छठ पर्व मनाइँदै

काठमाडौं, कात्तिक २९। आज आइतबार देशभर छठ पर्व मनाइएको छ। विशेषगरी तराई–मधेस क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पनि उत्साहपूर्वक मनाउन थालिएको छ।

छठ पर्वका अवसरमा व्रतालुहरूले नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। छठ पर्वको सन्दर्भमा सूर्यलाई अर्घ दिनु भनेको बाँसको ढाकी वा भाँडामा पूजा सामग्री राखेर नदी, पोखरी वा जलाशयको किनारमा उभिई सूर्यतर्फ फर्केर जल तथा पूजा सामग्री चढाउनु हो।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई प्रातः अर्घ दिएपछि पर्व सम्पन्न हुने परम्परा छ। नहाय भनेको नुहाउने वा स्नान गर्ने र खाय भनेको खाने वा भोजन गर्ने हो।खरना छठ पर्वको दोस्रो दिन गरिने धार्मिक विधि हो। यस दिन व्रतालुहरूले दिनभरि उपवास बसेर साँझ सूर्यको पूजा गरेपछि प्रसाद ग्रहण गर्छन्।

यस पर्वमा व्रतालुहरू कठोर उपवास बस्ने, शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिने तथा ठेकुवा, फलफूल, उखुलगायतका प्रसाद चढाउने गर्छन्। छठ पर्वले धार्मिक आस्था, पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुताको सन्देशसमेत प्रवाह गर्दै आएको छ।

यस वर्ष छठ पर्वको मुख्य दिन आज कात्तिक २९ गते परेको हो भने भोलि कात्तिक ३० गते बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि व्रत समापन हुनेछ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित