अपत्य शर्मा
बेलायत, स्पेन, जर्मन, डच, फ्रान्स र अमेरिकी साम्राज्यवादीले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको क्रुरतम रुपले गरेका शोषण, उत्पीडन, दमन, अपमान, दासताका श्रृंखला र आम नरसंहारका सत्यतथ्य विवरणहरु ज्यादै कम पाइन्छन् । बेलायती साम्राज्यवादको पतनसँगै प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्धले सबै साम्राज्यवादी शक्तिहरुको अवसान गरायो र अमेरिकी साम्राज्यवादी शक्ति महाशक्तिको रुपमा उदायो । कम्युनिस्ट सत्ताको त्रास र आर्थिक रुपमा टाट पल्टिएका यूरोपेली मुलुकहरु आत्मरक्षाका लागि नाटोमा आबद्ध भए र अमेरिकी साम्राज्यवादीका नियन्त्रणमा रहेका छन् । तर अमेरिका र इज्रायलले इरानमाथि गरेको आक्रमणमा भने सक्रिय रुपले अमेरिकालाई समर्थन गरेका छैनन् र स्पेनले त खुलेरै अमेरिकी आक्रमणको विरोध नै ग¥यो । फ्रान्सले यूरोपको सैनिक गठबन्धनको प्रस्ताव नै अगाडि ल्याएको छ । इरानसँगको युद्धमा अमेरिकी साम्राज्यवादी शक्ति दिन प्रतिदिन कमजोर हुँदै र युद्धमा हार्दै गएको छ । यसले के प्रष्ट पारेको छ भने अब अमेरिकी साम्राज्यवादी पनि अन्त्यतिर लम्कँदै छ । अमेरिकी हातहतियारहरु इरानी प्रतिरोधी हातहतियारका अगाडि बेकम्मा प्रमाणित सावित भएका छन् । अत्याधुनिक राडर, पेट्रोयट एफ फिक्टिन, थाड, आयरन डोम आदि सबै काम नलाग्ने र अमेरिकाको पेन्टागनसँग भएका आधुनिक हातहतियारहरु पचास प्रतिशत भन्दा बढी समाप्त भइसकेका छन् भनेर पेन्टागनले जनाइसकेको छ । आर्थिक रुपले अमेरिका टाट पल्टदो अवस्थामा पुगिसकेको छ । यु.एस. टे«जरी फ्रिस्कल डाटा नं. २ अनुसार अमेरिकाको ऋण ४० ट्रिलियन (४०० खर्ब अमेरिकी डलर) अमेरिकी डलर नाघिसकेको छ ।
उपरोक्त विश्व परिवेशमा गाजा,इरान तथा युक्रेन युद्धले प्राथमिकता पाइरहेको अवस्थामा सुडानमा भइरहेको आम नरसंहार ओझेलमा परेको छ । यसकारण सुडानी जनताका असीम पीडा, शोषण, उत्पीडन, दमन, बलात्कार, हिंसा र अन्त्यहीन नरसंहार र वर्तमान अवस्थातिर नियालौं ।सुडान उत्तरपूर्वी अफ्रिकामा अवस्थित एउटा ठूलो र ऐतिहासिक देश हो । यसको जनसंख्या ५ करोड ३० लाख छ । जनसंख्यामा सुडान २९ औं स्थानमा छ । सुडानको क्षेत्रफल १८,८६,०६८ वर्गकिलोमिटर छ । जनघनत्व प्रतिवर्ग किलोमिटर २७ जना छ । सुडान पनि अन्य अफ्रिकी देशहरु जस्तै खनिज पदार्थहरुमा सम्पन्न छ । सुडानमा पाइने मुख्य खनिजहरुमा सुन, पेट्रोल, क्रोमाइट, तामा, फलाम अयस्क (आइरनयोर) म्याङगानिज, जिप्सम, चुनढुंगा, मार्वल, अभ्रक, टाल्क र प्राकृतिक ग्याँस छन् ।
सुडानको विस्तृत इतिहासलाई विभिन्न चरणहरुमा यसरी विभाजन गर्न सकिन्छ । (१) प्राचीनकाल र नुवियन । कुशा सभ्यता, नुबिया क्षेत्रः प्राचीनकालमा उत्तर सुडानको भूभागलाई नुबिया भनिन्थ्यो । यहाँ इसापूर्व तेस्रो सहस्राब्दीदेखि नै व्यवस्थित मानववस्ती र सभ्यताको विकास भएको थियो ।
कुश राज्यः करिब १७०० ई.पू. मा यहाँ कुश राज्यको उदय भयो र राजधानी केर्मा थियो ।
मिस्रसँगको सम्बन्ध ः सुडानको प्राचीन सभ्यता छिमेकी देश मिस्रसँग मिल्दोजुल्दो थियो । यहाँसम्म कि सुडानमा मिस्रको भन्दा पनि बढी प्राचीन पिरामिडहरु (जस्तै मेराइकोको पिरामिड) पाइन्छन् । कुशका राजाहरुले एक समय मिस्रमाथि समेत शासन गरेका थिए ।
(२) इसाइकरण र इस्लामको प्रवेशः
(क) इसाई धर्मको प्रभाव छैटौं शताब्दीमा नोवाटिया, मकुरिया र अलोआ राज्यहरु प¥यो र यो क्षेत्र इसाई धर्मप्रति आकर्षित भए । (ख) इस्लाम र अरब प्रभावः मिस्रमा मुस्लिमहरुको विजयपछि अरब व्यापारीहरुको आवागमनसँगै सुडानमा इस्लाम धर्म र अरब संस्कृतिको प्रभाव तीब्र रुपमा बढ्यो । यसरी विस्तारै यहाँ अरब र स्थानीय संस्कृतिको मिश्रण भयो ।
(३) तुर्क मिस्री शासन र महदी विद्रोहः
(क) १८२० को दशकमा मुहमद अली पाशाको नेतृत्वमा मिस्रले सुडानमाथि आक्रमण गरेर कब्जा ग¥यो यसलाई तुर्क मिस्री शासन भनिन्छ । (ख) महदी विद्रोहः १८८१ मा भयो जसको नेता मुहमद अहमद नाम गरेका धार्मिक नेताले आफूलाई महदी घोषणा गरे र विदेशी तथा मिस्रेली सत्ताको विरुद्ध सफल विद्रोह गरे । उनले खार्टुमामाथि कब्जा जमाए र केही समय आफैले सत्ता समाले । (ग) ब्रिटिशहरुले १८९८ मा ओम्दुरमानको युद्धमा महदी सेनालाई पराजित गरी सुडानमाथि नियन्त्रण कायम ग¥यो । त्यसपछि सुडान बेलायत र मिस्र (इजिप्ट) संयुक्त शासन अन्तर्गत रह्यो ।
(४) सुडानमा स्वतन्त्रता र गृहयुद्धको प्रारम्भ ः
(क) १ जनवरी १९५६ मा सुडान एउटा स्वतन्त्र गणतन्त्र भयो । त्यस स्वतन्त्रता संग्रामका नेता इस्माइल अल अजहरी हुन् । उनले बेलायत र मिस्रको शासनबाट सुडानलाई स्वतन्त्र गराए र स्वतन्त्र सुडानको पहिलो प्रधानमन्त्री भए ।
इस्माइल अल–अजहरी परिचय र प्रारम्भिक जीवनः
इस्माइलको जन्म सन् १९०० अक्टोबर २० मा सुडानको ओम्दुरमानमा भएको थियो । उनले खार्तुम र बेइजिङको अमेरिकन विश्वविद्यालयबाट गणितमा उच्च शिक्षा हासिल गरेका थिए । अजहरीले शिक्षण पेशाबाट आफ्नो जीवन प्रारम्भ गरेर पछि सुडानी राजनीतिमा सक्रिय भए । उनले सन् १९३८ मा स्थापित शिक्षित सुडानीहरुको संस्था ग्रेजुएटस जनरल कांग्रेसको उनी सन् १९४० मा अध्यक्ष बने । १९४३ मा आशिग्गा पार्टीको स्थापना गरे, जसले उपनिवेशको अन्त्यको लागि जोड दिन्थ्यो । अल –अजहरिले १९५२ मा राष्ट्रिय युनियननिष्ट पार्टी (नुप) को स्थापना गरेर त्यसको अध्यक्ष भए । उनको नेतृत्वमा पार्टीले सन् १९५३ को निर्वाचनमा ठूलो विजय प्राप्त ग¥यो । अजहरिको नेतृत्वमा सुडानी संसदले सन् १९५५ डिसेम्बर १९ मा स्वतन्त्रताको घोषणा पारित ग¥यो । अन्तमा १९५६ जनवरी १ का दिन सुडान आधिकारिक रुपमा एउटा स्वतन्त्र सार्वभौम राष्ट्र बन्यो र उनले सुडानको झण्डा फहराए । (फेसबुक ग्रेट अफ्रिका+३ )
सुडान अनेकौं खनिज पदार्थहरुले भरिपूर्ण भए पनि सशस्त्र गृहयुद्धले त्यहाँका जनताले असीम हत्या, बलात्कार, अपहरण, आन्तरिक र बाह्य शरणार्थी भएर पाइला पाइलामा अत्यन्त कष्टपूर्ण जीवन व्यतित गर्दैछन् ।
सुडानमा सशस्त्र संघर्षका कारणहरुः
(१) केन्द्रीय सरकारको उपेक्षाले गर्दा राजधानी खार्तुममा रहेको केन्द्रीय सरकारले देशका अन्य सीमान्तकृत क्षेत्रहरु जस्तै दक्षिण सुडान, डार्फर र ब्लु नाइलका जनतालाई आर्थिक र सामाजिक रुपमा पछाडि पारे ।
२) सुडानी जनताले आफ्ना अधिकारका लागि शान्तिपूर्ण प्रदर्शन र अहिंसात्मक आन्दोलन गर्दा पनि सरकारले सेना प्रयोग गरेर क्रुरतापूर्वक दमन ग¥यो ।
(३) उत्तरी सुडानमा अरब र मुस्लिम समुदायको वर्चश्व थियो भने दक्षिण र अन्य क्षेत्रमा अफ्रिकी मूलका विभिन्न जाति र अन्य धर्मावलम्बीहरु थिए । सरकारले उनीहरुमाथि सांस्कृतिक र धार्मिक विभेद ग¥यो ।
(४) सरकार र विद्रोही बीच भएका धेरै जसो शान्ति सम्झौताहरु कागजमै सीमित रहे र कार्यान्वयन भएनन् । सरकारले वाचा पूरा नगरेपछि जनताको विश्वास गुम्यो ।
(५) लोकतान्त्रिक मार्गको अभाव देशमा भएका र देशमा लामो समयसम्म सैनिक तानाशाही सत्ता रह्यो,जसले गर्दा शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन गर्ने या आफ्ना माग राख्ने कानुनी बाटो बन्द भयो।
दक्षिण सुडानको स्वतन्त्रता र निरन्तरको संघर्ष ः
दशकौंको सशस्त्र संघर्षपछि २०११ मा दक्षिणी सुडानले जनमत संघर्ष पछि २०११ मा छुट्टीएर छुट्टै देशको मान्यता पायो । तर सुडानका बाँकी क्षेत्रहरु जस्तै डार्फर र हालै सेना र अर्धसैनिक बल (आरएसएफ) बीचको सत्ता संघर्षले गर्दा सुडानमा अहिंसात्मक बाटो भन्दा बारम्बार हतियार र आम नरसंहारको श्रृंखला रोकिने कुनै आशाका किरण देखिएका छैनन् । तीनवर्षदेखि सुडानी सेना र रापिड सपोर्ट फोर्स लड्दै आइरहेछ । आम नरसंहारको अभियोग एकले अर्कोलाई लगाइरहेछन् । यी दुई सत्ताबाट हटाइएका उभार अल बशीर र अर्धसैनिक बल तेल र सुनको धनी सुडानमा तेल र सुनमाथि अधिकार जमाउन लडिरहेछन् र आम नरसंहार गर्दै आएका छन् । टाइम्सको रिपोर्ट अनुसार सुडानका विद्रोहीहरुलाई ग्रीस, सउदी अरेबिया, कतार, टुर्की, इरान, रुस संयुक्त अरब इमिरेटले सैनिक समर्थन गरेका छन् । तर ती देशहरुले अस्वीकार गरेका छन् । विश्व खाद्य कार्यक्रमका अनुसार १३.६ मिलियन सुडानीहरु भाग्न बाध्य पारिएका छन् । गत वर्ष मुख्य सुडानी सहर इल फाशीरमा मिलिसियाले एक हप्तामै ६०,००० बासिन्दाको हत्या गरे । त्यही हत्या गर्ने मिलिमियाले अर्को प्रमुख सहर इल ओविडलाई घेराबन्दीमा राखेर त्यहाँका बासिन्दा करिब दस लाख भन्दा बढी छन् मार्ने धम्की दिएका छन् जो भोकमरीले सताइएका छन् । उनीहरुलाई मानवीय सहायताको आवश्यकता छ । तर मानवताको वकालत गर्ने साम्राज्यवादीको नाइके राष्ट्रपतिले बेवास्ता गरेको छ । इरान युद्धमा मान्छे मार्न अरबौं डलर खर्च गर्ने रक्तपिपासु अमेरिकी साम्राज्यवादीका लागि आफ्नो जीवन मात्र अमूल्य महत्वपूर्ण हुन्छ भने अरुको जीवन झारपात झिंगा जस्तै हो ।
आम रुपमा सुडान जस्तो देशमा कम्युनिष्ट पार्टी नै थिएन वा छैन भन्ने धारणा गलत हो । सुडानमा सुडानी कम्युनिस्ट पार्टी (सुडानिज कम्युनिस्ट पार्टी एससिपी) नामक ऐतिहासिक जुझारु पार्टी सन् १९४६ मा नै स्थापना भएको थियो , जुन आज पनि अस्तित्वमा छ । तर गम्भीर ऐतिहासिक दमन, सैन्य तानाशाही र वर्तमान गृहयुद्धका कारण यो पार्टीले सुडानी जनतालाई संकटबाट पूर्णरुपमा बचाउन वा देशको सत्ता सम्हाल्न भने सक्षम भएको छैन ।
सुडानी कम्युनिस्ट पार्टीले जनताको पक्षमा निर्णायक भूमिका खेल्न नसक्नु वा प्रभावकारी बन्न नसक्नुका प्रमुख कारणहरु निम्न छन्ः
ऐतिहासिक दमन र प्रतिबन्ध र कम्युनिस्ट पार्टीको नेताहरुको हत्या हो । तर पनि यसको ऐतिहासिक महत्वपूर्ण गतिविधिहरुबारे चर्चा गरांै । सुडानी कम्युनिस्ट पार्टी अरब र अफ्रिकी क्षेत्रको सबैभन्दा प्रभावशाली र पुरानो कम्युनिस्ट पार्टीहरुमध्ये एक हो ।
सुडानी कम्युनिस्ट पार्टीको इतिहासका प्रमुख चरणहरुः
(१) स्थापना र प्रारम्भिक काल (सन् १९४६–१९५६)
(क) सुडानी कम्युनिस्ट पार्टी १९४६ मा गठन गर्दा सुडानका विभिन्न वामपन्थी तथा कम्युनिस्ट समूहहरु मिलेर भएको थियो । पछि केही समूहहरु ‘सुडानी मुभमेन्ट फर नेशनल लिवरेसन (एसएमएनएल) मा समाहित भए ।
(ख) नाम परिवर्तन –सन् १९५६ मा भएको तेस्रो सम्मेलनबाट यसको नाम आधिकारिक रुपमा सुडानी कम्युनिस्ट पार्टी राखियो ।
(ग) प्रभावः बेलायती र इजिप्टेली संयुक्त उपनिवेश (कोन्डोमियम रुल) को अन्त्य र सुडानको स्वतन्त्रताको आन्दोलनमा पार्टीले किसान, मजदुर, बृद्धिजीवीहरुलाई संगठित गर्दै महत्वपूर्ण भूमिका खेल्यो ।
(२) लोकतान्त्रिक आन्दोलन र अक्टोबर क्रान्ति (१९५०–१९६० को दशक)
(क) लोकप्रियता ः १९६० को दशकमा यो पार्टी सुडानमा मुस्लिम र इसाई दुवैलाई मिलाउन सक्ने देशव्यापी रुपमा लोकप्रिय एक्लो राजनीतिक शक्ति बनेको थियो ।
(ख) अक्टोबर क्रान्ति (सन् १९६४)सुडानी कम्युनिस्ट पार्टीले सुडानका सैनिक शासक इब्राहिम अभाउदको सरकार विरुद्ध सन् १९६४ को अक्टोबर क्रान्तिमा निर्णायक भूमिका खेलेको थियो र यसले अन्तरिम सरकारमा समेत सहभागिता जनाएको थियो ।
(ग) संसदीय सहभागिता यस पार्टीलाई प्रतिबन्ध लगाउने धेरै प्रयास गरिए पनि १९६० को दशकमा संसदीय निर्वाचनहरुमा प्रतिपर्धा ग¥यो ।
(३) गाफर निमेइरी शासनकाल र दमन (सन् १९६९ –१९८५)
(क) निमेदुरीले सैनिक ‘कु’ गर्दा कम्युनिस्ट अधिकारीहरुको सहयोग रहेको थियो। सुरुमा सुकपाले समर्थन गरे पनि पछि सम्बन्ध बिग्रियो ।
(ख) रक्तपातपूर्ण दमन (सन् १९७१) सन् १९७१ मा भएको असफल सैनिक विद्रोह पछि राष्ट्रपति निमेइरीले सुडानी कम्युनिस्ट पार्टीमाथि चरम दमन सुरु ग¥यो ।
(ग) नेताहरुको हत्याः सुडानी कम्युनिस्ट पार्टीका प्रमुख नेताहरु अब्देल खालीक महजुब, जोसेफ गाराङ अल्शाफि अहमद इल्शिक लगायतलाई मृत्युदण्ड दिइयो र पार्टीलाई प्रतिबन्धित ग¥यो । यसकारण पार्टी भूमिगत भयो ।
(४) पुनरुत्थान र आधुनिक काल (सन् १९८५ देखि वर्तमानसम्म)
(क) लोकतान्त्रिक आन्दोलन सन् १९८५ मा (अप्रिल इन्टीफाडा) भयो र निमेइरीको पतन भएपछि पार्टी फेरि खुला राजनीतिमा आयो ।
(ख)सुडानी कम्युनिस्ट पार्टीले सन् १९८९ मा ओभार अल बशीरले गरेको सैनिक विद्रोह र उनको २५ वर्ष लामो तानाशाहीको क्रुर शासनसत्ताको कडा विरोध गरिरह्यो ।
(ग) सुडानमा भइरहेका सैनिक ‘कु’ (जस्तै सन् २०१९को ‘कु’ )र त्यसपछिका सैनिक परिषद्को विरोधमा सुडानी कम्युनिस्ट पार्टी निरन्तर नागरिक आन्दोलन र क्रान्तिकारी मोर्चामा सक्रिय छ । सरकार परिवर्तन र सैनिक शासन विरुद्धको संघर्षमा पार्टीका नेता तथा कार्यकर्ताहरु प्रायः गिरफ्तार हुँदै आएका छन् ।(जाडालिया+२)
सुडानको विभाजनः
सुडान उत्तर र दक्षिणमा विभाजित हुनुमा लामो गृहयुद्ध, जातीय विभेद, धार्मिक असमानताले गर्दा सन् २०११ मा जनमत संग्रहद्वारा उत्तर दक्षिण सुडान भयो । तर यो एकतर्फी विभाजन साम्राज्यवादी शक्ति बेलायत र अमेरिकाले गरेका हुन् । साम्राज्यवादीको उद्देश्य नै कुनै पनि शान्तिपूर्ण रुपले रहेका प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देशमा जातीय विभेद, धार्मिक असमानतालाई एनजिओ÷आइएजिओद्वारा जातीय तथा धार्मिक घृणा फैलाएर गृहयुद्धको धापमा गाड्नु र प्राकृतिक स्रोत र साधनहरुको लुट गर्न हो । नेपालमा पनि जातीय द्वन्द्व गराउने खेल साम्राज्यवादी शक्तिले खेलिरहेछ ।
(१)ब्रिटिशको औपनिवेशिक नीतिः
(क) सन् १८९९ देखि १९५६ सम्म सुडानमा बेलायत र इजिप्टको संयुक्त शासन थियो । (ख) बेलायतले सुडानलाई उत्तर र दक्षिण गरी अलग प्रशासनिक इकाइको रुपमा शासन ग¥यो । (ग) उत्तर भागमा मुस्लिम र अरबी संस्कृतिको विकास ग¥यो र दक्षिण भागमा क्रिश्चियन (इसाई) र रुैथाने अफ्रिकी संस्कृतिको प्रभाव रह्यो । (घ)बेलायतले उत्तर सुडानको विकासमा ध्यान दियो तर दक्षिण सुडानलाई पूर्ण रुपमा उपेक्षा ग¥यो, जसले गर्दा दुई क्षेत्रका बीचमा ठूलो आर्थिक र शैक्षिक खाडल निर्माण भयो । (मिडल इस्ट रिसर्च+४)
२) आन्तरिक विभेद र गृहयुद्धः (क)सन् १९५६ मा सुडान स्वतन्त्र भएपछि सत्ता पूर्णरुपमा उत्तरका अरबी मुस्लिम शासकहरुको हातमा गयो (ख) उत्तरी सुडानका शासकहरुले दक्षिणका जनतामाथि अरबी भाषा र इस्लामी कानुन (सरिया ल) जवरजस्ती लागु गर्न खोजे । जसको परिणाम उत्तर र दक्षिण सुडानका बीच दुईवटा ठूला गृहयुद्ध भए । पहिलो १९५५–१९७२ सम्म भयो, जसमा करिव ५ लाख सुडानी मारिए । दोस्रो गृहयुद्ध १९८३–२००५ सम्म सुडान पिपुल्स लिवरेसन आर्मीका नेता जोन गाराङले दक्षिणको नेतृत्व गरे । यस युद्धमा २० लाख भन्दा बढी मानिस मारिए ।
(३) तेल र प्राकृतिक स्रोतको विवादः (क) १९७० को दशकमा दक्षिण सुडानको क्षेत्रमा ठूलो मात्रामा खनिज तेल फेला प¥यो । (ख) दक्षिण सुडानको तेलमाथिको सबै आम्दानी र नियन्त्रण उत्तरको राजधानी खारतुममा रहेका शासकहरुले गर्थे । यस आर्थिक शोषणले दक्षिणका जनतामा विद्रोहको आगो झन् बढ्यो ।
(४) शान्ति सम्झौता र जनमत संग्रहः
(क) सन् २००५ मा उत्तरका राष्ट्रपति ओमार अल बसिर र दक्षिणका विद्रोही नेता जोन गाराङ बीच ऐतिहासिक विस्तृत शान्ति सम्झौता भयो ।
(ख)यस सम्झौता अन्तर्गत दक्षिण सुडानलाई ६ वर्षपछि आप्mनो भविष्य आपैm तय गर्न पाउने गरी जनमत संग्रहको अधिकार दियो । (ग) सन् २०११ को जनवरीमा भएको जनमत संग्रहमा दक्षिण सुडानका ९८.८३ प्रतिशत जनताले अलग देशको पक्षमा मतदान गरे । (युनाइटेड स्टेस्टस होलोकस्ट) यसरी जनमत संग्रहको परिणामस्वरुप जुलाई २०११ मा आधिकारिक रुपमा दक्षिण सुडान विश्वको सबैभन्दा कान्छो स्वतन्त्र राष्ट्रको रुपमा स्थापना र सुडान दुई भागमा विभाजित भयो ।
उत्तर र दक्षिण सुडानमा विभाजित भएर पनि किन सुडानमा हिंस्रक संघर्ष रोकिएन भन्ने प्रश्न स्वतः उठ्छ । हेरौं (क)तेल र प्राकृतिक स्रोतको स्वामित्वको विवादको मुख्य कारण द. सुडानमा धेरै जसो तेलको खानी भएकाले तेल बाहिर पठाउने पाइपलाईन र प्रशोधन केन्द्रहरु उत्तर सुडानमा भएकाले तेलको आम्दानी कसरी बाँडफाँड गर्ने भन्ने टुंगो नहुनाले स्वामित्वको निर्णयले नै हिंस्रक गतिविधि नरोकिएको हो । (ख) द. सुडानमै आन्तरिक विभिन्न जातीय समूहहरु जस्तै डिन्का र नुएर बीचमा सत्ता र अधिकारका लागि गृहयुद्ध भएको हो । (ग) कमजोर राजनीतिक संस्था र प्रशासनिक अनुभवको कमी र दशकौंको लामो गृहयुद्धले गर्दा द. सुडानमा शिक्षा, स्वास्थ्य र पक्की सडक जस्ता पूर्वाधारहरुको चरम अभावले गर्दा परिपक्व राजनीतिक नेतृत्वको अभावलाई पनि औल्याइन्छ र असफल राज्यको नजिक पुग्न सक्ने टिप्पणी पनि गरिंदैछन् । (घ) उत्तर सुडानमा लगातारको अस्थिरता तथा खार्तुम सरकार र त्यहाँका सेनाका बीच शक्ति संघर्ष रोकिएन । पछि सुडानी सेना र अर्ध सैनिक बल बीचको भयानक गृहयुद्धले गर्दा उ. सुडान अशान्त छ (ङ) क्षेत्रीय देशहरु र खाडी राष्ट्रहरुको स्वार्थ तथा हस्तक्षेपका कारण उत्तर दक्षिण सुडानमा शान्ति प्रयासहरु विफल बनिरहेछ ।
अन्त्यमा सुडानमा भइरहेका आम नरसंहार, बलात्कार, लुट आदिको श्रृंखला तब अन्त्य हुनेछ जव सुडानी सर्वहारावादी क्रान्तिकारीहरुले साम्राज्यवादी विरोधी संयुक्त मोर्चा तथा जनताका बीचका अन्तर्विरोधको सही संचालन र सुडानको ठोस परिस्थितिको ठोस विश्लेषणद्वारा हुनेछ । अमेरिकी साम्राज्यवादी शक्ति विश्वको कुनै पनि क्षेत्रमा रहेसम्म युद्ध र गृहयुद्ध भइरहनेछ ।

