दलाल पूँजीपति वर्ग र नेपाली जनता बीचको प्रमुख अन्तर्विरोधलाई हल गर्नका निम्ति वामपन्थीहरूको बीचमा एकता जरुरी छ – प्रवक्ता सुदर्शन

 

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली “सुदर्शन’ले दलाल पूँजीपति वर्ग र नेपाली जनता बीचको प्रमुख अन्तर्विरोधलाई हल गर्नका निम्ति वामपन्थीहरूको बीचमा एकता जरुरी रहेको बताउनुभएको छ । ४८ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा श्रावण ७ गते काठमाडौँमा आयोजित “वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा सुदर्शनले सो विचार व्यक्त गर्नुभएको हो। कार्यक्रमको आयोजना पुष्पलाल मित्रता केन्द्रले गरेको थियो । आफ्नो भनाईलाई स्पष्ट गर्दै सुदर्शनले भन्नुभयो – “ अहिलेको आर्थिक –सामाजिक परिस्थितिको अध्ययन गर्दा नेपालको अहिलेको परिस्थिति नवऔपनिवेशिक परिस्थिति हो। परिणामत देशको अर्थतन्त्र दलाल पुजीपति वर्गको हातमा छ।दलाल पूँजीपति वर्ग र नेपाली जनताको बीचमा जुन प्रमुख अन्तर्विरोध छ त्यसलाई हल गर्नका निम्ति वामपन्थीहरूको बीचमा एकता हुन जरुरी छ । राजनीतिकरुपले यहाँ प्रतिक्रान्ति भइसकेको छ। हामीले दुःख गरेर प्राप्त गरेका जे उपलब्धिहरु छन् ,ती सीमित मात्रै बाँकी रहेका छन्। संविधान भन्ने जुन चिज छ त्यो केही मात्रामा बाँकी छ। हामीले अहिले त्यही संविधानलाई टेकेर लोकतान्त्रिक गणतन्त्र, समावेशी ,समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता आदि भन्न पाएका छौं । अहिले दुःख गरेर प्राप्त गरेका यी उपलब्धिहरु एकदमै भीरको डिलमा उभिएका छन्। ”

“वामपन्थी” शब्दलाई दुरुपयोग गरिएको बारे प्रवक्ता सुदर्शनले भन्नुभयो , “ वामपन्थीहरू को हुन् भन्ने कुरा पनि गहिरोसँग बुझ्नुपर्ने भएको छ।वामपन्थी भन्ने शब्दभित्र कतै अवसरवाद त लुकेको छैन ! लेनिनले भनेजस्तै सबै कम्युनिष्टहरू वामपन्थी हुन्छन् तर सबै वामपन्थीहरू कम्युनिष्ट हुँदैनन्।नेपाली कांग्रेस पनि अहिले वामपन्थी हो ! किनभने त्यो अहिले सत्ताको विपक्षमा छ। वामपन्थी भन्दाभन्दै सत्तापन्थी पनि हुने गरेको देखिएको छ। रास्वपालाई नै समर्थन गर्ने हो भने त्यस्तो वामपन्थी हुन सक्दैन । ”

पुष्पलालको योगदानको चर्चा गर्दै सुदर्शनले भन्नुभयो , “ हामीले पुष्पलालको ४८ औँ स्मृति दिवस मनाइरहँदा पुष्पलालले दिनुभएको योगदानलाई आत्मसाथत गर्नुपर्ने आवश्यकता छ। पुष्पलालले हामीलाई दर्शन शास्त्र दिएर जानुभएको छ। पुष्पलालले नेपाली समाजको वर्ग विश्लेषण गरेर जानुभएको छ र पुष्पलालले हामीलाई कसरी अगाडि बढ्ने भनेर मूल बाटो पनि देखाएर जानुभएको छ। यदि हामीले पुष्पलालले लेखेको मूलबाटोमा वामपन्थीको परिभाषा हेर्यौ भने अहिले हामीले सहज रुपमा गरिरहेको वामपन्थीसँग त्यो मिल्दैन । वामपन्थी हुन कस्तो हुनुपर्छ,के हुनुपर्छ भन्ने कुरा बुझ्नका निम्ति पुष्पलालले लेखेको वामपन्थीको अवधारणा पनि हामी बुझ्न जरुरी छ ।”

नेपालको राष्ट्रिय स्वाधीनता संकटमा परेको कारण खुलाउँदै सुदर्शनले भन्नुभयो , “ नवऔपनिवेशिकताले दलाल पुँजीवादलाई जन्म दिन्छ र दलाल पुँजीवादले ल्याउने राजनीतिक स्थिति भनेको आज जे छ त्यही नै हो। सेना ,प्रहरी ,कर्मचारी यन्त्र ,कारागार, अदालत सबै राज्यका संयन्त्रहरू पुरानै थिए। चुनाव जितेर केही वामपन्थी दलहरु सरकारमा गएका थिए। यहाँ सिधा सिधा कुरा गर्नुपर्छ। नेपाली सेनालाई प्रयोग गरेर अमेरिकी साम्राज्यवादले रास्वपा, बालेन्द्र, रविको मुखौटो लगाएर शफ्ट कु गर्यो । सरकार कब्जा गर्यो । नेताहरूलाई कब्जा गर्यो। राष्ट्रिय स्वाधीनताको समस्या प्रमुख समस्या बनेर आएको छ। आज वामपन्थीहरूले बुझ्नुपर्ने कुरा यही नेर छ। ”

वामपन्थीहरुका बीच पर्टी एकताको सम्भावनाबारे सुदर्शनले भन्नुभयो , “हामी सबैको बीचमा पार्टी एकता सम्भव छ कि छैन यो विषयमा पनि राम्रोसँग छलफल गर्नुपर्ने आवश्यकता छ। हामीले मार्क्सवाद – लेनिनवाद –माओवाद वा माओ विचारधारा मान्दछौं भने , सर्वहारा सांस्कृतिक क्रान्तिलाई मान्दछौँ भने, अहिलेको व्यवस्था र संविधान यो साम्राज्यवादद्वारा पालितपोषित फाषिष्ट व्यवस्था भनेर त्यसका विरुद्ध जान सक्छौ भने पार्टी एकता सम्भव छ । मौजुदा व्यवस्थालाई पल्टाउने हो कि होइन यही कुरामा पार्टी एकता हुने कि नहुने भन्ने कुरा त्यहीनिर अड्किन्छ जस्तो मलाई लाग्छ। ”

राजनीतिक संकटको निकास बारे सुदर्शनले भन्नुभयो , “यो सरकारले प्राप्त उपलब्धिहरूलाई पनि नष्ट गरेर प्रतिक्रान्तिको बाटोमा जान खोजिरहेको छ । हामीले एउटा लुज फोरम निर्माण गर्न सक्दछौँ। बामपन्थी भन्ने जति सबै अट्ने फोरम निर्माण गर्न सक्दछौँ। तर त्यसका निम्ति यो सरकारका विरुद्ध एउटा वैकल्पिक सरकारको गठनको एउटा विकल्प प्रस्तुत गर्नु पर्दछ । स्वाधीन संयुक्त सरकार हामीले बनाउनु पर्दछ। देशभक्त, वामपन्थी र सम्पूर्ण अग्रगामी तत्वहरू मिलेर एउटा राष्ट्रिय राजनीतिक सम्मेलन गरौं। त्यो हिम्मत गरौं। राष्ट्रिय राजनीतिक सम्मेलनबाट राष्ट्रिय स्वाधीनताको पक्षमा एउटा कार्यक्रमको घोषणा गरौं। अगाडि बढ्दै जाने क्रममा हामीले स्वाधीन संयुक्त सरकार निर्माण गर्न सक्दछौं। यस किसिमले अगाडि बढ्नका लागि हामी तयार छौँ कि छैनौं यी विषयमा हामी छलफल गर्नुपर्दछ। वैकल्पिक सरकारको निर्माण गर्ने दिशामा हामी जान तयार हुन्छौं भने नै वास्तवमा त्यो लुज फोरमको महत्व हुन्छ। सिद्धान्तमा अडान हुन जरुरी छ । साझ एउटा बोल्ने, बिहान अर्को बोल्ने गरेर त्यो मोर्चा स्थायी हुन सक्दैन । हामीले एमसीसीको विरोध गर्न सक्छौं कि सक्दैनौं। एसपीपीको विरोध गर्न सक्छौ कि सक्दैनौं ।संसदमा बालेनले भर्खरै नेपालले पनि भारतको जग्गा मिचेको छ भनेका छन् ।त्यसको विरोध गर्न सक्छौ कि सक्दैनौ यस्ता कुराहरुको स्पष्टताले नै लुज फोरमलाई निर्माण गर्न मद्दत पुर्याउनेछ। साम्राज्यवादीहरूले देशलाई लुटिरहेका छन्। र, पुरै लुट्नका निम्ति उनीहरु आइरहेका छन्। यस्तो अवस्थामा देशलाई बचाउनका निम्ति वामपन्थी तथा देशभक्तहरूको बीचमा एकता आवश्यक छ। ”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित