– जितामित्र सुनार
भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको ८ अक्टोबर २०२६ मा ७५ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको खबरले म स्तब्ध भएको छु। कुशल अभिनेता हुनुका साथै सरल र सहज व्यक्तित्वका धनी नानाको निधनले सिङ्गो बलिउड क्षेत्रलाई मात्र नोक्सानी भएको छैन, एक होनहार मानवतावादी व्यक्तिको अन्त्य भएको महसुस भएको छ।
नाना पाटेकरका धेरै चलचित्र छन्। तीमध्ये मैले ‘क्रान्तिवीर’ र ‘तिरङ्गा’ हेरेको छु। ‘क्रान्तिवीर’ले समाजमा हुने अन्याय, भ्रष्टाचार र विभेदविरुद्ध आवाज उठाउनुपर्ने सन्देश दिन्छ। धर्मका नाममा मानिसलाई विभाजित गरेर आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्तिको विरोध गर्दै सामाजिक न्याय र मानवताको पक्षमा उभिनुपर्ने सन्देश दिएको छ। त्यस्तै, ‘तिरङ्गा’ले देशप्रेम र राष्ट्रप्रतिको जिम्मेवारीको सन्देश दिन्छ। देशलाई कमजोर बनाउने आतंकवाद र भ्रष्टाचारविरुद्ध सबै सचेत र जिम्मेवार हुनुपर्छ भन्ने भाव ‘तिरङ्गा’ले दिन खोजेको छ।
नाना वास्तवमै निकै सरल व्यक्तित्वका धनी थिए। एक समयमा म भारतको पुणे सहरस्थित सदानन्द रिसोर्टमा काम गर्थें। उनी अक्सर त्यहाँ आउने गर्थे। मैले वेटरका रूपमा उनलाई धेरै पटक खाना सर्भ गरेको छु। उनी प्रायः रेस्टुरेन्टको अतिथि टेबलमा नभई स्टाफ टेबलमै बसेर खाना खान्थे। हार्ड ड्रिङ्क्समा उनी प्रायः ‘ओल्ड मङ्क’ नै पिउने गर्थे। खाना खानुपर्दा उनी अक्सर रिसोर्टका स्टाफले खाने खाना नै रुचाउँथे।
उनको एउटा स्वभाव थियो—खाना खाएर बिल तिरिसकेपछि आफूलाई सर्भिस गर्ने वेटरको खल्तीमा सुटुक्क ५० रुपैयाँ राखिदिन्थे। उनले कहिल्यै पनि रिसोर्टमा आएर स्टारडम प्रदर्शन गरेनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी रिसोर्टका स्टाफहरूसँग उनको व्यवहार सधैँ नम्र, शालीन र आत्मीय हुने गर्थ्यो। अक्सर मराठी भाषामा बोल्न रुचाउने नाना पाटेकरले हरेक वाक्यको अन्त्यमा ‘जिजी’ प्रयोग गर्ने गर्थे।
मेरो अनुभूतिमा, नाना पाटेकर पर्दामा जति ठूला कलाकार भए पनि वास्तविक जीवनमा निकै सरल र सामान्य मानिस थिए।
त्यसैले नाना पाटेकर मेरा लागि पर्दामा देखिने ठूला अभिनेता मात्र थिएनन्। उनले अभिनय गरेका चलचित्रका पात्रहरूजस्तै उनी पनि मानवीय भावना, देशभक्ति र सरल व्यक्तित्वका धनी थिए।

Comments

