सुनसरीको देवानगञ्ज घटना खेदजनक

–विमल निरौला

मेलमिलाप र सौहार्दपूर्ण वातावरणमा बसेका नेपाली दाजुभाई दिदिबहिनी बीचमा धर्मको नाममा दुई समूह बनेर विवादमा उत्रिनु , कसैको ज्यान जानु र विवादले उग्ररुप लिनु अति नै खेदजनक घटना हो । आइतबार राति सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा यस्तै घटना घट्यो र घटना हाल सम्म पनि साम्मे हुने अवस्थामा छैन ।

धर्मका नाममा एउटै टोल छिमेक र घरभित्रका मान्छेहरु झै–झगडामा उत्रिनु भनेको मुलुक पश्चगमतिर जानु र देश अझै पछि पर्ने आवस्थामा पुग्नु हो ।
कप्तानगञ्जमा एउटा समुदायले एक महिनाअघि मोरहम खेल्ने स्थानमा झण्डा राखेका थिए । उक्त झण्डा एक महिनासम्म हटेको थिएन । पर्व सकिएकाले झण्डा हटाउन अर्को समुदायले आग्रह गरिरह्यो । यही विषयमा विवाद भयो । झण्डाको विवाद गाउँपालिका सम्म पुगेको बताइन्छ । यस घटनाबारे स्थानीय क्षेत्रका मानिस भन्दछन रमजानको समयमा यस क्षेत्रमा मेला लाग्दछ । त्यहि मेलाको लागि राखेको झण्डा सरकारकै प्रतिनिधिले हटाउनु भनेपछि सरकारका प्रतिनिधि र स्थानिय बीचमा केहि वादविवाद भएको थियो । यो पहिलो घटना थियो । दोस्रो घटना हिन्दु समुदायका मानिसहरु साउने सोमबारको पुजाका लागि बोलवम जान डिजे ठूलो स्वरमा बजाउदै निस्केका थिए । त्यहि डिजेको आवाजको विषयलाई लिएर उत्पन्न विवादले २४ वर्षिया नवजवान ओमप्रकाश मेहताकाको ज्यान गएको छ भने सुरक्षाकर्मी सहित २२ जना घाइते भएका छन् ।

डिजेसँगै विवादमा झण्डाको विषय पनि मिसिन पुग्यो । आइतबार कप्तानगञ्जको चोकमा राति ९ बजे अर्को समूहका व्यक्ति आएर डिजेले डिस्टर्भ गरेको भन्दै अवरोध गरेपछि दुई पक्षबीचको विवादले यतिवेला उग्ररुप लिएको छ । जब विवाद भयो उक्त क्षेत्रमा २ घण्टा विद्युत अवरुद्ध भएको घटना संयोग मात्र नभएको र नियोजित रुपमा विवाद उत्पन्न गरिएको स्थानीय नागरिकहरुको भनाई छ । सोहि समयमा करिब २ घण्टापछि मात्रै बजार क्षेत्रमा लाइन आएको उनहरुले बताएका छन् । विजुली आउँदा कप्तानगञ्ज क्षेत्रको अवस्था तनावग्रस्त बनिसकेको थियो । स्थानीयको भनाइमा सशस्त्र प्रहरी पनि त्यहि थिए तर उनीहरुले विवाद मिलाउन केहि पहल नै गरेनन् । त्यहि समय लाईन गयो र सशस्त्र प्रहरी र जनपथ प्रहरीले अन्धाधुन्ध गोली चलाएपछि अवस्था विग्रिएको स्थानियको गुनासो छ ।

घटना पछिका दुई दिनमा सो क्षेत्रको आसपासमा भएका आगजानी र तोडफोडले धेरै सम्पतिहरुको नाश भएको छ । सरकारले घटना भएको आसपासको क्षेत्रमा कर्फ्यु लगाएको छ । आन्दोलनकारीहरु कर्फ्युलाई वेवास्ता गर्दै सडकमा छन । त्यहि घटनालाई लिएर विराटनगर,इटहरी, जनकपुर विरगंज, कठमाण्डौं लगायतका शहरहरुमा विरोध जुलुस निस्केको छ भने सुनसरी र विराटनगरका विद्यालयहरुले समेत पठनपाठ गराउन पाएका छैनन् ।
यस घटनाले कार्ल मार्क्सको एउटा भनाई बारम्बार सम्झना गराइ रहेको छ । उहाँले भन्नु भएको थियो धर्म अफिम हो । यस घटनाले त्यही कुराको प्रमाणित गर्दछ । मार्क्सको सिद्धान्त पुरानो भयो भन्ने वुर्जुवा पुँजीवादीहरुलाई दह्रो झापड हान्दै मार्क्सवाद विज्ञान भएकोले यो पुरानो हुदैन भने कुरा पनि देखाएको छ ।
राज्यको आफ्नो धर्म हुदैन । राज्य संचालन गर्नेहरुले कुनै पनि धर्मलाई काखा र पाख गर्नु हुदैन । नागरिकले जुनसुकै धर्म मान्ने वा कुनै पनि धर्म नमाने आफ्ना नागरिहरुलाई सम्मान व्यवहार गर्नु पर्दछ । तर यस घटनामा सरकार संचालन गर्नेहरुले फरक फरक धार्मिक आस्था राख्ने नागरिक सँग सम्मान व्यवहार नगरेकै कारणले घटनाको शूरुवात भएको स्थानीय नागरिकहरुको आरोप छ । यसो गर्नु भनेको सरकार नै अपराधी हुनु हो ।

अहिले देशमा भएको संविधानकै आधारमा पनि नेपाल धर्म निरपेक्ष राज्य हो । यहाँ जुनसुकै धर्म मान्ने नागरिकलाई पनि राज्यले सम्मान व्यवहार गर्नु पर्दछ । तर यहाँका शासकहरु आफु जुन धर्म मान्दछन त्यो बाहेक अन्य धर्मलाई हेला र अपमानको दृष्टिले हेर्ने गरेका छन । जबसम्म आफ्‌ना अपराधकरु लुकाउन राज्य संचालकहरुले धर्मको साहारा लिन्छन् तब सम्म धर्मको नाममा यस्ता विवादहरु उत्पन्न भइरहन्छन् । मुलुक परिवर्तका लागि भएका कुनैपनि आन्दोलन भन्दा धार्मिक आन्दोलन नितान्त फरक हो । यस्तो आन्दोलनको बेलैमा समाधन हुन नसके देश गृहयुद्धमा धकेलिन सक्छ । वैदेशिक हस्तक्षेपले जृण बन्दैगएको हाम्रो देशमा विभिन्न समूहहरुले धार्मिक युद्ध मच्चाउन बाटो कुरेर बसेका छन् । त्यसैले यस्ता घटनाहरुको निरुपण गर्दै राज्य संचालकहरुले कुनैपनि धर्मलाई काखीच्यापेर अन्य धर्ममाथि वेभेदको विजारोपण गर्नु हुदैन । नेपालको उन्नती र प्रगतिका लागि धर्मलाई सम्मानरुपमा हेरर नागरिक तहमा छोड्दै सरकारले विज्ञान र प्रविधिमा विशेष जोड दिनु पर्दछ ।

(लेखक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा १६ नम्बर व्यूरो सचिव हुनुहुन्छ ।)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित