मनु विक •• सुखियाकी आमाले सुखियालाई जन्माइन । सुखियालाई जन्माउनु भन्दा अगाडि सुखियाकी आमालाई छोरा नै पाउनु पर्ने दबाब थियो । घरमा सासु आमा जेठानी, देउरानी नन्द, अमाजु सबैको चाहना छोरा पाउनु पर्ने थियो । सुखियाकी आमालाई पनि छोरा नै भैदिए हुने थियो जस्तो त नलागेको होइन ।
सुखियाकी आमा र बाबा सुखिया पेटमा आइसकेपछि खुशी नै देखिन्थे । सुखियाकी आमा आफूलाई जति दुःख भए पनि बच्चा पेटमा आइसकेपछि खुशी नै भइन् । जब पेट बढ्दै गयो । सुखियाकी आमाको माइती पट्टीका आमा, बुबा, नातापात सबै खुशी भएका थिए ।
सुखियाको आमाको पेट बढेसँगै जता पनि छोरा नै होओस् भन्ने सुनिन्थ्यो । पेट ठूलो मात्रै त हुँदैन । उसको जन्म हुन्छ । जन्म त पेटमा जे बन्छ त्यसको नै हुन्छ । नबनेको कुराको जन्म हुने कुरा भएन । आखिर महिना पुगेपछि त्यो पेटमा बनेको, बढेको कुराको जन्म भयो । त्यो सबैले सोचेको भन्दा फरक थियो । सुखियाकी आमाले सुखियालाई जीवनमरणमा जन्माइन् । जन्मेको आवाज सुन्ने वित्तिकै त्यहाँ वरपर भएकाले सब भन्दा पहिले यौनांग हेरे । यौनांग त छोरीको थियो, हे । छोरी रहेछ भने, खासै उत्साह छाएन । पछि मात्र हात, खुट्टा मुख हेरे । मुख हेर्दा आँखा त खैरा पो रहेछन् ।
आखिर छोरा छोरी जे भएपनि सुखिया चाहिं पहिलो सन्तान थिइन् । पहिलो सन्तान भएकाले सुखियाकी आमामाथि खासै चर्को गाह्रो भएन, तर जतासुकै हल्ला फैलियो खैरा आँखा छन् । सुत्केरी बेथाले गलाएकी सुखियाकी आमाले जे भए पनि आफू बाँचियो, भनेर आफैले जन्माएकी सन्तानलाई पनि राम्रोसँग हेर्न भ्याएकी थिइनन् तर भेट्न आउने एक जना नातापर्नेले भनिन्–‘तिमीले त खैरा आँखा भएकी पो जन्माइछौं रे त” सुखियाकी आमा डराइन र यसो घाममा निध्याएर आफ्नो छोरीको आँखा हेरिन् । साँच्चिकै आँखाको गेडा कालो कालो हुनुपर्नेमा खैरो खेरो पो रहेछ । उनलाई पनि पीर पर्यो । छोरीका त आँखा काला होस्, आँखा ठूलाठूला होस्, हिस्स परेको, अनुहार होस्, निधार पनि राम्रो होस्, ओठ पनि अत्यन्तै मिलेका होस् र यो छोरीको सुन्दरता पूरा हुन्छ । त्यसमाथि टिकी, गाजल कोरीबाटी गर्दा यो छोरी सुन्दर हुन्छे तर आफ्नो छोरीको त आँखाको गेडा खैरो छ । उनकी आमाले तत्काल ऐना हेरिन, ऐनामा गर्भवती हुँदा बसेको पोत छपक्क देखियो । आँखा यसो चलाइन् तर आफ्नो आँखा त छोरीको जस्तो देखिएन ।
त्यति नै बेला छोरीको बा, उनको श्रीमान अलि नजिक, आए त्यतिबेला उनले अलिकता लजाउँदै आँखामा गहिरो गरी हेरिन । श्रीमानको आँखा पनि त्यस्तो छैन । मनमा चिन्ता लिइन् तर केही बोलिनन् । भेट्न आउने छिमेकी आफ्ना घर तिर लागिन् । सुत्केरी उम्काउने दिन आयो । चोख्याउने दिनमा न्वारानको दिनमा छोरीको नाम राखियो ‘सुखिया । सुखिया दिनदिनै ठूली हुँदै गइन् । आमा, बालाई आफ्नो सन्तान माया नै लाग्यो । बच्चाले देखाएको हाउभाउले पनि बा, आमाको मन जित्ने नै भयो । आँखा काला होउन् या सेता, खैरा होउन् या राता हेर्ने काममा त पूरा नै थियो । सुखियाले सबै कुरा राम्रोसँग हेर्नेमा समस्या थिएन ।
सुखिया ठूली हुँदै गइन् । यताउता हिंडडुल गर्ने भइन् । सबै केटाकेटीले ‘खैरी’ भन्दै जिस्क्याउन थाले । केटाकेटीका बा, आमाले पनि पर्दाखेरी होच्याएर नै बोल्दथे ।
सुखियाका आँखा खैरा भए पनि पढ्न, लेख्न, काम गर्न छेडिएको थिएन । सुखिया पढाईमा पनि सिपालु नै थिइन् । जब सुखिया चौध वर्षकी भइन् तव उनको बिहे गर्ने हतारो भयो । बा, आमा घरछिमेकी सबैले उनको बिहे गराइदिने भने । सुखिया दंग परिन् । “म पढछु लेख्छु, अहिले म बिहे गर्नु हुन्न” भनेर सुखियाले एक वचन त राखी तर आमा बा कोही पनि उसको कुरा मान्ने वाला थिएनन् । उसको बिहे हुने पक्का भयो । उनको बिहेमा उनको बा आमाले चलन चल्तीको भन्दा धेरै पैसा केटालाई दिनुपर्यो । केटा पक्षबाट धेरै मागे । ऋण धन गरेर केटा पक्षलाई दिइयो । सुखिया आफ्नो इच्छा विपरीत लोग्नेको घरमा गई । लोग्नेको घरमा केही दिन बिते ।
लोग्नेको घरमा गइसकेपछि उनकी सासुले भनी, “तँ ‘खैरी’ । खैरा आँखा भएकाले तँलाई यति सानैमा बिहे गरी पठाए । काम केही गर्न आउँदैन ? काम आफै गर । बा आमाले ठूलो भएपछि विवाह हुन मुश्किल पर्छ भनेर यतिबेला बिहे गरेर दिन आत्तिए । बिहे गरेर दिन आत्तिनेले त काम पनि सिकाउनु नि ।” सुखिया दंग परी । एकै चोटी सुखियाका आँखा खुले । आफूले नमान्दा नमान्दै पनि किन बा, आमाले आफूलाई बिहे गरी पठाएका रहेछन् भन्ने बुझिन् । सुखियाका आँखामा आँसु बगिरह्यो । सुखियाले आफ्नो लोग्नेले आमालाई नबोल्नको लागि केही भन्छन् कि भनेर लजाई लजाई पुलुक्क लोग्नेतिर हेरिन् । तर लोग्ने चुपचाप थिए ।
भर्खर बिहे गरेर आएकी बुहारी बोल्नु भएन खासै केही नबोलेर चुपचाप काम गर्ने, पकाएर दिए खाने गरी दिनहरू बित्दै गए । सुिखयाको मनमा बिजेको बोली हराएन । बिर्सन खोजे पनि बिर्सिएन । सुखियाका साथीहरू पढालेखा भए । राम्रो ठाउँमा काम पाए । सुखिया लोग्ने कै वरिपरी घुमिरही । एकदिन निराश भएर मनमा कुरा खेलाउँदै सुतिरहेको बेलामा सपना देखिन–“ सपनामा खैरा आँखा भएका, उमेर पुगेका केटीहरू पनि पढिरहेका थिए । उनीहरूको विवाह भएको थिएन । आफू पनि त्यही मिसिन खोज्दा झल्यास्स बिउँझिईन । बिउँझिएर झ्यालबाट बाहिर हेर्दा उज्यालो हुन लागि सकेछ । उनी झटपट लुगा मिलाएर गोठमा काम गर्न गई रातमा देखेको सम्झिँदै भैंसी र गाईलाई घाँस दिईन र हँसिया नाम्लो लिएर घाँस काट्न गइन् । उसको लोग्ने उठेर बारी खन्न गए । घाँस काट्दा आज किन हो किन सोचमग्न भई । घाँसको मुठी लिंदा पनि राती देखेको सपना पटकपटक मनमा आए । घाँसका मुठा बानिन् । छिटोछिटो एक भारी घाँस बनाएर घरमा आइन घर आउँदा लोग्नेले खाना पकाइरहेका थिए । खान खान पनि कताकता मनले मानेको थिएन । तर सबै जना मिलेर खाना खाए । खाना खाने बेलामा सुखियाले भनिन् हैन, “मैले त आज खैरा आँखा भएको केटाकेटीले ठूलाठूला हुँदासम्म पढेको देखें । उनीहरूसँग आफू पनि मिसिन खोज्दा बिउँझिए ।” उसका कुरा सुनेर सासु आमाले वास्ता नै गरिनन््, लोग्नेले भने, “ओहो राम्रो पो भयो–तर तैले पढ्न पाउने होइन ।”
सुखियाले थपी –“पढ्न नपाए पनि म जस्तै अरुले पनि हुन नपरोस् भनेर बोल्न त सक्छु नि ! आँखा कालो खैरो, रातो, सेतो जस्तो भए पनि राम्रो काम गर्न रोकिन्न भन्न त सक्छु नि ।” सुखियाको कुरा सुनेर लोग्नेले भने –“हो त सक्छन् भन्ने त तँ नै उदाहरण होस् ।” खाना खाए सबै काममा लागे । लोग्ने, स्वास्नी भएर दिउँस दाउरा गर्न गए । दाउरा जाँदा लोग्ने स्वास्नीले सल्लाह गरे– “यस्तो पनि चलन हुन्छ ? चलन त कुचलन हो यसलाई हटाउनु पर्छ । सुखियाले लोग्नेसँग भनी, लोग्नेले कसरी हटाउने ? तँ एक्लै के गर्न सक्छेस ? सुखियाले भनी “म सबैसँग सल्लाह गर्छु अब तपाई र म भएर लाग्नुपर्छ । अरुको कुरा नसुनेर राम्रो काम गर्न हिंड्नुपर्छ ।” लोग्नेले “हुन्छ म त साथ दिन्छु । तर घरमा आमाले, समाजमा समाजले के भन्छ ? उनीहरू दाउराको भारी कसेर घरमा आए ।
लोग्नेले केही नभन्लान जस्तो मानेर सुखिया ढुक्क भई । भोलिपल्ट बिहानै उठेर काम सकेर यताउता सम्पर्क गरी । एउटा समूह बनाएर काम गर्दा आफू सफल हुने मानेर उनी समुह बनाउन हिंडिन । उनका कुरालाई धेरैले पत्याउने कुरा भएन । तर केही त उनी जस्तै थिए । उनीहरू भने उनका कुरामा सहमत भए । उनीहरू सुखियाको अभियानमा लागे । सुखिया एक दिन दुई दिन गर्दै समाजका गलत कुराको विरोधमा लागिन् । केटीहरू प्रति, छोरीप्रति समाजले राखेको गलत धारणाको विरोध गर्न लागिन् । सुखियाको सासु आमालाई पनि कुरा ठीक लाग्न थाल्यो उनी पनि त्यतै सुखियासँग अभियानमा जोडिइन् ।

