, साम्राज्यवादी प्रतिस्पर्धा, युद्ध, पर्यावरणीय संकट तथा वित्तीय पूँजीको प्रभुत्व बढ्दो छ ।विश्वका प्रमुख शक्तिहरूबीचको प्रतिस्पर्धाले नेपालजस्ता साना राष्ट्रमाथि दबाब सिर्जना गरेको छ । त्यसैले क्रान्तिकारी पत्रकारिताको दायित्व राष्ट्रिय स्वाधीनता, जनअधिकार र श्रमिक वर्गको पक्षमा वैचारिक संघर्षलाई सुदृढ गर्नु हो ।आजको युग सूचना प्रविधिको युग हो । सामाजिक सञ्जाल जस्ता डिजिटल प्लेटफर्महरुले सूचनाको पहुचलाई सहज र तीब्र बनाएको छ । सूचना प्रविधिको अभूतपूर्व विकास र त्यसमा पुँजीवादी तथा साम्राज्यवादीहरूको एकाधिकार रहेका कारण आज विश्व साम्राज्यवादी सूचना भूमण्डलीकरणको साङ्लोमा बाँधिन पुगेको छ ।साम्राज्यवादीहरूले आफ्नो स्वार्थ र अभिष्ट अनुसारको सूचना फैलाएर अरबौं मानिसहरूलाई भ्रमित तुल्याएर प्राकृतिक तथा मानवीय स्रोतसाधनमाथि एकछत्र दोहन गर्दै आएका छन् ।खासगरी अमेरिकी साम्राज्यवादले श्रीलंका, बंगलादेश लगायत एशियाली मुलुकहरुमा प्रत्यक्ष हस्तक्षेप गरिरहेको छ ।

निहत्था नागरिकको नरसंहार, पत्रकारको हत्या
प्यालेष्टाइनमा आम नरसंहार मच्चाएर प्यालेष्टाइनलाई खरानी बनाएको इजरायलले लेबनानमा हमला जारी राखेको छ । अमेरिका–इजरायलले इरानमाथि हमला गरेकै कारण मध्यपूर्व क्षेत्र अशान्त छ । अमेरिकाले भेनेजुएलामा आक्रमण गरि त्यहाँको राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई समेत नियन्त्रणमा लिएर बन्दी बनाएर राखेको छ । इजरायल–अमेरिकाले मच्चाएको नरसंहारमा बालबालिका, महिलाहरु मात्र परेका छैनन्, सूचनाका बाहक पत्रकारहरुको समेत हत्या गरिएका छन् ।
गाजामा २ सय भन्दा बढी पत्रकारको हत्या भएको छ भने उपलब्ध अभिलेखअनुसार इरानमा भएको इजरायली आक्रमणमा ४ पत्रकार मारिएका छन्, तर उनीहरूको नामसम्बन्धी आधिकारिक सूची अझै पूर्ण रूपमा सार्वजनिक गरिएको छैन ।

गाजामा मारिएका पत्रकारहरुको केही विवरणः
सइद अल टाविल ,मोहम्मद सुब्ह,हिसाम अल नवाज,मोहम्मद अबु हत्तब,समीर अबु दाक,हाम्जा वाइल दाहुह,मुस्ताफा थुराय,इस्मेलअल गोल,
रामी अलरिफी,हसान इसलेह,एनास अल शरिफ,मोहम्म्द सलाम,हुसाम अल मास्री,मारिम अबु दाक,अबमेदअबु अजिज,महोज अबु ताह,मोहम्मद वीशाह,असमेद वीशाह लगायत रहेका छन् ।

यस्तै, लेबनानमा इजरायली हमलामा मारिएका पत्रकारहरुको विवरणः
इशाम अबदाला, फरह ओमार, रविह मामरी ,हादी अल सेइद,कमिल कराकी ,घास नाजर,मोहम्द रिदा,वीसशाम क्वसिम,सकिना मनसुर,मोहमद फरहत,अलिनुर अल डिन,मोहम्मद सार,हुसान हामोद,अलि शाहिब,फातिमा फ्टोनी ,मोहम्द फ्टोनी घाडा दायख,सुजन खालिल, अमल खालिल रहेका छन् ।

राष्ट्रिय राजनीतिक परिस्थिति र आमसञ्चार
२०६२÷६३ को आन्दोलन, शान्ति सम्झौता र संविधान निर्माणपछि पनि जनताको जीवनमा गुणात्मक परिवर्तन आएको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि भ्रष्टाचार संस्थागत भएको छ । बेरोजगारी बढिरहेको छ । जसका कारण युवा पलायन तीब्र छ । उत्पादनमुखी अर्थतन्त्र कमजोर बन्न पुगेको छ भने राष्ट्रिय उद्योगहरु ध्वस्त भएका छन् । विदेशी परनिर्भरता बढेको छ ।

नेपालमा परम्परागत दलहरूप्रति व्यापक असन्तुष्टि देखिएको छ । युवाहरूले वैकल्पिक राजनीतिको खोजी गरिरहेका छन् । २०८२ भदौ २३ र २४ गतेको घटना पनि जेनजी पुस्ताका युवाहरुको असन्तुष्टीको परिणाम हो । यद्यपी युवा असन्तुष्टीलाई पश्चिमाहरुले हाइज्याक गरि आफ्नो पकडमा ल्याए र चुनावी प्रपञ्च गरि वैधानिकता दिने काम गरेका छन् ।

फागुन २१ को चुनावबाट निर्वाचित झण्डै दुई तिहाईको सरकारका प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्टममै उभिएर ‘भारतले नेपालको भूमि मिचेको मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भनेर राष्ट्रघाती अभिब्यक्ति दिएर सीमा विवादमा विदेशी प्रभुलाई खुशी पार्ने काम गरेका छन् ।

यता, आम सञ्चार माध्यामलाई समेत नियन्त्रण गर्ने रणनीतिमा सरकार रहेको पछिल्ला दृष्टान्तहरुले देखाएका छन् । विगतमा निरंकुशताका विरुद्ध जनताका आवाज बोल्ने निजी सञ्चार माध्यामहरुलाई अंकुश लगाउने प्रयत्न भइरहेको छ । निजी सञ्चार माध्यामहरुलाई सरकारी विज्ञापनमा रोक लगाएर मुलधारका मिडिया मात्र होइन, स्वरोजगारमुलक मोफसलका साना मिडियाहरुलाई बन्द गराउने दुष्प्रयास सरकारले गरिरहेको छ ।

लोकतन्त्र, विधिको शासन, नागरिक सर्वोच्चता, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, सूचनाको हकका लागि फेरि पनि सडकमा आउनु परेको अवस्था छ । यो अवस्थामा तमाम क्रान्तिकारी तथा जनपक्षीय पत्रकारहरु एकतावद्ध भई सशक्त आवाज उठाउन जरुरी भएको छ भने युवाहरुलाई मुक्ति संघर्षमा रुपान्तरण गर्न क्रान्तिकारी सुझबुझ आवश्यक देखिन्छ ।

आमसञ्चार तथा पत्रकारिताका सन्दर्भमा विश्वका केही विद्वानहरुको दृष्टिकोणलाई लिन सकिन्छ ।
लुइस अल्थुसरका अनुसार, सञ्चार संस्थाहरूले राज्य र शासक वर्गको विचारधारालाई जनतामा फैलाएर विद्यमान व्यवस्थालाई टिकाइराख्छन् ।

हर्वर्ट शिलरका अनुसार, सञ्चार माध्यमहरू आर्थिक तथा राजनीतिक शक्तिशाली समूहहरूको प्रभावमा रहन्छन् । उनले सञ्चार प्रणालीलाई सांस्कृतिक प्रभुत्व र पूँजीवादी मूल्यहरूको प्रसार गर्ने साधनका रूपमा व्याख्या गरेका छन् ।

नोम चोम्स्की र एडवार्ड एस. हर्मनका अनुसार, सञ्चार माध्यमहरू स्वामित्व, विज्ञापन, समाचार स्रोत, दबाब समूह र विचारधारात्मक नियन्त्रणजस्ता कारकबाट प्रभावित हुन्छन्, जसले समाचारलाई शक्तिशाली वर्गको हित अनुकूल बनाउँछ ।

फ्रान्सको प्रसिद्ध अखबार ले मोण्ड डिप्लोमेटिकका सम्पादक तथा पेरिस विश्वविद्यालयका सञ्चार विषयका प्राध्यापक इग्नासियो रेमोनका अनुसार, आर्थिक शक्तिहरूको भूमण्डलीकरणले गर्दा बहुराष्ट्रिय व्यापारिक कम्पनीहरू सरकारहरूभन्दा शक्तिशाली भएका छन् र उनीहरूले मिडियामाथि पनि प्रभुत्व जमाएका छन् । चौथो शक्तिले जनताको हितको रक्षा गर्नुको सट्टा नाफा कमाउनको लागि उनीहरूको शोषण र दमन गरिरहेको छ ।

‘पुँजीवाद तथा साम्राज्यवादले मिडियालाई व्यापार र नाफाको अस्त्र मात्र बनाएको छैन, अरबौं जनतामाथि उसले गरेको शोषण, दमन र उत्पीडनलाई ढाकछोप गर्ने काममा पनि मिडियालाई प्रयोग गर्दै आएको’ कुरा आमसञ्चारविज्ञहरूका उल्लेखित भनाईबाट पनि प्रष्ट हुन्छ ।

यसर्थ, साम्राज्यवादीहरूको सूचना आतङ्कका विरुद्धमा जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वैकल्पिक तथा जनपक्षीय मिडिया र पत्रकारिताको विषयमा सघन विमर्श चलाउँदै वैकल्पिक तथा जनपक्षीय मिडियाको थालनी, संरक्षण र सम्बद्र्धन गर्न जरुरी छ । तर आजको अवस्थामा क्रान्तिकारी तथा जनपक्षीय पत्रकारिता झनै मजोर बन्न पुगेको अवस्था छ ।

जनयुद्धको ऐतिहासिक महत्व र समीक्षा
२०५२ सालमा प्रारम्भ भएको जनयुद्ध नेपाली इतिहासको महान् संघर्ष थियो । दशवर्षे जनयुद्धले राजतन्त्र अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संघीयता, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्व जस्ता उपलब्धिहरू हासिल गर्न महत्वपूर्ण भूमिका खेल्यो ।

तर जनयुद्धका मूल लक्ष्य—नयाँ जनवादी क्रान्ति र समाजवादतर्फको संक्रमण–अधुरै रहेको छ । गणतन्त्र स्थापनापछि पनि वर्गीय राज्यसत्ताको चरित्र परिवर्तन भएन ।

खासगरी जनमुक्ति सेनाको विघटन, क्रान्तिकारी शक्तिको संसदीयकरण, वर्गसंघर्षको क्षय, जनयुद्धका लक्ष्यबाट विचलन, जनअपेक्षाको विश्वासघात जस्ता कारणले क्रान्तिकारी आन्दोलनलाई रक्षात्मक अवस्थामा पु¥यायो ।

पत्रकार आन्दोलनको इतिहास र योगदान
नेपालमा महत्वपूर्ण राजनीतिक परिवर्तनमा नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । यसले निरंकुश पञ्चायतविरुद्ध, राजतन्त्रविरुद्ध, जनआन्दोलनको पक्षमा, गणतन्त्रको पक्षमा लाग्न आम नागरिकलाई उत्प्रेरित गर्यो ।

