नेपाल पत्रकार महासंघद्वारा दोश्रो चरणको आन्दोलन घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासंघले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासंघले  पत्रकारहरुले संसदभित्रका सबै दलको कार्यालयमा धर्नादिने र कालो पहिरनमा प्रदर्शनगर्ने जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले आज जारी गर्नुभएको प्रेसविज्ञप्तिमा यही मंसिर १३ गतेदेखि मंसिर १८ गतेसम्म प्रत्येक दिन बिहान ११ देखि १२ बजेसम्मका लागि महासंघले धर्नाको कार्यक्रम निर्धारण गरेको हो । दोश्रो चरणको कार्यक्रमको अन्तिम कार्यक्रमको रुपमा मंसिर २० गते कालो पहिरनसहित काठमाडौंको माइतीघर र सबै जिल्ला सदरमुकामहरुमा प्रदर्शनगर्ने कार्यक्रम राखिएको छ ।

 प्रेस विज्ञप्तिको पूर्ण पाठ

समाचारकक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत गाडी तेस्र्याउनेलाई हालसम्म कारबाही नगरिएको, गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्काशनलगायत श्रमअधिकारको उल्लङ्घन, लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम नगरेको तथा वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा नेपाल पत्रकार महासङ्घ आन्दोलनरत छ ।

महासङ्घको पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सफलतापूर्वक सम्पन्न भएको सन्दर्भमा सरकारले आन्दोलनलाई अझै नजरअन्दाज गरिरहेको छ । अत: सकारलाई थप दबाब दिन र सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई महासङ्घको मागमा सहमत गराउन दोस्रो चरणमा देहायका आन्दोलन घोषणा गरिएको छ । घोषित आन्दोलनलाई सक्रियतापूर्वक सफल बनाउन महासङ्घ सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछ ।

आन्दोलनका कार्यक्रम

(जिल्ला शाखाले जिल्ला समिति, प्रदेश समितिले प्रदेश समिति र काठमाडौँ उपत्यकाका जिल्ला शाखा, प्रदेश समिति र केन्द्रीय समितिले केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि १२ सम्म गर्ने गरी)

२०८३ मङ्सिर १३ गते : ‘सङ्कटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित रास्वपाको कार्यालयमा एक घण्टा धर्ना दिने ।

२०८३ मङ्सिर १४ गते : ‘सङ्कटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : प्रमुख विपक्षी दल किन मौन ?’ भन्ने नारासहित प्रमुख विपक्षी दल नेपाली कङ्ग्रेसको कार्यालयमा एक घण्टा धर्ना दिने ।

२०८३ मङ्सिर १५ गते : ‘सङ्कटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : विपक्षी दल किन मौन ?’ भन्ने नारासहित भन्ने नारासहित एमाले पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने ।

२०८३ मङ्सिर १६ गते : ‘सङ्कटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : विपक्षी दल किन मौन ?’ भन्ने नारासहित भन्ने नारासहित नेकपा पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने ।

२०८३ मङ्सिर १७ गते : ‘सङ्कटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : विपक्षी दल किन मौन ?’ भन्ने नारासहित भन्ने नारासहित श्रम संस्कृति पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने ।

२०८३ मङ्सिर १८ गते : ‘सङ्कटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : प्रमुख दल किन मौन ?’ भन्ने नारासहित भन्ने नारासहित राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने ।

२०८३ मङ्सिर २० गते : कालो लुगा, कालो पट्टी र कालै माक्स लगाएर काठमाडौँको माइतीघर र काठमाडौँबाहिरको जिल्लाका सदरमुकाममा प्रदर्शन गर्ने ।

नोट : कुनै पनि दलले महासङ्घको मागप्रति लिखित रूपमा ऐक्यबद्धता जनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता जनाए सो दलको कार्यालयमा धर्ना दिइने छैन । यसबिच महासङ्घका माग सम्बोधन नगरिए तेस्रो चरणको आन्दोनलका कार्यक्रम गरिनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित