पत्रकारिता ,सूचना र संचारबारे

मनु वि.क.
सूचना,संचार,प्रविधिक्षेत्रसँग सम्बन्धित रहेर कार्य गर्नु नै पत्रकारिता हो पत्रकारितासँगप्रकाशक,सम्पादक,सहसम्पादक,समाचारदाता,व्यवस्थापक,प्राविधिक,वितरक भएर कार्य गर्नु पर्ने हुन्छ । पत्रकारिताले समाजमा भए गरेका घटना तथ्यहरुको जानकारी गराउनुको साथै विगत र वर्तमानको विषयमा सत्यतथ्य जानकारी गराउने कार्य गर्दछ । कुनै पनि सही सूचना र समाचारले क्षणभर मै लाखौंलाख मान्छेमा चेतना भर्ने कार्य गर्दछ । कुनै सूचनाहरु कुनै पनि माध्यमबिना आफै जनताकोमा पुग्दैन । जनतासम्म पुग्नकोलागि माध्यम चाहिन्छ । माध्यम भनेको प्रकासन, प्रशारण हो । यो छापा माध्यमबाट,श्रव्य,दृश्य,माध्यमबाट प्रकाशन प्रशारण गर्नुपर्दछ । पत्रकारितासँग जोडिएर कार्य गर्नु भनेको निकै गाह्रो कार्य हो । सत्य तथ्यमा आधारित भएर सुचनाहरु संकलन गर्नु,समाचार निर्माण गर्नु आफैमा निकै जटिल कार्य हो । कुनै पनि सूचना शुरु हुने समयदेखि लिएर सूचना ग्रहण कर्ताहरु श्रोता या पाठकहरुकहाँ पुग्दा सम्म लामो प्रक्रियाबाट गुज्रने गर्दछ । सूचनाहरु सही हुनु पर्दछ । सूचनाहरुशिक्षा,स्वास्थ्य,राजनीति,खेलकुद, राष्ट्रिय अन्तर्राष्ट्रिय विषयहरु हुने गर्दछन् । पत्रपत्रिका,श्रव्यदृश्य,साधनबाट प्रकाशित प्रसारित समाचार सूचनाहरुले पाठकहरुलाई कुन खुराक दिने हो भन्ने कुरा राम्रोसँग ध्यान दिनु पर्दछ । पत्रकारले राजनैतिक लेख,सामाजिक,आर्थिक,समसामयिक लगायतका विषयहरुको लेखहरु दिनु पर्दछ । प्रकाशन प्रसारणमा मनोरंजनका साथै खेलकुद,स्वास्थ्य,राष्ट्रिय,अन्तर्राष्ट्रिय समाचारहरु मिलाएर दिनु पर्दछ ।
पहिलो पटक प्रकाशन भएको सुधा सागर साहित्यिक पत्रिकाबाट नेपालको आमसञ्चार र पत्रकारिताको इतिहास शुरू भएको थियो । सुधा सागर वि.सं. १९५५ साउनमा प्रकाशन भएको थियो ।
नेपालको सबैभन्दा पुरानो दैनिक पत्रिका गोरखापत्र हो । गोरखापत्रको प्रकाशन १९५८(२४बैशाख१९५८) बाट भएको हो । राणा प्रधानमन्त्री देवसम्शेरले शुरु गरेका थिए । देशमा राणा शासनको अन्त्य पछि २००७ चैत्र २० गतेबाट रेडियो नेपालको प्रसारण शुरु भएको थियो ।
। देशमा प्रजातन्त्रको स्थापना पछि जनताले बोल्न, लेख्न पाउने वातावरण बन्छ कि भन्ने आशा २०१७ पौष १ गते राजा महेन्द्रले जन निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी पञ्चायती शासनको शुरु भयो । २००७ सालमा जनताले लडेर ल्याएका प्रजातान्त्रिक अधिकार खोसियो । जनताको आशाहरु निराशामा परिणत भयो । पञ्चायती व्यवस्था देशमा लागू भए पछि जनताको प्रजातान्त्रिक अधिकार कुण्ठित भयो । दलीय व्यवस्थामाथि प्रतिबन्ध लाग्यो । नेताहरु जेलमा कोचिए । जनताका प्रजातान्त्रिक अधिकार सबै राजाको हातमा प्ुग्यो । पञ्चायती तानाशाही व्यवस्था स्थापनाको विरुद्धमा नेपाली जनताहरु भित्र भित्रै संघर्षमा लागे । भूमिगत शैलीमा काम गर्नु पर्ने भयो । ३० वर्ष सम्म पञ्चायती तानाशाही व्यवस्था चल्यो । त्यो बेला नेपाली पत्रकारिताले फैलने र झ्याँगिने मौका पाएनन् । नेपाली जनताहरु पञ्चायती शासनको विरुद्धमा संघर्ष गरे।२०४६सालमा नेपालीजनताको आन्दोलनको बलमा देशमा बहुदलीय व्यवस्थाको स्थापना भयो । देशमा पञ्चायती शासन व्यवस्था रहेकै बेला २०४२साल पौष १४गतेबाट दूरदर्शन अर्थात टेलिभिजनको प्रसारण शुरु भयो ।
नेपालमा २०५२ सालमा फ्रिक्वेन्सी मोडुलेशन प्रशारण शुरु भयो । २०५४ जेठमा रेडियो सगरमाथाले प्रसारण अनुमति पाएको थियो । देशमा बहुदलीय व्यवस्थाको स्थापना भए पछि संचार माध्यमहरुले अलि खुकुलो महसुस गरे र प्रकाशनकोलागि उचित वातावरण प्राप्त भयो ।२०५९ साल असोज १८ गते देशमा संसदको विघटन भयो । राजा ज्ञानेन्द्रले संसदको विघटन गरेर कठपुतली सरकार गठन गरे । २०६१ साल माघ १९ गते दलहरुको नेतृत्वमा बनेको कठपुतली सरकारलाई पनि बर्खास्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रीपरिषदको गठन गरे । यति बेला नेपालको पत्रकारितामाथि फेरी अंकुश लगाउने काम भयो । लोकतन्त्र फेरी खतरामा प¥यो। देशमा प्रतिगमन तथा गणतन्त्रको पक्षमा आन्दोलनहरु भए । २०६२–६३को आन्दोलन भयो । यो आन्दोनलनपछि देशमा गणतन्त्रको स्थापना भयो । त्यसपछि पत्रकारिताले राहत महसुस गरेको अवस्था थियो । संविधानले सूचनाको हक उपलब्ध गरायो । पत्रकारिता गर्नको लागि बन्देज भएन । पत्रकारिताको इतिहास हेर्दा जति पनि बेला जनताको शासन हातमा आएको हुन्छ त्यो बेलामा पत्रकारिताले फस्टाउने अवसर पाएको हुन्छ र जुन बेला जनताका अधिकारहरु गुमेको हुन्छ त्यो बेला पत्रकारितामाथि पनि अंकुश लाग्ने निगरानीमा काम गर्नु पर्ने वा प्रतिबन्धको सामना गर्नु पर्ने हुँदै आएको छ । देशमा गणतन्त्रको स्थापना भए पछि अनलाइनहरुको विकास भएको छ । संसारभरि नै अहिले अनलाइन तथा सामाजिक संजालको माध्यमबाट पत्रकारिता अगाडि बढिरहेको छ ।
छापा,टिभी,अनलाईनहरु तथा सामाजिक संजालहरु छन् । यो सँगै पत्रकारिता अहिले डिजिटलाज्ड अवस्थामा आएको छ । अहिलेदेशमा अनलाईन पत्रिकाहरुको विकासको साथै अनलाईन टिभीहरु विश्वस्तरमा सूचना प्रवाह गर्ने माध्यमका रुपमा काम गरिरहेको अवस्था छ ।
सूचना प्रविधि द्रूत स्तरमा विकास भइरहेको छ । सामाजिक संजालहरुको विकासले सबै घटनाहरु विश्वव्यापी रुपमा क्षणभरमा नै थाहा पाउने बनाएको छ । सूचनाहरु हेर्नेहरुको संख्या बढाउने ध्यानमा सूचनाहरुको बाढी नै आएको छ । भ्यूज बढाउने नाममा अनेक खालका समाचारहरु पनि क्षणभर मै भाइरल भइरहेका छन् । समाचारहरु उत्तिखेरै नै संसारमा फैलिने अवस्था छ ।
यस्तो अवस्थामा सूचनाहरु कस्तो हुने ? कस्तो सूचनाहरुले जनताको हितमा काम गर्न सक्छन् ? देश जनता र समाजकोलागि कस्तो सूचना तथा समाचार सम्प्रेषण गर्दा बढी फाइदा हुन सक्छ ? भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । क्षणभर मै फैलिएका सूचनाहरुले क्षणभर मै दंगा भड्काउन सक्छ । क्षणभर मै लडाइ निम्त्याउन सक्छ,क्षण भरमै आगो लगाउन सक्छ भन्ने कुरा नेपालको जेनजी विद्रोह २०८२ भाद्र २३ र २४ गते भएको जेनजी विद्रोहले पनि देखाएको छ । कन्टेन्ट क्रियटरहरुले विश्वको जुनसुकै कुनामा बसेर बनाएको कैयौं नकरात्मक कन्टेन्टले युवा विद्यार्थीहरुको दिमागमा गलत असर पर्दा त्यो तह सम्मको क्षति देशले भोग्नु परेको छ । सामाजिक संजालहरुमा गरिएका विना नेतृत्व, विना दर्शन सिद्धान्तको विद्रोहले नेपाली जनताले केही परिवर्तन पाउन सक्ने थिएनन् र पाएका पनि छैनन् । यस्तो खालको सूचना दिने र यस्तो खालको सूचना वा समाचारहरु निर्माण गर्ने कार्यबाट सूचना ग्रहणकर्तालाई भड्काउने बाहेक अरु केही हुँदैन । समाचारहरु बनाउँदा पत्रकारितामा संलग्नले यी सबै कुराहरुमा विशेष ध्यान दिनु पर्दछ ।
प्रकाशन,सूचनाहरु प्रकाशन गर्नकोलागि पूँजीपतिहरुले ठूलो लगानी गरेका हुन्छन् । उनीहरुले आफ्नो इच्छा अनुसारको,आफ्नो वर्गलाई सुहाउने,उनीहरुको हितलाई केन्द्रमा राखेर सूचनाहरु प्रकाशन प्रसारण गर्ने गर्दछन् । पूँजीपतिहरुको हितमा राखेर,सत्ताको संरक्षणको पक्षमा रहेर प्रकाशन,प्रसारण गरिरहेका हुन्छन् । प्रकाशनहरु जो जे हो उसैको पक्षमा रहेर प्रकाशन गर्ने गर्दछन् । पूँजीपतिहरुको आफ्नो हित विपरीत जान नदिनेगरी मानिसहरु तयार गर्ने उद्देश्य रहेको हुन्छ । रक्सी उत्पादक कम्पनीले रक्सी खानुहोस् भन्दै प्रचार गर्छ । खैनी, सूर्ति उत्पादकहरुले त्यस्तै गरेर विज्ञापन गर्छ । त्यस्तै पुँजीपतिहरुले त्यस्तै तरिकाले कार्य गर्दछन् । पूँजीपतिहरुले त्यस्तै प्रकारको मानिसहरु बनाउने ध्यानमा हुन्छन् । उनीहरुलाई जति बढी मात्रामा मानिसहरु चेतनाहीन हुन्छन् उति नै धेरै उनीहरुलाई, उनीहरुको सत्तालाई फाइदा हुन्छ । सत्ता,शक्ति,साधन स्रोतहरुमा उनीहरुको पहुँच र दोहन जति गरे पनि जनताले केही थाहा नै नपाउन् र आफ्नो उद्देश्यमा हानी नपु¥याउन् भन्ने उनीहरुको चाहना हुन्छ । सोही अनुसारको जनता उत्पादन गर्ने प्रकारको प्रकाशन र प्रसारणहरु हुन्छन् ।
कैयौंको राम्रो कुराहरु हुँदा हुँदै पनि उनीहरुको प्रचार प्रसार नहँुँदा वा प्रकाशन प्रशारण नहुँदा कसैले थाहा पाउन सकेका हुँदैनन् र बोल्नेको चामल बिक्ने नबोल्नेको पिठो समेत बिक्ने भन्ने जस्तो अवस्था सूचना हुँदा प्रशासन प्रसारण हुँदा र नहुँदाको अवस्थामा हुन्छ ।
कुनै पनि सही सूचना पनि प्रकाश प्रसारणको अभावमा कसैले थाहा नपाएर गुमनाम हुन पुगेका हुन्छन् भने केही गलत सूचनाहरु पनि प्रकाशन प्रसारणका कारण त्यतिनै छिटो ठाउँ पाइरहेका हुन्छन् ।
सानो भन्दा सानोदेखि लिएर ठूलो भन्दा ठूलो सूचनाहरुमा पनि वर्गीय पक्षधरता रहेको हुन्छ । जस्तै कुनै नेताले देशघाती काम गरेको छ भने उसको पक्षमा वा विदेशीको पक्षमा लागेर समाचार लेखेको हुन्छ वा कुनै पनि देशप्रेमीले सोही समाचारलाई देशको हित विपरीत कार्य भएको भन्दै जनता जगाउने कार्य गर्दछ । देश विरोधी कार्य भएको छ भनेर जनतालाई सुसूचित गर्ने कार्य गरेको हुन्छ । कुनै पनि समाचार कसैले दया माया गरेर बनाइदिने गर्दैनन् । पुँजिपतिहरुको हित रक्षाकोलागि भनेर खोलिएका ठूला संचार गृहहरुले कोही पनि जनपक्षीय आन्दोलनको, जनहितमा भएका कार्यहरुको प्रचार प्रसार गर्न चाहँदैनन् । उनीहरुको उद्देश्यमा ठेस लाग्ने प्रकारको समाचारलाई कसैले पनि प्राथमिकता राखेर प्रकाशन प्रसारण गदैनन् । विदेशी हितहरुलाई भलो गर्नकोलागि भन्दै खोलिएको संचार गृह तथा प्रसारण गृहहरुले उनीहरुकै गाना गाइरहेका हुन्छन् ।
केही समय पहिला काठमाण्डौको लप्सीफेंदीमा एमसीसीको लप्सीफेंदी रातामाटे प्रसारण लाइन निर्माणको जग्गा विवादको विषयलाई लिएर लप्सीफेंदीमा स्थानीयहरुले ठूलो संघर्ष गरेका थिए । त्यो बेला समाचार संकलनकोलागि भन्दै हामी केही पत्रकारहरु त्यहाँ पुगेको थियौं । त्यो बेला त्यहाँका स्थानीयसँग कुरा गर्दा उनीहरुले भनेका थिए –अहिले मात्रै मिडियाको कति महत्व हुने रहेछ भन्ने कुरा बुझने मौका मिल्यो । मिडिया नआाएको भए हाम्रो आन्दोलन र हामीमाथि राज्यले गरेको दमनको कसैले थाहा नै पाउने थिएनन् । त्यहाँ स्थानीय महिलाहरुले संघर्ष गरेका थिए । त्यो संघर्षमा प्रहरीले व्यापक दमन गरेको थियो । जब मिडियाहरु पुगे त्यसपछि दमन रोकिएको भनेर स्थानीयहरुले हामीसँग भनेका थिए । कुनै पनि संघर्षमा ,वा जनपक्षीय आन्दोलनमा सूचना संचारको कति महत्व हुन्छ ? भन्ने कुरा बुझ्न यो घटनाले पनि मद्दत गर्दछ । सूचना संचारको क्षेत्रमा रहेर कार्य गर्ने पत्रकारहरुलाई सूचना जनताकोमा पु¥याएकै आधारमा मार्ने, यातना दिने जस्ता कार्यहरु हुने गर्दछन् । इजरायल –प्यालेष्टाइनको युद्धमा गाजा क्षेत्रमा कार्यरत सयौं पत्रकारहरु मारिएका छन् । आखिर किन मारिन्छन् पत्रकारहरु ? आखिर किन धम्की आउँछ पत्रकारहरुमाथि ? किन कि सूचनाहरुले जनताले थाहा पाएमा उनीहरुको सत्ता खलबलिन सक्छ । उनीहरुको स्वार्थमा धक्का लाग्न सक्छ । सूचना प्रकाशन प्रसारणको ठूलो महत्व रहेको हुन्छ । देशमा संघीयतामा लैजाने निर्णय भए पछि संघीयता विरोधी आन्दोलन देशव्यापी चलेको थियो । त्यसको साथ साथै राजधानी केन्द्रित कार्यक्रम भएको थियो । त्यो समयमा राजधानीका आफूलाई ठूला पत्र पत्रिकाहरु भनिएकाहरुले खासै समाचारको कभर गरेका थिएनन् । किनकि संघीयता देशको हितमा छ भनेर प्रचार गरिएको थियो । जाति क्षेत्र,लिंग वर्ग सबैलाई अधिकार दिने संघीयताले नै हो भनेर प्रचार गराउने गर्ने गरिएको थियो ।
अहिले पत्र पत्रिकाहरुले आर्थिक कठिनाइहरु सँग जुधिरहेका छन् । ठूला घरानिया संचार गृहहरुलाई त खासै समस्या हुँदैन । उनीहरुले वर्षौंदेखि लुटेका धनहरुलाई खर्च गरिररहेका हुन्छन् । धनाढ्यहरु नै मिलेर संचार हाउसहरु खोलेका हुन्छन् । उनीहरुको सबै पुँजिपतिहरुसँग सम्पर्क,एकलौटी विज्ञापन प्रकाशनको पहुँच,भन्दा वित्तिकै खातामा जम्माहुने पुँजिपति, उद्योगीको रकमले गर्दा त्यस्ता संचार गृहहरुलाई चल्न गाह्रो हुँदैन । तर जो जनपक्षीय प्रकाशनहरु छन् तिनीहरुले तमाम कठिनाइहरु झेल्नु परेको हुन्छ । आर्थिक कठिनाइसँग निर्मम संघर्ष गर्नु परेको हुन्छ ।
पटक पटक आउने तानाशाही चिन्तन,विचारले प्रकाशनहरुलाई अनेक प्रकारका दुःख दिने,बन्द गराउने ,आर्थिक असहयोग गर्ने कार्य गर्दछन् । यस्ता कार्यहरुलाई चिर्दै,आस्था,विचार र विश्वासका आधारमा भोकै,प्यासै खटेर,तमाम उतारचढावहरु झेलेर पनि प्रकाशनहरु चलिरहेका हुन्छन् । जनताको पक्षमा,देशको पक्षमा काम गरिरहेका हुन्छन् ।जनतालाई सूसुचित पार्ने कार्य गरेका हुन्छन् । “जसको सीता खाइ उसैको गीता गाइ ”भनेजस्तो गर्नेहरुलाई यी सबै समस्याहरुसँग जुध्नु पर्दैन । उनीहरुलाई सबै सबैले सहयोग गरिरहेका हुछन् ।
जनपक्षीय प्रकाशनहरुले जनताको हितमा काम गरेका हुन्छन् ।देशको हितमा काम गरेका हुन्छन् । सत्तामा बसेर गरेका राष्ट्रघात जनघातको भण्डाफोर गरेका हुन्छन । जनतालाई जगाएका हुन्छन् । जनतामा चेतनाको दियो बाल्ने काम गरेका हुन्छन् ।
अहिले सामाजिक संजालदेखि लिएर सबै सबै प्रविधियुक्त समय आएको बेलामा सही सूचना र वास्तविक सूचना केहो भनेर अल्ल मल्ल पर्ने र पार्ने कार्य भइरहेको छ ।यो हेरे पनि हो झैं ,अर्को हेरे पनि हो झैं भइरहेको अवस्थामा सही सूचनाको अत्यन्त आवश्यक छ । जनताले वास्तविक सूचना पाउन गाह्रो भइरहेको छ । विचारधारात्मक रुपमा सबै सबै शून्यतामा पुगेको जस्तो भएको अवस्था छ । जनताको चेतनालाई उपभोक्तावादमा फसाइएको छ । वैचारिक खुराख दिने प्रकाशनहरु चाहे तिनीहरु डिजिटलाज्ड होउन्, चाहे तिनीहरु छापाका होउन् तिनीहरुलाई निरन्तरता दिन सम्बन्धित सबैको ध्यान जानु जरुरी छ । यसकोलागि सबैले केही न केही योगदान गरेमा प्रकाशन, प्रसारण गर्न सजिलो हुन्छ नै । कुनै पनि छापा होस या जुनसुकै माध्यमको प्रकाशन प्रसारण भए पनि अथाहा मेहनत र श्रमले बाँचेको हुन्छ । त्यस्तै श्रोता या पाठक वा दर्शकको मायाले नै बाँचेको र जनताकोबीचमा पुग्न सफल भएको हुन्छ । आफ्नो विषयमा लेखिदिने आफ्नो विषयमा बोलिदिने,आफ्नो पक्षमा सूचना भरिदिने सबै सबै प्रकाशन र प्रसारणकोलागि सहयोग गर्नु सबैको कर्तव्य हो । २०८२ पौष २ काठमाण्डौ

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित