सकस नायक ••
१. अर्थ
कुनै पनि चीज वा वस्तुबिशेषलाई सामान्य रुपमा बुझ्नको लागि त्यसको ऐतिहासिक पृष्टभूमि बुझ्नु अनिवार्य शर्त हो । हामीले हाम्रो सन्दर्भमा लघुवित्त भन्दासाथै सानो आकारको वित्तीय कारोवार भन्ने बुझ्न सक्दछौं । शाब्दिक रुपमा लघु भन्नाले लामो–ठूलो नभएको, छोटो वा सानो, अलिकति, थोरै र वित्त भन्नाले धनमाल, जायजेथा, सम्पत्ति, अर्थ, ऐश्वर्य, सामथ्र्य, शक्ति (नेपाल नेपाल बृहत् शब्दकोश) भनेर बुझ्दछौं । त्यसरी नै Micro भन्नाले small, on a small scale र Finance भन्नाले money used to run a business, an actively or a project, the activity of managing money especially by a government or commercial organization (Oxford Learner’s Dictionary) भनेर बुझ्दछौं । यसका आधारमा भन्दा लघुवित्त भनेको सानो आकारमा व्यवसाय वा परियोजना संचालनका लागि सरकार वा व्यवसायिक संस्थाहरूद्वारा प्रवाह गरेको पूँजी भनेर बुभिन्छ । लघुवित्तले मुख्यतया सानो आकारको कर्जालाई जनाउँछ जुन कम आय भएका मानिस र परिवारहरूलाई प्रदान गर्ने गरिन्छ ।
२. परिभाषा
विभिन्न विद्वानहरूका विचारहरूका साथै संस्थाहरूका भनाईले लघुवित्तका सम्बन्धमा थप स्पष्ट पार्ने भएकाले त्यो संग सम्बन्धित केही भनाइ र परिभाषाहरूलाई संक्षिप्तमा राख्ने प्रयास गर्नेछौं ।
क) “It refers to the provision of financial services to low–income clients, including the self employed”. —Ledgerwood, 2000″. लेजरवुडका अनुसार लघुवित्तले स्वरोजगार सहित न्यून आय भएका ग्राहकहरूको वित्तीय सेवाहरूको प्रावधानलाई जनाउँछ ।
ख) Microfinance is defined as formal scheme designed to improve the well being of poor through better access to saving and services loans—Schreiner, 2000 श्राइनरले लघुवित्तलाई वचत तथा सेवा ऋणमा राम्रो पहुँचको माध्यमद्वारा गरीबको हितमा सुधार गर्न तयार गरिएको औपचारिक योजना भनेका छन् ।
ग) “The provision of a broad range of Financial services such as deposits, loans, money transfer and insurance to small enterprise and households”. — ADB” एशियाली विकास बैंकले साना उद्यम र घरपरिवारलाई निक्षेप, ऋण, मुद्रा स्थानान्तरण र बीमा जस्ता वित्तीय सेवाहरूको विस्तृत दायराको प्रावधान मानेको छ ।
घ) “Microfinance as “a credit methodology that employs effective collateral substitutes to deliver and recover short term working capital loans to micro entrepreneurs”. —CGAP” कन्जल्टेटिव ग्रुप टु असिस्ट द पुअरले लघुवित्तलाई साना उद्यमीहरूलाई छोटो अवधिको संचालन पूँजी र ऋण प्रदान गर्न र पुनः प्राप्त गर्न प्रभावकारी धितो विकल्पहरू प्रयोग गर्ने कर्जा विधिको रुपमा लिएको देखिन्छ ।
उल्लेखित विभिन्न विद्वानहरू तथा संस्थाहरूको परिभाषाका आधारमा लघुवित्त (Microfinance) भन्नाले वचत, कर्जा, मुद्रा स्थानान्तरण र बीमा जस्ता माध्यमहरूको प्रयोगद्वारा न्यून आय भएका घर परिवारहरूलाई धितोको विकल्प प्रयोग गर्न सक्ने गरी उद्यम संचालन गरी, स्वरोजगार बन्नको लागि औपचारीक योजना सहितको प्रावधानको रुपमा बुझ्न सकिन्छ ।
३. ऐतिहासिक पृष्टभूमि
शाब्दिक अर्थमा ठ्याक्कै लघुवित्त शब्दको प्रयोग कहिले देखि भयो भन्ने सन्दर्भलाई नियाल्दा प्रा. डा. मोहम्मद युनुसलाई सम्झनु उपयुक्त होला तर न्यून आय भएका र गरीबीको चपेटामा परेका व्यक्ति, परिवार र समुहहरूको कल्याणका लागि कर्जा लगायत अन्य प्रकारका कार्यक्रमहरू मो. युनुसको उदय पूर्व देखि नै संचालनमा रहेका देखिन्छन । यही सिलसिलालाई जोड्ने हो भने लघुवित्त कुनै नयाँ अवधारणा होइन, साना कारोवारहरू १८ औ शताब्दी देखि विद्यमान थिए । सानो आकारको कर्जाको हकमा आयरिश कर्जा कोष प्रणाली (Irish loan fund system) लाई प्रथम कर्जा कोषको श्रेय दिइन्छ जसलाई जोनाथन स्विफ्टद्वारा संचालनमा ल्याइएको थियो जसको लक्ष गरीब आयरिश (Irish) नागरीकहरूको जीवनस्तर सुधार गर्नु थियो । १९७० को दशकमा आइपुग्दा लघुवित्त लोकप्रिय बन्न पुगेको देखिन्छ ।
विपन्न र अति विपन्न वर्गमा आयआर्जन र रोजगारी सिर्जना गर्ने उदेश्यबाट लक्षित गरी संचालन गरिने कर्जा र वचत सम्बन्धी कार्यक्रमलाई लघुवित्त कार्यक्रम भन्न सकिन्छ । बि.सं. १९९४ सालमा नेपाल बैंक लि. को स्थापना पश्चात नेपालमा बैंकिङ युगको शुरुवात भए पनि त्यसको पहुँच विपन्न बर्ग सम्म पुग्न सकेन । नेपालको हकमा लघुवित्तको संस्थागत रुपमा थालनी २०१२ सालमा चितवनको राप्तीदूनमा बाढी पीडित सुकुम्बासी परिवारहरूलाई लघुकर्जाको प्रवाह गरेर शुरु गरेको पाइन्छ । तर त्यसले मात्र समग्र नेपालको आवश्यकता पुरा गरेको नभै त्यो एउटा बिशेष क्षेत्रको बिशेष कार्यक्रमको रुपमा रहेको आर्थिक कार्यक्रम थियो । नेपालको हकमा राज्यले नेपाललाई हाल सम्म पनि कृषि प्रधान मुलुक मान्दै आएको र कृषिको विकासका लागि मल, बीउ, कृषि औजारका साथै कृषि ऋणको समेत आवश्यकता पर्ने भएकाले त्यसको आपूर्तीका लागि प्रारम्भमा साहुमहाजनहरूले बिभिन्न रुपमा कर्जा प्रवाह गरेको अवस्था देखिन्छ । सरकारको तर्फबाट संस्थागत रुपमा “राष्ट्रको आर्थिक बिकास कृषिमै आधारित भएको हुँदा कृषि बिकासमा बढी भन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक हित र सुबिधा कायम गर्न कृषि क्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पूँजी तथा ऋण उपलब्ध गराउने” उद्देश्य लिई सहकारी ऐन २०१९ अनुसार २०२० सालमा सहकारी बैंकको स्थापना भएको देखिन्छ ।
संस्थागत रुपका यसप्रकारका संस्थाहरूले समेत माग अनुरुपको कार्य सम्पादन गर्न असमर्थ बनेको समयमा कृषि विकास बैंक ऐन २०२४ अनुसार २०२४ साल माघ ७ गते कृषि विकास बैंकको स्थापना भएको देखिन्छ । कृषि विकास बैंकको स्थापना पश्चात २०१९ सालमा स्थापना भएको सहकारी बैंक समेत कृषि विकास बैंकमा गाभिन पुगेको पाइन्छ । सहकारी बैंकको कृषि विकास बैंकमा विलयन पश्चात कृषि क्षेत्रमा कर्जा प्रदान गर्दै जाँदा कतिपय समस्याका वावजुद संचालनमा रहेको भूमिसुधार वचत संस्थान समेत २०३० सालमा कृषि विकास बैंकमा गाभिन पुगेको देखिन्छ । यसरी लघुवित्त र कृषिको क्षेत्रमा वित्तीय रुपमा कार्य गर्ने सबै संस्थाहरूको एकिकरण भएपछि एकद्वार प्रणालीबाट विशेषत देशको ग्रामिण क्षेत्रमा व्यक्तिगत तथा संस्थागत रुपमा कर्जा प्रवाह हुँदै आएको देखिन्छ ।
राज्यका विभिन्न प्रयासका वावजुद पनि जनसंख्याको ठूलो हिस्सा राज्यको औपचारिक सेवाबाट बञ्चित हुनुका साथै देशको आर्थिक विकासको मूलाधारबाट समेत वाहिर रहेको अवस्था समेतलाई मध्यनजर गरेर बिशेषत ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका कृषि पेशामा आश्रित साना किसानहरूको आर्थिक अवस्थामा सुधार ल्याउन सन १९५० को दशक देखि नै नेपालमा विभिन्न कृषि तथा ग्रामीण विकासका कार्यक्रमहरू संचालन हुँदै आएका थिए । तर गरीबहरूका लागि संचालित यसप्रकारका विभिन्न कार्यक्रमहरूबाट पनि गरीबहरू लाभान्वित हुन नसक्दा गरीबहरूको लागि मात्र संचालित कार्यक्रमहरूको आवश्यकता अपरिहार्य बन्न पुग्यो । सन १९७५ मा UNDP र FAO ले एशियाका ९ वटा देशहरू नेपाल, भारत, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, लाओस, दक्षिण कोरीया, फिलिपिन्सका ग्रामिण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने आर्थिक अवस्था कमजोर भई सुबिधाबाट बञ्चित गरीबीको रेखामुनीका साना मोही र कृषि श्रमिकहरूका लागि आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउने गरी बिशेष कार्यक्रम संचालन गर्न ५ बुँदे सुझाब दिए अनुरुप उक्त कार्यक्रम गर्न नेपाल, बंगलादेश र फिलिपिन्समा कार्य अनुसन्धान आयोजना (Action Research Project) को रुपमा साना किसान विकास कार्यक्रम संचालनमा आएको हो ।
विभिन्न प्रकारका अवरोधहरूका कारणले तोकिएका कार्यहरू समयमा नै सम्पादन हुन नसकेको परिवेशमा पाँचौ पंचबर्षीय योजना अवधिमा मूलप्रवाहबाट बाहिर परेका बृहद जनसंख्यालाई मूलाधारमा ल्याउनका लागि आवश्यक रणनीतिहरू तय गरी उपयुक्त माध्यम पहिल्याउने जमर्को स्वरुप तत्कालीन सरकारका प्रतिनिधिका साथै Lincoln Institute, USA, UNDP, USAID लगायत कृषि विकास बैंक, स्थानिय विकाससंग संलग्न पदाधिकारी, कर्मचारीहरू र किसानका प्रतिनिधिहरू सम्मिलित समुहद्वारा जनवरी १९७४ मा नुवाकोट र धनुषामा फिल्ड अध्ययन सहितको कार्यशाला गोष्ठी सम्पन्न भएको थियो । उक्त अध्ययन समुहको सिफारिस अनुसार नेपालमा साना किसान विकास कार्यक्रमको थालनी भएको थियो । गोष्ठीको सिफारीस अनुसार २०३२ सालमा परीक्षणको रुपमा पहाडमा नुवाकोट जिल्लाको तुप्चे र तराईको धनुषा जिल्लाको महेन्द्रनगरमा सर्वप्रथम साना किसान विकास आयोजनाको रुपमा कार्यक्रम शुरुवात भएको थियो । ती आयोजनाहरूका सन्दर्भमा तत्कालीन कृषि आयोजना सेवा केन्द्र (APROSC) को मुल्यांकन अध्ययनले कार्यक्रममा संलग्न परिवारको जीवनस्तर कार्यक्रममा संलग्न नभएका परिवारको जीवनस्तरको तुलनामा राम्रो रहेको भन्ने रह्यो भने अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD) को निरीक्षण टोलीले साना किसान विकास कार्यक्रम दक्षिण एशियामै सहभागितामुलक ग्रामिण विकास कार्यक्रमको सर्वोत्तम नमुना रहेको उल्लेख गर्यो “SFDP in Nepal is one of the best models of Participatory rural development Programe in South Asia.” । त्यसरी नै FAO Mission ले “SFDP is a full moon in a dark night” भन्नुका साथै “The Small Farmer is the backbone of Agriculture” भन्यो । यी र यस्तै कारणले सन २००३ मा विश्वका विभिन्न देशहरूबाट ग्रामिण क्षेत्रको विकासका लागि योगदान पु्याउने देशहरूका बीचमा प्रतिष्पर्धा हुँदा नेपालमा संचालित यो साना किसान विकास कार्यक्रम सर्वोत्कृष्ट भई ५० हजार अमेरीकी डलरको अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत पुरष्कृत हुन सफल भएको थियो ।
परीक्षणको रुपमा शुरु भएका ती आयोजनाहरूको नतिजा सकारात्मक आए पश्चात ती कार्यक्रमहरू क्रमशः अन्य जिल्लाहरूमा पनि बिस्ताए भए । बिस्तारको क्रम यसरी अगाडि बढ्यो कि माग अनुसार आयोजनाहरूको बिस्तारको संभावना न्यून हुन पुग्यो । आयोजनाहरूको बिस्तारको उच्चतम रुप भनेको ७५ जिल्लाका ६५२ गा. बि. स. हरूमा ४२२ आयोजनाहरू स्थापना हुन पुग्यो । ती आयोजनाहरूले २ लाख ५४ हजार साना किसान परिवारहरूलाई ४०,२९७ समुहमा संलग्न गराई प्रत्यक्ष रुपमा बहुआयामिक सेवा पु्याएको देखिन्छ ।
कृषि विकास बैंक मातहत संचालित साना किसान विकास आयोजनाहरूको कार्य लघुवित्तको कार्यान्वयन मात्रै नभएर कर्जा प्रवाहका साथसाथै प्रबिधि, तालिम, सामुदायिक पूर्वाधार, समुह गठन, संचालन, महिला विकास, नेतृत्व विकास, समाबेशीकरण, धितो दिन नसक्ने व्यक्ति/समुहको लधुवित्तमा पहुँच, बजार व्यवस्थापन, समुह वचत, बीमा, ग्रामिण बैंकिङ, प्रौढ कक्षा संचालन, प्राथमिक उपचार, परिवार नियोजन लगायतका जनजीवन र जनजीविकासंग जोडिएका आधारभुत तहका कार्यक्रमहरू समेत संचालन ग्यो ।
पाइलट प्रोजेक्टको रुपमा कृषि विकास बैंकले गरीबी निबारणसंग सम्बन्धित ती कार्यक्रमहरू संचालन गर्दै गर्दा दातृ निकायहरू र सरकारले बैंकलाई सहयोग गर्ने र बैंकले कार्यक्रमहरू संचालन गर्दै जाने जुन सहमति देखिन्छ पछिल्ला चरणहरूमा ती एकताका कडीहरू टुट्न थाले पश्चात बैंकले प्राबिधिक सहयोगमा बि. सं. २०४३ साल देखि धादिङ जिल्लामा नवीन खोजको रुपमा “संस्थागत विकास” को चरण प्रारम्भ ग्यो । त्यसको परिणाम स्वरुप साना किसान विकास आयोजनाहरूले गर्दै आएका सम्पूर्ण क्रियाकलापहरूको व्यवस्थापन विधिवतरुपमा स्थापना भएका साना किसान सहकारी संस्था लिमिटेड (SFCL) लाई हस्तान्तरण गर्ने कार्यको शुरुवात भयो । संस्थागत रुपमा परीक्षणको थालनी स्वरुप २०५० सालमा धादिङ जिल्लामा रहेका ४ वटा साना किसान विकास आयोजनाहरू हस्तान्तरण गरेर शुरुवात भयो । कृषि विकास बैंकले आ. ब. २०५६÷०५७ सम्ममा संचालन गर्दै आएका ४२२ वटा साना किसान विकास आयोजनाहरू मध्ये साना किसान सहकारी संस्था लिमिटेडको रुपमा संचालन हुन सक्ने आयोजनाहरूलाई हस्तान्तरण गर्ने र त्यसरी संस्थागत रुपमा संचालन हुन नसक्ने आयोजनाहरूलाई बन्द गर्ने नीति अनुरुप बैंकले कार्य सम्पादन ग¥योे । आ. ब. २०६५/०६६ सम्म यही नीति अन्तर्गत २२८ वटा आयोजनाहरूको व्यवस्थापन हस्तान्तरण भएको देखिन्छ ।
यो कार्यक्रमले सफलता प्राप्त गर्दागर्दैको अवस्थामा यसलाई निरन्तरता दिन नसक्नुमा केही बिशेष कारणहरू छन । बैंकको लागि ती आयोजनाहरू क्रमिक रुपमा बिस्तार गरेर संचालन गर्न प्रक्रिया, पद्धति र खर्च समेतको दृष्टिकोणबाट प्राय असम्भव बन्न पुगेको र दात्री निकायहरू समेतले गर्दै आएको प्राविधिक र आर्थिक सहयोगका हातहरू समेत बिस्तारै खुम्च्याउँदै लगेका र देशमा समेत २०४६ सालको परिवर्तन पश्चात खुल्ला वातावरणमा बैंकहरूको चुनौतीपूर्ण प्रतिष्पर्धाका कारण उच्च नाफा कमाएर बाँच्नु पर्ने अवस्था समेतलाई मध्यनजर गरेर समयानुकूल बैंकलाई परिवर्तनको दिशा दिनु सान्दर्भिक थियो भने अर्कोतर्फ माओबादी आन्दोलनको जबर्जस्त प्रभावको कारण पनि आयोजनाहरू दुर्गम ग्रामिण बस्तीहरूमा रहिरहनु अर्को प्रकारको दुस्साहस समेत हुन्थ्यो । किनकि २०५२ सालको फाल्गुण महिनाको प्रथम प्रहार नै त्यसले खेप्नु परेको अवस्था थियो भने कालान्तरमा त्यसले कति ठूला दुर्घटनाहरूबाट गुज्रनु प¥यो । संक्षिप्तमा उल्लेख गर्नु संभव छैन । साना किसान विकास कार्यक्रमहरू रुपान्तरण भए पश्चात पनि समाजको गतिसंगै बैंक तथा वित्तीय संस्थाहरूको फैलावट केही समय खुम्चिएर सुस्त बन्न पुग्यो । समाज र समयको गतिसंगै पुनः त्यसप्रकारका संस्थाहरूको संस्थागत गतिविधिको चहलपहल संगै क बर्गका वित्तीय संस्था (बाणिज्य बैंकहरू), ख बर्गका बित्तीय संस्थाहरू (विकास बैंकहरू), ग बर्गका वित्तीय संस्थाहरू (फाइनान्स कम्पनीहरू) र घ बर्गका वित्तीय संस्थाहरू (लघुवित्त कम्पनीहरू) को चहलपहलको चरण शुरु भयो । उदारीकरण र खुल्ला बजार नीति संगसंगै बैंकहरूमा पनि कमजोर व्यवस्थापन र प्रविधिको अभावमा घस्रिने घरेलु बैंकहरूले अन्तर्राष्ट्रिय अनुभव प्राप्त बैंकहरूसंग प्रतिष्पर्धा गर्नु पर्ने अवस्था आयो । लघुवित्तको क्षेत्रमा उल्लेखित संस्थाहरू बाहेक अन्य संस्थाहरूले पनि व्यापक रुपमा काम गरेको अवस्था छ यद्यपि नामको हिसाबले तिनीहरूको नाम लघुवित्त संस्था भनेर उल्लेख नभएको अवस्था भए पनि ।
४. वर्तमान अवस्था
लघुवित्तको कुरा गर्दै गर्दा मैले किन यति लामो पृष्ठभूमिमा कृषि विकास बैंकलाई जोड्न खोजिरहेको छु ? त्यसको सटिक जवाफ नपुगे पनि नेपालको सन्दर्भमा लघुवित्तको शुरुवातकर्ता वा अग्रणी कृषि विकास बैक र त्यससंग जोडिएका साना किसान विकास आयोजनाहरू हुन भन्न अत्युक्ति मान्नु पर्दैन । यद्यपि ग्रामीण विकासका मोडेलहरूको कुरा गर्ने हो भने नेपालमा पनि विभिन्न दातृ संस्थाहरू र राज्यका तर्फबाट बिबिध प्रकारका मोडेलहरूको प्रयोग भएको पाइन्छ । उदाहरणको रुपमा –साना किसान अनुसरण कार्यक्रम, सस्थागत विकास कार्यक्रम, एकीकृत ग्रामिण विकास कार्यक्रम, साना तथा घरेलु उद्योग कार्यक्रम, वित्तीय साझेदारी कार्यक्रम, पश्चिम तराई गरीबी निवारण कार्यक्रम, अपाङ्ग स्वरोजगार, स्वरोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम तर ती सबै प्रकारका कार्यक्रम स्थायी प्रकृतिका रहेनन । बंगलादेशमा प्रा. डा. मोहम्मद युनुसले नेपालको साना किसान विकास कार्यक्रमको मोडेल समेतको अध्ययनका आधारमा आफ्नो देशको आवश्कताका आधारमा ग्रामीण बैंक मोडेललाई विकास गरी त्यसले नोबेल शान्ती पुस्कार प्राप्त गरेपछि नेपालका योजनाकारहरूबाट ग्रामिण बैक मोडेल आयात गरी त्यसैलाई लघुवित्तको प्रथम स्वरुप मान्ने प्रचलन रह्यो । उनीहरूले सन २००५ पूर्व लघुवित्त (Microfinance) वाक्यांसको उदय नभएको पनि तर्क गर्दछन । चाहे दुनियाले लघुवित्तका जन्मदाताका रुपमा बंगलादेशी प्रा. डा. मोहम्मद युनुसलाई मानोस हामी आफैले हाम्रा प्रथा, परम्परा र संस्थाहरूको अवमुल्यन गर्न जरुरी छैन । सके त्यसलाई जोगाएर राख्दा अरुको नक्कल गर्नु पर्ने अवस्थाबाट हामी माथि उठ्न सक्ने संभावना कायम रहन्छ ।
तर संस्थागत र औपचारीक रुपको व्याख्या गर्नेहरूले नेपालमा लघुवित्त कार्यक्रमको वास्तविक थालनी २०४९ सालमा ग्रामीण विकास बैंकहरूको स्थापना पश्चात भएको मान्ने गर्छन । तर तिनीहरूका अनुसार पनि नेपालमा रहेका निम्नबमोजिमका संस्थाहरूलाई लघुवित्त कार्यक्रम संचालन गर्ने संस्थाहरूको रुपमा वर्गीकरण गरेको पाइन्छ जबकी साना किसान विकास आयोजनाहरू २०३२ साल देखि नै संचालनमा थिए र २०४९ सम्म आइपुग्दा एक प्रकारको उचाई प्राप्त गरिसकेको अवस्था थियो । प्रा युनुसको संस्थाले पुरस्कार प्राप्त गर्नु पूर्व नै साना किसान विकास कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरको रु ५० हजार डलरको पुरस्कार प्राप्त गरी सकेको थियो भलै नेपालले जसलाई बजारीकरण गर्न सकेन ।
क) ग्रामीण बैंकहरू
ख) साना किसान विकास आयोजना
ग) वित्तीय मध्यस्थताको कारोवार गर्ने गैरसरकारी संस्थाहरू
घ) वचत तथा ऋण सहकारी संस्थाहरू,
ङ) प्राथमिकता क्षेत्र र विपन्न वर्ग कर्जा पद्धति,
च) थोक कर्जा पद्धति,
छ) साना किसान सहकारी पद्धति
हाम्रो सन्दर्भ लघुवित्तसँग जोडिएकोले त्यसको हकमा खुल्लाबजारको नाममा शुरुवाती चरणमा लाइसेन्स वितरण जुन ढंगबाट भयो त्यो सर्बथा गलत थियो । देशको भूगोल र जनसंख्याको सतही सम्म अध्ययन नगरी जसरी लाईसेन्स वितरण गर्ने काम भयो त्यसले संस्थाहरूलाई अब्बल बन्नको लागि आवश्यक पर्ने बस्तुगत र वास्तविक धरातल प्रदान गर्न सकेन । त्यसका वावजुद लघुवित्तहरूले शुरुवाती चरणहरूमा जुन संघर्ष साथ आफ्नो मैदान तयार गरे त्यो राम्रो पक्ष थियो । कैंयौं समुह र व्यक्तिहरूलाई झुप्राहरूबाट उठाएर महलहरू सम्म पु्याए । अहिले सम्म आइपुग्दा पनि हामीले लघुवित्तका अंध्यारा पक्ष र पाटाहरू सम्म मात्र आफूलाई केन्द्रित गर्यौं भने त्यो लघुवित्त प्रति अन्याय हुन जान्छ । हामीले लघुवित्त नियामक निकाय नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभाग वालुवाटार, काठमाण्डौंको गैरस्थलगत सुपरिवेक्षण प्रतिबेदन आ.ब. २०७९/०८० दोश्रो त्रयमास २०७९ पौषका केही तथ्यांकहरूका आधारमा केही विश्लेषण गरेपछि थप संश्लेषण सहित निश्कर्ष निकाल्ने प्रयत्न गर्नेछौं ।

