काठमाडौं । लेखक केदारनाथ गौतमद्वारा लिखित पुस्तक“जनसंगीत र जनकलाकार” बजारमा उपलब्ध छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यस पुस्तकलाई २०८२ असारमा बजारमा ल्याएको हो । लेखक गौतमको “जनसमरका झिल्काहरु (जनगीति संग्रह) २०५४ ” मै प्रकाशित भएको थियो । प्रस्तुत पुस्तकको आवरणकला देवेन्द्र थुम्केली र प्रकाश रायमाझीको हो । आवरणकला रातो पृष्ठभूमिमा मादल, तबेला गितार वा सारंगीको तारलाई देखाइएको छ । कभर साजसज्जा आकर्षक छ । १४९ पृष्ठको यस पुस्तकको विक्री मूल्य रु. ३००/- छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भु राईले पुस्तक प्रकाशन प्रति शुभकामना मन्तव्य राखेका छन् । प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ ले ‘प्रकाशकीय’ स्तम्भ लेखेकी छिन् ।
यस पुस्तकलाई ६ अध्यायमा विभक्त गरिएको छ । पहिलो अध्यायको शीर्षक छ, “प्रतिशील गीत संगीत: संक्षिप्त सिंहावलोकन” । लेखकले यस अध्यायमा गीत संगीतलाई बुझ्ने माक्र्सवादी दृष्टिकोण माथि प्रकाश हाल्दै संक्षिप्तमा विगतको प्रगतिशील गीत संगीतलाई उधिन्ने र प्रकाशमा ल्याउने कोशिश गरेका छन् । अध्याय २ को शीर्षक छ–“जनसांस्कृतिक परिवार र जनकलाकारहरु ।” प्रगतिशील गीत संगीतको इतिहासमा सबैभन्दा पहिले २०२४ सालमा लुम्बिनी अञ्चलका “रेलीमाई सांस्कृतिक मण्डल” गठन गरेर गाउँगाउँमा जाने प्रचलन चलाएको थियो । रेलीमाई सांस्कृतिक मण्डलका प्रथम अध्यक्ष जीवराज आश्रित थिए, सदस्यहरु मोदनाथ प्रश्रित, प्रचण्डबहादुर बुढाथोकी लगायत थिए ।यस मण्डलको नाटक “पचास रुपैयाँको तमसुक” लोकप्रिय नाटक थियो । (पृष्ठ १७) यस अध्यायमा लेखकले साहित्यिक तथा सांस्कृतिक संगठनहरु राल्फा अभियान (२०२३–२०२९), पुष्पलाल श्रेष्ठको पहलमा २०२७ सालमा गठित ‘जनवादी सांस्कृतिक मोर्चा’ जसको प्रथम अध्यक्ष युद्ध प्रसाद मिश्र र मोर्चामा मदन भण्डारी, मोदनाथ प्रश्रित, दिल शाहनी लगायत रहेको (पृष्ठ २१ ) र यता नेकपा चौम धारको वैचारिक निकटतामा २०३८ साल माघ २९ मा पारिजातको अध्यक्षतामा सुवास श्रेष्ठ सचिव, सदस्यहरु शक्ति लम्साल, डि.आर. पोखरेल, नारायण शर्मा लगायत रहेको ‘अखिल नेपाल जनसांस्कृतिक महासंघ’ को गठन भएको (पृष्ठ२१) , २०३५ तिर नै बेदना सांस्कृतिक परिवार गठन भएको, २०३६ सालमा नेकपा माले निकट रघु पन्तको संयोजकत्वमा ‘प्रगतिशील लेखक कलाकार संघ’ गठन भएको (पृष्ठ २२), २०४४ सालदेखि नेकपा (माले) को भातृ संगठनको रुपमा “राष्ट्रिय जनसांस्कृतिक मञ्च” संचालनमा आएको (पृष्ठ २२) इतिहासलाई लेखकले यस अध्यायमा लिपिबद्ध गरेका छन् ।
नेकपा मसाल सम्बद्ध रक्तिम सांस्कृतिक अभियान, जो २०४३ चैत्र २६ मा काठमाडौंमा स्थापना भएको थियो । (पृष्ठ २२–२७), नेकपा (चौम निर्मल लामा नेतृत्व) को निकट २०४४ चैत्र २० मा स्थापना भएको इन्द्रेणी सांस्कृतिक समाजको इतिहासलाई संक्षिप्त रुपमा भए पनि यस अध्यायमा लिपिबद्ध गरिएको छ। २०४७ मा नेकपा (एकताकेन्द्र) गठन भएपछि त्यस धार सम्बद्ध सांस्कृतिक संगठन सामना परिवार जो पछि नेकपा (माओवादी) को वैचारिक निर्देशनमा क्रियाशील भयो, को विस्तृत रुपमानै लेखकले इतिहास खोतल्ने प्रयास गरेका छन् । यसमा सकभर स्थानीय सांस्कृतिक संगठनहरुलाई पनि परिचय गराउने प्रयास गरिएको छ ।
तेस्रो अध्यायको शीर्षक छ–“जसको योगदान छ, ती अब छैनन् ।” यस अध्यायमा लेखक गौतमले प्रगतिशील सांस्कृतिक आन्दोलनमा योगदान पु¥याएका तर यस धर्तीमा जीवित नरहेका स्रष्टा कलाकारहरुको व्यक्तित्व र योगदानलाई उजिल्याउने काम गरेका छन् – हरिहर यादव (१९८५–२०६१), केवलपुरे किसान (१९९३–२०६८), जेवि टुहुरे (२००१–२०७८), खुशीराम पाख्रीन (२००९–७४),प्रमोद हमाल (२०१८–५९),लक्ष्मी गुरुङ (२०२३–२०७८) । अध्याय ४ को शीर्षक छ, “सांगीतिक कर्मसँगै वीरतापूर्ण शहादत” । जनयुद्धकालमा स्रष्टा तथा कलाकारहरु जसले जीवनको बलिदान दिए, उनीहरुको चर्चा यस अध्याय गरिएको छ । कृष्ण सेना इन्छुक,चुनु गुरुङ, यानप्र. गौतम आलोक, रामवृक्ष यादव, सुरेश वाग्ले, भवङ हत्याकाण्ड र अनेकोट हत्याकाण्डमा शहादत प्राप्त गर्ने कलाकारहरु सहित दर्जनौं कला कलाकारहरुको चर्चा यस अध्यायमा गरिएको छ । अध्याय ५ को शीर्षक छ, “प्रतिनिधिमूलक जनगीत र गीतकारहरु ।” यस अध्यायमा जनप्रिय प्रगतिशील कलाकार र तिनका प्रतिनिधिमूलक रचनाको समीक्षात्मक टिप्पणी राखिएको छ। जस्तै ः आशा नेपालीको “काँडाहरुको बीचमा”, उदय श्रेष्ठको “के ढल्छ र ऊ गोलीले” कर्ण विद्रोहीको “टुटफुट खण्डित कुरा नगर”, कर्णबहादुर पुनको “मान्छे मान्छे एउटै हो”, कुलानन्द गिरीको “आँखाबाट आँसु झरे” कृष्णसेन इच्छुकको “प्रतिबन्ध”, केशर कालिकोटेका “बन्दुकको कलम”, खुशीराम पाख्रिनको ‘रक्त क्रान्तिको बेला”, गोपाल ठाकुरको ‘कसइन उचा वा”, चन्द्र भण्डारीको ‘यो माटोभरी हाम्रै रगत पसिना ।” चन्द्र प्रकाश खनालको “यो शरीर ढल्यो साथी हो ।” चिरन पुनको ‘चमचम गर्ने खुकुरी”, चुनु गुरुङको “तिम्रा निम्ति बरु यो ज्यान”,चेतनारायण राईको “वैशाखी मुना” छविलाल कोपिलाको ‘विद्रोहको जोजा बोक्के उठेर परल”,जीवन शर्माको ‘सिमली छाँया”, जे.वी टुहुरेको ‘बसाई हिंड्नेको तातीले” झन्कार बुढामगरको ‘कहिले हामी पूर्व” , नेत्रविक्रम चन्दको “कदममा कदम”, पवित्र घर्ती मगरको ‘उत्तरमा हिमाल पहाड”, पूर्ण घर्तीको यात्रा हाम्रो लामो छ,प्रज्वल खड्काको “सिस्नेको चुचुरोमा रातो झण्डा” , बलाराम तिमल्सिनाको “झुपडीको नारी भन्छे”,भीम कुमारीको “मैले लडेर हो”, भूमिका सुब्बाको “देश जल्दा”, मञ्जु बमको “विस्र्यौ कि त ”, मञ्जुलको कार्यशील जिन्दगी”, मणि थापाको “आऊ है साथी”, मणिकुमार साम्पाङको “जितेर संसार” , मधु गुरुङको ‘यो आकास यो धर्ती” महेश नेपाली ‘आरोह’ को “ए साथीहरु हो”, माइला लामाको आँधीको बेगसरी”, माधव प्रधानको ‘हामी कलाकार, मानबहादुर तामाङको “चरी मैना”, मोदनाथ प्रश्रितको ‘सुनकामी साइँला दाइ’, मोहलाल चन्दको ‘हिमाल पारी क्षितिज” मोहित श्रेष्ठको “तिम्रो एउटा औंला उठे” राजन राईको “शिरैमा मेरो”, राजेन्द्र थापाकी ‘युद्ध संग्राम चर्काउँदै’, रामकृष्ण दुवालको “सिर्साया हेकु”, रामेश श्रेष्ठको “गाई त बाँध्यो ढुंग्रोमा मोही छैन,” रायन श्रेष्ठको ‘निलो आकाशमा कावा खाँदै”, रोशन जनकपुरीको ‘जीत बहादुर दुनियाँ साथी” , रोहित कोइरालाको ‘हजार माइलको लामो बाटो”, लेकाली खड्काको “बहादुरहरुका निम्तिजेल”, विक्रम सुब्बाको “धेरै नै टाढा छ”, विजय सुब्बाको मेरै त हो महाकाली” , श्याम तमोटको “गाउँगाउँबाट उठ”, सत्या पहाडीको मेरो नदी सुसाउँदा, सिन्धु जलेसाको “जनतामा अदम्य” सीता आचार्यको “कहिले हिउँचुलीको हिउँसँग” सुशील सिंह ठकुरीको ‘पिएर गोली सहिद हुने वीर”, हितमान शाक्यको “उर्लियो गाउँगाउँमा”, हिमशिखरको “रगतका मसीहरु”, हिसन समालको “जव यो धर्ती”, हेमराज आश्रमको “हामी एक बनौं ।”
अध्याय छ को शीर्षक छ, “समावलोकन र संस्लेषण” यस अध्यायमा विषयलाई संस्लेषण गर्ने कार्य भएको छ ।लेखकले यस पुस्तक लेखनका सीमाहरु स्वीकारेका छन् । पुस्तकको अन्त्यमा लेखकले लेखेका छन्, “वर्गसंघर्ष र निरन्तर क्रान्तिको सिद्धान्त नै जनवादी समाजवादी जनसांगीतिक आन्दोलनको वर्तमान कार्यनीति हो । समाजवाद हुँदै साम्यवादतर्फको निरन्तर यात्राको अभेद्य अपराजेय साधन बन्न समर्थ हुनु नै यसको मुख्य रणनीति हो ।”
नेपालमा प्रगतिशील गीत संगीतको इतिहासलाई लिपिवद्ध गर्ने कार्य वृहत्तर रुपमा जो हुनुपर्ने थियो, हुन सकेको छैन । यस दिशामा यो पुस्तक आधार बन्न सक्छ । यो पुस्तकले मूल रुपमा नेकपाको विभाजन पछिको गीत संगीतको विगतलाई लिपिवद्ध गर्ने कोशिश गरेको छ । नेकपाको अविभाजितकाल (२००६–२०१९) मा पनि राष्ट्रव्यापी सांस्कृतिक संगठन नभए पनि संघर्षको मैदानमा कैयौं गीत, संगीत सिर्जना भएका छन् । किसान आन्दोलनका बेलामा (२००८–२०१३) देशभरी नै गीतहरु सिर्जना भएका छन् । इतिहासको त्यो गर्विलो पक्षसँग जोडिएको गीत, संगीतको अनुसन्धान आवश्यक छ ।
प्रगतिशील कलाकारिताको क्षेत्रमा लागेका विभिन्न कलाकार र तिनको सिर्जनालाई परिचय गराउने क्रममा धेरै कलाकारहरु छुटेका छन् । जस्तै नारायण योगी । भारतीय प्रगतिशील सांस्कृतिक आन्दोलनका सशक्त हस्ती गदरको टिममा बसेर काम गरेका अनि नेपालमा रक्तिम सांस्कृतिक अभियानको अध्यक्ष समेत भई काम गरिसकेका नारायण योगी र उहाँको रचनालाई नछुटाएको भए हुन्थ्यो । अवश्य पनि लेखकले जानीबुझिकन त्यसो गरेका होइनन् । योगी जस्तै अन्य कतिपय महत्वपूर्ण व्यक्तित्वलाई नछुटाएको भए हुन्थ्यो भन्ने सामान्य सुझाव हो । मोहनविक्रम सिंह, भैरव रेग्मी, रेम राना, निलिमा पुन, डिलाराम आचार्य लगायतलाई पनि लेखकको रुपमा चर्चा गरेका भए राम्रै हुन्थ्यो । विदेशी प्रगतिशील गीत, संगीतबाट नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनले सिक्नु पर्ने कुराहरु तथा नेपालकै परम्परागत गीतसंगीतलाई प्रगतिशीलताको साँचोमा ढाल्ने कुशलता आदिबारे अझ व्यापक छलफल र प्रयोग आवश्यक छ । लेखन र अध्ययन कहिलै नटुंगिने कार्य हो । लेखकले जुन क्षेत्रलाई रोजेर कलम चलाएका छन्, सह्रानीय छ । यस क्षेत्रको अध्ययन लेखनमा अरु प्रगति होस्, शुभकामना ।
प्रस्तुत ः आर.वि. बुढा

