–लक्ष्मण उप्रेती
कम्युनिष्ट आन्दोलनको इतिहास निकै गौरवान्वित छ। यो गर्विलो इतिहासमा सच्चा कम्युनिष्टहरूले कहिल्यै आफ्नो राजनीतिक भविष्य कुनै बुर्जुवा शक्ति, कुनै व्यक्तिवादी नेतृत्व वा कुनै चुनावी चमत्कारको भरोसामा सुम्पेका छैनन्। कम्युनिष्टहरूको डायरीमा गुनासो, रोदन, निराशा र गिड्गिडाहट लेखिँदैन। त्यहाँ संघर्ष, त्याग, बलिदान, संगठन निर्माण र क्रान्तिको संकल्प लेखिन्छ। आज नेपालको राजनीतिक क्षेत्रमा एउटा प्रवृत्ति देखापरेको छ। केही मानिसहरू, जसले आफूलाई कम्युनिष्ट भन्ने गरेका छन्, उनीहरू रास्वपाको अगाडि आशा, अपेक्षा र अनुरोधका साथ उभिएका छन्। कतिपयले कम्युनिष्ट आन्दोलनको संकटको समाधान रास्वपाभित्र खोजिरहेका छन्। कतिपयले रास्वपालाई पुराना दलहरूको विकल्पका रूपमा मात्र होइन, समाज परिवर्तनको वाहक शक्तिका रूपमा समेत प्रस्तुत गर्न खोजिरहेका छन्। तर प्रश्न उठ्छ, के वास्तवमै रास्वपा समाज परिवर्तनको शक्ति होरु यसको वर्गीय चरित्र के होरु यसको वैचारिक आधार के हो? र कम्युनिष्टहरूले यसलाई कसरी हेर्नुपर्छ? भन्ने विषय निकै महत्त्वपूर्ण छ।
वैज्ञानिक दृष्टिकोणबाट हेर्दा कुनै पनि राजनीतिक दललाई त्यसका नाराहरू, प्रचार सामग्री वा लोकप्रिय अनुहारका आधारमा होइन, त्यसको वर्गीय आधार, आर्थिक हित, राजनीतिक कार्यक्रम र ऐतिहासिक भूमिकाका आधारमा मूल्याङ्कन गरिन्छ।
कार्ल मार्क्सले स्पष्ट रूपमा बताएका थिए कि कुनै पनि राज्य, दल वा राजनीतिक संरचना अन्ततः कुनै न कुनै वर्गको हितको प्रतिनिधित्व गर्दछ। समाजमा वर्गहरू रहुञ्जेल वर्गनिरपेक्ष राजनीति भन्ने कुरा सम्भव हुँदैन। त्यसैले कुनै पनि दललाई बुझ्न पहिले त्यसले कुन वर्गको हितको प्रतिनिधित्व गर्छ भन्ने कुरा बुझ्न आवश्यक हुन्छ।
रास्वपाको उदय नेपालको परम्परागत संसदीय दलहरूप्रति बढ्दो जनअसन्तुष्टिको पृष्ठभूमिमा भएको हो। भ्रष्टाचार, कुशासन, दलाल पुँजीवाद, बेरोजगारी, युवा पलायन र राजनीतिक अस्थिरताले जनतामा आक्रोश पैदा गरिरहेको अवस्थामा रास्वपाले आफूलाई ूनयाँ शक्तिू का रूपमा प्रस्तुत गर्यो। यसले पुराना दलहरूको आलोचना गर्यो, सुशासनको कुरा गर्यो, प्रशासनिक सुधारको कुरा गर्यो र राजनीतिक व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्यो। तर प्रश्न यहाँ छ, के सुशासन मात्र समाज परिवर्तनको कार्यक्रम हो?
मार्क्सवादी दृष्टिकोणले भन्छ, भ्रष्टाचार कुनै व्यक्तिको नैतिक कमजोरी मात्र होइनस यो निश्चित आर्थिक तथा सामाजिक संरचनाको उत्पादन हो। दलाल तथा नोकरशाही पुँजीवादमा भ्रष्टाचार एउटा अपवाद होइन, प्रणालीकै अंग हुन्छ। त्यसैले प्रणालीलाई यथावत् राखेर भ्रष्टाचार अन्त्य गर्ने कुरा सम्भव हुँदैन।
रास्वपाले भ्रष्टाचारको आलोचना गर्छ, तर भ्रष्टाचार जन्माउने दलाल पुँजीवादी संरचनाको अन्त्य गर्ने कार्यक्रम प्रस्तुत गर्दैन। उसले बेरोजगारीको कुरा गर्छ, तर उत्पादनका साधनमाथिको निजी स्वामित्वको प्रश्न उठाउँदैन। उसले सुशासनको कुरा गर्छ, तर राज्यको वर्गीय चरित्र परिवर्तन गर्ने कुरा गर्दैन। उसले व्यवस्थापन सुधारको कुरा गर्छ, तर शोषणमूलक सम्बन्ध अन्त्य गर्ने कुरा गर्दैन।
यस अर्थमा रास्वपा क्रान्तिकारी शक्ति होइन। यो समाजको प्रगतिशील शक्ति पनि होइन,यो विद्यमान पुँजीवादी व्यवस्थाभित्र सुधार खोज्ने एक उदारवादी यथास्थितिवादी राजनीतिक शक्ति हो।
इतिहासमा यस्ता शक्तिहरू नयाँ होइनन्। विभिन्न देशहरूमा पुराना दलहरूप्रति जनअसन्तुष्टि बढ्दा मध्यमवर्गीय असन्तुष्टिलाई प्रतिनिधित्व गर्ने नयाँ दलहरू जन्मिएका छन्। उनीहरूले पुराना अनुहारलाई विस्थापित गर्न खोजेका छन्, तर व्यवस्थाको आधारभूत चरित्र परिवर्तन गरेका छैनन्। सत्ता सञ्चालनको शैली परिवर्तन गर्न सकिन्छ, तर वर्गीय सत्ता परिवर्तन नगरी समाजको चरित्र परिवर्तन गर्न सकिँदैन।
कम्युनिष्टहरूको दृष्टिकोणमा मुख्य प्रश्न ‘कसले शासन गर्छ’?भन्ने मात्र होइन, ‘कुन वर्गको शासन कायम छ ? ’भन्ने हो।आज नेपालमा विदेशी पुँजी, दलाल पुँजीपति वर्ग, वित्तीय संस्थाहरू, भूमाफिया, ठेकेदार पूँजी र नोकरशाही पुँजीको साम्राज्यवादसङ्गको गठबन्धनले राज्यसत्तामा प्रभाव जमाइरहेको छ। जुनसुकै दल सरकारमा पुगे पनि यदि उसले यही आर्थिक आधारलाई स्वीकार गर्छ भने अन्ततः त्यही सत्तासंरचनाको व्यवस्थापकिय सुधार मात्र गर्न पुग्छ।
त्यसैले कम्युनिष्टहरूले रास्वपालाई भावनात्मक रूपमा होइन, वैज्ञानिक रूपमा विश्लेषण गर्नुपर्छ। समर्थन वा विरोध व्यक्तिगत आधारमा होइन, वर्गीय आधारमा हुनुपर्छ। यदि कुनै कम्युनिष्ट कार्यकर्ता वा नेता रास्वपाबाट देश र जनताको भलो हुने वा कम्युनिष्ट आन्दोलनको विकल्पको आशा राख्छ भने उसले मार्क्सवादको आधारभूत सिद्धान्त नै बिर्सिएको हुन्छ। इतिहासमा कुनै पनि क्रान्ति सुधारवादी वा उदारवादी शक्तिको सहाराबाट सफल भएको छैन। क्रान्ति सधैं मजदुर श्रमिक वर्ग, किसान वर्ग र उत्पीडित जनसमुदायको संगठित संघर्षबाट मात्र सम्भव हुन्छ।यसको अर्थ रास्वपाका समर्थक जनतालाई शत्रु ठान्नुपर्छ भन्ने होइन। त्यहाँ रहेका धेरै मानिसहरू भ्रष्टाचारविरोधी भावना, परिवर्तनको चाहना र पुराना दलहरूप्रतिको असन्तुष्टिका कारण आकर्षित भएका छन, कम्युनिष्टहरूको दायित्व उनीहरूलाई गाली गर्नु होइन, बरु धैर्यतापूर्वक राजनीतिक शिक्षा, वर्गीय विश्लेषण र वैज्ञानिक समाजवादको दृष्टिकोणवाट प्रशिक्षित गर्नु हो।
आज आवश्यकता रास्वपाको अगाडि गिड्गिडाउने होइन, जनतामाझ जाने हो। आवश्यकता कुनै नयाँ बुर्जुवा विकल्पको खोजी होइन, क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको पुनर्गठन हो। आवश्यकता निराशा फैलाउने होइन, वैज्ञानिक समाजवादको कार्यक्रमलाई जनवादी क्रान्तिका लागि जनताको जीवनसँग जोड्ने हो।
मार्क्सले भनेका थिए, ‘दार्शनिकहरूले संसारलाई विभिन्न तरिकाले व्याख्या गरेका छन् तर मुख्य कुरा यसलाई परिवर्तन गर्नु हो।’यही शिक्षाले कम्युनिष्टहरूलाई मार्गदर्शन गरिरहेको छ।
कम्युनिष्टहरूको डायरीमा रोदन र आँसुका कथा होइनन्, संघर्षका अध्याय हुन्छन्। त्यहाँ पराजयबाट प्राप्त शिक्षाहरु हुन्छन, संकटबाट सङ्कल्प जन्मिन्छ, र प्रतिक्रियावाद तथा अवसरवादको अगाडि आत्मसमर्पण होइन, प्रतिरोधको प्रतिबद्धता लेखिन्छ।
त्यसैले आजको जिम्मेवारी स्पष्ट छ,रास्वपाको वास्तविक वर्गीय चरित्र बुझ्ने, जनतामा रहेका भ्रमहरूलाई वैज्ञानिक ढंगले स्पष्ट पार्ने, र श्रमिक–किसान वर्गको नेतृत्वमा नयाँ जनवादी तथा समाजवादी रूपान्तरणको दिशामा संघर्षलाई अगाडि बढाउने। यही नै कम्युनिष्टहरूको मार्ग हो, यही नै इतिहासको द्वन्द्वात्मक गति बुझ्ने वैज्ञानिक दृष्टिकोण हो ।
कम्युनिष्टहरूको डायरीमा रोदन होइन, वर्गसंघर्षको संकल्प हुन्छ
Comments

