समाजको रोग

कल्पना पौडेल ‘जिज्ञासु ’

मानिस किन बाँच्छ ? कसैका लागि जीवन आफ्नै सपना पूरा गर्ने यात्रा हुन्छ। कसैका लागि नाम, पद र प्रतिष्ठाको खोजी। तर केही मानिस यस्ता पनि हुन्छन्, जसलाई आफ्नो खुसीभन्दा अरूको खुसी प्रिय लाग्छ। कसैको अनुहारमा मुस्कान देख्दा उनीहरू आफ्नो दुःख बिर्सन्छन्। कसैको बगेको आँसु पुछ्न पाउँदा आफ्नै पीडा हलुका भएको अनुभव गर्छन्। कसैको दुखेको घाउमा मलम लगाउन सक्नु नै उनीहरूको जीवनको सबैभन्दा ठूलो उपलब्धि बन्छ।
म पनि यस्तै स्वभाव बोकेर हिँड्ने मानिसमध्ये एक हुँ। जहाँ पीडा देख्छु, त्यहाँ मन पुगिहाल्छ। जहाँ अभाव देख्छु, त्यहाँ केही गर्न सकिन्छ कि भन्ने सोच जन्मिहाल्छ। कसैको निराश आँखामा आशाको झिल्को देख्न पाएँ भने त्यही मेरो खुसी बन्छ। सायद यही कारणले मैले आफ्नो जीवनलाई सधैं अरूका लागि उपयोगी बनाउने प्रयास गरेँ। साहित्य सिर्जना पनि यही संवेदनाको विस्तार हो,मानिसलाई मानिससँग जोड्ने एउटा पुल।
तर कहिलेकाहीँ मनभित्र एउटा प्रश्न धेरै गहिरिएर उठ्छ,अरूका लागि बाँच्ने मानिसलाई समाजले किन सहज रूपमा बाँच्न दिँदैन ?
किन उसले सम्मानभन्दा बढी उपेक्षा पाउँछ ?
किन उसको समर्पणभन्दा उसको कमजोरी खोजिन्छ ?
किन राम्रो काममा साथ दिनेभन्दा निरुत्साहित गर्ने आवाज धेरै सुनिन्छ ?
यी प्रश्नहरू केवल मेरो होइनन्। निस्वार्थ भावले समाजका लागि केही गर्न खोज्ने धेरै मानिसका साझा प्रश्न हुन्।
हामी बराबरी, प्रगति र चेतनाको कुरा गर्छौं। महिलाको सशक्तीकरणका कुरा पनि गर्छौं। तर व्यवहारमा कुनै महिला आफ्नो मेहनत, सिर्जना र समर्पणका आधारमा अगाडि बढ्न खोजेपछि उसलाई हौसला दिनुको सट्टा किन उसका पाइला तान्ने प्रयास गरिन्छरु उसका कामको मूल्याङ्कन निष्पक्ष रूपमा गर्नुको सट्टा किन उसको मनोबल कमजोर पार्ने वातावरण सिर्जना गरिन्छ ?
विचारसँग असहमति हुन सक्छ। सिर्जनाको समीक्षा पनि हुन सक्छ। तर कुनै व्यक्तिको सम्मानमा चोट पुर्‍याएर आफू ठूलो हुने सोच सभ्य समाजको चिन्ह हुन सक्दैन।

सबैभन्दा ठूलो विडम्बना त त्यतिबेला हुन्छ, जब आफूलाई प्रगतिशील भन्ने मानिसहरू नै अरूको प्रगति स्वीकार गर्न सक्दैनन्। अरूको उज्यालोले आफ्नो उज्यालो घट्छ भन्ने भ्रमले मानिसलाई यति साँघुरो बनाइदिन्छ कि उसले गुणभन्दा दोष, समर्पणभन्दा कमजोरी र सिर्जनाभन्दा व्यक्ति देख्न थाल्छ। यही मानसिकता वास्तवमा समाजको रोग हो।

समाजलाई आज सबैभन्दा धेरै कमजोर बनाइरहेको कुरा अभाव मात्र होइनस अरूको सफलता सहन नसक्ने प्रवृत्ति पनि हो। जहाँ सम्मान हुनुपर्ने ठाउँमा अपमान हुन्छ, जहाँ प्रोत्साहन हुनुपर्ने ठाउँमा अवरोध हुन्छ, जहाँ विश्वास हुनुपर्ने ठाउँमा पूर्वाग्रह हुन्छ, त्यहाँ प्रतिभा मात्र होइन, मानवीयता पनि घाइते हुन्छ।

सेवा गर्ने मानिस पत्थर होइन। उसलाई पनि चोट लाग्छ। ऊ पनि थाक्छ। उसलाई पनि कहिलेकाहीँ एउटा आत्मीय शब्द, एउटा विश्वास र एउटा साथको आवश्यकता पर्छ। यदि अरूको पीडा कम गर्ने हातलाई नै बारम्बार चोट पुर्‍याइयो भने, भोलि त्यही हातले कसरी अर्कोको आँसु पुछ्ने ? यदि अरूका लागि बाँच्ने मनलाई नै निरन्तर निराश बनाइयो भने, त्यो मनले समाजलाई आशा कसरी बाँड्ने ?
हामी प्रायः मानिसको अनुहारमा देखिएको मुस्कानलाई नै उसको वास्तविक अवस्था ठान्छौँ। तर बाहिर हाँसेर हिँड्ने मानिस पनि भित्र असह्य पीडा बोकेर बाँचिरहेको हुन सक्छ। सबै कुरा बुझेर पनि मुखले प्रतिकार नगर्नु कमजोरी होइनस त्यो त सहनशीलता, संयमता र सम्बन्ध जोगाउने परिपक्वताको प्रतीक हो। तर यही मौनतालाई कमजोरी ठानेर पटक–पटक मन दुखाइरहनु संवेदनहीनताको परिचय हो।
विशेषगरी धेरै महिलाहरू आफ्ना आँसु र पीडालाई मनभित्र लुकाएर पनि परिवार, समाज र आफ्ना जिम्मेवारीहरू निर्वाह गर्दै मुस्कुराइरहेका हुन्छन्।
उनीहरूको मौनता हार होइन, धैर्यको अर्को रूप हो।मैले जीवनबाट एउटा कुरा सिकेकी छु , माया बाँड्दा माया घट्दैन, सम्मान दिँदा सम्मान सानो हुँदैन, अरूलाई अघि बढाउँदा आफ्ना पाइला पछाडि पर्दैनन्। त्यसैले आज पनि मेरो विश्वास यही छ कि मानिसले मानिसलाई उठाउन सिक्नुपर्छ, गिराउन होइन।
मलाई आज पनि कसैको दुःख देखेर चुप लागेर बस्न मनले स्वीकार्दैन । कसैको बगेको आँसु पुछ्न मन लाग्छ। दुखेको घाउमा मलम लगाउन मन लाग्छ। निराश अनुहारमा आशाको मुस्कान देख्न मन लाग्छ। सायद यही मेरो कमजोरी पनि हो, यही मेरो शक्ति पनि। किनकि मैले आफ्नो खुसीभन्दा अरूको खुसीमा जीवन खोजेँ।तर समाजसँग मेरो एउटा विनम्र प्रश्न छ,अरूका लागि बाँच्ने मानिसका लागि आखिर कसले बाँच्ने ?उनीहरूलाई पनि साथ, विश्वास र आत्मीयता चाहिन्छ किनकि सेवा गर्ने मनलाई पनि सहारा आवश्यक पर्छ। सायद यही प्रश्नको उत्तर खोज्नु आजको समाजको सबैभन्दा ठूलो जिम्मेवारी हो।

हामीले अब यस्तो संस्कार निर्माण गर्नुपर्छ, जहाँ राम्रो काम गर्ने मानिसलाई शङ्काले होइन, विश्वासले हेरियोस्। जहाँ महिलाको सफलता प्रतिस्पर्धीको हार होइन, समाजको उपलब्धि ठानियोस्। जहाँ कसैको सिर्जनालाई दबाउने होइन, अझ फुल्न सहयोग गर्ने संस्कार विकसित होस्।किनकि समाजलाई महान् बनाउने कुरा ठूल्ठूला भाषण होइनन्ः एउटाको पीडामा अर्कोको मन दुख्ने संवेदना, अरूको सफलतामा खुसी हुने उदारता, र निस्वार्थ भावले बाँच्ने मानिसहरूको सम्मान गर्ने संस्कार हो।समाज साँच्चै सभ्य त्यही दिन हुनेछ, जुन दिन अरूका लागि बाँच्ने मानिसले पनि समाजबाट आत्मीयता, विश्वास र सम्मान पाउनेछ।

खजुरा बाँके

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित