•• मनु वि.क.
रत्नपार्कको फुटपाथमा
बेचिन तयार छन् सामानहरू
घाम पानीको वेप्रवाह
बिक्रीको आशमा
सयौँपल्ट पछारिन्छन्
यस्तै चलिरहन्छ फुटपाथमा ।
गाडीहरू हुँइकन्छन्
बबगाडी हान्दै
थात्रु खोजिरहन्छ भुन्टेभाइ
आफैतिर तान्न खोजिरहन्छ यात्रुलाई ।
आफ्नै रफ्तारमा हुन्छन यात्री
धुँवा छोड्दै ढ्याप ढ्याप बजिरहन्छ गाडि
फुटपाथ पसलको अवरोध
छिचोल्दै पार भइरहन्छन् उनीहरू
सामानको जतन गर्न गाह्रो छ
फुटपाथ वालीलाई ।
मन भर डर लिएर
बसेकी छन् पसल्नी
नगर प्रहरीको आँखा छलेर
पसल चलाउन गाह्रो छ
पेट बचाउँन गाह्रो छ ।
आफै सामान बनेर
कुदिरहेका छन् सुन्दरीहरू
मोलमोलाई छ शरीरको
ए ! आफ्नै शरीरको
मोलमोलाई सुनेनौ र ?
कि थाहा पाएनौ ?
किन चल्छ मोलमोलाई आफ्नै शरीरको ?
आफ्नै शरीर बेचेर
सुन्दरी महल ठड्याउँछिन् कि पेट तताउँछिन् ?
गाडी ठटाउने भाइले कसलाई बचाउँछन् ?
प्रश्नहरू छन् रत्नपार्कमा ।

