छविचन्द्र ढकाललाई सम्झँदा

पुष्पलाल श्रेष्ठ ••
सुरुवाती : छबिचन्द्रजी एक सिद्धान्तनिष्ठ व्यक्तित्व हुनुहुन्थ्यो । सधै भरि देश र जनताको पक्षबाट सङ्घर्ष गरिरहनु हुन्थ्यो । राजनीतिक ,सामाजिक, शैक्षिक सुधारको पक्षमा हुनुहुन्थ्यो । मैले पनि राजनीतिक, सामाजिक, शैक्षिक आन्दोलनमा उहाँ सित सङ्गत गर्ने अवसर प्राप्त गरेँ । क्यान्सर जस्तो घातक रोगले उहाँको मृत्यु भयो । उहाँ मरेर गए पनि उहाँलाई हामी सम्झिरहन्छौँ ।

जन्म : २००५ साल भाद्र १८ गते छबिचन्द्र ढकालको तनहुँ जिल्लाको भानु नगरपालिका चुँदीको ढकाल थर भन्ने ठाउँमा जन्म भएको थियो ।

अध्ययन : उहाँले बि.ए. सम्म अध्ययन गर्नु भएको थियो ।
पेशा : उहाँले प्रभात निमावि सिम्पानीमा पढाउनु भयो । त्यसपछि चन्द्रावती हाइ स्कूल चुँदीमा लामो समय पढाउनु भयो । राधा मा.वि. जामुनेमा पनि उहाँले पढाउनु भयो र त्यहीबाट पेन्सन निस्कनु भयो ।

नक्सलाइट आन्दोलनको प्रभाव : भारतको पश्चिम बङ्गालमा नक्सलाइटहरूको सशस्त्र सङ्घर्ष भैरहेको थियो । रामबहादुर अधिकारीका अनुसार नक्सलाईट आन्दोलनबाट प्रभावित भएर गण्डकी अञ्चलमा अध्ययन त्यागेर भूमिगत भएर हिंड्ने सबैभन्दा पहिले चार जना व्यक्तिहरू थिए– “छविचन्द्र ढकाल, शेषमणि आचार्य, रामबहादुर अधिकारी र रामचन्द्र बस्नेत ।”

राजनीतिक जिम्मेवारी : एमालेको तनहुँ जिल्ला समितिको सचिवालय सदस्य र दुई नम्वर क्षेत्रको इन्चार्जसम्म भएर काम गर्नु भएको थियो । तर २०५४ मा एमाले फुटेर एमाले र माले भएपछि उहाँले पार्टी परित्याग गरी स्वतन्त्र वामपन्थीको रुपमा सामाजिक र राजनीतिक कार्यमा निरन्तर क्रियाशील हुनु भयो ।

विवाह र परिवार : उहाँको पहिलो विवाह रिता खनालसित भएको थियो । रिता खनालबाट ३ छोरी र दुई छोरा छन् । रिताको मृत्यु पछि उहाँले दोस्रो विवाह गर्नु भएको थियो ।

छविचन्द्र सित मेरो सम्बन्ध : छविचन्द्रजीसित तीन वटा घटना मेरो जीवनमा विशेष स्मरणीय छन् एक, एक देव आले चिन्तन स्मृति प्रतिष्ठान स्थापनाको सङ्घर्ष; दुई, सङ्घीयता विरुद्धको सङ्घर्ष र तीन, शैक्षिक सुधारको आन्दोलन । २०६४ सालतिर दमौलीमा नेता शङ्कर बरालजीले कमरेड छविचन्द्र ढकालसँग मेरो परिचय गराइदिनु भएको थियो । २०६५ मा उहाँ एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको अध्यक्ष हुनु भयो । उहाँ अध्यक्ष भए पछि प्रतिष्ठानको बैठक र हरेक गतिविधिमा आमन्त्रित सदस्यको रुपमा मलाई बोलाउने गर्नु हुन्थ्यो । उहाँकै पहलमा प्रतिष्ठानलाई तत्कालीन जिल्ला विकास समितिको स्वामित्वमा रहेको दमौली बजारको कित्ता नं १७० को १४ आना जग्गा माग भइ सोही जग्गाभित्र प्रतिष्ठानको भवन निर्माण भएको थियो । वाचनालय संचालनमा आएको थियो । कसैको उक्साहटमा जिविसका कर्मचारीहरूले प्रहरी बल प्रयोग गरी २०६७ साल मंसिर १७ गते हस्तक्षेप गरेर प्रतिष्ठानको पुस्तकालयमा भएका सबै सामग्री लुटेर लगे ।

यो लडाई बाह्यरुपमा हेर्दा जिविस र एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको जस्तो देखिए पनि भित्रीरुपमा त्यो लडाई काङ्ग्रेस र वामपन्थीहरू बीचको लडाई थियो । भोलिपल्ट यो घटनाका दोषीहरू उपर उजुरी दिन छविजीले सबै वामघटक राजनीतिक दलहरूलाई आग्रह गर्नु भयो । तर कोही तयार भएनन । उल्टो किन मुद्दा हाल्ने ? यो राजनीतिक समस्या हो । दलहरू बसेर समस्याको हल गर्नुपर्छ भन्ने वाम राजनीतिक दलका नेताहरूको भनाइ थियो । उहाँले ६५ लाख बराबरको बिगो सहित कार्वाही गरिपाउँ भन्ने किटानी जाहेरी दिनु भएको थियो । त्यतिबेला छविचन्द्र ढकाल र राष्ट्रिय जनमोर्चाकोतर्फबाट म दुई जना गएर जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका थियौँ । प्रहरी प्रशासनले दर्ता गर्न पनि मानिरहेको थिएन । तैपनि छविचन्द्रले दवावपूर्ण तरिकाले आˆना कुरा राखे पछि मुद्दा दर्ता भएको थियो । त्यो सङ्घर्षमा अन्त्यमा ३ बुँदे सहमति भएको थियो (१) दुई पक्ष बसी सहमतिमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको जग्गाको टुङ्गो लगाउने, (२) प्रहरी हस्तक्षेप गरी जफत गरिएका सामान सम्मानजनक ढËले प्रतिष्ठानको भवनमा लगेर जस्ताको तस्तै फिर्ता गरिदिने र (३) प्रतिष्ठानले जिल्ला विकासका कर्मचारी माथि लगाएको किटानी जाहेरी फिर्ता गर्ने । त्यसरी छविचन्द्रजी एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको पक्षमा दृढतापूर्वक सङ्घर्ष गर्नु भएको थियो ।

एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको सामान कसरी लुटिएको थियो र आन्दोलनको विजय कसरी भएको थियो भन्ने प्रसËलाई यहाँ संस्मरणात्मक रुपमा राख्नु उचित नै हुनेछ । २०६७ मङ्सिर १७ गतेको दिन म दमौलीस्थित राष्ट्रिय जनमोर्चाका सचिव श्रीकुमार श्रेष्ठजीको घरमा छोरीहरूलाई गुफाबाट निकाल्ने कार्यक्रममा थिएँ । एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानका सचिव श्रीराम कार्की र प्रतिष्ठानका सदस्य राजेन्द्र केशरी न्यौपानेले पटक पटक फोन गरेर प्रहरीले यहाँ सामान लुट्न लाग्यो छिटो आउनु पर्‍यो भनेर फोन गरिरहनु भएको थियो । म त्यहाँ पुग्दा वरपर सडक भरि मानिसहरू जम्मा भएका थिए । प्रहरीहरू गेटमा बसेर प्रतिष्ठानका साथीहरूलाई छिटो बाहिर निस्कन भनिरहेका थिए । जब म प्रतिष्ठानको भवनको गेटमा पुगे प्रहरीले मलाई भित्र जान रोक्यो ।

पत्रकारहरूले उहाँ प्रतिष्ठानकै व्यक्ति हो जान दिनु पर्छ भने पछि मलाई भित्र जान दिइयो । प्रहरीले पन्ध्र मिनेटमा कोठाबाट निस्कनुस् हामी यहाँ चाँपी लगाउँछौँ भनेर हातमा चाँपी बोकेर गेटमा उभिइरहेको थियो । भित्र जाँदा प्रतिष्ठानका साथीहरू के गर्ने भनेर बसिरहनु भएको थियो । मैले बैठक बसेर माइन्युट गर्नु पर्दछ भने । कोही साथीहरू डराएर यो ठाउँ खाली गर्नु पर्दछ पनि भनेका थिए । मैले प्रहरी हस्तक्षेपको डर लाग्ने साथीहरू पछि भाग्नु भन्दा अहिले नै जानुस बाँकी यहाँ बैठक बस्नु पर्दछ भवन छोड्नु हुन्न बैठक बस्नु पर्दछ भने । केही डराएर बैठक छोडेर गए । अन्य पार्टी सम्बद्ध केहीले आ–आˆना पार्टी च्यानलमा सम्पर्क गरेर के गर्ने भन्ने सल्लाह लिनु भयो । भवन नछोड्ने प्रहरी हस्तक्षेपबाट नभाग्ने भन्ने नै साथीहरूको सल्लाह हुन्छ भने त्यसै गरौँ भन्ने सल्लाह भयो । तत्काल बैठक बसियो । माइन्युटमा तीन वटा निर्णय गरियो (१) प्रहरी दमनको भत्र्सना गर्ने ,(२) प्रहरीले निस्कन भने पनि प्रतिष्ठान छोडेर नजाने र (३) प्रहरी हस्तक्षेप भएमा सामना गर्ने र गिरˆतारी दिने । यो बैठकको निर्णय प्रहरी र जनतालाई सुनायौँ । त्यस पछि सिडियोले अर्को जाल गरे । तपाईहरू आˆनै चापी लगाएर म सित छलफल गर्न आउनुस् भने । जाने कि नजाने विवाद भयो । आफ्नै चाँपी लगाएर छलफल गर्न जाउँ भन्ने बहुमत भए पछि हामी सिडियोको अफिस गयौँ । अफिस भित्र पुग्दा वित्तिकै सिडियोले प्रहरीलाई उहाँहरू यहाँ आइपुग्नु भयो । आˆनो काम सुरु गर्नुस् भनेर ताला तोडेर प्रतिष्ठानका सामान लुट्न निर्देशन दिए । सामान लुटियो । सिडियोलाई कुटुम कुटुम पारे ।

हामीलाई यहाँ बोलाएर डकैती गर्ने भनेर निकै झगडा भयो । सिडियो डराएर बसेका थिए । जब सिडियो कार्यालयभित्र डिएसपीको नेतृत्वमा प्रहरीको हुल आयो सिडियो जङ्गिएर लौ मलाई मार भनेर गर्धन हामीसित थाप्न आए । त्यस पछि सिडियोको कार्यशैलीका विरुद्ध सिडियो कार्यालयभित्र नै नाराबाजी भयो । एकातिर अर्को दिन लगत्तै छविचन्द्र ढकालले प्रहरीमा किटानी जाहेरी सहितको मुद्दा दिनु अर्कोतिर दिनदिनै आन्दोलन हुनु, सिडियो कार्यालय घेराउ हुनु । पछि एमाले र माओवादीका सांसदहरू पनि आन्दोलनमा आए । अन्तत: आन्दोलनमा सहमति भयो । लुटिएका सामानहरू फिर्ता भए । फेरि वाचनालय र कार्यालय पूर्ववतरुपमा संचालनमा आयो । जिल्ला विकास समितिले एकदेव प्रतिष्ठानको कार्यालय जसरी पनि सार्ने अडान छाडेन । जिविसले अर्को ठाउँमा भवन बनाउन जग्गा दिने र भवन बनाउन रकम पनि दिने भन्ने प्रस्ताव राख्यो । त्यो कुरालाई अस्वीकार गरेर त्यही ठाउँमा नै भवन रहनु पर्दछ भनियो । तर दलहरूकै बीचमा सहमति हुन सकेन । छविचन्द्र कार्यालय सार्न हुन्न भन्नेमै हुनुहुन्थ्यो । तर प्रतापलाल र हरीचुमान लगायतका व्यक्तिहरू सार्न धेरै कोशिश गर्नुभयो । राष्ट्रिय जनमोर्चाका श्रीकुमार श्रेष्ठले सर्नु हुन्न भनेर नोट अफ डिसेन्ट समेत लेख्नु भएको थियो । कालन्तरमा कार्यालय सार्ने र भवन बनाउने काम भयो ।

यस्तै उहाँले सामुदायिक विद्यालयहरूको खस्किँदै गएको शैक्षिकस्तर उकास्न जिल्लामा कृयाशील राजनीतिक पार्टीहरूलाई एक ठाउँमा राखेर सहमति पत्रमा हस्ताक्षर गराउनु भएको थियो । उहाँको अभियानमा हाम्रो पार्टीले पनि सहमति जनाएको थियो । विद्यालय अनुगमनको अभियान चलाइएको थियो । कतिपय विद्यालयमा नपढाउने ठगी गर्ने शिक्षकहरूले राजीनामा समेत दिएका थिए । किसान, सुकुमबासीहरूको समस्यालाई उठाउँदै शोषित पीडित जनताको पक्षमा निर्भिक भई डटिरहनु हुन्थ्यो । पछिल्लो समयमा उहाँ भन्नुहुन्थ्यो पुष्पजी यो सरकारी अड्डाहरूमा भएका अनियमितता, भ्रष्टाचार, बेथितिहरूको विरूद्धमा सशक्त टिम बनाएर लाग्नु पर्‍यो । म तपाइलाई साथ दिन्छु भन्नु हुन्थ्यो । उहाँ हाम्रो पार्टीमा त आवद्ध हुनुभएको थिएन । तर सङ्घीयताको विरुद्धको सन्दर्भमा उहाँ र हाम्रो विचार मिल्थ्यो । संविधान निर्माणको बेला सभासदहरू सुझाव सङ्कलन गर्न आएका बेला तनहुँको तीन वटै क्षेत्रका दमौली, डुम्रे र भिमादमा हामी सँगै उपस्थित भएका थियौँ । उहाँले नेपालमा सङ्घीयता आवश्यक छैन भनेर बोल्नु भएको थियो । कतिपयले उहाँलाई जनमोर्चा भएको हो र समेत भनेका थिए । कृषिमा सुधारका लागि उहाँका स्पष्ट दृष्टिकोण थियो । सरकारी विद्यालय र किसान समस्याका विषयमा धेरै पटक हामी उहाँ सहित सबै राजनीतिक पार्टीका प्रतिनिधिसित हाम्रो पार्टी कार्यालयमा बैठक बसेका थियौँ ।

सुकुम्बासीहरू बारे उहाँको प्रष्ट दृष्टिकोण थियो । “सम्झनामा गाउँ घरका कुरा” उहाँद्वारा लेखिएको पुस्तक हो । विगतको सामाजिक अवस्था र अहिले आएको परिवर्तनको तुलनात्मक अध्ययन गर्दै उहाँले अहिले गर्नु पार्ने काम पनि पुस्तकमा उल्लेख गर्नु भएकोछ ।

सकारात्मक पक्ष : उहाँ सिद्धान्तनिष्ठ हक्की स्वभावको हुनुहुन्थ्यो । मिलनसार हुनुहुन्थ्यो । प्रष्ट वर्गीय दृष्टिकोण थियो । मितव्ययी र पारदर्शी हुनुहुन्थ्यो ।

कमजोर पक्ष : जिद्दी स्वभावको भनेर उहाँको आलोचना हुन्थ्यो ।

हार्दिक श्रद्धाञ्जली : राजनीतिक, सामाजिक, शैक्षिक र विकासका मुद्दामा अहोरात्र खट्ने एउटा असल व्यक्तिको निधनले हामी अत्यन्त दुखित छौ । उहाँको निधनले तनहुँको लोकतान्त्रिक आन्दोलन र कम्युनिस्ट आन्दोलन मात्र हैन सिËो नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा महत्त्वपूर्ण व्यक्तिको अवसान भएको छ । उहाँ प्रति म हार्दिक श्रदाञ्जली व्यक्त गर्न चाहन्छु । उहाँको शोषित– पीडित प्रतिको निष्ठा, सिद्धान्त, न्याय, समानता र समाजका लागि सङ्घर्षशील चरित्र अनुकरणीय छन् । उहाँको विचार र व्यवहारलाई पछ्याउनु नै उहाँलाई सम्झनुको सार्थकता रहनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित