जापानमा नेपालीले देखाए रमिता

 

– देबेन्द्र बस्याल, टोकियो

नेपालको उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोग २०७५ ले एक प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय शिक्षाका उद्देश्यहरु तय गरेको छ । ती उद्देश्यहरु मध्ये तीन नंबर बुँदाको उद्देश्यलाई यहाँ उद्धृत गरेको छु ।नेपाल सरकारले देशमा कस्ता –कस्ता खालका नागरिकहरु उत्पादन गर्न चाहेको छ त भन्ने विषयमा यो बुँदा निकै मार्मिक छ । त्यहाँ लेखिएको छः “व्यक्तिमा असल चरित्र, नैतिकता, स्वअनुशासन, निष्पक्षता, सकारात्मक सोच, सहिष्णुता, सहानुभूति, सदाचारिता, आत्मसंयम, धैर्यता, लगनशीलता, उत्तरदायित्वबोध, विश्वबन्धुत्वको भावना, स्वस्थ जीवन र रहनसहनप्रति प्रतिबद्धता जस्ता मानवीय गुणहरुको विकास गर्नु ।”

अहिले नेपालबाट करीव २ लाखको ५० हजार भन्दा बढी नेपाली विद्यार्थीहरु उच्चशिक्षा हासिल गर्नका लागि नेपालको औपचारिक शिक्षा पुरा गरी जापान आउनुभएको छ । ती विद्यार्थीहरु सबैले नेपालको राष्ट्रिय शिक्षा आयोगले तयार पारेको शिक्षाका उद्देश्यहरु पढेर आफ्नो कक्षा उत्तीर्णगरी जापान पाल्नु भएको छ ।नेपालका विद्यायलको तल्लो तहदेखि उपल्लो तह अर्थात उच्चशिक्षासम्म राष्ट्रिय शिक्षा आयोगका उद्देश्यहरु अध्ययन गर्नु पर्छ । त्यसरी सकारले, विद्यालयले घर परिवारले र हाम्रो समाजले समेत व्यक्तिमा असल चरित्र निर्माण गर्न, अनुशासित र नैतिकवान विद्यार्थी उत्पादन गर्नमा खर्चेको योगदान उच्चशिक्षा हासिल गर्न आउनुभएका ति नेपाली विद्याथीहरुले जापानमा बारंबार रमिता प्रदर्शन गर्नुभएको छ ।
जापानमा शिक्षा प्राप्त गर्न आउनुभएका एक जोडी विद्यार्थीले केही समय अघि सहमतिमै अनैतिक हर्कत गरेको भिडियो युट्यूव, फेसवुक लगायतका मिडियामा भाइरल भएको थियो । मैले उहाँहरुलाई प्रश्न गर्न चाहान्छु कि विद्यार्थी भाइवहिनीहरुहो के तपाईहरुले पढेको त्यही हर्कत गर्नका लागि थियो ?कतिपय चीजहरु मानवलाई नभईनहुने भए पनि तिनलाई बाहिर समाजमा प्रदर्शन गरिदैंन । हामी शिक्षित वर्गबाटै यस खालका क्रियाकलापहरु आउनु भनेको नेपाल देश, समाज र बाबुआमा दिदीवहिनीहरुको सामु लाजमर्दो कुरा होइन र ? पढ्नु भनेको के हो ?शिक्षा प्राप्त गर्नु भनेको के हो ? जन्मदेखि मृत्यूपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ग्राहृय ज्ञान नै शिक्षा हो ।

असल के हो ? खराब के हो भनेर छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सहि निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणीय र आदर्श बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने, इच्छानुरुपको प्रतिभा विकासमा टेवा पुर्‍याउने आदि कार्य शिक्षाले गर्दछ । शिक्षाले व्यक्तिलाई विविध पक्षमा आदर्श बनाउँदछ ।

शिक्षा भनेको व्याक्तिलाई सहज जीवन जिउनको लागि दिईने ट्रेनिङ्ग हो । यसले बालकको सर्वाङ्गीण विकास गराई सतमार्गतर्फ उन्मुख गराउँदछ । शिक्षाले बालकको इच्छा अनुरुपको प्रतिभालाई मलजल गरी भविष्यमा त्यही प्रतिभाले नै बालकलाई महान बनाईदिन्छ । यसर्थ शिक्षा प्रतिभारुपी बिजको लागि अनुकूल हावापानीमा अवस्थित उर्वर भूमि हो । शिक्षाको विविध स्रोत र क्षेत्र छ । हामीले प्रकृतिबाट अथाह सकारात्मक शिक्षा आर्जन गर्न सक्दछौं। पुस्तकहरुको गहन अध्ययनबाट हामीले शिक्षा आर्जन गर्न सक्दछौ । कसैको जीवनी, क्रियाकलाप आदिबाट अनुकरणीय शिक्षा हासिल गर्न सक्दछौ । हामीले प्रत्येक कुराको सुक्ष्मातिसुक्ष्म कुराहरुको अवलोकन गरी ग्राहृय ज्ञान आर्जन गर्न सक्दछौ । इच्छा र खुबी भएमा प्रत्येक कुराहरुबाट हामीले सही शिक्षा आर्जन गर्न सक्दछौ । शिक्षा प्राप्त गरेको व्यक्तिको व्यक्तित्व आदर्श हुन्छ । तसर्थ शिक्षा आदर्श व्यक्तित्व भएको व्यक्तिलाई जन्माउने प्रक्रिया हो । शिक्षाको उद्देश्य असत्यबाट सत्य, अज्ञानताबाट ज्ञान र अन्धकारबाट उज्यालोतिर लैजानु हो ।

शिक्षाको परिभाषा दिंदै शिक्षाविद अरस्तुले भनेका छन् – स्वस्थ शरीरमा स्वस्थ बुद्धिको निर्माण गर्नु नै शिक्षा हो । त्यसैगरी अर्का बैज्ञानिकले शिक्षा भनेको एक ट्रेनिङ हो भनेका छन् । शिक्षा हासिल गरेको व्यक्तिमा कुन कुन कुराको हेक्का भईरहनुपर्छ भने, गलत काम गर्नुहुँदैन, जाँड रक्सी जथाभावी पिउनुहुँदैन, सानोलाई माया गर्ने र ठूलोलाई आदर गर्नुपर्छ, झिनामसिना विषयमा मारपिट गर्ने, झगडा गर्ने, मुर्खताको प्रदर्शन गर्ने, जथाभावी तथानाम मुख छोड्ने, अनैतिक कार्यहरु गर्ने, राष्ट्र र समाजको बदनाम गर्ने कार्यहरु जस्ता अवाञ्छित गतिविधि गर्न सख्त मनाही छ भन्ने कुरा कहिलै पनि एक शिक्षित मान्छेले भुल्नुहुँदैन ।

केही समय पहिला नेपाली नेपालीहरुको बीचमा शिन(ओकुवोमा कुर्ची उठाएर हानाहान गरेको भिडियो भाइरल भयो । आज सनिबारकै दिन जापानको पर्यटकिय क्षेत्र ओदाईबामा लागिरहेको मेलामा नेपाली नेपालीहरू बिच कुटाकुटगरेर रमिता माथी रमिता देखाए। त्यसैगरी कहिलेकाहीं गुडिरहेको रेलमा मदिरापान गरेर एक आपसमा कुटाकुट गर्नु हुन्छ । केहिसमय पहिला दसैं मनाउन कामाताको एक रेष्टुरेन्टमा जम्मा भएका युवाहरुबीच भएको मारपिटका कारण लडाई(झगडा गर्नकै लागि नेपालीहरु संस्थागत हुने गरेको तथ्यहरु बाहिरिए । विभिन्न समुह उपसमुह नै खडा गरी नेपाली नेपालीबीच लडाई झगडा गर्ने गरेको बिषय सारा जापानभरि मिडियामा आयो ।

त्यसैगरी जापानमा नाम दाम दूवै कमाएका नेपालीहरु अवैध सवारीचालक अनुमति प्रकरणमा संलग्न भएको बिषय बाहिर आयो । कतिपय नेपालीहरु लडाई झगडा गरेर टाउको फोडाफोड गरेका र भित्रभित्रै गुपचुप मिलापत्र गरेको पनि सुन्नमा आउने गरेको छ । तर आखिरमा यस्तो किन गर्ने ? यस्ता खालका हर्कतले के देखाउँछ भने त्यो व्यक्तिको शैक्षिकस्तर न्युन रहेछ, अशिक्षित समाजमा हुर्केको रहेछ, समाजमा मिलेर बस्न सक्ने भावनाको विकास नभएको रहेछ, मुर्ख रहेछ, चेतनाको स्तर खस्केको रहेछ । पागल जस्तो रहेछ आदी भन्नका लागि मान्छेहरुलाई ठाउँ दिंदैनर ?। नेपालीको शिर झुक्दैन र ? त्यसैले हामीले आफ्नो अधिकारलाई प्रयोग गर्ने सिलसिलामा अरुको अधिकारलाई हनन् गर्नुहुँदैन भन्ने कुराको ज्ञान राख्नुपर्छ ।

हामीले यहाँ जापानीहरुलाई एकपटक हेरौं त । उनीरुले पनि जाँड रक्सी पिउँछन मलाई लाग्छ हामीले भन्दा पनि बढि पिउँछन उनीहरुले तर खै कतै होलल्ला गरेको, अरुलाई डिष्टर्व गरेको देखिदैन । म जापानको गाउँ–गाउँमा पुगेको छु ।उनीहरुको गाउँमा मलाई त लाग्छ मान्छे बस्छन् कि बस्दैनन्, सुनसान लाग्छ, कोलाहलरहित देखिन्छ । तर हामी नेपालीहरु थोरै पिउँदैमा, थोरै पैसा कमाउँदैमा शान देखाउनुपर्ने, ठूला कुरा गरिहाल्नुपर्ने, समुह नै खडा गरेर दादागरी गर्नुपर्ने, ठूला ठूला आवाजमा गर्जनुपर्ने आखिरमा यस्तो किन ? यो सबै असल शिक्षाको अभावको उपज हो । व्यक्तिले देखाउने स्वभाव र क्रियाकलावले उ कस्तो समाज, कस्तो परिवाक र ठाउँमा जन्मे(हुर्केको रहेछ भन्ने कुराको पहिचान हुने भएकोले हामीले गलत काम कहिलै गर्नुहुँदैन, सकभर आफ्नो असली परिचय दिने कोशिस नगरौं । यस्ता खालका कार्यले हाम्रो देश समाज र परिवारको नाक काटिन्छ । पुर्खाले आर्जेको इजतमा दाग लाग्छ । देश समाज र परिवारको सपनामा तुषारापात आउँछ । विदेशीको सामु घृणाको पात्र बनिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित