टङ्कराज ढकाल तितेपाती
(छन्द लोक् झ्याउरे )
कृषि देशको हो मेरुदण्ड यसमा निर्भर
कृषि नै त्यागे हुँदैन वेश पराया निर्भर
प्रकृतिमा छ सकल चिज जमिन उर्वर
माटो र पानी हावा र बोट लागेर लस्कर।१
खानु छ अन्न र तरकारी उव्जाई माटोमा
यी जडिबुटी र फलफूल शक्ति छ आटोमा
पोखेर यहाँ पसिनाधारा गर्मी र जाडोमा
हुन् प्राणदायी प्रकृति आमा सभ्यता बाटोमा।२
कृषक जोड्छन् बल र बुता उव्जनी लिनमा
असार रोप्ने मङ्सिर काट्ने फसल दिनमा
वर्षाको झरी र चर्को घाम घोटिन्छन् मनमा
अनेक बाधा हुण्डरी खप्दै भर्दछन् शुषमा।३
नेपाली किसान हराए कठै मर्कामा परेर
खै मल, बीज, सिञ्चाई, कुलो लगियो हरेर
सबै ती युवा विदेश लागे चेपुवा परेर
न कामदार खेताला मिल्छन् अभर छ हेर ४
दिवस धान कृषक शान चल्दैछ फोटोमा
धाँधली गरे पीडामा परे रुँदैछन् कोमामा
वातावरण विनाश भयो परेर धोकामा
नाटक अति चलेछ यहाँ रित्तो यो डोकामा।५
माटोमा कव्जा दलाली मुर्दा लिंदैछन् खोसेर
हरामी सत्ता हसुर्दै भत्ता बिचौलिया धेर
हुँदैछ उल्टो पराया चाल कलो नै धोकेर
किसानमारा छ सरकार सुन्दैन बोलेर।६

