–विपिन रोकाया क्षेत्री
एकता केवल एकताका लागि होइन, न त व्यक्तिगत स्वार्थ, राजनीतिक अस्तित्वको रक्षा वा पद र प्रतिष्ठाको भागबन्डाका लागि मात्र हो भने तेस्ता एकताको कुनै औचित्य हुदैन। वास्तविक एकताको उद्देश्य स्पष्ट राजनीतिक दृष्टिकोण, क्रान्तिकारी विचारधारा र जनताको मुक्तिको साझा लक्ष्यमा आधारित हुनुपर्छ।
नेपाली जनताले महान् जनयुद्धमा सहभागी भई दश वर्षसम्म सञ्चालन गरेको सशस्त्र संघर्षको ऐतिहासिक योगदानलाई आत्मसात् गर्दै, २४० वर्ष लामो राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म आइपुग्दा प्राप्त उपलब्धिहरूको रक्षा गर्नु आजको ऐतिहासिक जिम्मेवारी हो। तर, जनयुद्धका उपलब्धिहरूको रक्षा गर्नुको अर्थ वर्तमान संसदीय व्यवस्थाभित्रै सीमित रहनु होइन। यसको अर्थ जनताको वास्तविक मुक्ति, सामाजिक न्याय र आर्थिक समानताका लागि अधुरो क्रान्तिकारी कार्यभारलाई नयाँ शिराबाट अगाडि बढाउनु हो।
हजारौँ सहिदहरूको बलिदान, बेपत्ता योद्धाहरूको त्याग, घाइते तथा अपाङ्ग योद्धाहरूको संघर्ष र आम जनसमुदायको ऐतिहासिक योगदानलाई बिर्सेर गरिने कुनै पनि राजनीतिक एकता सार्थक हुन सक्दैन। सहिदहरूले देखेको सपना र जनयुद्धले उठाएका जनजीविका, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय तथा जनअधिकारका सवालहरूलाई केन्द्रमा राखेर मात्र एकताको औचित्य पुष्टि गर्न सकिन्छ।
आजको आवश्यकता केवल संगठनात्मक एकीकरण होइन, विचार, नीति, कार्यक्रम र क्रान्तिकारी कार्यदिशामा आधारित राजनीतिक पुनर्गठन हो। संसदीय राजनीतिको सीमित घेराबाट बाहिर निस्कँदै नयाँ जनवादी क्रान्तिको कार्यदिशामा दृढतापूर्वक उभिनु, नयाँ जनवादी गणतन्त्रको स्थापना र समाजवादको दिशामा अगाडि बढ्नु नै वास्तविक परिवर्तनको आधार हो। त्यसैले, एकता व्यक्तिगत स्वार्थको संरक्षणका लागि होइन; जनयुद्धका उपलब्धिहरूको रक्षा, सहिदका सपना साकार पार्ने प्रतिबद्धता, जनताको अधिकार र मुक्तिको सुनिश्चितता तथा नयाँ जनवादी क्रान्ति र समाजवादको लक्ष्य प्राप्तिका लागि हुनुपर्छ।
विचार र लक्ष्यविहीन एकता केवल संगठनात्मक जोडघटाउ हो। क्रान्तिकारी विचार, स्पष्ट राजनीतिक कार्यदिशा र जनताको मुक्तिको साझा प्रतिबद्धतामा आधारित एकता मात्र वास्तविक एकता हो। यही एकताले जनयुद्धको ऐतिहासिक विरासतलाई सम्मान गर्दै भविष्यको क्रान्तिकारी यात्रालाई सार्थक दिशा प्रदान गर्न सक्छ।
Comments

