– आकाश गौतम, संयोजक, क्रान्तिकारी स्वास्थ्यकर्मी संगठन नेपाल
० क्रान्तिकारी स्वास्थ्यकर्मी संगठन, नेपालको परिचय दिनुहोस् ?
–स्वास्थ्यसँग सम्बन्धित चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिकहरु (एच.ए,सि.एम.ए, ग्रा.स्व.का.,स्वयंसेविका), प्रयोगशाला सँग सम्बन्धित प्राविधिकहरु, फार्मेसीसँग सम्बन्धित प्राविधिकहरुलाई समेट्ने संगठन हो । २०८२ साल कार्तिक २९ गते कास्कीको पोखरामा राष्ट्रिय भेला गरी यो संगठन स्थापना भएको थियो ।
० यो संगठनका उद्देश्यहरु के छन् ?
–जनताको पहुँचमा स्वास्थ्य क्षेत्र हुनुपर्छ भन्ने यो संगठनको मूल मान्यता हो । त्यसका लागि संघर्ष गर्नु मुख्य उद्देश्य हो । आफ्ना अधिकारबारे सचेत गराउनु, स्वास्थ्य क्षेत्रमा अध्ययन गर्नका लागि सरल पहुँचका लागि संघर्ष गर्नु, राज्यले तोकेको सेवा र सुविधा प्राप्तिको लागि पहल गर्नु यी हाम्रो संगठनका उद्देश्यहरु हुन् ।
० नेपालमा स्वास्थ्य क्षेत्रका समस्याहरु के के छन् ?
–सरकारी वा निजी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरु सम्बन्धित संस्थाबाट पीडित छन् । जस्तो कि अध्ययन गर्ने बेला अत्यन्त महंगोमा अध्ययन गर्नु पर्ने बाध्यता छ तर अध्ययन पूरा भएपछि स्वास्थ्य संस्थामा जाँदा केही समय स्वयंसेवकीय काम गर्नु पर्ने, त्यसपछि अत्यन्त न्यून तलवमा काम गर्नुपर्ने बाध्यता छ । श्रम शोषण यो क्षेत्रमा चर्को छ । स्वास्थ्यकर्मीले राति, दिउँसो जुनसुकै बेला काममा खट्नु पर्दछ । त्यस अनुसार आएको समय, खानपीनको समय शेडुल मिलेको हुन्न । ओभर टाइम काम गरिरहनु परेको हुन्छ । तर त्यस अनुसारको पारिश्रमिक पाइरहेको हुँदैनन् । केही सीमित ठाउँमा मात्र ओ.टि. पारिश्रमिक दिएका हुन्छन् । सरकारी क्षेत्रमा राज्यले लगानी गरेका उपकरणहरु सही तरिकाले प्रयोग नगर्ने, निजी स्वास्थ्य संस्थालाई प्रोत्साहन गर्नका लागि अनेक बहानाबाजीमा विरामीलाई सेवा लिनबाट बञ्चित गर्ने, जस्तै माइनर सर्जरी, माइनर प्रोसिड्युरलाई पनि विरामीले लामो समय कुर्नुपर्ने बनाइन्छ । राज्यले यस्ता गैरजिम्मेवार कार्यहरुको निगरानी गर्नुपर्दछ । चिकित्सकहरुले सरकारीमा कम समय दिने गरिरहेका हुन्छन् । त्यसको मार सर्वसाधारणले खेप्नु परेको छ ।
० स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न के गरिनुपर्दछ ?
– सरकारले आवश्यकता अनुसारको स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा खटाउनु पर्दछ । नियुक्त भएका स्वास्थ्यकर्मीहरु सम्बन्धित संस्थामा पुगेका हुँदैनन् । स्वास्थ्य उपकरणहरु स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्दछ। उदाहरणका लागि जुन योग्यताको स्वास्थ्यकर्मी खटाइएको हुन्छ, त्यसलाई आवश्यक पर्ने आवश्यक उपकरणहरु, उचित व्यवस्थापन जरुरी पर्दछ ।
– स्वास्थ्यकर्मीहरुको सुरक्षाको व्यवस्था हुनुपर्दछ । सुरक्षा नहुँदा उच्च जोखिममा उपचार गर्न स्वास्थ्यकर्मीहरु हिच्किचाहट गरेका हुन्छन् । जसको मार विरामीलाई पर्छ ।
– स्वास्थ्य शिक्षालाई सुलभ बनाइनुपर्दछ । कम खर्चमा अध्ययनको व्यवस्था गर्दा स्वास्थ्य क्षेत्रमा विकृतिहरु पनि कमी आउँछ ।
– विरामीलाई आवश्यकता भन्दा बढी चेकजाँच तथा, अनावश्यक बोझ बोकाउने काम हुने गरेका छन् । त्यस्ता कुराहरुलाई ख्याल गरिनुपर्दछ ।
– महिला स्वास्थ्यकर्मीहरु माथि हुने दुव्र्यवहार रोकिनु पर्दछ ।
– तर स्वास्थ्य क्षेत्रको तमाम विकृति, शोषणको अन्त्यका लागि यो व्यवस्थाबाट सम्भव छैन । जनपक्षीय र प्रगतिशील सरकारको निर्माण आवश्यक छ ।
–औषधिको प्रेस्क्राइव गर्दा अनिवार्यरुपमा जेनिटिक नाममा गरिनु पर्दछ ।
० अन्य स्वास्थ्यकर्मीहरुको संगठनसँग कस्तो सम्बन्ध छ ?
–नेपालमा धेरै प्रकारका स्वास्थ्यकर्मीहरुको संगठन छन् । सबै चिकित्सकहरुको साझा संगठन “नेपाल चिकित्सक संघ” नर्सहरुको साझा ‘नेपाल नर्सिङ संघ’ छ । प्रगोगशाला, फार्मेसीसँग सम्बन्धित संगठनहरु छन् । राजनीतिक दलहरु नजिकका स्वास्थ्य संघ/संगठनहरु छन् । तिनीहरुसँग हाम्रो संगठनले समन्वय गरेर काम गर्छ ।
० राज्यको स्वास्थ्य नीतिप्रति विचार प्रकट गर्नु पर्दा के भन्नुहुन्छ ?
–हामीले राखेको उद्देश्य निशुल्क स्वास्थ्य हो । अहिले यो व्यवस्थामा त्यो त हुन सकेन तर न्यूनतमरुपमा उसैले बनाएका नियम कानुन अनुसार स्वास्थ्य संस्थाहरुबाट नागरिकले पाउनु पर्ने सेवा सुविधाहरुबाट पनि सेवाग्राही बञ्चित छन् । जस्तो सरकारी स्वास्थ्य संस्था हेल्थपोष्ट देखि लिएर ठूला ठूला अस्पतालहरुमा पनि विभिन्न रोग र शीर्षकहरुमा निःशुल्क तथा सहुलियतको व्यवस्था छ तर त्यो उपलब्ध नगराउन अनेक बहानाबाजी गरिन्छ । अनि प्राइभेट संस्थालाई स्वीकृति दिंदा पनि १० प्रतिशत निःशुल्क सेवा दिनु पर्छ भनिएको हुन्छ । तर त्यो १० प्रतिशत गरिब र असहायलाई हैन धनीहरु (आफन्त, पहुँचवाला)लाई उपलब्ध गराइन्छ । कमसेकम राज्यले आफूले बनाएको नीति, नियम पालना गरोस् भन्ने हाम्रो माग छ ।
० स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले धान्न नसक्ने बताइरहेको छ । यसबारे के भन्नुहुन्छ ?
–पहिलो कुरा त अगाडि भनिए झैं राज्यले घोषणा गरेका सेवा सुविधा कार्यान्वयन गर्दा वित्तिकै धेरै विरामीले सेवा पाउँछन् ? दोस्रो कुरा राज्यले स्वास्थ्यलाई निःशुल्क गर्नपर्ने ठाउँमा सामान्य वीमा गर्दा पनि सेवा दिन सक्दैन भन्नु नालायकीपन हो । स्वास्थ्य वीमा कार्यक्रमबाट राज्य पछि हट्न मिल्दैन भन्ने हाम्रो भनाई हो ।
० स्वास्थ्य क्षेत्रमा आउन तपाईलाई कुन चीजले प्रेरित गरेको थियो ?
–म बागलुङबाट विद्यार्थी राजनीतिमा सक्रिय नहुने भनेर पोखरा आएको थिएँ । तर पृथ्वी नारायण क्याम्पसमा भर्ना हुँदा विद्यार्थीहरुको यातायात भाडा र विद्यार्थी सहुलियतमा ठूलो आन्दोलन चलिरहेको थियो । गण्डकी क्षेत्रकै सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल थियो । त्यसको अगाडि मेरो डेरा थियो । त्यो बेला मलाई धेरै विरामीहरुले विभिन्न हिसावले सहयोग माग्नु हुन्थ्यो । म अस्पताल गइरहन्थे । त्यहाँको स्वास्थ्य प्रतिको चरम विकृति, विरामीको पीडाले गर्दा म आफू पनि यही क्षेत्रमा लागेर जनताको सेवा गर्ने भावना जागृत भयो र म स्वास्थ्य क्षेत्रमा प्रवेश गरेँ ।
० स्वास्थ्यकर्मी वा स्वास्थ्य अभियन्ता बन्नका लागि अरु पनि खास प्रेरकका चिज होला नि ?
– हो, निश्चित रूपमा म एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मेको व्यक्ति हुँ। विद्यार्थी संगठनमा काम गर्दा दलित बस्तीमा गएर खाना खाइन्थ्यो । विद्यालयमा हुने अनेक प्रकारका अन्याय विरुद्धमा उत्रने मेरो स्वभाव थियो । विद्यालयमा हेड सरले एकजना विद्यार्थीमाथि अन्याय गरेका थिए त्यतिखेर म आक्रोशित भएर प्रअलाई बाग्लुङ गल्कोटको दरमखोलामा माछाको चटनी बनाइदिन्छु भनेको थिएँ । त्यो सम्झँदा अहिले पश्चाताप लाग्छ। यस प्रकारको विद्रोही चेतना एउटा मेरो बुवाबाट र अर्को विद्यार्थी नेता नारायण सापकोटाबाट प्राप्त भएको भन्ने मलाई लाग्दछ। नारायण सापकोटा वास्तवमा मेरो राजनीतिक गुरु नै हुनुहुन्थ्यो। त्यस्तै यदुमणि सर जो बितेर जानुभो, हाम्रै गाउँका दाइ हिरा, सचित्र, विष्णु, तुफान, कदम सबैको अभिभावकत्व मलाई थियो । त्यसै पृष्ठभूमिबाट मेरो पनि दृष्टिकोण निर्माण भएको हो भन्ने मलाई लाग्दछ ।
० स्वास्थ्य क्षेत्रको एउटा चर्चित भनाई छ, “उपचार गर्नुभन्दा सावधानी अपनाउनु नै उपयुक्त हुन्छ ।” यो भनाईको व्यवहारिक रुपमा औचित्य के छ ?
– कतिपय दीर्घरोगीलाई रोक्न सम्भव छैन तर आफ्नो आहार विहार, खानपीन, शारीरिक अभ्यासले कैयौं रोग लाग्नबाट बच्न सकिन्छ । हामी सबैले त्यसप्रति ध्यान दिनुपर्छ ।
० प्रायः वर्षायाममा सरुवा रोग फैलिने गर्दछ नि । आम जनताले यस मौसममा के कस्तो सावधानी अपनाउनु पर्दछ ?
–वर्षायाममा खानपीनमा ध्यान दिनुपर्दछ । बाढी पहिरोका बेला पानी अशुद्ध हुन सक्दछ । पहिरो जाँदा मरेका बस्तुहरु पानीमा प्रदुषित भएका हुन सक्दछन् ।
जस्तैः कतिपय अवस्थामा मरेका माछा र मान्छेले फालेका फोहोर पानीमा प्रदुषित भएका हुन सक्दछन् । वर्षायामका बेला झाडापखाला, डेंगु, मलेरिया फैलिएका हुन सक्दछन् । ती कारण मुख्यतः पानीको प्रदुषण हुन सक्दछन् । त्यस अवस्थामा पानी उमालेर, तरकारी, फलफुल सफा पानीले वा उमालेको पानीले धोएर खानु पर्दछ । यस्ता स्वास्थ्यसँग सम्बन्धित न्यूनतम कुरालाई ख्याल गर्नुपर्दछ । रोग लागेमा स्वास्थ्य संस्थामा जानु पर्दछ ।
० अन्त्यमा हाँक मार्फत् केही छ कि ?
–राजनीतिक परिवर्तनका लागि, जनताको चेतना वृद्धिका लागि, तथ्यगत समाचार सम्प्रेषण गर्न लामो समयदेखि हाँक साप्ताहिकले ठूलो योगदान पु¥याईरहेको छ । आगामी दिनमा पनि हाँक आफ्नो उद्देश्यमा निरन्तर अगाडि बढ्न सफल होस् भन्ने शुभकामना दिन्छु ।000

