लोकनारायण सुवेदी
कम्युनिष्ट हुनुभन्दा पहिलाका कमरेड पुष्पलाल ,कमरेड पुष्पलाल नेपालले आफ्ना राष्ट्रिय समस्या हल नगरी अन्तर्राष्ट्रिय भूमिका पनि प्रभावकारीरुपमा निभाउन सक्ने नेपालको हैसियत हुँदैन भन्ने मान्यता राख्ने कमरेड पुष्पलाल स्वयं सचेतरूपमा राजनीतिक गतिबिधिमा लागेदेखिनै जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रताका दृढ पक्षपाती थिए । १९९७ सालमा दाजु गंगालालको तत्कालीन निरङ्कुश राणाशाहीले गोली हानी हत्या गरेपछि प्रजातन्त्रको दीयो निभ्न नदिने दाजु अमर शहीद गंगालाललाई दिएको बचन पालन गर्ने क्रममा कमरेड पुष्पलालले अरू साथीहरूसँग मिलेर शुरूमा प्रजातान्त्रिक संघ गठन गर्नुभयो र त्यसमार्फत राजनैतिक गतिविधिमा संगठितरूपमा सक्रिय हुन थाल्नुभयो । त्यसपछि राणा शासनको अन्त्य गर्न नव गठित नेपाली राष्ट्रिय काग्रेसले संघर्षमा लाग्न सबैसँग अपिल गरे पछि राणा शासन विरोधी त्यो संघर्षामा सरिक भएर त्यस पार्टीको केन्द्रिय सचिबसम्मको कार्यभार कमरेड पुष्पलालल निभाउन थाल्नु भयो र संघर्षको नेतृत्व गर्नुभयो । तर नेपाली राष्ट्रिय काँग्रेस भित्र नेतृत्वका लागि हानथाप र मनोमालिन्य बढ्न थालेकोले त्यसबाट पनि नेपाली जनता र राष्ट्रका समस्याले पार नपाउने देखेर कमरेड पुष्पलाल माक्र्सवादी ज्ञान हासिल गर्नतर्फ तदारुखताकासाथ लाग्न थाल्नुभयो । यसरी कम्युनिष्ट कृति र दस्तावेजहरूको गहन र गम्भीर अध्ययन गर्दै गएर अन्ततः ‘नेपाली जनताले अब छुट्टै नवीन बाटो लिनुपर्ने’ निष्कर्शमा उहाँ पुग्नु भयो ।यसै क्रममा उहाँले नेपाली राष्ट्रिय काग्रेसको केन्द्रिय सचिवबाट राजीनामा दिएर नेपाल कम्युनिष्ट पार्टी गठन गर्ने सुर कस्न थाल्नुभयो । उहाले नेपाली राष्ट्रिय काग्रेसबाट अलग भएपछि २००५ सालमा विश्व प्रसिध्द कम्युनिष्ट घोषणापत्र नेपाली भाषामा अनुवाद गर्दै त्यसको पृष्ठभूमि लेख्दा त्यसमा तत्कालीन नेपाली समाजको बर्गीय बिश्लेषण पनि गर्नुभयो । त्यो नै नेपाली समाजको माक्र्सबादको आधारमा बिश्लेषण गरिएको पहिलो माक्र्सबादी साहित्य पनि बन्न पुग्यो ।
नेपाल कम्युनिष्ट पार्टीको गठन ः एक युगान्तकारी ऐतिहासिक नयाँ मोड
यस प्रकार माक्र्सवाप्रति कमरेड पुष्पलालको बढ्दो अभिरुचि र माक्र्सवादी दर्शन र साहित्य अध्ययनमा निरन्तर लागेका कारण अन्ततः उहाँ कम्युनिष्ट पार्टी गठन गर्ने एउटा नविन निष्कर्श र निर्णयमा पुग्नुभयो । त्यस निष्कर्श र निर्णयलाई कार्यान्वयन गर्ने उहाँको पहलकदमी र अग्रसरतामा कलकत्ताको श्याम बजारस्थित एक बंगालीको घरमा २००६ साल वैशाख १२ गतेका दिन नेपाल कम्युनिष्ट पार्टी स्थापनका लागि एक पाँच सदस्यीय संस्थापन कमिटी गठन भयो । त्यो सस्थापन कमिटीमा कमरेड पुष्पलालका अतिरक्त अन्य चार जना नारायणविलाश जोशी, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वद्य र मोतीदेवी श्रेष्ठ रहनु भएको थियो । त्यो संस्थापन कमिटीले १२ वैशाख २००६ कै दिन एउटा पर्चा निकाल्दै नेपाल कम्युनिष्ट पार्टी गठनका लागि अपिल गर्याे र यसरी गृह कार्य गर्दै गएर अन्ततः पार्टीको घोषणापत्र, केन्द्रिय संगठन समिति र तदर्थ विधान सबै अंग पुर्याएर १५ सेप्टेम्बर १९४९ का दिन विधिवत नेपाल कम्युनिष्ट पार्टीको गठन गरियो । गठनको दुइ वर्ष पछि कलकत्तामै २००८ साल भएको पार्टीको ऐतिहासिक प्रथम सम्मेलनले संस्थागत रूपमा नै पार्टीको स्थापना दिवस १५ सेप्टेम्बर र पार्टीको कार्यक्रम नयाँजनवाद हुने स्पष्ट र सुसंगत निर्णय सार्वजनिक गर्याे ।
नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र मार्फत त्यतिबेला राणाशाही विरुद्ध सम्पूर्ण जनतालाई संघर्षमा उत्रन निकै तिखो शैलीमा आह्वान गरिएको थियो । त्यसमा भनिएको थियो र छ ः — (क) मजदूरलाई आफ्नो रोटी र तलब बढाउन र महँगी भत्ता बढाउनको लागि लड्नुपर्छ । यस कारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ । ख) किसानलाई आफ्नो भोक हटाउन, आफ्ना बालीनाली (फसल) को भाउ बढाउन, ज्याला बढाउन, (अँधियामा उचित भाग पाउन) र जमीनको हकको निम्ति लड्नुपर्छ ।यस कारण किसान नागरिक स्वतन्त्रता चाहन्छ । ग) विद्यार्थीलाई विना फिस अथवा कम फिसमा र उच्च दर्जाको शिक्षा पाउन संघर्ष गर्नुपर्छ । यसकारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ । घ) नारी (महिला) लाई आफ्नो दोहोरो दासत्वको विरोधमा लड्नुपर्छ । यसकारण नारी नागरिक स्वतन्त्रता चाहन्छन् । यसप्रकार सबै जनता एक भई नागरिक स्वतन्त्रताका लागि शानदार युद्ध लड्नुपर्छ ।”भन्ने आह्वान पहिलो घोषणापत्रमा नै गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी गठन हुनुभन्दा पहिला पार्टी संस्थापन कमिटीको तर्फबाट निस्केको पर्चामा प्रकाशित जन वर्ग खासगरी मजदुर, किसान, महिला तथा यूवा–विद्यार्थीका समस्याका कुरालाई नै घोषणापत्रमा विस्तृतरुपमा अझ प्रबलरूपमा उठाइएको थियो । राजनीतिक शरणार्थी भएर भारतको बनारसमा बस्नु परे पनि भारतले नेपालमा गर्ने गरेका सबै किसिमका हस्तक्षेपहरूको कमरेड पुष्पलाल आजीवन कडा आलोचक रहनु भएको थियो । नेपालको मामिलामा भारतीय कम्युनिष्ट नेताहरूका कतिपय सल्लाहलाई समेत नेपालको पक्षमा नहुने देख्दा उनले प्रष्टसँग नकार्ने गर्नु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्रको भाग–४ को पहिलो बुँदामा ‘सामन्ती एकतन्त्रशाही तथा विदेशी आधिपत्यको पूर्ण उन्मूलन र पूर्ण तथा वास्तविक स्वाधीनता’, तेस्रो बुँदामा सर्वसाधारणलाई पूर्ण स्वतन्त्रता, आधारभूत आर्थिक अधिकारको ग्यारेन्टी र सम्पूर्ण भेदभाव अन्त्य गर्ने ‘बालिग मताधिकारमा आधारित संविधान’ मा जोड दिइएको छ । त्यसै खण्डको आठौं बुँदामा ‘दमनकारी कानूनहरू खारेज गर्न’ माग गरिएको छ ।जनतान्त्रिक मूल्यलाई पार्टीको आधारभूत नीतिमा समेट्नुभएका क. पुष्पलालले जनतन्त्रको झण्डालाई निरन्तर उँचो उठाएको यथार्थ उहाँको आजीवन संघर्षरत व्यवहारले नै सिद्ध र प्रष्ट गर्दछ । त्यसले नै जनतन्त्रको मोर्चामा उहाँलाई अग्रणी स्थानमा उभ्याएको छ ।
उच्च स्वाभिमान र देशभक्तिको प्रतीक कमरेड पुष्पलाल
माक्र्सवादी चिन्तक क. पुष्पलालमा साम्राज्यवादप्रति चरम घृणा थियो । उहाँले आफ्ना लेख–रचनाहरूमा गोर्खा भर्तीको कटु आलोचना गर्नुभएकोे छ । राणाशाहीलाई बेलायती साम्राज्यवादको नोकर भएको भन्दै उहाँले ब्रिटिश र राणाहरूको मिलिभगत र थिचोमिचोको तीब्र आलोचना गर्नु भएको पाइन्छ ।
हक्की र स्वाभिमानी कमरेड पुष्पलालको देशभक्तिको भावना अत्यन्त प्रबल थियो । भारतको बनारसमा राजनीतिक शरणार्थी भएर बस्नु परे पनि भारतले नेपालमा गर्ने गरेका राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सबै किसिमका हस्तक्षेपको उहाँ आजीवन चर्काे आलोचक र बिरोधी रहनु भयो । नेपालको मामलामा भारतीय कम्युनिष्ट नेताहरूका कतिपय सल्लाहलाई समेत नेपालको पक्षमा नहुने देख्दा उहाँले नकार्नु भयो ।
राजनीतिक जीवनको आरम्भदेखि नै उहाँ स्वाभिमानी र बाह्य हस्तक्षेप विरोधी भएको प्रमाणहरु भेटिन्छ । नेपाली राष्ट्रिय कांग्रेसको बनारसमा भएको तेस्रो अधिवेशनका बेला भएका गतिविधिको चर्चा गर्दै उहाँले ‘नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’ नामक पुस्तकमा लेख्नु भएकोछ ः “…सम्मेलनको दौरानमा प्रत्येक कुरामा डा. लोहिया नै मुख्य प्रवक्ता हुन्थे । भारतीय समाजवादी दलसँग सम्पर्क हुने व्यक्तिहरूलाई छोडी यो कुरा अरू कसैलाई पनि मन परेको थिएन । त्यसपछि मैले ‘नेपालको नेता नेपाली नै हुनुपर्दछ र हाम्रो आन्दोलनमा भारतको केवल एक पार्टी समाजवादीको मात्र सहयोग नलिई भारतीय कंग्रेस, कम्युनिष्ट आदि सबैको सहयोग लिनुपर्दछ’ भन्ने कुराहरू उठाएँ ।
यसैबीच डा.लोहियाले मलाई बोलाएर राजनीतिक कुराकानी गर्दै निचोडमा भने, “देखो भारतमें बहुत पार्टीयाँ और नेताएँ होते हुए भी महात्मा गान्धी एक सर्वमान्य राष्ट्रिय नेता हैं । उसी तरह नेपालमें भी एक ऐसे ही राष्ट्रिय नेता की आवश्यकता है, वह विश्वेश्वरप्रसाद कोइराला हो सकते हैं ।” मैले कुरा काटिनँ तर मलाई चित्त बुझेन । नेता प्रधान नभई नीति प्रधान हुनुपर्दछ भन्ने मेरो मनमा लागेको थियो ।”
त्यही भएर नेपाल कम्युनिष्ट पार्टीको प्रथम घोषणापत्रमा उहाँले ‘नेपालमा सामन्तवादी र साम्राज्यवादी प्रभुत्वलाई सदाका लागि अन्त्य गर्ने’ उल्लेख गर्दै लेख्नु भएको छ– “सामन्तवादी निरंकुश राजसत्ता र विदेशी शोषणको जुकालाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रूपले स्वतन्त्र गराउने । … अंग्रेज–अमेरिकन साम्राज्यवादीहरू र तिनका भारतीय कठपुतलीहरूसँग नाता तोडी सबै जातिको स्वतन्त्रता र शान्तिको निम्ति लडिरहेका प्रजातान्त्रिक राष्ट्रहरूसँग नाता जोड्ने ।”
आफ्नो यही दृढ मान्यतामा अविचल रहँदै उहाँले दिल्ली सम्झौताको कडा विरोध गर्नु भयो र मध्यस्थताको नाममा भारतले खेलेको हस्तक्षेपकारी भूमिकाको लागि नेहरू सरकारको कडा आलोचना गर्नुभयो । सन् १९५० को असमान सन्धि; कोशी, गण्डक सम्झौता लगायत भारतका प्रत्येक हस्तक्षेपकारी घटनाको विरोध गर्दै नेपालको स्वतन्त्रता, स्वाधीनता र आफ्नो निर्णय नेपालले आफैं गर्छ भन्दै देशभक्तिको आफ्नो अडानमा उहाँ सदा सर्बदा कायम रहनुभयो ।
त्यसपछि २०११ सालमा नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिको तर्फबाट कमरेड पुष्पलालले गम्भीर महत्वको सामयिक र दूरगामी निर्णय अघि सार्दै भारत र चीनसँग अनाक्रमण सन्धिको प्रस्ताव राष्ट्रले अघि बढाउन पर्ने ज्वलन्त राष्ट्रिय कुरा उठाउनु भयो । त्यसमा भनिएको थियो ः कमरेड पुष्पलालले नेपाली संवत् २०११ साल (सन् १९५४) मा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिबाट “अनाक्रमण सन्धि” प्रस्ताव अघि सारेका थिए। यसको उद्देश्य नेपाललाई भारत–चीन जस्ता छिमेकी शक्तिहरूबीच स्वतन्त्र, सार्वभौम र तटस्थ राष्ट्रका रूपमा स्थापित गर्नु थियो।
प्रस्तावको ऐतिहासिक पृष्ठभूमि
तिथिः नेपाली संवत् २०११ साल (सन् १९५४)
नेपालको सार्वभौमिकताः नेपालले कुनै पनि विदेशी शक्तिको सैन्य गठबन्धन वा आक्रमणकारी गतिविधिमा सहभागी नहुने।
छिमेकीसँग शान्तिपूर्ण सम्बन्धः भारत र चीनसँग परस्पर सम्मान र समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने।
असैन्य तटस्थताः नेपाललाई सैन्य प्रतिस्पर्धा वा युद्धमा प्रयोग नगर्ने, नेपालले पनि कुनै पक्षलाई समर्थन नगर्ने।
आर्थिक सहकार्यः छिमेकी राष्ट्रहरूसँग व्यापार, सांस्कृतिक आदानप्रदान र विकासमा सहकार्य गर्ने।
संयुक्त राष्ट्रसंघीय मान्यताः नेपालले अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघीय सिद्धान्तअनुसार आफ्नो परराष्ट्र नीति सञ्चालन गर्ने।
त्यो प्रस्तावमा १९५० को नेपाल र भारत बीचको असमान मैत्री तथा शान्ति सन्धि, गोर्खा भर्ती केन्द्र, नेपालको उत्तरी सीमानामा भारतीय सैन्य चेकपोष्ट राख्ने कुरा, असमान कोशी सम्झौताको पनि खारेजीको माग गरिएको थियो र यसरी नेपालको परराष्ट्र सम्वन्ध र खासगरी भारत र चीनसँगको सम्बन्ध नेपालको हितमा हुने गरी पुनर्संंरचना गर्नु पर्ने महत्वपूर्ण प्रस्तावहरु राखिएका थिए । प्रष्ट छ राजनीतिक दृष्टिलेः यस प्रस्तावले नेपाल कम्युनिष्ट पार्टीलाई राष्ट्रिय स्वतन्त्रता र तटस्थताको पक्षधर शक्ति र प्रवक्ताका रूपमा स्थापित ग¥यो।
यो कमरेड पुष्पलालको २०११ सालको अनाक्रमण सन्धि प्रस्ताव नेपाललाई स्वतन्त्र, तटस्थ र शान्तिपूर्ण राष्ट्रका रूपमा परिभाषित गर्ने दूरदर्शी पहल थियो। यसले नेपाललाई छिमेकी शक्तिहरूबीच दबाबमुक्त राख्ने र अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक स्थान दिलाउने आधार तयार ग¥यो।
भारतको कलकत्ताबाट निस्कने ‘फ्रन्टियर’ पत्रिकाको ७ फेब्रुअरी १९७० को अंकमा क.पुष्पलालको ‘इन्डिया एण्ड नेपाल’ शीर्षकमा एउटा लेख छापिएको थियो। त्यो लेखमा नेपालबारे जवाहरलाल नेहरूले लेखेका विचार, लिएको नीति र तत्कालीन भारतीय सरकारको नेपालप्रतिको नीतिको समेत उहाँले आलोचना गर्नुभएको छ । उक्त लेखमा उहाँले प्रष्ट शब्दमा लेख्नु भएकोछ– ‘भारतले स्वतन्त्रता हासिल गरेपछि पनि भारत–नेपाल सम्बन्धले सही गोरेटो लिन सकेको छैन । दुई छिमेकी देशहरूका बीच समझदारी तथा मित्रता बढ्नुको साटो जटिलताहरू थपिंदै गएका छन् । … यो दुःखलाग्दो कुरा हो कि भारतमा ब्रिटिश शासनको अन्त्य हुँदा पनि नेपालप्रतिको भारतीय आधिकारिक विचारधारामा कुनै असर परेन ।’
यसबाट नयाँदिल्लीले ब्रिटिश साम्राज्यवादद्वारा स्थापित तथा हुर्काइएको ठूलो दाजु अथवा ठूलो राष्ट्रको अहंकारको परम्परावादी नीतिलाई छोड्न नसकेको देखिने उहाँले उल्लेख गर्नु भएको छ। भारतीय शासक वर्गको नीतिले गर्दा भारतीय जनताको नाममा नेपालमा मात्र नभई भारतका सबै छिमेकी देशहरूमा नराम्रो धब्बा लागेको उहाँको सही र बस्तुगत विश्लेषण थियो ।
जीवनकालभरि पुष्पलाल नेपालमा हुने कुनै पनि बाह्य हस्तक्षेपको विरुद्धमा दृढतापूर्वक खडा हुनुभयो । उहाँले नेपालको स्वाधीनता र सार्वभौमसत्ताको पक्षमा आवाज उठाइरहनु भयो र नेपाली कम्युनिष्ट आन्दोलनलाई देशभक्तिको बाटोबाट विचलित हुन नदिन निरन्तर मार्गनिर्देशन गरिरहनु भयो । देशभक्ति र जनतन्त्रको मार्गमा लागेरै मात्र नेपालमा कम्युनिष्ट आन्दोलन सुदृढ हुनसक्छ भन्ने उहाँको एकदमै प्रष्ट राष्ट्रिय दृष्टकोण थियो ।
गणतन्त्रका सच्चा पहरेदार र अग्रज संवाहक
क. पुष्पलालले गणतन्त्रको पक्षमा आजीवन आफ्नो आवाज मुखर गर्न बिर्सनु भएन। कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै उहाँले गणतन्त्रात्मक शासन प्रणालीप्रति पार्टीको प्रतिबद्धतालाई स्पष्ट रूपमा जनतासमक्ष राख्नु भयो । सैद्धान्तिक र राजनीतिक रूपमा गणतन्त्र किन आवश्यक छ भन्ने कुरो उहाँले जति प्रष्ट रूपमा नेपालका कुनै पनि नेताले व्याख्या गरेका छैनन् ।
जुनवेला विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर राजा र मेरो घाँटी एकआपसमा जोडिएको छ भनिरहेका थिए, त्यसैताका पुष्पलालले ‘नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र त्यसको भविष्य (अन्त)’ शीर्षकमा विचारोत्तेजक लेख लेख्नु भयो । ‘मुक्तिमोर्चा’ नामक भूमिगत पत्रिकाको २०३३ वैशाख–जेठमा प्रकाशित तेस्रो अङ्कमा छापिएको उक्त लेखमा उहाँले नेपालमा राजतन्त्रको उत्पत्ति र विकासका ऐतिहासिक, आर्थिक, सामाजिक तथा राजनीतिक कारणको विश्लेषण गर्दै अन्ततः राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना हुने ठोकुवा नै गर्नु भएको छ ।
त्यस महत्वपूर्ण लेखमा क. पुष्पलालले ‘यस निरंकुश राजतन्त्रलाई निरपेक्ष रूपले नहेरी सापेक्ष रूपले हेर्दा यसको अन्त्य अनिवार्य छ । नेपालमा निरंकुश राजतन्त्रको गठन भएको यो पहिलो पटक होइन । … जति पटक नेपालमा राजा निरंकुश राजतन्त्र गठन गर्न सफल भए उति नै पटक त्यसको पतन पनि भएको छ’ भन्दै त्यसका कारण समेत खुलाएर उहाँले सटीक विश्लेषण गर्नुभएको छ ।
त्यसै लेखको अर्को एक ठाउँमा राजतन्त्रको अन्त्य हुने कुरामा प्रष्ट पार्दै क.पुष्पलाल लेख्नुहुन्छ– “… इरान तथा अरबका केही निरंकुश राजतन्त्र जो आफैं तेल रूपी धनराशिका मालिक छन्— आफ्ना जनताको उग्र विरोधको सामना गरिरहेका छन् भने हाम्रो देशको राजतन्त्र जसलाई आफ्नो प्रशासनयन्त्रको खर्च चलाउनलाई पनि विदेशी दानमा भर पर्नुपर्दछ, भने त्यसको अबश्यंभावी छ ।
पुष्पलालले यो लेखको अन्त्यमा विशेष जोड दिंदै ‘अब नेपालमा हुने क्रान्ति एक राजतन्त्रलाई हटाई अर्को राजतन्त्र कायम गर्ने क्रान्ति’ नहुने भन्नुहुँदै ‘यस्तो क्रान्तिको मूल उद्देश्य नै सामन्ती र विदेशी स्वार्थलाई नेपालको माटोबाट उखेलेर फ्याँकी जनताको गणतन्त्रीय व्यवस्था कायम गरी समाजवादमा लम्कने हुनुपर्दछ’ भनेर प्रष्ट पारिएको छ ।
यसरी अन्य सारा राजनीतिक दल र शक्तिहरू कोही निरंकुश राजतन्त्र र कोही संवैधानिक राजतन्त्रको पक्षमा लागेको वेला पनि कमरेड पुष्पलालले भने सैद्धान्तिक, वैचारिक र नीतिगत रूपमा आफूलाई गणतन्त्रको पक्षमा दृढतापूर्वक उभ्याएको देखिन्छ । त्यसैले कमरेड पुष्पलाल नेपाली धर्तीमा गणतन्त्रात्मक विचार र मान्यताका अग्रज संम्वाहकका रूपमा भूमिका खेल्ने प्रथम राजनेता हुन् भनेर निर्विवाद रूपमा र द्विविधारहीत ढंगले भन्न सकिन्छ । नेपाली राजनीतिमा चासो राखने कसैलाई पनि हेक्का रहेको हुनु पर्दछ कि उहाँ पूँजीवादी गणतन्त्र होइन, बैज्ञानिक समाजबादमा पुग्न अगाडिको चरण जनबादी गणतन्त्रको सुस्पष्ट पक्षमा हुुनहुन्थ्यो ।
यस प्रकार कमरेड पुष्पलाल सबै किसिमले नेपालको सक्षमता, सम्मान, सम्बृद्धि र स्वाभिमान बढाउने दिशाोध भएको एक उच्च र दूरदर्शी नेता हुनुहुन्थ्यो । आवेश र उत्तेजनाको राजनीति गरेर हाटहुट लाटलुट पारेर सत्तामा पुग्ने संकीर्ण स्वार्थबाट उहाा कहिल्यै जस्तो सुकै संकटमा पनि अभिप्रेरित हुनु भएन । आजीवन सदा सर्बदा नेपाली जानता र राष्ट्रको हितमा सगरमाथा जत्तिकै उच्च पहरेदारकोरुमा उहाँ खडा भइरहेको भयो । उहाँको १०२औं जन्म जयन्तिको अवसरमा उहाँप्रति उच्च सम्मान !
Comments

