काठमाडौ । नेपालका प्रधानमन्त्री बालेन शाहले दिल्लीको हैदरावाद हाउसमा आज मसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने भएकाछन् । बालेन शाहले गत साल चैत्र १३ गते सरकारको नेतृत्व गरेपछि पहिलो दुईपक्षीय विदेश भ्रमणका क्रममा हिजो आइतवार अपरान्ह दिल्ली पुगेका हुन्।
आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा केही संयुक्त समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको र
दुवै प्रधानमन्त्रीले पत्रकारहरूको उपस्थितिमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा सीमाको विषय छलफलमा प्रवेश पाउँछ कि पाउँदैन, इपिजी प्रतिवेदन बारे छलफल हुन्छ कि हुँदैन, लिपुलेक नाका भारत र चीनले प्रयोग गरेको विषय उठाइन्छ कि उठाइँदैन, कालापानीबाट भारतीय सेना हटाउने बारे छलफल हुुन्छ कि हुँदैन – लगायतका विषयमा आम चासो देखिन्छ ।
भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेनको भ्रमणले नेपाल र भारतबीचको “चिरस्थायी र बहुआयामिक साझेदारी लाई सुदृढ बनाउने अवसर प्रदानू गर्ने बताएको छ। तर कसरी भन्ने कुरा स्पष्ट छैन ।
भैरहवा र पोखरा विमानस्थलमा पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न र पश्चिमबाट नेपाली आकाश हुँदै अन्य देश जान अन्तर्राष्ट्रिय उडानको निम्ति बाटो खुला गर्ने बताइएको छ । भारतले उत्तर पूर्वी भारतको बागडोगरास्थित विमानस्थलबाट नेपाली आकाश प्रयोगको अनुमति मागेको विवरणहरू सार्वजनिक भएका छन्।भ्रमणकाक्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटनगर्ने कार्यक्रम छ । त्यसैगरी नयाँ परियोजनाको शिलान्यासगर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणकाक्रममा दुवै देशका उच्च सरकारी नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धिगर्ने विषयमा छलफल हुनेछ । त्यसैगरी सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानवसंशाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्र एमओयु आदानप्रदान गरिनेछन् ।
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्रि जयशंकरबीच नयाँदिल्लीस्थित होटल ताजमहलमा ६ मंसिरमा भेटघाट भएको छ । प्रधानमन्त्री वालेन्द्रलाई भेट्न भारतका विदेशमन्त्री एस जयशंकर केही सहयोगीका साथ नेपाली समयअनुसार साँझ करिव ६ बजे होटल पुुगेका थिए ।
प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा गढुवाली झाँकी प्रस्तुत गरिएको थियो ।