जनयुद्धकालमा जनपक्षीय तथा युद्ध पत्रकारहरू असाधारण जोखिम उठाएर मुक्ति युद्धमा समाहित भए । तर शान्ति प्रक्रियामा आएपछि माओवादीमा आएको विभाजनका कारण क्रान्तिकारी तथा जनपक्षीय पत्रकारिता क्षेत्र कमजोर बन्न पुग्यो ।जनपक्षीय पत्रकारिताको प्रवद्र्धन, गणतन्त्र, संघीयता र राष्ट्रिय स्वाधीनताका पक्षमा अभियान, वैकल्पिक सञ्चारको विकास जस्ता उपलब्धिहरु हुन् । तर, वैचारिक प्रशिक्षण अपर्याप्त, अनुसन्धानात्मक पत्रकारिता कमजोर, डिजिटल संरचना सीमित, संगठनात्मक विस्तार सुस्त जस्ता कमजोरीहरु हामीबीच रहेका छन् ।त्यसैले, अनुसन्धानात्मक पत्रकारिता, श्रमजीवी पत्रकार अधिकार, वैकल्पिक डिजिटल प्लेटफर्म निर्माण, तथ्यमा आधारित जनपक्षीय पत्रकारिता अहिलेको आवश्यकता हो ।

वर्तमान सञ्चार क्षेत्र
नेपालको सञ्चार क्षेत्र आज कर्पोरेट नियन्त्रण, दलाल पुँजीको प्रभाव, विदेशी परियोजनामुखी पत्रकारिता, श्रम शोषण, असुरक्षित रोजगारीजस्ता समस्याबाट ग्रस्त छ । डिजिटल माध्यमको विस्तारसँगै सूचना युद्धको नयाँ अवस्था बनेको छ । खासगरी मुलधारका भनिएका मिडियाहरुले श्रमजीवी पत्रकारहरुमाथि श्रम शोषण गरिहेका छन् । न्यूनतम पारिश्रमिक उपलब्ध नगराउनु, महिनौंसम्म तलव रोकेर राख्नु, जस्ता समस्याहरु कायमै छन् । अझ कतिपय मिडियाले आईपीओ (साधारण शेयर) जारी गरेर आम नागरिकको पैसा असुल्ने आफ्नो लगानी फिर्ता लिएर संस्थालाई नोक्सानी देखाउने काम गरिरहेका छन् । नेपाली सञ्चार क्षेत्रको इतिहासमै पहिलो आईपीओ जारी गरेको नागरिक दैनिकले नौ÷नौ महिनासम्म पनि तलव सुविधा रोकिरहेका छन् । आफूले गरेको श्रमको मूल्य पाउनका लागि आज श्रमजीवी पत्रकारहरु आफ्नै मिडियाका मालिक विरुद्ध आन्दोलन गर्न परिरहेको छ ।

युद्ध पत्रकारितादेखि क्रान्तिकारी प्रेस संगठनसम्म
जनयुद्धको उत्कर्षको समयमा २०६१ मा युद्ध पत्रकारहरुको भेलाबाट क्रान्तिकारी पत्रकारहरु संगठित भएका हुन् । ०६१ पुसमा रोल्पाको इरिवाङमा युद्ध पत्रकारका रूपमा क्रियाशील जनपक्षीय पत्रकारहरूको राष्ट्रिय भेला तथा माघ १५ गते रुकुमको लावाङमा महेश्वर दाहालको संयोजकत्वमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार सङ्घ, नेपाल आयोजक समिति स्थापना गरियो । तर त्यसभन्दाअघि २०३६ सालको जनआन्दोलनपछिको वातावरणमा जनपक्षीय पत्रकारितालाई नयाँ परिस्थितिमा उर्वर बनाउने अग्रज पत्रकारहरु शक्ति लम्साल, कृष्ण सेन ‘इच्छुक’, मिलन नेपालीहरुलाई विर्सिने छैनौं । २०४१ सालमा ‘योजना’ पत्रिकाको प्रकाशनसँगै जनपक्षीय पत्रकारिताको अझ उर्वर बनाउने काम भएको थियो ।
देशव्यापी रूपमा युद्ध संवाददाताहरू बनाएर अखिल नेपाल क्रान्तिकारी पत्रकार सङ्घले जनपक्षीय पत्रकारितामा ठूलो टेवा पु¥यायो । ६२÷६३ को दोस्रो जनआन्दोलन पश्चात् शान्ति प्रक्रियामार्फत् देशको राजनीति नयाँ बाटोमा अघि बढेपछि २०६३ फागुन २९ र ३० गते सङ्घको काठमाडौंमा प्रथम राष्ट्रिय भेला सम्पन्न भयो । भेलाले सङ्गठनको नाम ‘क्रान्तिकारी पत्रकार सङ्घ’ राख्यो । विधान र प्रतिवेदन पारित गर्दै महेश्वर दाहालकै नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय समिति समेत चयन ग¥यो । २०६७ फागुन १७ गते सम्पन्न केन्द्रीय एकता भेलाले विधान संशोधन गर्नुका साथै १०१ सदस्यीय दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन ग¥यो ।

यसैबीच, तत्कालीन एकीकृत माओवादीको मूल नेतृत्वले संशोधनवादी तथा अवसरवादी बाटो समातेपछि त्यसबाट ०६९ असार ४ मा तत्कालीन पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य‘किरण’को नेतृत्वमा विद्रोह गरी नेकपा–माओवादी गठन भयो । तत्कालीन क्रान्तिकारी पत्रकार सङ्घका संस्थापक अध्यक्ष महेश्वर दाहालसहित पत्रकारहरूको ठूलो पङ्क्तिले पनि क्रान्तिकारी धारमा उभिदै तत्कालीन एमाओवादीबाट विद्रोह ग¥यो ।

यसैक्रममा क्रान्तिकारी पत्रकारहरूको एक भेलाले छरिएर रहेका सबै जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरूको साझा सङ्गठनको रूपमा कुमार शाहको नेतृत्वमा ०६९ असोजमा क्रान्तिकारी पत्रकार महासङ्घको गठन भयो ।

क्रान्तिकारी अनलाइन पत्रकार संघ, जनपक्षीय रेडियो पत्रकार संघ, टेलिभिजन पत्रकार संघ, आदिवासी जनजाति उत्थान पत्रकार संघ, जनपक्षीय श्रमिक पत्रकार संघ, दलित पत्रकार संघ र सञ्चारकर्मी महिला संघ आंगिक संगठनका रुपमा रहेर २०६९ कार्तिक ३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौ.मा ‘क्रान्तिकारी पत्रकार महासंघ’ दर्ता गरियो । तर एकपछि अर्को गरि पार्टी विभाजन हुँदा क्रान्तिकारी पत्रकार महासंघ पनि फुटको शिकार बन्न पुग्यो । यद्यपी क्रान्तिकारीहरुबीचको एकता र ध्रुवीकरणको प्रक्रिया अहिले पनि निरन्तर रहि नै रहेको छ ।

यहिबीचमा महासङ्घको सम्मेलनको तयारी हुँदै गर्दा तत्कालीन नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द‘विप्लव’ अलग भएपछि केही पत्रकार साथीहरू समेत ०७१ मङ्सिरमा विभाजित हुन पुगे । त्यस लगत्तै सङ्गठन पुनर्गठन गरी सम्मेलनको तयारी गर्दै गर्दा ०७३ जेठमा तत्कालीन पार्टीका महासचिव रामबहादुर थापा ‘बादल’को नेतृत्वमा एउटा टिम नवसंशोधनवादी कित्तामा पलायन हुन पुगेपछि पत्रकारहरूको पनि एउटा टिम संशोधनवादी तथा अवसरवादी कित्तामै पलायन हुन पुग्यो ।

त्यस लगत्तै क्रान्तिकारी धारमा बाँकी रहेका क्रान्तिककारी तथा जनपक्षीय पत्रकारहरूको भेलाले महासङ्घका संस्थापक संयोजक कुमार शाहकै नेतृत्वमा सम्मेलन आयोजक समिति पुनर्गठन ग¥यो । त्यसपछि ०७३ श्रावण २४ गते महासङ्घको प्रथम सम्मेलन सम्पन्न भयो । सम्मेलनले इन्द्र राउतको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित ग¥यो । तर पार्टी एकता र पुनर्गठनको प्रक्रिया जारी नै रहेको अवस्थामा क्रान्तिकारी पत्रकार महासंघ पनि पुनर्गठनको प्रक्रियामा अघि बढ्यो ।

२०८० असोज ७ गते क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपालबीच ललितपुरको कुपण्डोलमा सम्पन्न एकता भेलाले संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ पारित ग¥यो । भेलाले संयोजकमा कमल बुढा र नारायण पंगेनी रहेको ८१ पूर्ण र १० सल्लाहकार सदस्य सहितको ९१ सदस्य एकता राष्ट्रिय भेला आयोजक समिति गठन गर्यो । र, २०८१ साउन ५ गते एकता राष्ट्रिय भेला काठमाडौंमा गर्ने निर्णय गर्यो ।यहीबीचमा, पुनः क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीचको एकताको क्रममा प्रगतिशील पत्रकार संघका नारायण शर्मालाई प्रेस संगठनको संयोजक र कमल बुढा र नारायण पंगेनीलाई सह संयोजक बनाउने निर्णय पार्टीले ग¥यो ।तर एकतामा आएको एक वर्ष नपुग्दै २०८१ साउनमा धर्मेन्द्र बास्तोला पुनः अलग भएसँगै कमल बुढा समूह अलग भयो । पार्टीमा एकता र ध्रुवीकरणको क्रममा संगठनिक गतिविधि वर्षौदेखि सून्य प्रायः बन्यो ।

सङ्गठनसम्बन्धी काम ः
तीन संगठनपछि बनेको क्रान्तिकारी प्रेस संगठनले नेपाल पत्रकार महासंघको निर्वाचनमा पनि सक्रिय रुपमा सहभागिता जनाएको थियो । केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म केही सदस्यहरु उम्मेदवार पनि बनाएका थियौं । तर तीन ठूला संगठनहरुको गठबन्धनका कारण महासंघमा हाम्रो उपस्थिति सून्य रहन पुग्यो । त्यसयता, संगठनका गतिविधिहरु अघि बढ्न सकेका छैनन् ।
चौतर्फी रूपमा दक्षिणपन्थी नवसंशोधनवादी तथा अवसरवादी विषाक्त हावाहुरी चलिरहेको विषम परिस्थितिमा आवश्यकता र आकस्मिकताले सङ्गठनको जिम्मेवारी सम्हाल्न आइपुगेको हाम्रो नयाँ टिम वैचारिक, राजनीतिक, साङ्गठनिक तथा सङ्घर्षको अनुभवका हिसाबले आवश्यक मात्रामा परिपक्व थिएन । हाम्रो लागि यो जिम्मेवारी क्रान्तिकारी पत्रकारिता आन्दोलनको इतिहासका दृष्टिले एउटा अग्नीपरीक्षा नै थियो । चौतर्फी प्रतिकूलताका बीच यस आन्दोलनमा उभिरहनु र टिकिरहनुलाई पनि एउटा सफलताको रूपमा लिनुपर्ने स्थिति बन्यो । समग्रमा भन्दा यस अवधिमा सङ्गठनले उल्लेखनीय रूपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेन । सम्मेलनदेखि विशेष राष्ट्रिय भेला हुँदै पुनः आजको तेस्रो राष्ट्रिय भेलासम्मको स्थितिको मूल्याङ्कन गर्दा यो अवधि सङ्गठनको अस्तित्व रक्षाको अवधि मात्रै रहन पुगेको छ । अहिले एकातिर निराशा, निष्क्रियता र अकर्मण्यताले सङ्गठनलाई नराम्ररी गाँज्न पुगेको छ भने अर्कोतिर आर्थिक व्यवस्थापनको जटिलताका कारण नेतृत्व टिमकै साथीहरू पनि सङ्गठन तथा आन्दोलनमा क्रियाशील बन्न नसक्ने स्थिति पनि पैदा हुँदै गएको छ ।
आगामी योजना तथा कार्यक्रम ः
क) विचार, राजनीति, सङ्गठन र सङ्घर्षबारे बुझाइमा एकरूपता कायम गर्न प्रशिक्षण तथा नियमित अन्तक्र्रिया छलफल चलाउने ।
ख) राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको पक्षमा जनपक्षीय सञ्चार कार्यमा सङ्लग्न क्रान्तिकारी पत्रकारहरूलाई सङ्गठित गर्ने र उनीहरूको पेशागत हक, हित र अधिकारको पक्षमा सङ्घर्षलाई सङ्गठित गर्ने ।
ग) जिल्ला जिल्लामा पत्रकारिता लिएर पढ्दै गरेका तथा पत्रकारितामा रुचि राख्ने विध्यार्थीहरूलाई सङ्गठित गर्ने र आधारभूत प्रशिक्षण दिलाई पत्रकारितामा अभ्यस्त गराउने ।
घ) मुद्दा मिल्ने पत्रकार संगठनहरुको बीचमा संयुक्त मोर्चा निर्माणका लागि पहल गर्ने र जनपक्षीय पत्रकारिता आन्दोलनलाई व्यापक बनाउने ।
ङ) प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र विचार स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउने ।
च) श्रमजीवी पत्रकारहरूको पेशागत मुद्दा, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, साना तथा स्वरोजगार लगानीका मिडियाहरूको सम्बद्र्धन, समानुपातिक विज्ञापन नीतिका बारेमा एकल वा संयुक्त रुपमा आवाज बुलन्द गर्ने ।
छ) सत्ता र शक्तिको वरिपरि गोलचक्कर मारिरहेको र कर्पोरेट हाउसहरूको नियन्त्रणमा पुगेको मूलधारको भनिएको नेपाली पत्रकारिताले साम्राज्यवादी तथा पुँजीवादी स्वार्थ अनुसार बहुराष्ट्रिय कम्पनीहरूको बजार विस्तार गर्ने, उपभोक्तावादी संस्कृति र मानसिकताको विकास गराउने, डिजिटल मिडियाको सहारामा मौलाउँदो फासिवाद उन्मुख गतिविधिका विरुद्ध निरन्तर खबरदारी गर्ने, आदि ।

निष्कर्ष
नेपाल गम्भीर राजनीतिक संक्रमणबाट गुज्रिरहेको छ । जनयुद्ध, जनआन्दोलन र गणतन्त्रका उपलब्धिहरूलाई रक्षा गर्दै अधुरा क्रान्तिकारी कार्यभार पूरा गर्ने ऐतिहासिक आवश्यकता आज पनि विद्यमान छ । क्रान्तिकारी पत्रकारिता कुनै तटस्थ कर्म मात्र होइन; यो सत्य, जनअधिकार, राष्ट्रिय स्वाधीनता र सामाजिक रूपान्तरणको पक्षमा वैचारिक संघर्षको महत्वपूर्ण मोर्चा हो ।
क्रान्तिकारी प्रेस संगठनले जनताको पक्षमा उभिँदै वैज्ञानिक समाजवादतर्फ अग्रसर नयाँ राजनीतिक चेतनाको निर्माणमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउनु आजको ऐतिहासिक दायित्व बन्न पुगेको छ ।
२०८३ असार ६ गते कुपण्डोल ललितपुरमा सम्पन्न क्रान्तिकारी प्रेस संगठनको तेस्रो राष्ट्रिय भेलामा संयोजक नारायण पंगेनीद्वारा प्रश्तुत तथा पारित

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित