नारायण योगी, केन्द्रीय सल्लाहकार, रक्तिम सांस्कृतिक अभियान ••
नारायण योगी नेपालको कम्युनिष्ट आन्दोलनमा सुपरिचित नाम हो । उहाँले लामो समयदेखि वामपन्थी राजनीति र सांस्कृतिक क्षेत्रमा काम गर्दै आउनु भएको छ । उहाँले आफ्नो बाल्यकालमा नै अन्याय र अत्याचारको पीडा नजिकबाट अनुभुति गरी घटना सुनाउँदै भन्नु भयो–पिताजी बाजेको घरमा खान खाएर रात बिताएर घर फर्कनु भयो । उहाँ फर्केको राति त्यहाँको जिम्वाल भेषराज शर्माले मेरै काका देवीनाथ योगीलाई पनि मतियारको रुपमा सामेल गरी बसन्तपुरमा सानो किराना पसलका धनी केदार भन्नेलाई पनि सहमत गराएर चोरीको आरोपमा तेस्रो दिन पिताजीलाई प्रहरीबाट गढवा ठानामा लगी ठेक्का राखेर निकै यातना दिएर चोरी गरेको कबोल गराए र त्यति बेलाको रु २७००० । बिगो भराउने काम गरेर उक्त सामन्तले आफ्नो घर बनाउँदा बखतको वनवाट चोरी गरेर काठ निकासी गर्दा पिताजीले विरोध गरेको कारण प्रतिशोध लिन यति ठूलो जाल ग¥यो । त्यो बेलामा म कक्षा सातमा अध्ययन गर्दथे मलाई लाग्दछ त्यो बेला “ठूला” भन्नेहरूको, शोषणका विरुद्धमा म मा सुषुप्त अवस्थामा चेतना पैदा भएको हुनु पर्दछ त्यसले कम्युनिष्ट राजनीति प्रतिको आकर्षण बढेको हुन सक्छ ।
उहाँको बुबाको नाम यमनाथ योगी र आमाको नाम भिकादेवी योगी हो । उहाँको जन्म २०१९ साल पुस १० गते दाङ लमही नगरपालिका ६ चौघेरामा भएको थियो । उहाँ जेठो सन्तान हुनुहुन्छ । एक भाई र तीन बहिनी छन् भने उहाँको श्रीमतीको नाम लक्ष्मी क्षेत्री योगी हो भने चार बहिनी छोरीहरू छन् ।
उहाँ २०३५/०३६ कक्षा १० मा अध्ययनको क्रममा नै विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भएर बाल जनता स्कुलमा हडताल गराउने काममा अखिलका विद्यार्थीको तर्फबाट लाग्नु भयो । पछि उहाँ अखिल भारत नेपाली एकता समाज निर्माण गरेको थाहा पाए पछि उहाँ एकता समाजमा सन् १९८३ मा नगरको सचिव बन्नु भयो । ०४२ सालको ने.क.पा.(मसाल) को विभाजन पश्चात् एकता समाजको उहाँ दिल्ली पक्षको तर्फबाट १९८२ मा दोश्रो सम्मेलनमा भाग लिन दिल्ली जानुभएको थियो र त्यतिबेलाको सल्लाहकारको जिम्मेवारी पाउनु भएको थियो । जब २०४६ सालको जन आन्दोलन सफल भए पछि उहाँ घर फर्के पछि २०४७ देखि दाङ्ग जिल्ला पार्टीको सेकेटरी बनेर २०५१ सम्म काम गर्नुभयो ।
२०५१ मा थारु जनसाँस्कृतिक मञ्चको संयोजक र रक्तिमको जिम्मामा रहनु भएको थियो । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नुमा आमाको प्रभाव उहाँमा प¥यो । घरमा आमाले निकै मिठो स्वरमा गीत गाउनु हुन्थ्यो । उहाँको वंशाणुगत गुण पनि स्वतः आयो । स्कुलमा अध्ययन गर्दा उहाँको सानै देखि अभिनयमा रुचि थियो । क्रान्तिकारी गीत संगीतको क्षेत्रमा औपचारिक शिक्षाको अवसर कहिल्यै जुरेन तर विभिन्न प्रशिक्षणहरूमा सामेल भई सीप विकास गर्ने काम उहाँले गर्नुभयो । उहाँले गीतहरू थारु भाषामा लेख्ने गाउने अभिनय गर्दै आए पनि नेपाली भाषामा कथा, नाटक, सडक नाटक एकांकी पनि लेख्नु भएको छ । फिल्म “फाल्गुन २४” मा खलनायकको भूमिकामा अभिनय पनि गर्नुभएको छ । उनै नारायण योगीसँग बिम्ब अनलाइनका तर्फ बाट लाल बहादुर जाग्रीले गरेको कुराकानीका सम्पादित अंशहरू :
० तपाई लामो समयसम्म रक्तिमको नेतृत्वमा रहेर काम गर्नु भयो । हाल के गर्दै हुनुहुन्छ वैचारिकरुपमा कुन पार्टीस“ग नजिक हुनुहुन्छ ?
– ने.क.पा.(मसाल) को आठौँ महाधिवेशनको फोरम संचालनको दौरानमा मैले अल्पमतको बिचारलाई समर्थन गरे पछि, म माथि निगरानी बढाउने र मुख्य जिम्मेवारीबाट हटाउने काममा प्रपञ्च रच्न थालियो । तर मेरो सन्दर्भमा त निकै निकृष्ट र व्यक्तिगत स्वतन्त्रता समेत हनन् हुने गरी मेरो फोन, टेपिङ्ग गरियो र त्यसैका आधारमा कार्वाही गरेर रक्तिमको संयोजक र पार्टीको सबै जिम्मेवारीबाट हटाउने कार्य गरियो जो निकै अन्यायपूर्ण कार्य हो । उक्त घटना पछि म ने.क.पा. (मसाल) को समन्वय समितिसंग जोडिएर रहेको हुँ । हाल नेकपा(मशाल) मा छु । हाल मैले नेपाली र हिन्दी भाषाका चारवटा गीतहरूको (अडियो) प्रकाशनको तयारीमा छु र एउटा डुंगाको कथा नामक संस्मरण लेखिरहेको छु । मैले करिव ११ वर्षसम्म राप्ती नदीमा डुंगा चलाउने माझीको काम पनि गरे । त्यसका निकै रोमाञ्चक, रोचक र रमाइलो क्षणहरू छन् । तात्कालिन समयमा मानिसहरूले कसरी आफ्नो जीवन निर्वाह गर्न कति जोखिमहरू मोलेर अगाडि बढ्थे । नदीसँग जोडिएको अरु थुप्रै मिठा तीता क्षणहरू पनि छन् । जब राप्ती नदी वर्षातमा आफ्नो रौद्र रुप लिएर यस फाँटमा ओर्लने गर्दथ्यो त्यो बेलामा यहाँका मानिसहरूका संवेदना, भय, त्रास, आतंकको कस्तो खुशी, रोमाञ्च हुन्थ्यो यसको जानकारी छ । यस्तै डुँगाले हामी माझीहरूको दैनिक जीवनमा कति महत्व राख्दथ्यो त्यो बेला यसैगरी त्यो बेलामा नुन, चिनी, मट्टीतेल, लत्ताकपडा, खरिद गर्न लाम लागेर कोइलावास जाने । रोल्पा,रुकुम, प्यूठान, सल्यान, दाङ्गका वटुवारुहरूका कथा व्यथाहरू पनि यस पुस्तकमा केही राख्ने प्रयत्न गरेको छु ।
० कम्युनिष्ट आन्दोलनको अवस्था कस्तो रहेको छ ? टुटफुट र विभाजनले कम्युनिष्ट कमजोर हुँदैछन् भन्ने आरोप बारे के भन्नु हुन्छ ?
– नेपालको कम्युनिष्ट आन्दोलन मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलन नै टुट फुट, एकता, संघर्ष,एकताको इतिहासले भरिएको छ द्वन्द्ववादले जहिले पनि वर्ग संघर्षको नियमलाई आत्मसात गर्दै आएको छ । समाजको प्रतिविम्ब कम्युनिष्ट पार्टीमा देखा पर्नु स्वाभाविक नै छ । दक्षिणपन्थी संशोधनवादीहरू, सत्ता स्वार्थ, पद लोलुपता, आफ्नो हितलाई ध्यानमा राखेर टुट फुटमा सामेल हुन्छन् र त्यो मिल्दा राता रात पनि मिल्छन् । तर क्रान्तिकारी कम्युनिष्टहरू विचारको रक्षाका लागि र जनताको पक्षमा जीवन पर्यत्न संघर्षमा लागिरहन्छन् । तसर्थ सिद्धान्त रक्षाका लागि गरिने फुट स्वाभाविक छ । जहाँसम्म कम्युनिष्ट कमजोर बन्दैछन् भन्ने कुरा त्यो सही छैन् स्टालिनले कम्युनिष्टहरू इस्पातले बनेका हुन्छन् भनेका छन् । त्यसकारण कमजोर देखाएर प्रतिक्रियावादी शक्तिहरूले आफ्नो दुनो सोझो गराउन चाहन्छन् । अहिले देशमा कम्युनिष्ट आन्दोलन उठान गर्न निकै उर्बरा अवस्था छ तर संशोधनवादी कम्युनिष्ट पार्टीहरूले अपनाएका गलत कार्य र भ्रष्ट पद्धति साथै स्वार्थ परायणको कारण असन्तोष बढेको छ । जनतामा वर्गीय चेतना कमजोर भएका कारण पनि यो स्थिति देखा परेको हो । कार्यगत एकता संयुक्त मोर्चा बनाएर पार्टी एकता पनि गरेका उदाहरण हाम्रा सामुमा छन् ।
० तपाईको पार्टीभित्र चलेको अन्तरसंघर्षले रक्तिम परिवारमा पनि केही असर पर्यो कि ?
– निश्चित रुपमा पर्यो सबै भन्दा चाडै र धेरै असर पर्यो रक्तिमको मोर्चामा । किनकि विश्वको कम्युनिष्ट आन्दोलनका सन्दर्भमा स्वयं, चीनमा माओले सर्वहारा सांस्कृतिक क्रान्तिकालमा चलाएका ती सर्वहारा सांस्कृतिक आन्दोलनलाई त्यहाँको दक्षिणपन्थी संशोधनवादी पार्टीहरूले माओको निधन पछि त्यहाँका क्रान्तिकारी सांस्कृतिककर्मीहरू च्याङ्ग चिङ लगायतलाई ग्याङ्ग अफाफोरको नामाकरण गरेर अपराधीको संज्ञा दिएर गिरफ्तार गरेर जेलमा हाले त्यसपछि नै त्यहाँ आफ्नो दक्षिणपन्थी नीतिलाई संशोधनवादीहरूले अगाडि बढाउने काम गरे । यहाँ पनि अनुशासनको डण्डा चलाएर सबैभन्दा पहिले जीवन शर्मालाई पोखराको राष्ट्रिय सम्मेलन भोलि जस्तो छ आज सम्मेलन स्थगित गरेर देश प्रवासमा रहेका सम्पूर्ण क्रान्तिकारी रक्तिमका कलाकारहरूको मानमर्दन गर्ने काम भयो । जसले रक्तिम केही समय पछि छिन्न भिन्न हुन पुग्यो । यसो गर्नुका पछाडि दक्षिणपन्थी विचारका लागि जव क्रान्तिकारी गीत, संगीत, साहित्य सबै घाँडो बन्न थाल्दछन् । त्यसपछि यस्तो अवस्थाको सिर्जना गरिन्छ । अनुशासनको पालना सापेक्ष हुन छ त्यो कुनै यान्त्रिक नियम होइन । त्यसलाई परिस्थिति अनुसार कडा र खुकुलो बनाई लागु गरिन्छ । यसले के देखाउँछ भने, नेतृत्वले केवल आफ्ना विरोधीलाई सखाप पार्नका लागि मात्र दुई लाईनको संघर्ष (फोरम) संचालन गरिएको कुरा व्यवहारले पुष्टि गर्यो ।
० तपाइँका रचनाहरू के के छन ?
– मैले हालसम्म प्रकाशित गरेका रचनाहरूमा “सौकी” कथा संग्रह (२०७३) जनतनके गीत भाग –१ (२०४८) आइलरे मई दिन (२०५१) गाउँहमार २०५६, जनता सुस्केराहरू २०७१–रहेका छन्। अप्रकाशित कृतिहरू कविता संग्रह –१ सडक नाटक संग्रह –१ परदेशीको कथा – नाटक आदि रहेका छन् –सौकी कथा संग्रहका बारेमा डा. अमर गिरी लेख्छन् “सौकी” कथामा जमिन्दारको ऋणमा चुर्लुम्म डुबेको कमैया परिवारको पीडालाई प्रस्तुत गरिएको छ । थोरै ऋण लिएर पनि व्याजको स्याज बढदै जाने र तिरेर कहिल्यै नसकिने यथार्थलाई कथामा प्रस्तुत गरिएको छ ।
० राजनैतिक जीवनको अविस्मरणीय क्षण, घटना भए बताई दिनु हुन्थ्यो कि ?
– देशमा ने.का.को सरकार थियो । ने.का. को सरकारले देशभरी दमनचक्र संचालन गरिसकेको थियो । २०४९ सालको कुरा हो । ने.क.पा. (मसाल)ले रोल्पामा त्यहाँ एउटा सभा राख्ने र त्यहाँ वक्ताको रुपमा मुख्य वक्ता ने.क.पा.(मसाल)का प्रवक्ता, एक पि.बि.एम. चित्र बहादुर के.सी जाने ठेगान भएको थियो । त्यहाँ जानका लागि हामीहरू प्यूठान हुँदै रोल्पातिर चित्र बहादुर के.सी., भेष बहादुर के.सी. जितेन्द्र सिंह लगायत हिंडयौ र राति लिवाङ्ग पुग्यो । भोलिपल्ट सभा गर्ने कुरा थियो । हामीहरूले सल्लाह गरेर एक दिन चन्दा संकलन गर्ने र केही साथीहरूले वाल पेन्टिङ्ग गर्ने भनेर जिम्मेवारी बाडफाँड गरी निस्क्यौ । चित्र बहादुर के.सी. सहित, म भेषबहादुर के.सी., राज कुमार कक्षपति, जितेन्द्र सिंह आदि चन्दा संकलन गर्न बजार तिर हिंड्यौं चन्दा संकलन गर्न थालेको केही बेरमै हामीहरूलाई प्रहरीले लिवाङ्गमा निषेधाज्ञा जारी गरी गिरफ्तार ग¥यो ।
वालपेन्टिङ्गमा गएका साथीहरूलाई पहिल्यै नै कुट्दै ल्याएर खोरमा थुनिसकेको रहेछ । हामीहरूलाई डि.एस.पी.खडकाले आफै कटिबासले लाठीले कुटदै लात्तीले हिर्काउँदै खोरमा थुन्यो । चित्र बहादुर के.सी. लाई कुटपीट त गरेन तर जाउँ भनेर ल्याएर डि.एस.पि. कार्यालयको प्राङगणमा केही बेर उभ्याएर राख्यो, एक कप चिया पनि खान दियो । त्यो गुफा जस्तो खोरमा हामीलाई १३ दिन पनि १३ महिना जस्तो लाग्यो । उक्त राजद्रोहको मुद्दा लागि सकेपछि सायद ९ दिन पछि हामीलाई बयानको लागि बोलाइयो । रोल्पा जिल्ला अदालतमा उक्त मुद्दा सफाइ पनि पायौं । तर अनौठो कुरा के छ भने चित्र बहादुर के.सी.जो पार्टीको पि.वि.एम. र प्रवक्ता हुनुहुन्थ्यो त्यस दिन हामीलाई खोरमा हाल्यो उहाँ बाहिर निस्किनु भयो । हामीसँग भेट पनि नगरी कता भाग्नु भएछ उहाँको त नाकमुख नै देख्न पाइएन ।
० अन्त्यमा केही छ कि ?
– धेरै कुराहरू माथि आइसकेका छन् तैपनि संक्षेपमा देशमा केही समय यता खास गरेर एम.सी.सी. को परियोजना पास भै सके पश्चात् नेपाललाई ठूला शक्ति राष्ट्रहरूले यो वा त्यो बहानामा देशलाई रणमैदान बनाउने गुरु योजना सहित काम गरेको देखियो यसमा सम्पूर्ण देशभक्त र गणतान्त्रिक शक्तिहरू एक भएर संघर्षलाई अगाडि बढाउनु पर्ने बेला आइसकेको छ । देशमा मंहगी भ्रष्टाचार, कमिसन खोरी सबैले जनताको ढाड सेकिएको छ तर सत्तासीन व्यक्तिहरू मुकदर्शक बनि सत्ताको खेलमा रमाइरहेका छन् । यो निकै चिन्ता र गम्भीर कुरा हो ।

