–डिल्लीराम बोहोरा, १५ नम्बर व्यूरो सचिव तथा केन्द्रीय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
० श्रावण १० गते सुनसरीको देवान्गन्जको धार्मिक द्वन्द्व र त्यसपछि पूर्वी तराईमा फैलिएको द्वन्द्वलाई कसरी हेर्नु भएको छ ?
– सुनसरीको दक्षिण–पश्चिम भेगमा विगतमा पनि हिन्दु र मुस्लिम समुदायका बीच बेलाबखत धार्मिक विवाद र द्वन्द्व हुने गरेका थिए । मुस्लिमहरु असारमा मोरुम पर्व मनाउँदा रहेछन् । त्यस पर्व एक महिनासम्म नै विभिन्न कार्यक्रम गरी मनाउँदा रहेछन् । गत असारको मोरुम पर्वको बेला पनि सामान्य विवाद भएको रहेछ । हिन्दु समुदायले बोलवम यात्रा संचालन गर्दा विभिन्न खोला, नदी, कुवा, धाराबाट पानी लिएर मन्दिरहरुमा चढाउन लान्छन् । विशेषगरी श्रावण महिनामा बोलवम यात्रा गरी सोमबारका दिन मन्दिरमा पानी चढाउँदा रहेछन् । नाँच गान गर्दै जाँदा सुनसरीको देवान्गञ्जमा साउण्ड बक्स चर्को आवाजमा बजाएको भनी मुस्लिम समुदायका मानिसहरुले आवाज कम गर्न भन्दा त्यही विषयमा विवाद भयो र दुवै समुदायका मानिसहरुको त्यहाँ भीड जम्मा भयो र मुठभेड भयो । त्यो मुठभेड साम्य गर्न प्रहरीहरु आए ।
प्रहरीले हवाई फायर ग¥यो । त्यही बेला विजुलीको लाइन गयो । १ जनाको घटनास्थलमा मृत्यु भयो । बाँकी २ जना अस्पतालमा मृत्यु भयो र झण्डै दर्जन जति घाइते भए । कसले चलाएको गोलीबाट मानिसहरु मृत्यु र घाइते भए भन्ने विवाद छ । प्रहरीले हवाई फायर मात्र गरेको भन्छ । सि.डि.ओ.ले गोली चलाउन आदेश दिएको स्वीकार गर्दैनन् । यो विवाद बढ्दै गएर विराटनगर, सिराहा, सप्तरी, धनुषा, विरगन्जसम्म नै तनाव बढ्यो । सरकारले ठाउँ ठाउँमा कफ्र्यु आदेश जारी ग¥यो । यो धार्मिक झगडाको फाइदा उठाउन चाहने विभिन्न शक्ति केन्द्रहरु यसमा खेलेको हुनुपर्छ । अहिले यो धार्मिक विवाद सामान्यतया साम्य भएको छ ।
० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट १५ नं. व्यूरो इन्चार्ज सिताराम बुढाथोकी र तपाई १५ नं. व्यूरो सचिवले देवानगन्जको स्थलगत अध्ययन पनि गर्नुभयो । त्यहाँ पुगेपछि स्थिति अध्ययन गर्दा के बुझ्नु भयो ?
–हामी श्रावण ११ गते घटनास्थलमा पुग्यौं । सर्वसाधारण जनता हामी मिलेरै बस्नुपर्छ भन्ने सोंचाई राखेको पायौं । तर कतिपय धार्मिक अभियन्ताहरुमा फरक धार्मिक समुदाय प्रति अलि बढी नै असहिष्णु चिन्तन भएको पायौं । कतिपय समाजमा अशान्ति मच्चाएर आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने तत्वहरुले त्यस्तै अतिवादी सोंचाई राख्नेहरुलाई उछाल्ने काम गरेका छन् ।
घटना घटेपछि सेना परिचालन गरियो । सामान्यतया प्रहरीको काम जनताको रक्षा र सेनाको काम देश रक्षा गर्ने हो । त्यहाँ प्रहरी र सशस्त्र प्रहरीलाई निस्क्रिय पारेर सेनालाई सक्रिय बनाइयो । त्यसबाट प्रहरी र सशस्त्र प्रहरीको मनोबल कमजोर पारेको हामीले महशुस ग¥यौं । गृहमन्त्री सुधन गुरुङ पनि घटनास्थल पुगे । उनले त्यहाँ गएर यो घटना घट्नमा स्थानीय जनप्रतिनिधि जिम्मेवार भएको भनेर आरोप समेत लगाए । देवानगन्ज गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष घरमा बस्न असुरक्षित ठानेर केही समयका लागि घर छाडेका थिए । केन्द्रमा मात्र भएर नहुँदोरहेछ , स्थानीय तहमा पनि रास्वपाको जनप्रतिनिधि हुनुपर्ने रहेछ भन्ने अभिव्यक्ति सुधन गुरुङले दिए । घटनालाई अनावश्यक राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम राज्यपक्षबाटै भएको पाइयो । यस्तै अन्य कतिपय राजनीतिक दलका नेताहरुको गैरजिम्मेवार अभिव्यक्तिले पनि धार्मिक तनाव बढाउने काम गरेको थियो ।
० यस्ता धार्मिक वा साम्प्रदायिक द्वन्द्वका समस्या समाधानका उपाय के हुन सक्छ ?
– धर्मलाई राजनीतिक स्वार्थ सिद्धिको साधन बनाउनु हुँदैन । त्यसका निम्ति सबै राजनीतिक दल, दलका नेता, कार्यकर्ता जिम्मेवार हुनुपर्छ । कसैले पनि धार्मिक तथा साम्प्रदायिक उत्तेजना फैलाउने अभिव्यक्ति दिने र उत्तेजना फैलाउने क्रियाकलाप गर्नु हुँदैन । धार्मिक उत्तेजना फैलाउने शक्तिहरुलाई पहिचान गरी राज्यले नियन्त्रण गर्नु पर्दछ । फरक फरक धार्मिक समुदायका बीचमा आपसी हेलमेल, हार्दिकतापूर्ण व्यवहार, सामाजिक सद्भावका कार्यहरुको विकास र विस्तार गर्नुपर्दछ । राज्यले सबै धर्मप्रति समान व्यवहार अपनाउनु पर्दछ । एकले अर्कोको धार्मिक आस्थालाई सम्मान गर्ने वातावरण बनाउनुपर्दछ ।
० नेपालले लिम्पियाधुरासम्म आफ्नो भूभाग दावी गरिरहेको बेला भारत र चीन मिलेर नेपाली भूभाग लिपुलेक नाकाबाट तिर्थाटन र व्यापार गर्न थालेका छन् । यो नेपालको राष्ट्रिय स्वाधीनता माथि हस्तक्षेप भएन ?
–सबै ऐतिहासिक प्रमाणहरुले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र नेपालकै हो भन्ने बुझिन्छ । लिम्पियाधुरासम्म नेपालको हो भन्ने कुरा चीनलाई थाहा नभएको होइन । भारतले त नेपालमा विस्तारवादी रवैया अपनाइरहेकै थियो । अहिले लिपुलेक नाका प्रयोग गर्न भारतसित सहमति गरेर चीनले पनि नेपालको राष्ट्रिय सार्वभौमिकता माथि आँच पु¥याउने कार्यमा लागेको देखियो । नेपाल भौगोलिक रु. पले सानो भए पनि सार्वभौम देश हो । भारत र चीनको यो हेपाहा कार्यालाई लगातार विरोध गर्दै जानुपर्छ । आम जनतालाई आफ्नो देशको भूमि र सीमाबारे सुसूचित गरिनुपर्दछ ।
नेपाल मर्कामा परेको कुरालाई अन्तर्राष्ट्रिय फोरमहरुमा उठाउँदै जानुपर्दछ । नेपाली जनताले चलाएको राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई भारत र चीनका जनताको पनि सहयोग लिने कोशिश गर्नुपर्दछ । बालेन शाहले महानगरमा हुँदा कार्यालयमा ग्रेटर नेपालको तस्वीर राख्ने अहिले संसदमा “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ।” भन्ने अभिव्यक्ति दिने कार्यले आम स्वाभिमानी नेपाली जनतालार्य आश्चर्यमा पारेको छ । शासकहरुको राष्ट्रघाती कार्यको देशभक्त नेपालीहरुले डटेर विरोध गर्नुपर्दछ ।
० रास्वपाले नेतृत्व गरेको वर्तमान सरकारको कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
–गत फागुन २१ को चुनाव भन्दा पहिले जनताले नयाँ पार्टीलाई जिताएपछि देशमा भ्रष्टाचारको अन्त्य होला कि, सुशासन आउला कि भन्ने सोंचेको थिए । तर रास्वपा सट्टामा आइसकेपछि जनताको सोंचाई भन्दा ठीक विपरित भइरहेको छ । उत्पीडनमा परेका जनतालाई झन उत्पीडनमा पार्ने काम भएको छ । सरकारले अव्यवस्थित वसोबासी र सुकुम्बासीहरुलाई बस्ती भत्काएर जुन लखेट्ने, विचल्ली पार्ने काम गरेको छ, त्यसका पछाडि जग्गा दलालहरु पोस्ने षडयन्त्र लुकेको छ । जो घरबारविहीन भएका छन्, वर्षौं वर्षसम्म तिनका परिवारका सदस्यहरुले स्वदेशमै मजदुरी गरेर, सानोतिनो जागिर गरेर वा विदेशमा मजदुरी गरेर थोरै धेरै कमाएका होलान् । घर जग्गा विहिन भएकाहरुले अहिलेसम्मको कमाई प्रयोग गरेर कतै न कतै सुरक्षित वासस्थानका लागि घर जग्गा किन्नु पर्ने हुन्छ । त्यस स्थितिमा घरबारविहीन भएकाहरु तिनै जग्गा दलाल वा जमीन स्वामित्वमा लिएरबसेका व्यक्तिहरुकोमा जानुपर्ने बाध्यता सिर्जना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा जग्गा दलाल र मेनपावर संचालकहरुको ठूलै नेटवर्क छ । तिनै दलालहरुलाई पोस्नका लागि अव्यवस्थित बसोबासी र सुकुम्वासीहरुलाई घरवारविहीन बनाइएको हो भन्ने परिणामले देखाउँछ । ग्याँसको हाहाकार भइरहेको छ । कालाबजारी असाध्य बढेको छ । सरकार कालाबजारी नियन्त्रण गर्न असफल भएको छ ।
उत्पादनमा वृद्धि गर्नेतिर सरकारको ध्यान छैन । तर करवृद्धि अचाक्ली गरिएको छ । देशलाई विदेशी ऋणभार बढाउने काम भइरहेको छ । यो सरकारको साना किसान र साना उद्यमी तिर कुनै ध्यान छैन । जस्तै २ करोडसम्म लगानी गर्नेहरुलाई सरकारले अनुदान दिने घोषणा गरेको छ । २ करोडसम्म सामान्य मान्छेले कसरी लगानी गर्न सक्छ ? सरकारका गतिविधि हेर्दा यो सरकार निम्न वर्ग विरोधी हो भन्ने छर्लङ्गै देखिएको छ । निजी संचारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयलाई सर्वोच्चले खारेज गरिदियो ।विद्यार्थी संगठन र टे«ड युनियन खारेजी गर्ने सरकारको निर्णयलाई सर्वोच्चले अहिले रोकेको छ । विदेशसितको कुटनैतिक सम्बन्धका मामलामा पनि यो सरकार असफल नै भएको देखियो ।
० नेपालको कम्युनिस्ट आन्दोलन संकटग्रस्त बन्दै गएको छ । यसबारेमा तपाई के कस्तो सोंचाई राख्नुहुन्छ ?
–अहिले संसदवादी कम्युनिस्ट पार्टीहरुको बीचमा एकता र ध्रुवीकरणको छलफल भएको देखिन्छ । तर उनीहरुको धु्रवीकरणको उद्देश्य चुनावमा पराजयको पीडाबाट उन्मुक्ति पाउन र पुनः यही प्रतिक्रियावादी सरकारमा जानेसम्म छ । त्यहाँ कुनै क्रान्तिकारी उद्देश्य छैन । मेरो विचारमा कम्युनिस्ट आन्दोलनको बीचमा पुनर्गठन आवश्यक छ ।
यदि रास्वपाको सरकार फासिवादको दिशामा जाँदै गर्दा संसदवादी कम्युनिस्ट पार्टीहरुसित मिलेर क्रान्तिकारीहरुले मोर्चाबन्दी गर्नुपर्ने स्थिति आउन सक्छ । तर दीर्घकालीनरुपले त्यस्तो एकता वा ध्रुवीकरण क्रान्तिकारीहरुका लागि प्रतिउत्पादक हुन सक्छ । जनताले संसदवादी र गैरसंसदवादीका बीचमा भिन्नता छुट्टाउन नसक्ने अवस्था हुन सक्दछ । तर राष्ट्रिय स्वाधीनताको लागि केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न दल, संघसंस्था, स्वतन्त्र व्यक्ति–सबै छरिएर रहेका सबै देशभक्तहरुसित छलफल चलाउनुपर्दछ । सहकार्यको वातावरण बनाउनु पर्दछ ।
० तपाई कसरी पार्टी आन्दोलनमा जोडिनु भयो ?
–म २०३६ सालमा भोजपुरको कुलुङमा जन्मिएको हुँ । कुलुङ पूर्व मालेको प्रभाव क्षेत्र थियो । सानै उमेरदेखि कम्युनिस्ट राम्रो भन्ने सुनियो । मोजाको भकुण्डो खेल्ने बेलादेखि नै अखिल राम्रो, नेविसंघ नराम्रो, कम्युनिस्ट राम्रो पञ्च, कांग्रेस नराम्रो भन्ने गाउँ समाजमा सुनियो । घरयासी वातावरण पनि त्यस्तै थियो । अनि कम्युनिस्ट कै प्रभावमा परेर संगठनमा लागियो । वीरेन्द्र माविमा सुरुमा अनेरास्ववियु (पाँचौं) मा सदस्यता लिइयो र संगठित भइयो । २०५२ सालमा वीरेन्द्र माविमा अध्ययन गर्ने बेला अनेरास्ववियु (पाँचौं) को भोजपुर जिल्ला समिति सदस्य भएँ । २०५३ सालमा नै मैले नेकपा (एमाले) को पार्टी सदस्यता प्राप्त गरेको थिएँ ।
० विद्यार्थी संगठनमा काम गर्दाको अनुभव के छ ?
–भोजपुरबाट एस.एल.सी. उत्तीर्ण पछि २०५४ सालमा काठमाडौं आएर महेन्द्र रत्न ताहाचलमा आइएडमा भर्ना भएँ । काठमाडौं म श्रावणमा आएँ । २०५४ को अन्त्यतिर एमाले विभाजित भएर नेकपा (मा.ले) गठन भयो । म मा.ले तिर लागें । म मा.ले. को विद्यार्थी संगठनमा काम गरें । २०५७ र २०५९ मा ताहाचल क्याम्पसमा स्व.वि.यु.मा क्रमशः कोषाध्यक्ष र उपाध्यक्ष उम्मेदवार भएँ । २०५८ मा वामदेव एमालेमा फर्किएपछि सी.पी. मैनालीको नेतृत्वमा मा.ले. पुनगर्ठन भयो र म त्यस पार्टी सम्बद्ध अनेरास्ववियुको सचिवालय सदस्य रही काम गरेको थिएँ ।
० सी.पी. मैनाली नेतृत्वको नेकपा (मा.ले) छाडेर ऋषि कट्टेलको नेतृत्वमा नेकपा (मा.ले) निर्माण गर्दै नेकपा (एकीकृत) निर्माण को प्रक्रियासम्मको अनुभव पनि सुनाउनुस् ।
–सी.पी. मैनाली जीमा राजतन्त्र प्रति मोह भएको देखिने र पार्टीलाई चलायमान नबनाउने, झन झन जड मानसिकताले गाँजिदै गएको हो कि भन्ने देखिएपछि ऋषित कट्टेलको नेतृत्वमा २०६३ सालमा अर्को ने.क.पा. मा.ले. गठन गरियो । ऋषि कट्टेलले नेतृत्व गरेको नेकपा (मा.ले.), रामसिंह श्रीसले नेतृत्व गरेको नेकपा (एकताकेन्द्र–मसाल) र सीताराम तामाङले नेतृत्व गरेको नेकपा (मा.ले.मा केन्द्र) को बीच एकता गरी नेकपा (एकीकृत) गठन भएको हो ।
० ऋषि कट्टेल र रामसिंह श्रीसका बीचमा कसरी विभाजन भयो ?
–त्यो विभाजन दुःखद हो । कुनै पनि सैद्धान्तिक कारणले त्यो विभाजन भएको थिएन । २०६९ मा त्यो विभाजन भएको थियो । पार्टीमा (तत्कालीन एकीकृतमा) बुटवल भेलाबाट पार्टी प्रमुखका रुपमा सचिव सीताराम तामाङलाई बनाइएको थियो । पार्टीमा विभिन्न समस्या देखिएकाले समस्या हल गर्न कमल चौधरीलाई संयोजक बनाई पोखरामा राष्ट्रिय सम्मेलन गर्र्ने निर्णय गरिएको थियो । कमल चौधरीलाई संयोजक बनाउँदा सँगै भए पनि त्यसपछि ऋषि कट्टेल, टंक राई, के.पी. फुँयाल लगायत बहिर्गमित भई, अर्कै पार्टी बनाएँ । पहिलो कुरा विभाजनका लागि सैद्धान्तिक विवाद थिएन, दोस्रो कुरा नयाँ पार्टीतिर लाग्दा पटकपटक पार्टी फेरिरहे जस्तो देखिने भएकाले म नेकपा (एकीकृत) मै रहे । नेताहरुको कार्यशैली प्रतिको असहमति र विवादले पार्टी फ्ुट्यो । २०७२ मा नेकपा (माओवादी र नेकपा (एकीकृत) बीच पार्टी एकता भई नेकपा (क्रान्तिकारी माओवादी ) गठन भयो ।
० १५ नं. व्यूरोमा पार्टीको आगामी कार्यक्रम के छ ?
–संकटग्रस्त अवस्थामा रहेको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई पुनः उठाउन र अगाडि बढाउन हामी प्रयत्नरत छौं । हाम्रा कार्यक्रम सुगममा मात्र छन् । दुर्गम ठाउँमा पनि पार्टी संगठनका कार्यक्रम लैजाने हाम्रो सोंचाई छ ।
० अन्त्यमा केही छ कि ?
–प्रतिक्रियावादीहरुले वर्गीय आन्दोलनलाई खतम पार्न अनेक षडयन्त्र गरिरहेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका पार्टीहरुले सिर्जना गरेको कुशासन, भ्रष्टाचार, विथितिका विरुद्धमा उभिंदै गएका जनताहरु सच्चा कम्युनिस्ट पार्टीको लाइनमा उभिन नजाउन् भनेर रास्वपा जस्तो पार्टीलाई साम्राज्यवादीहरुले अगाडि ल्याएका छन् । रास्वपा पनि बदनामित भयो, जनताबाट अस्वीकृत हुने अवस्था आयो भने त्यो जनमत क्रान्तिकारीहरु तर्फ नजावोस् भनेर साम्राज्यवादीहरुले हर्क साङपाङ लगायतका पात्रहरु तयार पारिरहेका छन् ।
भारतमा कक्रोच पार्टीको उदय पनि जनताको असन्तोषको फाइदा कम्युनिस्टहरुले नउठाउन् भनेरै साम्राज्यवादीहरुको डिजाइनमा आएको हो भन्ने लाग्छ । जेजति नयाँ– नयाँ पार्टी आउँदैछन् । तर कम्युनिस्ट समाप्त पार्ने योजना अन्तर्गत आएका छन् । वर्गसंघर्षको विकासमा लाग्नु बाहेक कम्युनिस्टहरुका निम्ति उत्तम बाटो अर्को छैन ।

