अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, न्यायिक निष्पक्षतामाथि प्रश्न
काठमाडौँ। नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको भन्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चको पछिल्लो आदेशसँगै कार्कीलाई तत्काल प्रहरी महानिरीक्षकको जिम्मेवारीमा फर्काउने सम्भावना टरेको छ। तर, यो आदेशले सरकारको निर्णय कानुनसम्मत थियो वा थिएन भन्ने मूल प्रश्नको निरूपण भने गरेको छैन।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले मंसिर ९ गते (नोभेम्बर २५) कार्कीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। अदालतले नयाँ प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले पदभार ग्रहण गरिसकेको, प्रहरी संगठनको नेतृत्व सार्वजनिक महत्त्व र संवेदनशीलताको विषय भएको तथा निवेदकले उठाएका कानुनी प्रश्नको निरूपण अन्तिम सुनुवाइबाट गर्न सकिने आधार प्रस्तुत गरेको छ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनको स्थानमा एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो। सरकारको उक्त निर्णय गैरकानुनी भएको जिकिर गर्दै कार्की सर्वोच्च अदालत पुगेका थिए।
कार्कीको मुख्य दाबी आफूलाई कुनै स्पष्टीकरण नसोधी र कानुनी आधारबिना प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको भन्ने छ। प्रहरी महानिरीक्षकको निश्चित कार्यकाल हुने व्यवस्था हुँदाहुँदै सरकारले मनोमानी ढङ्गले जिम्मेवारी परिवर्तन गरेको उनको जिकिर छ। उनका कानुन व्यवसायीहरूले सरकारको निर्णयले कानुनी शासन, प्रशासनिक निष्पक्षता र संस्थागत मर्यादामाथि प्रश्न उठाएको भन्दै पुनर्बहालीको माग गरेका थिए।
सरकारका तर्फबाट भने कार्कीलाई कुनै कारबाही नगरिएको, जिम्मेवारी मात्र परिवर्तन गरिएको र प्रधानमन्त्रीलाई सुरक्षा सल्लाह तथा परामर्श दिन विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरिएको तर्क प्रस्तुत गरिएको छ। नयाँ आईजीपीले कार्यभार सम्हालिसकेको अवस्थामा तत्काल अन्तरिम आदेश जारी गर्न नमिल्ने सरकार पक्षको जिकिर पनि थियो।
सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश नदिए पनि मुद्दालाई प्राथमिकतामा राखेर छिटो अन्तिम सुनुवाइ गर्न आदेश दिएको छ। विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि सात दिनभित्रै सुनुवाइका लागि पेसी चढाउन पनि इजलासले निर्देशन दिएको छ।
न्यायको प्रश्न अझै अनुत्तरित
सर्वोच्च अदालतको पछिल्लो आदेशलाई नै कार्कीले न्याय नपाएको अन्तिम निष्कर्षका रूपमा बुझ्नु उचित हुँदैन। अन्तरिम आदेश र अन्तिम फैसलाको कानुनी प्रकृति फरक हुन्छ। अन्तरिम आदेश नदिनु भनेको सरकारको निर्णय कानुनसम्मत ठहर गर्नु होइन। त्यसैले यस मुद्दामा अन्तिम फैसला नआउँदासम्म न्यायिक प्रक्रियाको निष्कर्ष पर्खनुपर्ने हुन्छ।
तर, यस घटनाले केही गम्भीर प्रश्न भने उठाएको छ। सरकारले निश्चित कार्यकालका लागि नियुक्त गरेको प्रहरी महानिरीक्षकलाई बीचमै हटाउन पाउने अधिकार कति छ? यस्तो निर्णय गर्दा सरकारले कानुनी प्रक्रिया र आधार प्रस्तुत गर्नुपर्दैन? प्रशासनिक जिम्मेवारी परिवर्तनको नाममा संवैधानिक तथा कानुनी व्यवस्थालाई कमजोर पार्न मिल्छ?
राज्यका निकायहरू कार्यपालिकाको इच्छाअनुसार सञ्चालन हुने हो भने विधिको शासनको औचित्यमाथि नै प्रश्न उठ्छ। प्रहरी संगठनजस्तो महत्त्वपूर्ण संस्थाको नेतृत्व परिवर्तन राजनीतिक अनुकूलता वा प्रतिकूलताका आधारमा नभई कानुन र संस्थागत मर्यादाका आधारमा हुनुपर्छ।
न्यायालयको प्रमुख जिम्मेवारी नागरिकका मौलिक हक, कानुनी शासन र संविधानको संरक्षण गर्नु हो। सरकारको निर्णयमाथि न्यायिक परीक्षण गर्दा पद, शक्ति र राजनीतिक प्रभावभन्दा माथि उठेर कानुनका आधारमा निर्णय हुनुपर्छ।
दानबहादुर कार्कीको मुद्दा केवल एउटा व्यक्तिको पदमा पुनर्बहालीको विषय मात्र होइन। यो प्रहरी संगठनको स्वायत्तता, प्रशासनिक स्थायित्व, सरकारको अधिकारको सीमा र विधिको शासनसँग पनि जोडिएको विषय हो।
अन्ततः सर्वोच्च अदालतको अन्तिम फैसलाले नै सरकारले गरेको निर्णय कानुनसम्मत थियो वा थिएन भन्ने प्रश्नको जवाफ दिनेछ। न्यायालयले यस मुद्दामा निष्पक्ष, तथ्यपरक र कानुनसम्मत निर्णय दिन सक्यो भने मात्र न्यायप्रतिको जनविश्वास कायम रहन सक्छ। अन्यथा, शक्तिमा रहेकाहरूले आफूअनुकूल राज्यका संस्थाहरू सञ्चालन गर्न पाउने गलत नजिर स्थापित हुने जोखिम रहन्छ।
नजिर
तत्कालीन गृहमन्त्री वामदेव गौतमले आईजीपी अच्युतकृष्ण खरेललाई पदबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा सरुवा गरे।खरेल आईजीपी भएको ३६ दिन मात्रै भएको थियो।उनको ठाउँमा तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानलाई आईजीपी नियुक्त गरियो। नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग फरक कानुनी व्यवस्थाअन्तर्गत सञ्चालित निकाय हुन्। एउटा सेवाको प्रहरी महानिरीक्षकलाई अर्को सेवामा सरुवा गर्ने स्पष्ट कानुनी आधार नभएको भन्दै सरकारको निर्णयको व्यापक आलोचना भयो।खरेलले आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरे,२०५४ असोजमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार ढल्यो।सूर्यबहादुर थापा प्रधानमन्त्री बने नयाँ मन्त्रिपरिषद्ले अच्युतकृष्ण खरेललाई पुनः आईजीपीमा बहाल गर्ने निर्णय गर्यो।ध्रुवबहादुर प्रधानलाई प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाइयो।खरेलले २०५४ मंसिर २६ गते प्रहरी प्रधान कार्यालयमा पुनः पदबहाली गरे।२०५५ असार १९ गते सर्वोच्च अदालतले सरकारको २०५३ चैत २१ को निर्णय बदर गर्दै खरेललाई साविक पदमा बहाल गराउन परमादेश जारी गरेको थियो।अदालतले सरकारको निर्णयलाई आधार, कारण र औचित्यविहीन तथा बदनियतपूर्ण ठहर गरेको थियो। यो प्रकरणले नेपालमा प्रहरी संगठनको नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप, सरकारको स्वेच्छाचारिता र प्रहरी संगठनको व्यावसायिक स्वतन्त्रतासम्बन्धी बहस जन्माएको थियो।
खरेललाई सर्वोच्च अदालतको अन्तिम फैसला आउनुअघि नै सरकार परिवर्तन भएपछि २०५४ मंसिर २६ गते पुनर्बहाली गरिएको थियो। पछि २०५५ असार १९ गते सर्वोच्च अदालतले सरकारको पुरानो निर्णय बदर गरेको थियो।कार्कीको हकमा भने २०८३ कात्तिक २५ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यसको अर्थ तत्कालका लागि मनोजकुमार केसीले आईजीपीका रूपमा काम गर्न पाउने भएका छन्। तर कार्कीको मुद्दाको अन्तिम फैसला भने आइसकेको छैन।
खरेललाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनाइएको थियो। कार्कीलाई भने प्रहरी संगठनबाहिर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाइएको छ।कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ ले आईजीपीलाई प्रहरी संगठनबाहिरको पदमा यसरी सरुवा गर्ने व्यवस्था नगरेको जिकिर गरेका छन्। खरेलको मुद्दामा सर्वोच्च अदालतले अन्तिम फैसला दिइसकेको छ। कार्कीको मुद्दामा अन्तरिम आदेश अस्वीकार भएको छ, तर अन्तिम न्यायिक निरूपण हुन बाँकी छ।

