–डि.आर. पोखरेल
वि.सं. २०४० को दशकमा औधी नै सपना देख्ने गर्थे । त्यतिखेर देखिएका सपनाहरुको डायरी नै बनाएको थिएँ । नराम्रो सपना नदेखियोस् भन्ने लाग्थ्यो । दाँत झरेको भैसीले खेदेको, हिलोमा परेको, आकाशखसेको आदि सपना देखेको विहान मन ढुकढुक भइरहन्थ्यो । दिसापिसाब गर्दा यस्ता सपना जाओस् भन्ने कामना गर्नुपर्छ भन्ने गर्नुहुन्थ्यो अग्रजहरुले । त्यसै गरिन्थ्यो । खासमा सानामा हजुरआमाले भन्ने गर्नुहुन्थ्यो–सपनामा दाँत फुक्लिएको सपना निकै नराम्रो सपना हो । माथिल्लो पट्टीको दाँत फुक्लिए आफूभन्दा जेठो वा पाको उमेरका आफन्तको मृत्यु ुहन्छ । हजुरआमाको यो भनाई सोह्रै आना सत्य जस्तो लाग्थ्यो र डरले सधै मन कामिरहेको हुन्थ्यो । यो भनाई मेरी हजुरआमाको मात्र नभएर गाउँका प्रायः सबै प्रौढ मानिसहरुको भनाई थियो । यो सुनेपछि हामी केटाकेटी त्यतिखेर झन डराउँथ्यौ जतिखेर कोही बिमारी हुने गर्थे ।घरका मूल मानिसहरुमध्ये कोहीको मृत्यु भयो भने के गर्ने । कसरी घरमा बस्ने । मरेको घरमा सबै मानिस रुँदा आफूलाई आँसु आएन भने के गर्ने भन्ने पिरलो मनमा लागिरहन्थ्यो ।
गाउँमा सपनाको फल बताउनेहरु छयास्छयास्ती नै थिए । तर खराब सपना भन्नु हुँदैन भनेर कसैको मृत्यु भयो भने अलच्छिना हुइन्छ भन्ने डरले आफ्नो दौंतेरी बाहेक अरुलाई सपना बताउन हुँदैनथ्यो । गाउँमा बुढापाका प्रत्येकलाई थाहा थियो सपनामा दाँत फुक्लिएको, तेल घसेको, भैंसी चढेको, भात खाएको, रौं/कपाल देखिएको, हिलोमा गाडिएको, फुलमाला अबिर लगाएको, दक्षिण दिसाको यात्रा गरिएको, आकाश खसेको सपना एकदमै खराब सपना हो भन्ने गरिन्थ्यो । यस्ता कुराहरु सुनेपछि एकातिर मन भयभीत हुन्थ्यो भने अर्कातिर यी ठूला मानिसहरुलाई यस्तो ज्ञान कसरी भयो होला भन्ने पनि लाग्थ्यो ।
घर गाउँका ठूला मानिसहरुलाई यस्ता खराब सपनाबारे मात्र थाहा हुने गरेको नभई राम्रा एवं सुखद सपनाहरु बारे पनि राम्रै जानकारी भएको सुन्न पाइन्थ्यो । यस्ता राम्रा वा असल सपनाहरुमा ठूलो नदी देखिनु, समुद्र तर्नु, आकाशमा उड्नु, घरमा आगो लागेको देखिनु, मासु, मदिरा, किरा खाएको देखिनु, सेतो छाता देखिनु, हात्तीको सुँडले पक्रिएर पिठ्यूँमा राखेको देखिनु, सेतो कपडा लाएकी बालिकाले पुस्तक दिएको देखिनु आदि सपनालाई शुभ फलदायी राम्रो सपना भएको बताइन्थ्यो । यस्ता कुराहरु सुन्न मजा लाग्थ्यो । आफूले पनि शुभ वा राम्रा सपना देख्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । हात्तीमा चढेको सपना देखे राजा हुइन्छ भन्ने गरिन्थ्यो। यस्ता राम्रा र शुभ सपना देखेर आफू ठूलो मान्छे बन्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।
पछि थाहा हुँदै गयो हाम्री हजुरआमा र गाउँका ठूला मानिसहरुको सपना ज्ञानको त निश्चित स्रोत रहेछ । यी स्रोतमध्ये प्रायः को मुख्य स्रोत भनेको वि.सं.१९५९ तिर शिखरनाथ सुवेदीले लेखेको ‘शिखरनाथ भाष्यभित्रको’ स्वप्न फल पो रहेछ । तिनमा धेरै शुभ अशुभ सपनाहरुको फलादेशको चर्चा गरिएकोरहेछ । हुन त शिखरनाथ भन्दा अघि पनि सपनाको फलादेशको परम्परा थियो होला । कुनै स्रोत थियो होला । तर शिखरनाथले भने यसलाई व्यापक बनाएका रहेछन् । यिनकै आधारमा हाम्रा अग्रजहरु बुज्रुक पल्टिएका रहेछन् ।
यति कुरा थाहा भएपछि पनि मनका जिज्ञासाहरु भने मेटिएनन् । सपना के हो ? किन देखिन्छ ? देख्ने कुन मन हो ? अशुभ र शुभ भनेर छुट्याइएका सपनाहरुके कुरो कति साँचो ? यिनै प्रश्नहरुले मन उथलपुथल पारिराख्यो । गाउँका जान्ने बुझ्ने, पुरोहित पण्डित, ज्योतिष आचार्य सबैसँग बुझ्दै हिंडथे । तर म तुष्ट हुन सकेन । सपना मेरो लागि झनझन रहस्यमय बन्न थाल्यो ।
चालिसकै दशकमा सबै काम छोडेर म रसियन लाइब्रेरी काठमाडौं धाउन थाले । मनोविज्ञानका पुस्तकहरु सिंग्मण्ड फ्रायडको सपना विश्लेषण, जुम अल्टरको मन विश्लेषण, असाधारण मनोविज्ञानका अनेक पुस्तकहरु ओशोका धारणाहरु, शिखरनाथ सुवेदीका शिखरनाथ भाष्य आदि खोजी खोजी पढ्न थाले । पढ्दै जाँदा पूर्व र पश्चिमका सपना सम्बन्धीका धारणहरु एकदम फरकफरक पाएँ । जस्तो भनौं न पूर्वको दाँत फुक्लिएको सपनाको फल अशुभ फल हुन्थ्यो भने पश्चिमका मनोविश्लेषकहरुले सपनामा दाँत फुक्लिएको देख्नुको सम्बन्ध वीर्य स्खलन वा स्वप्नदोषसँग भएको बताएका रहेछन् । सपनामा संकेत मात्र हुँदो रहेछ । विपनाका रहेको अभावको परिपूरक रहेछ सपना भनेको । नेत्रहीनले सपनामा अनेक दृश्यहरु देख्नु, बहिराहरुले अनेक ध्वनी सुन्नु, यौनतुष्ठि नभएकाहरुले सम्भोगको सपना देख्नु आदि कुराहरु विपनाका अभावका परिपूरक रहेछन् ।
पूर्वका हामीहरु उड्नुलाई ‘आयु बढेको’ भन्ने अर्थ लगाउने गर्छौं । पश्चिमका मनोचिकित्सकहरु यौन उर्जाको बढोत्तोरी वा यौन अंगको फुलाई वा संकुचन भन्ने गर्छन् ।अनि नुहाएको देख्नु, साइकल चढेको देख्नु, साबुनले हात धोएको देख्नु आदि कुराहरुलाई महिलाहरुको मासिक धर्मको विश्राम हो भन्ने गर्छन् र झर्ना, पहाड, साँप, लठ्ठी, रुख, औंलाहरु, नाक, चरा, सिपाही साथी आदिको सपना देख्नुलाई यौन संकेत मान्ने गर्छन् पश्चिमाहरु ।
अब पूर्वले सपनामा आगो देख्नुलाई राम्रै मान्दछ । पश्चिमलेपनि राम्रै मान्दछ । अर्थात् प्रेमको संकेत मान्दछ । यसरी पूर्व पश्चिम दुवैले सपनालाई आ आफ्नो ढंगले अथ्र्याएका छन् । आआफ्ना भाष्य खडा गरेका छन् । सपनाको यस रहस्यमय संसारमा प्रवेश गर्न जोहोहीलाई मुश्किललै छ । यदि प्रवेश गर्ने नै हो र सपनाको रहस्यलाई वस्तुनिष्ठ भएर बुझ्ने हो भने मनोविश्लेषणको सहारा लिनुपर्ने हुन्छ । कम भन्दा कम सिग्मण्ड फ्रायडको ‘सपना विश्लेषण’ चाहिं पढ्नै पर्ने हुन्छ । यसो नगर्ने हो भने हामी हजुरआमाहरुले खडा गरेको भाष्यबाट सधै भयभीत भइरहनुपर्ने हुन्छ । कतिपय कुराहरु सपनामा देखे अनुसार भए जस्तो पनि लाग्दछ । जस्तै मैले नै २०४२ साल असार ९ गतेको राती आकाशबाट सूर्य खसेको सपना देखे र भोलिपल्ट १० गते बिहान बम काण्डमा पक्राउ खाएको थिएँ । यस्तै गरी २०५४ सालको माघ ८ गते हो क्यारे परालमा केरा पोको पारेको देखे । भोलिपल्ट ओखलढुंगा, रुम्जाटारबाट बाबाको मृत्यु भएको खबर आयो । यस्तो संयोग पनि हुने गरेको छ । कुनैकुनै कुरा मिल्दो भएकोले सपनाबारे अनेक रहस्यमय कुराहरुको जन्म हुन पुगेको जस्तो लाग्दछ ।
\
सपनाबारे आज वैज्ञानिक खोज हुन पनि थालेको छ । मनोविश्लेषकहरुले मनका तहहरुको विश्लेषण गर्दै सपनाका पनि तीनवटा तहहरुको चर्चा गर्ने गरेका छन् । पहिलो सपना, सुषुप्त मस्तिष्कको स्वेच्छिक गतिविधि हो । यो स्वछन्द र भ्रमात्मक हुन्छ भनिएको पाइन्छ । दोस्रो भनेको कल्पनाको तह हो । यसमा कल्पित तरंगहरु पैदा भएर सपनामा प्रस्तुत भएका हुन्छन् भनिएको पाइन्छ । तेस्रो भनेको सांकेतिक तह हो ।सपनामा अनेक संकेतहरु मिल्छ भनिन्छ । ठूला वैज्ञानिकहरुले आफ्नो अनुसन्धानका नयाँ गुथ्थीहरु सपनामै फेला पारेका थिए भनिन्छ । सपनामा चेतन मन सुतेको हुन्छ र अवचेतन मनको गतिविधि शुरु हुन्छ भनिन्छ । अवचेतन मन सुक्ष्म र शक्तिशाली हुन्छ भनिन्छ ।
यसरी वैज्ञानिकहरुका लागि सपना अवचेतन मनमा प्रवेश गर्ने द्वार हो भने सर्वसाधारण जनताका लागि भने यो अझै रहस्यकै विषय बनेको छ । रहस्यको विषय भएकोले यसले मानिसलाई भयभित पनि तुल्याएको छ । यसबारे पूर्वीय भाष्य डरलाग्दो छ । मेरो आफ्नो अनुभव चाहिं के छ भने निद्रा राम्ररी लागेको छ, कुनै रोग लागेको छैन, स्वस्थ शरीर र स्वस्थ मन छ भने यस अवस्थामा देखिने सपना सांकेतिक हुन सक्छ । यो अर्थपूर्ण हुन सक्छ । तर शरीर अस्वस्थ छ भने निद्रा ठीकसँग लागेको छैन भने, मन तनावमा छ भने यस अवस्थामा देखिएको सपना भ्रमात्मक हुन सक्छ । यो सांकेतिक हुन सक्दैन । त्यसकारण गहिरो निद्रामा मात्र गहिरो सपना, अर्थपूर्ण सपना देख्न सकिन्छ ।
सपनाबारेको परम्परागत धारणा डर देखाउने खालको छ । यो सत्यमा भन्दा पनि रहस्यमा उभिएको देखिन्छ । त्यसकारण सपनाको परम्परागत धारणाबाट सर्वथा मुक्त हुन जरुरी छ । शरीरलाई स्वस्थ्य राख्न नियमित व्यायाम र समुचित खानपिनको जरुरी हुन्छ । योग र ध्यानको जरुरी छ । मनोविश्लेषहरुको सपना विश्लेषण पढ्न पनि जरुरी छ र आफ्ना सपनाहरुबारे नियमित डायरी लेख्न गरिनु जरुरी छ । यति गर्नासाथ धेरै कुरा समाधान भएर आउँछन् । सपनाबारे परम्परागत कुरा मात्र सुन्नुभन्दा पनि आफैले आफ्ना अनुभवहरुलाई विश्लेषण गर्नु पनि जरुरी हुन्छ ।
अन्त्यमा के भन्न सकिन्छ भने सपना रहस्यको विषय होइन । यसबाट मनको गहिरो तहसम्म पुग्न सकिन्छ । सपनाको विश्लेषणबाट मनको डर हट्न सक्छ । सपनालाई अर्थपूर्ण बनाउन नियमित व्यायाम र सन्तुलित भोजनको जरुरत छ । र अझै सपनाबारे गहिरोमा बुझ्नका लागि यस सम्बन्धीको हाम्रो छिपछिपे ज्ञानलाई बढाउनु जरुरी छ ।
(लेखक डि.आर. पोखरेलको यो निबन्ध “लोक भावना, वैचारिक तथा साहित्यिक त्रैमासिक, वर्ष १९, अंक ४, पूर्णाङ ७३, २०८२ चैत्रदेखि २०८३ जेष्ठ ” बाट लिइएको हो ।)

