सन्त बहादुर नेपाली ••
पाल लफार्गले आफ्नो संस्मरणमा माक्र्सले भन्ने गरेको कुरा लेखेका छन्– माक्र्स भन्ने गर्थे “जसलाई आफूलाई वैज्ञानिक अनुष्ठानमा लगाउने सौभाग्य प्राप्त छ, उसले सबभन्दा पहिले आफ्नो ज्ञानलाई मानव जातिको सेवामा अर्पित गर्नु पर्छ ।” माक्र्सले सधैँ भन्ने गर्थे– “मानव जातिका लागि काम गर ।”
मानव जातिको सेवामा आफूलाई पूर्णतः समर्पण गरेका यी महापुरुषले ६५ वर्ष लामो जीवन सम्पूर्ण रूपले विश्व सर्वहारा वर्गको मुक्तिका लागि वैज्ञानिक खोज अनुसन्धानमै बिताउनु भएको थियो र विश्वका करोडौँ शोषित–पीडित निमुखा सर्वहारा वर्गलाई मुक्तिको उज्यालो बाटो देखाउनु भयो । कार्ल माक्र्सको जन्म ५ मे १८१८ मा जर्मनको त्रियेरमा भएको थियो । त्रियेर प्रसाको राइन प्रान्तमा पर्दथ्यो । स्थानीय हाइस्कुलमा प्राथमिक शिक्षा प्राप्त गरेपछि बोन र बर्लिन विश्वविद्यालयमा आफ्नो उच्च शिक्षा हासिल गर्नु भयो ।
उहाँले प्रसाका गृहमन्त्रीकी बहिनी जेनी फान वेस्टफालेनसित विवाह गर्नु भयो । जेनी वेस्टफालेन (जेनी माक्र्स) बाट दुई छोरा र तीन छोरीहरूको जन्म भयो । दुई छोराहरू सानैमा औषधिउपचारको अभावमा मृत्यु भयो । तीन विवाहित छोरीहरूमा जेठी जेनी लान्गे, माहिली लौरा लफार्ग र कान्छी एल्योनेरा स्वेलिङ थिए । माक्र्सले आफ्नो अध्ययन तथा मजदुर आन्दोलनको क्रममा जीवनको धेरै भाग जर्मन तथा पेरिसमा बिताए पनि जीवनको उत्तराद्र्ध लन्डनमा बिताउनु भएको थियो । १८४४ मा एङ्गेल्ससित पेरिसमा भेट भयो । दुवैले आफ्ना दृष्टिकोणको आदानप्रदान गर्नु भयो । एङ्गेल्स एउटा धनी व्यापारीका छोरा हुनु हुन्थ्यो । तर उहाँ धेरै अध्ययनशील व्यक्ति हुनु हुन्थ्यो । एङ्गेल्सले केही समय सेनामा पनि काम गर्नु भएको थियो । सेनाको काम छाडेर मजदुर आन्दोलनको अध्ययन गर्ने सिलसिलामा माक्र्ससितको भेटघाटले उहाँको क्रान्तिकारी विचारलाई मद्दत पुर्यायो । त्यसपछि माक्र्सलाई मृत्युसम्म साथ दिनु भयो । माक्र्सलाई अत्यन्त आर्थिक अभावको बेलामा एङ्गेल्सले सहयोग गरेको पाइन्छ । एङ्गेल्सको सहयोगकै कारण माक्र्सले आफ्नो लेखन यात्रामा सफलता पाउन सक्नु भयो । जीवनभरि यी दुई महापुरुषको मित्रता कायम रह्यो । संसारमा यस्तो गाढा मित्रता विरलै देख्न पाइन्छ ।
माक्र्सले फ्रान्स, ब्रिटेन, जर्मनी अस्ट्रिया लगायत युरोपेली देशहरूका मजदुर आन्दोलनलाई नजिकबाट हेर्ने र त्यसमा भएका कमी–कमजोरीको मूल्याङ्कन गर्ने अवसर पाउनु भयो । त्यसले उहाँको कम्युनिज्मको सिद्धान्तलाई ठोस रूप दिन मद्दत पुग्यो । १८४८ जनवरीमा कम्युनिस्ट पार्टीको घोषणा पत्र माक्र्स र एङ्गेल्सले तयार पार्नु भयो । त्यो घोषणा पत्रले संसारभरिका श्रमिक जनतालाई ऐतिहासिक वर्गको रूपमा स्थापित गर्यो । त्यसले पुँजीपति वर्गसँगको लडाइँमा सर्वहारा वर्गलाई शक्तिशाली बनायो । यो ऐतिहासिक दस्तावेज विश्वका दुई सयभन्दा धेरै भाषामा प्रकाशित भइसकेको छ । आज पनि यो दस्तावेज जीवन्त, उर्जाशील र प्रेरणादायी रहेको छ र विश्व कम्युनिस्ट आन्दोलनलाई दिशाबोध गरिरहेको छ ।
माक्र्सले विश्वमा नौलो र वैज्ञानिक खोज यो पनि गर्नु भयो कि समाज विकासमा वर्गसङ्घर्षले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । आजसम्मको सामाजिक युगहरूमा आदिम साम्यवादी युग वाहेक अन्य युगहरूमा दुई वटा वर्गहरूको भीषण सङ्घर्षबाट नयाँ रूपमा समाज रूपान्तरण भएको छ । इतिहासमा देखा परेका राजनीतिक वा सामाजिक परिवर्तन त्यतिबेलाको आर्थिक उत्पादन प्रणालीमाथि आधारित रहेको कुरा माक्र्सले औल्याउनु भयो । यस सन्दर्भमा ऐतिहासिक भौतिकवाद उहाँको सर्वथा नयाँ सिद्धान्त हो । वस्तु र समाजको विकासलाई हेर्ने पद्धतिमा पनि गुणात्मक विकास गर्दै द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई प्रतिपादन गर्नु भयो ।
पुँजीपति वर्ग सर्वहारा वर्गलाई कसरी शोषण गर्छ भन्ने कुरा अतिरिक्त मूल्यको सिद्धान्त अगाडि सारेर पुँजीपति वर्गको खुल्ला शोषणलाई प्रमाणित गरिदिनु भयो । माक्र्सले लेखेको पुँजी तीन खण्डमा प्रकाशित भएको छ । यसबाट पुँजीपति वर्गको शोषणको पोल खुलेको छ । यसरी समाजलाई नयाँ दिशा दिने कार्ल माक्र्सलाई उहाँकै कोठामा आरामकुर्सीमा बसेको बस्यै १४ मार्च १८८३ मा मृत्युले अँगालो हाल्न पुग्यो । उहाँ सदाका लागि यस संसारबाट विदा लिनु भयो । ५ मे २०१८ मा माक्र्स जन्मेको दुई शताब्दी पुरा भएको छ । दुई शताब्दी पुरा भएको अवसरमा विश्वभरिका श्रमजीवी वर्गले उहाँको योगदानको उच्च सम्मान गरिरहेका छन् र स्मरण गरिरहेका छन् ।
ब्रिटेन, फ्रान्स,, जर्मनी, अमेरिका लगायतका देशहरूमा सत्रौँ शताब्दी ताक पुँजीवादको विकास हुँदै गएपछि सर्वहारा वर्गको सङ्ख्यामा पनि वृद्धि हुँदै गयो । नयाँ प्रकारको विकासले एक प्रकारले औद्योगिक क्रान्तिको सुरुवात भयो । लाखौँलाख मजदुरहरू शहरहरूमा रोजगारीका लागि केन्द्रित हुँदै गए । पुँजीपति वर्गले मजदुरहरूलाई चर्को शोषण गरेर अत्याधिक मुनाफा कमाए तर मजदुरहरूको जीवनस्तर भने अत्यन्त दुःख र कष्टपूर्ण रहन गयो । आफूहरूले उचित ज्याला पनि नपाएपछि मजदुरहरू पनि स्वतःस्र्फूत रूपमा सङ्गठित हुन र सङ्घर्ष गर्न थाले । यसैबीचमा विभिन्न खाले दर्शन तथा विचारहरूको उदय हुन थाल्यो । अस्पष्ट समाजवादी विचारहरू आउन थाले ।
रोबर्ट ओभेन, सेट साइमन, फुरिए लगायतका विचारकहरूले काल्पनिक समाजवादको विचार ल्याएका थिए । माक्र्स र एङ्गेल्स १८४४ मा पेरिसमा भेट हुनु भयो, यद्यपि उहाँहरू भेट हुनुभन्दा पहिले पनि विभिन्न लेखहरू मार्फत् एक–अर्काका विचारका बारेमा जानकारी भइरहेको थियो । त्यतिबेला फ्रान्सेली क्रान्ति, दर्शनशास्त्र, पुँजीवादी समाजको आर्थिक विकास र त्यसको चरित्र, विभिन्न पँुजीवादी देशहरूमा भइरहेको औद्योगिक विकास आदिबारे उहाँहरू लेखहरू लेखिरहनु हुन्थ्यो । त्यो भेटमा उहाँहरू दर्शन, राजनीति तथा आर्थिक प्रणालीबारे विशद छलफल गरेपछि सबैजसो विषयहरूमा समान धारणा रहेको पाउनु भयो । लन्डनमा न्याय सङ्घ स्थापना भएको थियो । १८४७ मा उहाँहरू त्यसको सदस्य बन्नु भयो । न्याय सङ्घको नाम परिवर्तन गरेर कम्युनिस्ट लिग नामाकरण गर्नुभयो ।
२९ अक्टोबर १८४७ मा लिगको दोस्रो अधिवेशन लन्डनमा बस्यो । त्यो अधिवेशनमा वैज्ञानिक साम्यवादका विचारहरू दर्ता भए । त्यसको लक्ष्य पनि स्पष्ट गरियो– बुुर्जुवा वर्गको तख्ता पल्टाउनु, सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्नु, वर्गविरोधमाथि आधारित बुर्जुवा समाजलाई खतम गर्नु र वर्गरहित वा निजी सम्पत्तिरहित एउटा नयाँ समाजको स्थापना गर्नु । माक्र्स र एङ्गेल्सलाई त्यही अधिवेशनमा समाजवादी आन्दोलनसम्बन्धी दस्तावेज तयार पार्ने जिम्मा दिइएको थियो । उहाँहरूले दिसेम्बर १८४७देखि १८४८ जनवरी दुई महिनामा त्यो दस्तावेज तयार पार्नु भयो– कम्युनिस्ट पार्टीको घोषणा पत्र । त्यो नाम एङ्गेल्सको सुझावका आधारमा राखिएको थियो ।
घोषणा पत्रले अहिलेसम्मका पुराना प्रतिक्रियावादी मूल्य मान्यतालाई उल्टाई दिएको छ । प्रतिक्रियावादीहरू आफ्नो इतिहासलाई अनन्त कालसम्म राख्न चाहन्छन् । आफ्नो इतिहासलाई जनताको इतिहास भनेर जनतालाई कण्ठस्थ पार्न लगाउँछन् । त्यसका पछाडिको उनीहरूको स्वार्थ जनतालाई प्रतिक्रियावादी वर्गप्रति आस्था र विश्वास जगाउनुु हो । जनताले पनि प्रतिक्रियावादी वर्गकै इतिहासलाई आफ्नो अथवा जनताको इतिहास मान्दै आएका थिए । राजदरबारमा पण्डित राखेर दासयुगमा दास मालिकहरूको इतिहास कोरिन्थ्यो । राजदरबारमा पण्डित, पुरोहित र विद्वानहरू राखेर आफ्नो जे गुनगान लेख्न लगाए, जनताले त्यसैलाई जनताको इतिहास ठाने । सामन्तवादी कालमा त्यही भयो । पुँजीवादमा आएर पनि त्यही भयो र हुँदैछ । तर माक्र्स एङ्गेल्सले त्यो अवधारणालाई परिवर्तन गर्दै भन्नु भयो– “आजसम्मको विद्यमान समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।”
समाजमा उत्पीडित र उत्पीडकबीच चाहे त्यो दास मालिक र दास बीच होस्, चाहे त्यो जमिन्दार र गरिब किसानहरूबीच होस्, चाहे पुँजीपति र मजदुरहरूबीच होस्, सङ्घर्षबाट समाजमा परिवर्तन आएको छ । ती सङ्घर्षहरूले कहिलेकाहीँ भीषण युद्धको रूप पनि लिएका छन् । माक्र्स–एङ्गेल्सले इतिहासलाई उत्पादन प्रणालीसित जोडेर समाजको व्याख्या गर्नु भयो । उत्पादन प्रणालीमा उत्पादक शक्ति र उत्पादन सम्बन्धबीच हुने सङ्घर्षले उत्पादन प्रणालीको स्वरूपमा परिवर्तन ल्याउने गरेको छ । त्यसले समाजको स्वरूपलाई नै परिवर्तन गरेको छ । त्यसैले त कुनै बेला दास भएर काम गर्ने श्रमिकहरू सामन्तवादी युगमा गरिब किसानको रूपमा सामन्तहरूको जमिनमा काम गर्दछन् । पुँजीवादी युग सुरु भएपछि तिनै किसान वा शिल्पी कारिगरहरू शहरमा मजदुर भएर जीविकोपार्जन गर्छन्, यसरी पुरानोको ठाउँ नयाँले लिएको छ । पुरानो समाज ध्वस्त हुँदै आएको छ । पुरानो वर्गको स्थान नयाँ वर्गले लिएको छ तर वर्ग विरोध समाप्त भएको छैन । अनि नयाँ वर्गले सङ्घर्षका नयाँ तरिकाहरू अपनाएका छन् । पुरानो सङ्घर्षका तरिकाहरूको ठाउँमा नयाँ नयाँ सङ्घर्षका तरिकाहरू विकसित भएका छन् । उदाहरणका लागि सामन्तवादी कालमा किसानहरूलाई सङ्गठन गर्ने अधिकार थिएन ।
पुँजीवादी कालमा पुँजीवादले मजदुरहरूलाई सङ्गठन गर्ने, भेला हुने, सभा गर्ने, हड्ताल गर्ने अधिकार दिएको छ । तर पुँजीवादले जनतालाई विभिन्न पुँजीवादी अधिकारहरू दिए पनि उत्पादनका साधनहरूमाथि सामूहिक स्वामित्व कायम गर्न दिदैन । त्यसका लागि जनताले बल प्रयोग नगरि सुखै छैन । यिनै ऐतिहासिक तथ्य र वास्तविकताका आधारमा नै माक्र्सले इतिहासका निर्माता जनता हुन भन्नु भयो । यसरी माक्र्स एङ्गेल्सले अहिलेको पुँजीवाद पनि न्याय, समानता र भाइचारामा नटिकेको हुँदा यसको अन्त हुनु र त्यसको स्थानमा अहिलेसम्मकै सबैभन्दा वैज्ञानिक र क्रान्तिकारी वर्ग सर्वहारा वर्गले सत्ता कब्जा गर्नु तथा समाजवादी समाज स्थापना गर्नु अनिवार्य र अपरिहार्य भएको औल्याउनु भएको छ । त्यही सत्यताका आधारमा रूस, चीन, पूर्वी युरोपका देशहरूमा जनताले पुँजीवादलाई ध्वस्त पारेर समाजवाद स्थापना गरेका थिए ।
पुँजीवादी व्यवस्था सामन्तवादी व्यवस्थाभन्दा तुलनात्मक रूपले प्रगतिशील र क्रान्तिकारी व्यवस्था हो । माक्र्सले घोषणा पत्रमा भन्नु भएको छ– “इतिहासको रङ भूमिमा पुँजीपति वर्गले धेरै नै क्रान्तिकारी काम गरेको छ” तर पुँजीवाद जब एकाधिकार पुँजीवाद तथा साम्राज्यवादको स्तरमा पुग्यो, यसको चरित्र प्रतिक्रियावादी भयो । यसले पुँजीको अन्तर्राष्ट्रियकरण गर्यो । कमजोर र अविकसित मुलुक र त्यहाँका शोषित पीडित जनतामाथि बर्बर अत्याचार गर्न थाल्यो । पहिलो र दोस्रो विश्वयुद्ध त्यसैका परिणाम थिए । अब विश्व साम्राज्यवाद तेस्रो विश्वयुद्धको सङ्घारमा पुगिरहेको छ ।
आधुनिक राज्यलाई माक्र्स र एङ्गेल्सले पुँजीपति वर्गको कारोबार चलाउने एउटा समिति वाहेक केही होइन भन्नु भएको छ । पुँजीवादी व्यवस्था जनप्रतिनिधिद्वारा शासन गरिने व्यवस्था हो । जनताले एक वा अर्को दललाई मत दिन्छन् र जुन दलले बहुमत हासिल गर्छ, उसले नै सरकार निर्माण गर्छ । तर जनताको मतद्वारा निर्वाचित सरकारले जनताको हितका लागि काम गर्नेभन्दा पनि पुँजीपति वर्गको सेवा नै आफ्नो प्रमुख कर्तव्य ठान्दछ । उसले गर्ने हरेक कार्य पुँजीपति वर्गको हित विपरीत हुनु हुुँदैन । यदि पुँजीपति वर्गको हित विपरीत काम गर्यो भने पुँजीपति वर्गले सत्ताबाट अनेकौँ बहाना गरेर फ्याँकिदिन्छ । यसरी नै आजसम्मका पुँजीवादी व्यवस्थाहरू सञ्चालित भइरहेका छन् ।
माक्र्सको पालाभन्दा केही बेग्लै कुरा थपिएका छन् । त्यो के हो भने साम्राज्यवाद र सर्वहारा क्रान्तिको आजको युगमा लोकतान्त्रिक भनिने सरकारहरूले पुँजीपति वर्गको ठाउँमा दलाल पुँजीपति वर्गको सेवा गरिरहेका हुन्छन् । त्यति मात्र होइन, दलाल पुँजीपति वर्गको मालिक अमेरिकी तथा युरोपेली साम्राज्यवादको समेत हित पुरा गर्नु पर्ने हुन्छ । कुनै पनि संविधान बनाउँदा, संशोधन गर्दा वा ऐन–कानुन बनाउँदा उनीहरूबाट स्वीकृति लिनु पर्दछ । उनीहरूको चाहना विपरीत कुनै कानुन बनाइयो भने त्यो सरकारलाई उनीहरू सहयोग गर्दैनन् । उनीहरू नाकाबन्दी गर्नसम्मपछि पर्दैनन् । सैनिक हस्तक्षेपसम्म पनि गर्न पुग्दछन् ।
उत्पादनका साधनहरू खास गरेर जल, जमिन, खानी, उद्योग, तेल भण्डार, विद्युत, व्यापार आदिमा दलाल पुँजीपति वर्गको एकाधिकार रहेको हुन्छ । त्यति मात्र होइन, कृषि उत्पादन, बन्य जुडीबुटी, पानी समेतमा उनीहरू पेटेन्टको माध्यमबाट अधिकार कायम गरेका छन् । तरकारी तथा फलफूलमा समेत साम्राज्यवादीहरू पेटेन्ट गरेका छन् । तर हाम्रो देशका लोकल जातका अन्न, तरकारी, फलफूल हामी पेटेन्ट गर्न सकेका छैनौँ । हामी कहाँ पाइने, यार्सागुम्बा, चिराइतो, जटामसी, रातिगेडी, असुरो, तितेपाती, निलपाते जस्ता बहुमुल्य जडीबुटीमा हाम्रो पेटेन्ट छैन । सरकारहरू दलाल भएकै कारण साम्राज्यवादको सेवा वाहेक केही गर्दैन । यसरी कम्युनिस्ट घोषणा पत्रले भने झैँ आधुनिक राज्यसत्ता अब पुँजीवादको मात्र होइन, साम्राज्यवादको समेत “कारोबार चलाउने एउटा समिति” बनेको छ ।
आज पुँजीवादले मानिसलाई “वस्तु” बनाएको छ । मानिसको आफैमा वैयक्तिक मूल्य केही छैन । वैयक्तिक मूल्यलाई विनिमय मूल्यमा गिराइदिएको छ । नागरिकको स्वतन्त्रताको नाममा बाँच्नका लागि आफूलाई पुँजीपति वर्गको हातमा बेच्ने स्वतन्त्रता छ । हामी बाँच्नका लागि श्रम बिक्री गर्न अमेरिका, युरोप, अरब, कतार, मलेसिया, अस्टे«लिया, जापान, भारत जान स्वतन्त्रता छ । तर जमिन्दार वर्गको हातमा रहेको लाखौँ हेक्टर जमिन खोसेर सबै मिलेर उत्पादन वृद्धि गर्ने स्वतन्त्रता छैन । सरकारले गरेका अन्यायपूर्ण निर्णयको विरोध गर्ने स्वतन्त्रता छ, तर त्यसलाई बदल्ने स्वतन्त्रता छैन । उदाहरणका लागि राष्ट्रिय हित विपरीत सरकारले महाकाली, अपर कर्णाली, अरूण तेस्रो कौडीको मूल्यमा भारतलाई दिएकोमा विरोध गर्ने नागरिकको अधिकार छ, तर त्यो खारेज गर्ने अधिकार छैन । पुँजीवादमा प्रत्येक नागरिक बिकाउमा छ । प्रत्येकको अलग अलग मूल्य छ । दक्ष र योग्यको धेरै मूल्य पर्छ । अदक्ष र कमयोग्यहरूको कम मूल्य छ । पुँजीवादको यो विशेषताबारे माक्र्स एङ्गेल्स घोषणा पत्रमा भन्नु भएको छ– “वुर्जुवा वर्गले मानिसको वैयक्तिक मूल्यलाई विनिमय मूल्य बनाइदियो ।”
समाज विकासको इतिहासले के प्रमाणित गरेको छ भने कुनै पनि प्रतिक्रियावादी व्यवस्थाभित्र त्यसलाई समाप्त गर्ने अर्को व्यवस्थाको भ्रुण पलाइरहेको हुन्छ र अनुकूल समयमा त्यसले पुरानो व्यवस्थालाई ध्वस्त पारेर नयाँ व्यवस्थालाई जन्म दिन्छ । सामन्तवादभित्र पुँजीवादको भ्रुण पलाइरहेको थियो । त्यही पुँजीवादले सामन्तवादलाई समाप्त पार्यो । पुँजीवाद पनि शोषणयुक्त व्यवस्था भएको हुनाले त्यसले पनि सर्वहारा वर्गलाई जन्माइरहेको छ । सर्वहारा वर्गले नै पुँजीवादी व्यवस्था समाप्त पारेर त्यसको ठाउँमा समाजवादी व्यवस्था स्थापना गर्नेछ ।
समाजवादमा वर्गहरू रहँदैनन् । त्यसपछि साम्यवादमा वर्गसङ्घर्षको स्थान प्रकृतिसितको सङ्घर्षले लिन्छ । प्रकृतिबाट अधिकतम दोहन गरेर समाजको सेवा गरिन्छ । घोषणा पत्रमा भनिएको छ– “जुन हतियारद्वारा पुँजीपति वर्गले सामन्तवादलाई खतम गरेको थियो, आज सोही हतियार उसैको विरुद्धमा भइसकेको छ । पुँजीपति वर्ग खालि त्यस्ता हतियार मात्र छोडेको होइन, जसले उसलाई खतम गर्छ, बरु उसले त्यस वर्ग अर्थात् मजदुर वर्गलाई पनि पैदा गरेको छ, जसले ती हतियारहरू उसैका विरुद्ध चलाउँछ—त्यो हो– आजका मजदुर, आजको सर्वहारा वर्ग ।” पुँजीवादले हिजोसम्म समाजमा सम्मानित व्यक्तिहरू, जस्तो कि डाक्टर, बैद्य, कवि, वैज्ञानिक, शिक्षक सबैलाई एउटा ज्यालादारी मजदुरमा फेरि दिएको छ । उनीहरूको ज्ञान, सिप, कला तथा योग्यता आज बजारमा बिकाउ माल बनेको छ । बजारमा ऊ स्वयं बिकाउ माल बनेको छ । बजारमा उसको योग्यता बिकेन भने ऊ भोकै मर्नु पर्छ । उसलाई सरकारले हेर्दैन, समाजले हेर्दैन । ऊ जति सुकै सक्षम र ज्ञानी भए पनि पुँजीले त्यसलाई आफ्नो कब्जामा राख्न सक्छ । आधुनिक पुँजीवादमा मजदुरहरूको अन्य कुनै चासो हुँदैन । उसले उद्योगमा जाने, दिनभर काम गर्ने, घर फर्कने र भोलि काममा जानका लागि तयार हुने, यही दिनचर्या रहन्छ । त्योभन्दा बाहिर उनीहरूको अन्य चासो राख्ने समय नै हुँदैन । “मजदुरहरूलाई सेना झैँ सङ्गठित गरेर उनीहरूबाट काम गराइन्छ ।” मजदुरहरू खालि पुँजीपतिबाट मात्र शोषित छैनन्, “कारखानाबाट बाहिर पाइला राख्ने बित्तिकै पुँजीपतिहरूकै सह बन्धुबान्धव, घरपति, पसले, महाजन आदिले पनि मजदुरहरूलाई अन्याय र शोषण गर्छन ।”
पुँजीवादी समाजमा मजदुरहरू सबैतिरबाट शोषित हुन्छन्, लुटिन्छन्, काम गरेर पनि छोराछोरीको भविष्य निर्माण गर्न सक्दैनन् र आफ्नै जीवनकाल पनि सुखपूर्वक बाँचन नसक्ने भएपछि सिङ्गो पुँजीवादी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न तत्पर हुन्छन् । घोषणा पत्रमा भनिएको छ– “आफ्नो विरोधमा लडनका लागि मजदुरलाई हतियारले युक्त बनाउने काम पुँजीपति वर्गले आफै गर्छ ।”
यी कुरा माक्र्स एङ्गेल्सले भावावेशमा वा कल्पनामा आधारित भएर भन्नु भएको होइन, इतिहासको द्वन्द्वात्मक भौतिकवादी विश्लेषण गरेर भनिएका कुराहरू हुन । समाज परिवर्तनमा कुनै व्यक्ति वा समूहको आकाङ्क्षा वा प्रयत्नको आवश्यकता पर्दैन भन्ने होइन, तर त्योभन्दा पनि गुदी कुरो यो हो कि वर्ग विरोध कुन रूपमा अगाडि बढ्छ, त्यसले सबै कुराको फैसला गर्छ ।
आज पुँजीवादले भूमण्डलीय स्वरूप ग्रहण गरिसकेको छ । संसार निकै सङ्कुचित बन्दै गएको छ । अध्ययन वा कामका लागि विश्व भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले कुनाकाप्चामा रहेको जनतालाई समेत शोषणको चपेटामा पारिसकेका छन् । उचित ज्यालाको खोजीमा एउटा देशको मजदुर अर्को देशमा आप्रवासन हुने क्रम बढेको छ । तर श्रमजीवी जनताको शोषणको स्वरूपमा कुनै अन्तर आएको छैन । आधारभूत रूपमा श्रमजीवी जनताको जीवनस्तर झन््पछि झन्् गिर्दो अवस्थामा छ । पुँजीवादी व्यवस्था कायम रहँदासम्म यो प्रक्रिया निरन्तर चलिरहन्छ ।
मुट्ठीभर पुँजीपति वर्ग धनाढ्य हुँदै जाने र बहुसङ्ख्यक श्रमजीवी जनता कङ्गालीकरणतर्फ बढ्ने प्रक्रिया चलिरहन्छ । त्यसैले घोषणा पत्रमा भनिएको छ– “आफूहरूमाथि हुने गरेको पहिलेको शोषण प्रथा र त्यसका साथसाथै सबै पुरानो व्यवस्थालाई समाप्त नपारिकन सर्वहाराहरू समाजका उत्पादक शक्तिहरूको मालिक बन्न सक्दैनन् ।” पुँजीवाद शोषण, दमन र अन्यायको बलमा टिकेको व्यवस्था हो । त्यसमा न्याय र समानता भन्ने कुरै हुँदैन । जङ्गल राजमा जस्तो बलियोले निर्धोलाई दमन गर्ने प्रचलन व्याप्त हुन्छ । “जो बलियो छ, ऊ मात्र बाँच्छ” को नीति लागु हुन्छ । यसरी करोडौँ करोड गरिब सर्वहाराको जीवन अलपत्र पर्छ र समाजले पनि त्यसको जिम्मेवारी लिदैन । एसिया, अफ्रिका तथा लेटिन अमेरिकी देशहरूमा त्यही भइरहेको छ । निजीकरण, उदारीकरण तथा भूमण्डलीकरणका कारण गरिब देशहरू झन् झन् गरिब हुने र धनी देशहरू झन् झन् धनी हुने अवस्था बन्दै गएको छ । घोषणा पत्रमा भनिएको छ– “अवश्य नै प्रत्येक देशको सर्वहारा वर्गले सबैभन्दा पहिले आफ्नै पुँजीपति वर्गलाई खतम पार्नु पर्छ ।” पुँजीपति वर्ग बाहिरबाट हेर्दा जति बलियो देखिन्छ, भित्रबाट त्यो त्यति बलियो हुँदैन । त्यसका लागि समय पर्खिनु पर्छ । कुनै समय राजतन्त्र बलियो थियो । तर जनतामा चेतना जागेपछि त्यो असहाय बन्यो र ढल्यो । ठिक त्यस्तै श्रमजीवी जनतामा चेतना आएको दिनमा पुँजीपति वर्ग पनि असहाय बन्नेछ र तासको घर झैँ ढल्नेछ । घोषणा पत्रमा भनिएको छ– “पुँजीपति वर्गको हार र मजदुर वर्गको जीत दुवै नै धु्रव सत्य हुन ।”
पुँजीपति वर्गले मजदुर वर्गको हितका लागि कैयौँ प्रकारका सुविधाहरू उपलब्ध गराएर उनीहरूको अधिकारको रक्षा गरेको र आवश्यकताहरूको परिपूर्ति गरेको बहाना गर्छ । तर आधारभूत रूपमा मजदुर वर्गको समस्याहरू कुनै सुधारद्वारा समाधान हुँदैनन् । जहाँको तहीँ रहेका हुन्छन् । संसारभरिका श्रमजीवी जनताको समस्या एकै प्रकारका हुन्छन् । अत्याधिक विकसित देशका मजदुरहरू पनि पुँजीपति वर्गद्वारा अन्य देशका मजदुर सरह शोषणमा परेका हुन्छन् । मजदुर वर्गले आफूलाई मुक्ति दिलाउनका लागि राज्य सत्तामाथि कब्जा जमाउनै पर्छ । त्यसका लागि उनीहरू किसानहरूसँग एकता कायम गरेर जानु पर्छ । सम्पूर्ण शोषित पीडित जनसमुदायलाई एउटै वर्गको रूपमा सङ्गठित गर्नु पर्दछ । पुँजीवादी शासनलाई समाप्त पार्नु पर्दछ । सर्वहारा वर्गको राज्यसत्तामा मजदुर किसान आफै शासक हुन्छन् । पुँजीपतिवर्गले जुन निजी उत्पादनका साधनहरूको आडमा मजदुर वर्गलाई शोषण गरिरहेको हुन्छ, त्यसलाई सामूहिक सम्पत्तिमा परिणत गरिन्छ । राज्यसत्ताले व्यक्तिलाई होइन, सिङ्गो समाजलाई जीविकाको ग्यारेन्टी गर्छ । “क्षमता अनुसार काम र आवश्यकता अनुसार दाम” को नीति लागु गर्छ ।
पुँजीवादी सम्पत्तिको उन्मूलन नगरिकन शोषणको स्रोतलाई मेटाउन सकिदैन । पुँजी व्यक्तिगत हुनु हुँदैन । त्यसमा सामाजिक श्रम लागेको हुन्छ । त्यसकारण त्यो सामाजिक सम्पत्ति हुनु पर्छ । त्यो लक्ष्यमा पुग्नका लागि सर्वहारा वर्गको राज्यसत्ता आवश्यक छ । राज्यसत्ता भनेको एउटा वर्गले अर्को वर्गलाई दबाउने सङ्गठित शक्ति हो । अहिलेसम्मको इतिहासमा शोषक वर्गले—दास मालिक, सामन्त र पुँजीपति वर्गले—राज्यसत्ताको आडमा जनतालाई दमन गरेर शासन चलाए । अबका दिनमा सर्वहारा वर्ग एउटा ऐतिहासिक वर्गको रूपमा राजनैतिक शक्ति भएर आएको छ । सर्वहारा वर्ग सबैभन्दा सचेत, वैज्ञानिक र उच्च स्तरको संस्कृतिद्वारा सुसज्जित वर्ग हो । पुँजीपति वर्गले आफ्नो वर्गको मात्र स्वार्थलाई सर्वोपरि राखे जस्तै सर्वहारा वर्गले सर्वहारा वर्गको मात्र हितलाई हेर्दैन, बरु आम जनताको सुख र समृद्धिका लागि राज्यका सबै साधनहरू उपयोग गर्दछ । तर पनि विगतमा राज्यसत्ताको आडमा कुनै प्रकारको श्रम नगरिकन ऐशआराम र विलासिताको जीवन बिताइरहेका शोषक वर्गले गुमेको स्वर्गलाई फर्काउन चाहन्छन् । त्यसका लागि उनीहरू विप्लव गर्न सक्छन् । त्यसकारण सर्वहारा वर्गले लामो समयसम्म विचारधारात्मक लडाइँ लड्नुको साथै सर्वहारा अधिनायकत्व कायम राख्नु पर्ने हुन्छ । सर्वहारा वर्गले राज्यसत्ता प्राप्त गर्दैमा क्रान्तिको औचित्यता समाप्त भएको ठान्नु हुँदैन । वर्गको अस्तित्व समाप्त भए पनि चिन्तन, विचार र संस्कार लामो समयसम्म पनि समाप्त हुँदैनन् । त्यसकारण चिन्तन, विचार र संस्कारहरूका विरुद्ध निरन्तर सङ्घर्षको आवश्यकता रहन्छ ।
माक्र्स र एङ्गेल्सले कम्युनिस्ट पार्टीको घोषणा पत्र लेखेको अहिले १७० (एक सय सत्तरी) वर्ष पुगेको छ । १७० वर्षको अन्तरालमा विश्वमा धेरै उथलपुथलहरू भएका छन् । रूसमा सर्वहारा वर्गले जारशाहको सत्ता ढालेर ४० वर्षसम्म शासन चलायो । जुन शासनकालमा रसियन जनताले संसारमै हुन नसकेका चमत्कारपूर्ण विकास र सांस्कृतिक प्रगति गरेर संसारलाई नै नयाँ सन्देश प्रवाह गरे । चीनमा १९४९ मा चिनियाँ सर्वहारा वर्गले च्याङकाई सेकको सत्ता ढालेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरे र २७ वर्ष शासन चलाए । संसारलाई नै हल्लाउने प्रकारका यी देशमा भएका क्रान्तिले विश्वलाई सर्वहारा वर्गले जस्तोसुकै शक्तिशाली शासकहरूलाई पनि सत्ताबाट झार्न सक्छन् र शासन चलाउन सक्छन् भन्ने विश्वसनीय सन्देश दिन सफल भएका छन् । तर दुवै देशमा कम्युनिस्टहरूले केही गल्ती अवश्य गरेका छन् । ती गल्तीहरूबाट पाठ सिकेर अब गरिने क्रान्ति र क्रान्तिपछिको अवधिमा कस्तो प्रकारको सतर्कता अपनाउने भन्ने विषयमा गम्भीर रूपले छलफल आवश्यक छ । स्तालिनका गल्ती वा माओका गल्ती देखाएर मात्र क्रान्तिको रक्षा गर्न सकिंदैन । आधारभूत समस्या र कमजोरीहरू कहाँ छन् ? त्यसको पत्तो लगाउनु आवश्यक छ । कम्युनिस्ट पार्टीभित्रका पुँजीवादी तत्वहरूलाई स्तालिन र माओले व्यवहारमा जुन प्रकारको नरम नीति अपनाउनु भयो, त्यसले सिङ्गो कम्युनिस्ट पार्टी तथा कम्युनिस्ट राज्यसत्तालाई ठुलो नोक्सान पुग्यो । रूसमा खु्रस्चेभ र चीनमा देङीयाओपिङले शान्तिपूर्ण तरिकाले सर्वहारा वर्गको हातबाट सत्ता हत्याउन सफल भए । कतै जनवादी केन्द्रीयतालाई बुझ्ने कुरामा आम पार्टी सदस्यहरूमा कमजोरी भयो कि ? नत्र लाखौँ लाख कम्युनिस्ट कार्यकर्ताहरू राज्यसत्ता नै खोसिइरहँदा कसरी हेरेको हेर्यै हुन सके ? जनवादी केन्द्रीयता निरपेक्ष हुँदैन ।
माओले पार्टी सदस्यलाई मात्र होइन, जनतलाई समेत “विद्रोह गर्ने अधिकार हो” भनेर शिक्षा दिनु भएको थियो । तर सत्तामा पुँजीवादीहरूले कब्जा जमाउँदासम्म क्रान्तिकारी नेता तथा कार्यकर्ताहरूले विद्रोह गर्न सकेनन् । त्यसले पुँजीवादीहरूलाई अनुकूल अवस्था प्रदान गर्यो । अनुशासनको नाममा क्रान्तिकारीहरूले पुँजीवादी नेतृत्व विरुद्ध कडा कदम चाल्न सकेनन् । जतिबेला उनीहरूले थाह पाए, त्यो बेलासम्म स्थिति धेरै नै बिग्रिसकेको थियो र पुँजीवादीहरूले सत्तामा आफ्नो पकड बलियो बनाइसकेका थिए । संसारका धेरै कम्युनिस्ट पार्टीहरू दक्षिणपन्थी दिशामा नेतृत्वकै कारण पतन भएका छन् । भारत तथा नेपालमा समेत जुन पार्टीहरू पुँजीवादी बाटो समाते, त्यसमा मुख्यतः मूल नेतृत्वमा आएको दक्षिणपन्थी विचलन नै जिम्मेवार रहेको पाइन्छ । तर अर्को पक्ष यो पनि होकि कार्यकर्ताहरू अनुशासनलाई यान्त्रिक रूपले बुझ्नु र चुप रहनुले पनि उनीहरूलाई पुँजीवादी बाटो समात्न सहज तुल्याएको छ ।
कम्युनिस्ट पार्टीको घोषणा पत्र प्रकाशमा आएपछि आज विश्व धेरै अगाडि गइसकेको छ । प्रथम र दोस्रो विश्वयुद्धपछि विश्व साम्राज्यवाद अब नवउपनिवेशवादको नीति अवलम्बन गरेको छ । नव उपनिवेशवादको नीति अन्तर्गत पुँजीवादी तथा साम्राज्यवादी राष्ट्रहरूले विश्वलाई नै आफ्नो बजार बनाइरहेका छन् । तर पनि अहिलेको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । पछिल्लो समयमा चीन, जो कुनै बेला समाजवादी देश थियो, १९७६पछि त्यहाँ समाजवाद विघटन भयो । त्यहाँ पुँजीवादी सत्ता स्थापना भएको छ । आज चीन दोस्रो महाशक्तिको रूपमा अगाडि आएको छ र विश्व बजार कब्जा गर्दै आएको छ । विश्वमा उद्योग तथा कारखानाहरू पनि स्वचालित प्रकारका स्थापना हुनुले मजदुरको अवस्था पनि पहिले जस्तो रहेन । लाखौँ मजदुरहरू रोजगारबाट वञ्चित भएका छन् । त्यो सङ्कट स्वयं अमेरिका जस्तो विकसित देशमा जटिल बनेको छ । वालस्ट्रिट आन्दोलन त्यसैको परिणाम हो । मजदुरहरूको जीवन आधारभूत रूपमा पूर्वावस्थामा नै रहेको छ ।
नव उपनिवेशवादले किसान वर्गलाई समेत शोषणको प्रभावमा पारेको छ र किसानमाथि चर्को शोषण भइरहेको छ । यो अवस्थामा पनि कम्युनिस्ट घोषणा पत्रले आजको सन्दर्भमा हामीलाई क्रान्तिकारी मार्गप्रदर्शन गरिरहेको छ । हामीले कम्युनिस्ट घोषणा पत्रलाई बाइबिल, कुरान, रामायण जस्तो ठान्नु हुँदैन । घोषणा पत्रका दार्शनिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक विचारहरूले वर्तमानमा मात्र होइन, भविष्यमा पनि निर्देशित गरिरहने छ । सर्वहारा वर्गको एउटै लक्ष्य हो– पुँजीवादी व्यवस्था खतम गरेर एउटा वैज्ञानिक, समानता र उच्च चेतना, सभ्यता र सुसंस्कृत राज्य व्यवस्था स्थापना गर्नु, जहाँ न धनी, न गरिब, न मजदुर, न मालिक, न छूत न अछूत, यस्तो राज्य जहाँ न पुलिस, न सेना, न राज्यहरूबीच सिमाना । सारा मानव जाति बराबर हुनेछ, विभेदका सम्पूर्ण पर्खालहरू भत्किनेछन् । त्यस्तो समाज निर्माण गर्न सर्वहारालाई संसारको कुनै ताकतले रोक्न सक्दैन, कुरो ढिलो र चाँडोको मात्र हो, जसरी सामन्तवाद विश्वबाट समाप्त भयो, पुँजीवाद पनि समाप्त हुनेछ । समाजवाद र साम्यवाद विश्वभरि नै स्थापना हुनेछ । त्यसको लागि संसारभरिका सर्वहारा वर्ग अगाडि बढिरहेका छन् । उनीहरूको सफलता अवश्यंभावी छ । घोषणा पत्रमा भनिएको छ–“सर्वहारासित आफ्नो सिक्री (हत्कडी) वाहेक गुम्ने वस्तु केही पनि छैन, जित्नका लागि भने उनीहरूका अगाडि सम्पूर्ण विश्व छ ।”

