सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दलाल पुँजीपति वर्गको स्वार्थलाई केन्द्रमा राखेर तयार गरिएको छ : दीपकबहादुर शाही

०८३ श्रवण ३,कोहलपुर ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य दीपकबहादुर शाहीले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट किसान, मजदुर, सुकुम्बासी तथा उत्पीडित समुदायको हितभन्दा दलाल पुँजीपति वर्गको स्वार्थलाई केन्द्रमा राखेर तयार गरिएको बताएका छन् ।

क्रान्तिकारी सुकुम्बासी संघ नेपाल बाँकेले आइतबार कोहलपुरमा आयोजना गरेको सुकुम्बासी समस्यासम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेता शाहीले सरकारले किसान, मजदुर, सुकुम्बासी र निम्न वर्गप्रति अनुदार तथा पूर्वाग्रही दृष्टिकोण अपनाएको दाबी गरे । कार्यक्रममा उनले भने, ‘वर्तमान सरकार किसान, मजदुर र सुकुम्बासी वर्गप्रति कति अनुदार र पूर्वाग्रही छ भन्ने कुरा यसले ल्याएको नीति तथा कार्यक्रम र बजेट भाषणले नै स्पष्ट पारेको छ ।’ उनले थप भने, ‘यो सरकारले दलाल पुँजीपति वर्गको हित र फाइदाका निम्ति बजेट ल्याएको छ तर किसान, मजदुर, सुकुम्बासी र तमाम उत्पीडित तथा निम्न वर्गको विरुद्धमा ल्याएको छ ।’

नेता शाहीले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानमा सरकार गम्भीर नदेखिएको पनि बताए । राज्यले बनाएको संविधान, कानुन र मानवअधिकारको पालना नगरेको भन्दै उनले वर्तमान सरकारले अपनाएको ‘डोजर आतंक’को अन्त्य हुने कुनै सुनिश्चितता नरहेको दाबी गरे ।

उनले देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी अहिले आन्दोलनमा रहेको उल्लेख गर्दै उनीहरूको मागप्रति राजनीतिक दल, नागरिक समाज र बौद्धिक वर्गले पनि समर्थन जनाइरहेको बताए । उनले भने, ‘बालेन सरकारको यो फाँसीवादी बर्बरता विरुद्ध सुकुम्बासीहरूको साथमा किसान, मजदुर, युवा, विद्यार्थी आदि सबैको संयुक्त आन्दोलन उठ्न जरुरी छ । यो फाँसीवादले विगतका जनआन्दोलन र जनयुद्धबाट प्राप्त अधिकारहरूलाई खोस्ने हर्कत गर्दैछ । विध्वंश र वितण्डाको पर्याय बनेको यो फाँसीवादी सरकारलाई लगाम लगाउन हामी सबैले सुकुम्बासी आन्दोलनलाई ऐक्यबद्धता गर्नु अनिवार्य भएको छ ।’

शाहीले सुकुम्बासी समस्याको दायरा केवल एक वर्गमा सीमित नरहेको पनि बताए । उनका अनुसार, गुठीबाट विस्थापित मोही, पहाडमा पहिरो र तराईमा नदी कटानका कारण विस्थापित नागरिक, पुख्र्यौली पेसाबाट विस्थापित दलित, कुमाल, माझी–बोटे समुदाय, वर्षौँदेखि बसोबास गर्दै आएको जग्गा नापजाँच नभएका परिवार, सरकारी तथा शैक्षिक संस्थाको नाममा जग्गा दर्ता भएका बासिन्दा र मिटरब्याजी वित्तीय संस्था वा व्यक्तिबाट पीडित नागरिक पनि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अवस्थामा पुगेको उनले बताए ।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधिले पनि सुकुम्बासी समस्या समाधानमा सरकारले प्रभावकारी पहल गर्नुपर्ने धारणा राख्दै वर्तमान सरकारको आलोचना गरेका थिए ।

क्रान्तिकारी सुकुम्बासी संघ नेपाल बाँकेका जिल्ला अध्यक्ष दिपेन्द्र घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य तथा भेरी–कर्णाली ब्यूरो सचिव दीपकबहादुर शाही, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी (नमूना), नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नारायणी वली, नेकपा एमालेका प्रदेश कमिटी सदस्य भिम वली, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका गुणानिधि आचार्य, श्रम संस्कृति पार्टी बाँकेका अध्यक्ष श्रीमन थापा, राष्ट्रिय जनमोर्चाका तुलसिराम सापकोटा, सुकुम्बासी अभियन्ता कविराज यात्री, कोहलपुरका सुकुम्बासी अध्यक्ष वीरबहादुर परियार, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सचिव प्रेम थापा तथा नेकपा (माओवादी) का सुरेन्द्र रावलले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन मानबहादुर भण्डारीले गरेका थिए । आयोजकका अनुसार, कार्यक्रममा ठुलो संख्यामा भूमिहीन सुकुम्बासीहरुको सहभागिता थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित