फेरि अर्को ‘भदौ २३ गते ’ उत्पन्न नहोस् !

–टेकहरी न्योपाने

अहङ्कारी, आडम्बरी, क्षुद्र र तानाशाह मनोवृत्तिको शासकको हातमा सत्ता पुग्यो भने देशको हालत निकै खराब हुन पुग्छ। २०७९ को निर्वाचनपछि प्रचण्डको सरकार चलिरहेको थियो। प्रचण्डले काउन्टर दिन थाले भुटानी शरणार्थी लगायत दुई चारवटा फाइल खोल्छु भन्ने अभिव्यक्ति दिन थाले। फाइल खोलेजस्तो नाटक मञ्चन पनि गरे। यो ओली र शेरबहादुरलाई तर्साउनको लागि प्रचण्डले रचेको प्रपञ्च जस्तो लाग्थ्यो। एकाएक देउबासँग मिलेर ओलीले प्रचण्डको सरकार ढालिदिए। बिना कारण सरकार ढालेर ओलीले आफ्नो नेतृत्वमा कांग्रेससँग मिलेर सरकार बनाए। यो सरकार किन ढालेको भनेर सोध्दा यसको जवाफ न त ओलीसँग थियो न त प्रचण्डसँग थियो। त्यसपछि ओली सरकारको दम्भ मनपरी उल्टो तानाशाही शासन सुरु भयो।

आफूलाई मन नपरेकोलाई जेल हाल्ने झुटा मुद्दा लगाउने भुटानी शरणार्थी काण्डका नाइकेहरुलाई जेलबाट निकाल्ने आफ्नाहरुलाई सरकारी नियुक्ति दिलाउने आफ्नो मनपरि तन्त्रमा उनी केन्द्रित बन्न पुगे जनताले गरेको आलोचना र खबरदारीलाई कत्ति पनि वास्ता गरेनन् । समाजिक सञ्जालमा बढ्दै गएको असन्तुष्टि दबाउन जुक्ति लगाउन थाले। त्यसै त अहङ्कारी आडम्बरी शासक ओलीलाई त्यतिबेला झनै खुरापाती दिमाग भरिदिने सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ। सल्लाहकार विष्णु रिमाल लगायत झुण्डहरुले ओलीको कान भरिदिए। समाजिक सञ्जाललाई नै बन्द गरी दिने निर्णयहरूमा पुगे। नरहे बाँस नबजे बाँसुरी नभन्दै फेसबुक ट्विटर इन्स्टाग्राम भाइबर धजबतकबउउ लगायत दुई दर्जन एपहरु बन्द गर्ने आत्मघाती निर्णय गर्न पुगे।

भदौ १९ गते सरकारले जनताको आवाजका प्लेटफर्महरू सबै बन्द गरिदियो। जनताको कम्युनिकेसनको सबै सामग्री सञ्जालका माध्यमहरू सबै ठप्प भए आधुनिक युग र लोकतन्त्रका जनता एकै छिन्मै ढुङ्गे युगमा पुगेको महसुस हुन थाल्यो। यो असह्य पीडा थियो। भदौ २० गते तामझाम सहित एमालेले विधान महाधिवेशन गर्‍यो। गाउँँगाउँबाट उठ बस्ती बस्तीबाट उठ भन्ने गीत घन्काएर नाँच्यो। यता जनताको आक्रोश ज्वालामुखी विस्फोटको लार्बाझैँ सल्किरहेको थियो। भोलिपल्ट २१ गते शनिबार यही कार्यक्रममा एमाले नेता कोशी प्रदेशका मन्त्री सरकारी गाडीमा झण्डा हल्लाउँदै जाँदै गर्दा हरिसिद्धिमा एउटी बालिकालाई जेब्रा करसिंहबाट जाँदै गरेको अवस्थामा गाडीले ठक्कर दियो। बिचरा ती बालिका सडकमै ढलिन्। तर ती मन्त्रीले सामान्य मानवताको परिचय पनि देखाएनन् । उनी गाडी नरोकी झन्डा हल्लाउँदै घुइकिए तर त्यो भिडियो सामाजिक सञ्जालमा मिनेटमै विश्वभर फैलियो। जनताले सोचेका थिए यस्ता क्रुर मन्त्रीलाई तत्काल एमालेले फिर्ता बोलाउँछ होला। कानुन बमोजिम कारबाही हुन्छ होला। तर ती मन्त्रीका पनि गुरु प्रधानमन्त्री ओलीले गोदाबरी हलबाटै अत्यन्तै छुद्र शैलीमा भने गाडीले यसो छोएको मात्रै हो बढी राजनीतिकरण नगरौँ। यो भनाइले आम युवा युवतीमा झनै आक्रोशको रगत उमालिदियो। जेन्जी युवा समूहले आयोजना गरेको सेप्टेम्बर ८ अथवा भदौ २३ को आन्दोलनलाई झनै मसला बनाउन ओलीको त्यो क्षुद्र हर्कतले ठूलो भूमिका निभायो। यस्ता अहंकारी मनमौजी शासकका विरुद्ध युवाहरुलाई स्वत स्फुर्त सडकमा ओर्लिन विवस गरायो ।

जेन्जी युवाहरू मात्रै होइन त्यस दिन जनताको उम्लिएको रगत अरु युवा मार्फत पनि पोखियो। धमिलो पानीमा माछा मार्न अनेक स्वार्थ भएकाहरुले पनि मौकाको फाइदा उठाउन पुगे। निषेधित क्षेत्र तोडिन पुग्यो। स्कुल ड्रेसमा गएका किशोर किशोरीहरूको टाउकोमै ताकेर गोली हानियो। १९ जना बच्चाहरूको ज्यान एकैछिनमा गयो। बानेश्वरमा रगतको खोला बग्यो । अरु सयौं युवकहरु ,युवतीहरू अस्पतालको सैयामा पुगे कैयौले अझै पनि इलाज गराइरहेका छन् । र पनि त्यस राती सञ्चारमन्त्री गुरुङ मार्फत भनियो निषेधित क्षेत्र तोड्नेहरूलाई त्यसो नगरेर के गर्ने त ? सरकारले राजीनामा दिने कुरा हुँदैन परिस्थितिको सामना हामीले गर्छौं भन्न थाले। यस्तै क्षुद्र अभिव्यक्तिले युवाहरूलाई झनै आगो बनायो भोलिपल्ट उज्यालो नहुँदै त्यसको प्रति उत्तर भदौ २४ गते देशै जल्न थाल्यो । मुलुकका विभिन्न संरचनाहरू ध्वस्त भए । तिनी सबै घटनाहरू सबैलाई थाहा छ बढी भन्न नपर्ला । मनमानी क्षुद्रशैली तानाशाही रबाफ,घमण्ड आफू सर्वे सर्वा ठान्ने ओलीको छुद्र व्यवहारले यो अवस्था सिर्जना गरेको थियो। त्यसपछि शासकहरू कहाँ पुगे, के गरे कसरी बसे भन्ने कुराको बढी विश्लेषण नगरौं सबैलाई थाहा भएकै कुरा हो। २०८२ साल फागुन २१ गतेको मतदानबाट निर्वाचित सरकारले कस्ता कार्यहरू गरिरहेको छ आउँदा दिनहरूमा कस्ता कामहरु गर्छ त्यसलाई हामी सबैले खबरदारी गरिरहनुपर्ने हुन्छ। नेपालमा फेरि अर्को भदौ २३ गते उत्पन्न नहोस् भन्ने सबैको चाहना छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित