दिपक पौडेल ••
हरेक दुख अफ्ट्यारो पर्दा तिमीलाई सम्झन्छु
चट्याङ परि असिना झर्दा तिमीलाई सम्झन्छु
ती वर्ग दुश्मन सङ्गको लडाइँ लड्दैछु म अहिले
हत्यारा सङ्ग सहकार्य गर्दा तिमीलाई सम्झन्छु
गयौ छोडेर त्यो कालो रात हुनेछ बिहानी
मुक्ति युद्धमा भ्रम छर्दा तिमीलाई सम्झन्छु
प्रजातान्त्रिक तथा क्रान्तिकारी विद्यार्थी आन्दोलनका सहिद मित्रमणि आचार्यको स्मरण सबै क्रान्तिकारी तथा वामपक्षीय विद्यार्थी सङ्गठनहरूले गर्दै आइरहेको पाइन्छ । सर्वप्रथम सहीद मित्रमणि आचार्य प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ । आचार्य प्यूठान जिल्लाको तत्कालीन रम्दी गाविस तीघ्रा भन्ने स्थानमा पिता रेशमराज आचार्य र माता पिताम्बरी आचार्यको कोखबाट २०१९ साल आषाढ ११ गते जन्मेका थिए । कक्षा ४ सम्म गाउँमा, कक्षा ५ देखि प्युठानको खैरामा निम्न माध्यमिक शिक्षा प्राप्त गरी मुक्ति माध्यमिक विद्यालय रातामाटाबाट २०३५ सालमा एसएलसी प्रथम श्रेणीमा पास गरेका थिए । २०३६ सालमा रुपन्देहीको पक्लिहवा कृषि क्याम्पसमा प्रमाणपत्रतह पास गरी २०४० सालमा कृषि र पशु विज्ञान अध्ययनको लागि चितवन रामपुर क्याम्पसमा गएका थिए ।
मित्रमणि आचार्य अनेरास्ववियु आठौँ केन्द्रीय समितिका सदस्य र रामपुर क्याम्पसमा स्ववियु सभापति थिए । चितवनका क्याम्पसहरूमा अखिल पक्षको बढ्दो प्रभाव थियो । स्ववियु निर्वाचनमा नेविसङ्घ र मन्डलेहरूले गठबन्धन गरेका थिए । नेविसङ्घ मन्डलेहरूको स्ववियु निर्वाचन जित्ने हतियार नै गुन्डागर्दी थियो, जसका कारण मित्रमणि आचार्यको हत्या भयो । अखिलहरूको प्रभावलाई राजनीतिक रुपमा खन्डन गर्न नसकेपछि आचार्यको हत्या गरि अखिल जनमत खलबलाउन खोजेका थिए । स्ववियु निर्वाचन र विद्यार्थी आन्दोलनमा सक्रिय रहेका आचार्यलाई २०४२ वैशाख १८ गते चितवनको पर्साढापमा पंचायती व्यवस्थाको योजनामा काङ्ग्रेसी गुण्डाहरूले फलामका रड र खुकुरी प्रहार गरि क्रुरतापुर्वक हत्या गरिएको थियो ।
पर्साढाप माविको अभिभावक भेलामा जानेक्रममा ६०/७० जनाको समुहले आक्रमण गरि उनको हत्या गरिएको थियो । प्रतिक्रियावादीहरूले क्रान्तिकारीहरूलाई विभिन्न लोभमा फसाएर क्रान्तिकारी बिचारलाई समाप्त पार्ने र लोभमा नफसेमा झुठ्ठा मुद्दामा जेल हाल्ने, हत्या गर्ने जस्ता क्रियाकलाप गर्छन् भन्ने, मित्रमणि आचार्यको हत्याबाट पनि बुझ्न सकिन्छ । विराटनगरमा फणीन्द्र, चितवनमा शिवप्रसाद लगायत दर्जनौँ क्रान्तिकारीहरूलाई त्यसबेला पंच काङ्ग्रेसको गठबन्धनमा हत्या गरिएको थियो । त्यसप्रकारका हत्याले काङ्ग्रेस प्रतिको घृणा सधै ताजा रहन्छ र रहनु पर्दछ ।
सहिद मित्रमणिको हत्या व्यक्तिगत र समुहगत टक्करका कारण थिएन , त्यो हत्या बैचारिक र राजनीतिक थियो । त्यो लडाइँ क्रान्तिकारी र प्रतिक्रियावादी शक्तिका विचमा थियो । हत्यामा संलग्न गुण्डाहरूलाई कारबाही नगर्नुले प्रशासनको मिलेमतो थियो भन्ने प्रष्ट हुन्छ । प्रतिक्रियावादी शक्ति र क्रान्तिकारी शक्ति विचको सङ्घर्ष अहिले पनि कायम छ । तत्कालीन अवस्थामा मित्रमणि आचार्य रहेको पार्टीका नेतृत्वतहका व्यक्तिहरू अहिले काङ्ग्रेस सङ्गको सहकार्यमा प्रधानमन्त्री बन्ने , सरकारमा सहभागी बन्ने , काङ्ग्रेसी सरकारको समर्थन गर्ने जस्ता घृणित कार्यमा लिप्त बनेर सहिदको अपमान गरिरहेका छन् ।
दलाल संसदीय भ्रष्ट व्यवस्थाको रक्षा र जाबो एक सिटका खातिर विचार राजनीतिलाई बली चडाएर काङ्ग्रेसको रुखमा दु:ख बिसाएर रगतको अवमूल्यन गरेका छन् । उनीहरूले वर्ग दुश्मन प्रतिको घृणा भावना समाप्त पार्न सहमति र सहकार्यको बाटो अङ्गालेर कार्यकर्तामा दक्षिणपन्थी प्रभाव विस्तार गरेकाछन् र क्रान्तिकारी आन्दोलनमा धोका दिएका छन् । हामीले मित्रमणि आचार्यका हत्यारा र मित्रमणिको रगतलाई लिलाम बिक्रि गरेर हत्यारासङ्ग साठगाठ गर्नेहरूको हिसाब किताब राख्नुपर्दछ । क्रान्तिकारी आन्दोलनले सबैको हिसाब चुक्ता गर्नुपर्दछ ।
सरल स्वभाव, जुझारु, क्रान्तिकारी भावनाले ओतप्रोत, समाजमा सजिलोसँग घुलमिल गर्नसक्ने स्वभाव, सामाजिक तथा राजनीतिक कार्यमा सक्रिय, क्रान्ति परिवर्तन प्रतिको सही बुझाई, बर्ग दुश्मन सङ्गको घृणा जस्ता गुणहरू मित्रमणि आचार्यबाट सिक्न सकिन्छ । पार्टी भित्रको अन्तर्विरोधमा क्रान्तिकारी धारको पक्षमा देखिएका आचार्यले सधै क्रान्तिकारी धारमा अगाडि बढ्न प्रेरणा दिएको छ । क्रान्तिकारी आन्दोलन प्रतिको निरन्तरता र वर्ग शत्रु प्रतिको घृणाले नै उनी प्रतिको सही स्मरण र श्रद्धाञ्जली हुनेछ र हुनपर्दछ ।

