.शशिधर भण्डारी
भाग्यवादी, धार्मिक पाखण्ड, अन्धविश्वास र रुढीवादबाट दक्षिण एशियाली समाज आजसम्म मुक्त हुन सकेको छैन । यो क्षेत्रले तत्काल यसबाट मुक्ति पाउने सम्भावना पनि देखिन्न । किनभने दक्षिण एसियाको धर्म, संस्कृति र भाग्यवादमा राजनीति, कर्पोरेट हाउस र बजार शास्त्र अन्तरघुलन भएको छ । शिक्षा, जीवन र विज्ञानमा परम्पराको कुनै अर्थ र महत्व हुँदैन तर दक्षिण एशियामा परम्परालाई एउटा जडका रुपमा लिने चिन्तनधारा झन् पछि झन् व्यवस्थित हुँदै गएको देखिन्छ । भौतिकवादी समाजमा पनि आस्था राख्न सकिन्छ किनभने भौतिकवादी विचारधारा एउटा वैज्ञानिक तथा विवेकवादी दार्शनिक धारा हो । भौतिकवाद वा नास्तिक समाजमा जति मानवता अन्य अन्धधार्मिक समाजमा हुँदैन । आस्था र मुर्खतामा परक छ । आस्थाको आवरणमा विशेषतः नेपाल र भारतमा मुर्खताका खेलहरु धेरै खेलिन्छन् ।
भारतको हिमाञ्चल प्रदेशको एउटा विद्यालयमा पिहलो आन्तरिक्ष यात्री युरी गागरिन होइनन् हनुमानजी हुन् भनेर पढाइरहेको कुरा मिडियामा आएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्जरीको आविष्कार भारतमा भएको थियो । गणेशको टाउको काटिएको बेला सर्जरी गर्ने विद्याको आविष्कार नभएको भए मान्छेको शरीरमा हात्तीको टाउको जोडिने थिएन भन्ने तर्क गरेका थिए । करिब डेढ वर्ष अगाडि जापानका प्रधानमन्त्री सिन्जु आवे भारत भ्रमणमा आएका थिए । त्यतिबेला भारत र जापानका बीचमा भारतमा बुलेट ट्रेन सञ्चालन गर्ने सम्झौता भएको थियो । बुलेट ट्रेन सञ्चालनमा जापानले भारतलाई सहयोग गर्ने भएको थियो । सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका प्रधानमन्त्री सिन्जु आवेलाई बनारस घुमाउन लगे । बनारसका पण्डा, अन्धविश्वासी मनुवादीरुको फौज, त्यहाँको फोहोर र अव्यवस्थाले जापानका प्रधानमन्त्रीलाई चकित तुल्यायो । उनी खासै प्रभावित भएनन् । बनारसमा घुम्दा तीन घण्टा भन्दा लामो समय व्यतित भयो । भ्रमणका सिलसिलामा भारतका प्रधानमन्त्री मोदीले बनारसलाई ज्ञान र तप तथा अध्यात्मको केन्द्रका रुपमा परिभाषा गरेका थिए । त्यसपछि जापानका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई भनेका थिए रे– ‘हामीले यस्तो काममा तीन घण्टा बितायौं । तपाईंसित यति धेरै फुर्सद छ भने बुलेट ट्रेन कसरी चलाउनु हुन्छ ?’ अझ बनारसको चोरी, लुटपाट र ठगी धन्दाको विषयमा समेत जानकारी पाएको भए जापानका प्रधानमन्त्रीको प्रतिक्रिया कस्तो हुन्थ्यो होला ?
अन्धविश्वास र धार्मिक पाखण्ड तथा रुढीवादले इतिहासको उषाकालबाटै मानव सभ्यतालाई बर्बाद पार्दै आएको छ । विश्वका सबैजसो धर्मले मानव कल्याण, करुणा, अहिंसा र न्यायको कुरा गर्दछन् । दक्षिण एसियाको प्रभावकारी दर्शनका रुपमा रहेको हिन्दु दर्शनले सबभन्दा धेरै समानता र मानवताको कुरा गर्छ तर व्यवहारमा यो धर्मले जैव दुनियाँमा मात्र होइन मानव जातिले खाने खानामा समेत विभेद र पक्षपात गर्दछ । कर्मकाण्डीहरुले कालो अन्न, सेता अन्न, शुद्ध अन्न, अशुद्ध अन्न भनेर विभेद गर्ने गरेका छन् । आधुनिक चिकित्सा विज्ञानका अनुसार औषधीय गुण भएका लसुन, प्याजलाई शुद्ध र उपयोगी मान्दैनन् । यस्ता धेरै फाल्तु कुराहरु छन् । यो एउटा उदाहरण मात्र हो । प्रकृतिले दिएका सबै खाद्यान्न फलफूललगायत सम्पूर्ण उपभोग्य वस्तुहरुलाई हामीले विभेदको चश्माले हेर्नुहुँदैन । जगतबाट प्राप्त जीवनसित जोडिएका सबै प्रकारका खाद्यान्न वा अन्य वस्तुप्रति हाम्रो समान र सम्मानपूर्ण दृष्टिकोण हुनु पर्दछ । भौतिकवादीहरुले मात्र यसो भन्दछन् । विश्वका भौतिकवादीहरुले प्रमाण, तर्क र तथ्यलाई आधार बनाएर धारणा बनाउँछन् । भौतिकवाद वा नास्तिकता विवेकवादी परम्पराको एउटा लामो श्रृंखला हो । यसले चमत्कार होइन विज्ञान र आविष्कारलाई आधार बनाएर विचार निर्माण गर्दछ ।
विश्वका सबैजसो धर्मले करुणा र मानवताको कुरा उठाए तापनि धर्मका ठेकेदारहरुले एकले अर्को धर्मका विरुद्धमा तरवार उठाउन उक्साइ पनि रहेका हुन्छन् । एउटा धर्म र अर्को धर्मका बीचमा मात्र होइन एउटै धर्ममा पनि एउटा पन्थले अर्को पन्थलाई रातो आँखाले हेर्ने गर्दछन् । हिन्दु धर्ममा सबभन्दा धेरै पन्थहरु छन् । त्यसमा शैव सम्प्रदाय र वैष्णव सम्प्रदायमा कहिल्यै मेल नभएको पाइन्छ । विश्वका अधिकांश धर्ममा पन्थहरु छन् । ती आपसमा नमिल्ने मात्र होइन काटमारमै उत्रन्छन् ।
इस्लाम धर्मका सिया र सुन्नी, इसाई धर्ममा क्याथोलिक र प्रोस्टेन्ट, बौद्ध धर्ममा हीतमान बज्रयान आदि छन् भने जैन धर्ममा स्वेताम्वार र दिगम्बर छन् । अन्य पन्थहरुका बीचमा एक अर्काप्रति भौतिक आक्रमण पनि हुन सक्छ तर जैन धर्ममा भने स्वेताम्बर र दिगम्बरका बीचमा मत फरक भए तापनि आपसमा लडेको इतिहास पाइन्न । हिन्दु धर्मशास्त्रहरु त युद्धका शास्त्रहरु हुन् । शान्ति, मानवता र अहिंसाका शास्त्रहरु हिन्दु दर्शन र साहित्यमा पाइँदैनन् । आजका हिन्दुहरुले भगवानको अवतार मानेका शिव, राम, कृष्ण आदि सबै हात हतियारले सुसज्जित देखिन्छन् । वैज्ञानिक विचारका आधारमा युद्ध दुई प्रकारका हुन्छन् । त्यसमा एउटा न्यायपूर्ण युद्ध हो भने अर्को अन्यायपूर्ण युद्ध हो । लेनिनले न्यायपूर्ण युद्ध र अन्यायपूर्ण युद्धका बारेमा लामो परिभाषा गरेका छन् । हिन्दु वा बैदिक शास्त्रहरुको अध्ययन गर्दा स्वयं ‘भगवान’ वा ‘देवता’ हरु नै अन्यायपूर्ण तथा कपटपूर्ण युद्ध लडेको देखिन्छ । यस्ता युद्धलाई ‘धर्मयुद्ध’ भनिएको पनि छ । यो एउटा विडम्वना हो ।
हिन्दु जातिका अधिकांश तीर्थस्थलहरु ठगी, लुट, पाप र अपराधका केन्द्रका रुपमा देखिन्छन् । यो कुरा अन्य धर्मका तीर्थस्थलहरुका लागि पनि कमवेशी सत्य हो । हिन्दु धर्ममा भगवानको आराधना तथा पूजाआजा गरेर मन्दिरलाई ढोगेर, कुम्भस्नान गरेर, भगवानलाई दान दक्षिणा, भेटी चढाएर पाप पखाल्ने सुविधा छ । यस्तो सुविधा हुँदासम्म समाजमा अपराध र पापका घटनाहरु भइरहन्छन् । भ्रष्टाचार ग¥यो, चोरी डकैती ग¥यो, जनतालाई शोषण, दमन ग¥यो, गरिबको रगत, पसिना चुस्यो, हत्या, हिंसा ग¥यो अकुत सम्पत्ति कमायो । दान दक्षिणा ग¥यो, कथा लगायो, कुम्भ नुहायो । सिद्धियो । पाप पखाल्न कति सजिलो । यो परिदृश्यले हिन्दुका भगवान कति घुस्याहा रहेछन् । दान दक्षिण पाएपछि पाप पखालिदिने ? भन्ने प्रश्न उठाउँछ । मन्दिरमा पूजा अर्चना गरेर, सरस्वतीको फोटो ढोगेर ज्ञान प्राप्त हुने भए विश्वविद्यालयको आवश्यकता किन पर्दथ्यो । पसिना बगाएर पढाइमा श्रम किन गर्नुपर्दथ्यो । लक्ष्मीको पूजा गरेर दौलत प्राप्त हुने भए नेपालीहरुलाई विश्वका १७३ देशमा मजदुरी गर्न किन भौंतारिनुपर्दथ्यो । वैज्ञानिक दृष्टिबाट हेर्दा प्रश्न विचारणीय छन् । अन्धविश्वास, रुढीवाद, अन्धश्रद्धा मानव जीन र अमनचैनको मात्र होइन सामाजिक चेतना तथा नयाँ आविष्कारको समेत विरुद्ध देखिन्छ । त्यसैले वैज्ञानिक स्टिफेन हकिङ भन्छन्–‘मलाई ईश्वरको डर लाग्दैन किनभने ईश्वर छँदै छनन् तर मलाई ईश्वर मान्नेहरुको भने डर लाग्छ ।’
हाम्रो नेपाली समाजकै मूलप्रवाह अन्धविश्वास, रुढीवादी र काल्पनिक कथाका पछाडि दगुर्ने, प्रश्न नगर्ने, प्रमाण नखोज्ने, तर्क नगर्ने र तर्क गर्नेलाई खिसिट्यूरी गर्ने निकै पिछडिएको चेतनास्तर भएको समाज हो । अरुको देखासिकी गर्ने तर त्यसको अन्त्र्यमा प्रवेश नगर्ने वा प्रवेश गर्न नचाहने माओको शब्दमा भोंडे विकासे समाज हो । त्यसैले साउनमा हरियो चुरा लगाउने, पर्व अनुसारको कपडा लगाउने, एकदिन लगाएको कपडा अर्को दिन लगाउन नहुने, विवाहमा गिल्ला घस्ने, कर्मकाण्डमा प्रतिष्पर्धा गरेर खर्च गर्ने, पुराना पिछडिएका सामाजिक रुपमा महत्वहीन आमोदप्रमोदमा रमाउने आदि हाम्रो समाजको मनोवृत्ति बनेको छ । आश्चर्यको कुरा नेपालको वामपन्थ भन्ने समूह यस्तो मनोवृत्तिबाट झन आक्रान्त भएको छ । कर्पोरेट हाउसहरुले किरिया गर्ने बेलामा मात्र लगाउने साडी समेत तयार गरेर पठाइदिएका छन् । धार्मिक कर्मकाण्डी तथा कथावाचकहरुले यस्ता फाल्तु कुराको विज्ञापन गर्दछन् । पिछडिएका चेतनास्तर भएका जनता त्यसैको पछाडि दगुर्छन् । धार्मिक पुरेत र कथावाचक तथा कर्पोरेट हाउसहरुको यो कार्यगत एकता झट्ट थाहा नपाउने तर ताजुब लाग्दो देखिन्छ । पहेंलो वस्त्र लगाउने पण्डाहरुले कर्पोरेट हाउसको मजाले सेवा गरिरहेका छन् । त्यसैले कर्पोरेट हाउसका मालिक र कथावाचकहरु भब्य महलमा बस्छन्, महंगा कार चढ्छन् । सुख सुविधाका भब्य जीवन बिताउँछन् । मनोरञ्जन गर्दछन् । देखासिकी गर्नेहरु उपभोक्तावादको शिकार भएका छन् ।
जुन मुलुकमा विज्ञानको प्रयोगशालामा भन्दा धेरै पैसा मन्दिरमा लगानी हुन्छ, भोक, रोग, गरिबी तथा विकासका विषय राजनीतिक र सामाजिक प्रस्ताव बन्दैनन् त्यस्तो मुलुकमा कहिल्यै वैज्ञानिक चेतनास्तरका सिर्जना हुँदैन । मुलुकलाई उज्यालो बनाउन उच्च प्रकारको वैज्ञानिक चेतनास्तर चाहिन्छ । वैज्ञानिक चेतनाले हाम्रो समाजमा स्थान पाउन सकेन । बौद्धिक मानिने जगत नै अन्धपरम्पराको साक्षी बस्ने यो मुलुक प्रश्नविहीन छ । प्रश्नहरु नभएका देशमा उत्तरहरु हुँदैनन् । प्रश्न र उत्तर नभएको देशमा परीक्षा हुँदैन । परीक्षा नै भएन भने परिणाम पनि आउँदैन र आएको छैन ।

