सम्झनाका केही क्षण

जीवन शर्मा ••
(क) पार्टी निर्णयानुसार २०४० सालपछि एक पटक दिनानाथ शर्माले किसान संघको किताब बोकाएर किसान संगठन बनाउन सिन्धुपाल्चोकतिर पठाउनुभयो । भुङभाङ भन्दा माथि गएर शम्भु पौडेल र उद्धव पौडेलसँग गाउँमा हप्तादिन जति बसियो । त्यही मित पनि लगाइयो ।

त्यहाँ एक जना नारायण विक भन्ने साथी थिए । उनले कोदारी पुगेर दिदीको घरमा गएर संगठन बनाउँ भनेर लिएर गए । हिउँ परेको छ । चिसो छ । बेलुकी केही मान्छेहरु आए । किताब दिएर पठाइयो । रातिमा रक्सी खाएर नारायणका भिनाजु दाङडुङ र डुङडुङ गर्दै आएर ड्याम्म ढोका हाने । हामी सुतिरहेका थियौं । लाइट बालेर हेरे ।

“को फुँडोलाई लिएर सुताइस” भनेर चिच्याए ।

दिदीले भनिन् “को हुने हो रु भाईका साथीहरु हुन् ।”उनले भने – “को को साथी हुन्छन् तेरा रु कति जना साथी हुन्छन् रु”उताबाट ठूलो खुकुरी उचालेर काट्न आउला झैं गर्छ । श्रीमतीले समातेर उतापट्टि खाटमा थचार्छिन । कति बेला काट्ने भो, काल आयो भनेर लुगलुग काँपिएको छ, सिरकभित्र । अर्कोदिन बिहानै जाऊँ भनेको नारायणले भने–“आज रक्सीले छाडेको छ, कुरा गरौं ।” घाममा झोक्राएर आँगनमा बसेका थिए । हामी किसान संगठन बनाउन हिंडेका हौं ।

किसानलाई ऋणले छाडेन, अब तपाई हामी ऋणबाट मुक्त हुन, दुखी गरिबको व्यवस्था ल्याउन संगठित नभएर भएन भन्ने कुरा गरेका त हात जोडेर “गल्ती भयो हजुर” भनेर माफी मागे । आफै गाउँभरीका मान्छे जम्मा गरे । कुखुरा खोजेर काटे । मासुभात खुवाएर पठाएँ । भयो, भयो तातोपानी गएर खाना खान्छौं भनेको पनि खाना खुवाएरै पठाए ।”

(ख) पंचायत कालमै एकपटक डिलाराम आचार्य र मसहित सांस्कृतिक टोली भारतको झारखण्डमा जाँदा नेपालीलाई खोज्दै एउटा बुढी आमाको घरमा बास माग्न पुग्यौं । उनले हामीलाई पसिना गन्हाएका झुत्रे झाम्रे लुगा लगाएको देखेर गाइगोठमा सुत्न भनिन् ।

गाइगोठमा पुग्दा न त्यहाँ कुनै गुन्द्री छ, न बस्ने ठाउँ नै छ । हामीहरु फर्केर फेरि घरमै आएर भन्यौं –“आमा १ हामी बास बस्न तल गोठमै जाउँला । तर हाम्रा एक दुई ओटा गीत त सुन्नुस्” ।

एउटा गीत गाउँदा खासै वास्ता गरिनन् । हामीले गीत गाउँदै गयौं, उनले मन बिगार्दै गइन् र अन्ततः उनले हाम्रो गीतको भावनाले आँसु नै झारिन् र रोइन् । अन्तिममा गीत गाइसकेर अब हामी गोठमा सुत्न जान्छौं भनेको त “भयो भयो बाबुहरु । यही सुत” भनेर हामीलाई आफू सुत्ने खाट नै छोडिदिएर आफू भुँइतिर सुतिन् । त्यो घटना अझै पनि मलाई सम्झना आउँछ ।” (रामबहादुर बुढाद्वारा लिखित जीवन संग्रहबाट)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित