कथा : कालेकी आमा

मनु वि.क. ••
कालेकी आमाको नाम साँच्चिमा के हो ? कसैलाई थाहा छैन । जब कालेका बाले कालेकी आमालाई ल्याए कालेको बाको नाम अनुसार नै उनको परिचय भयो । कालेको बाको नाम ‘नक्कले’ थियो । कालेको बाको पनि वास्तविक नाम के हो बालाई थाहा छैन तर गाउँभरि उ नक्कले भनेर परिचित छ ।

जब नक्कले सँग विवाह भयो त्यसपछि कालेकी आमालाई सबैले बोलाउँदा चिनाउँदा शुरु शुरुमा नक्कलेकी स्वास्नी भन्ने नामले चिनिइ । चिनाइए ? अलि समय हुँदै जाँदा सबैको मुखमा उसलाई बोलाउँदा ‘नक्कली’ भनेको पाई ।

भन्न त निकै नक्कल पार्नेलाई अनेक कुरामा पुराना कुरालाई नअङ्गालेर नयाँ देखासिखी गरी हिंड्नेलाई ‘नक्कले’ ‘नक्कली’ भनिन्छ तर उनीहरू दुवै त्यस्ता छैनन् तर पनि गाउँका सबैले ‘नक्कले’ ‘नक्कली’ भनेर बोलाउँछन् । पहिला पहिला ‘नक्कले’ कालेको बालाई मात्र भन्दथे । तर उसको श्रीमतीको नाम पनि नक्कली भएको छ । जब उसले बच्चा जन्माई बच्चा जन्मिँदा त ‘कालो’ ‘गोरो’ जन्माउँछु भनेर जन्माइने होइन । छोरोको छालाको रङ चाहिं अलिकता ‘नक्कले’ र ‘नक्कली’को भन्दा कालो छ । जब छोरा जन्मियो, उसको रङ अलिकता कालो लिएर आयो । छोराको रङ्ग कालो भएपछि उसको, आमाले के नाम राखिदिए कसैलाई वास्ता हुने कुरा भएन । कसैले मायाले, कसैले दयाले कसैले घृणाले ‘काले’, ‘काले’ । भन्न थाले । जब कालेको जन्म भयो तब उसकी आमाको नाम पनि ‘कालेकी आमा’ रहन गयो ।

कालेकी आमा साँच्चिकै राम्री छ । उसको आनीबानी, व्यवहार सबै राम्रो छ । सबैलाई माया गर्छे । साना ठूला सबैलाई सम्मानपूर्वक व्यवहार गर्छे । तर किन किन उसलाई छिमेकी, इष्ट मित्रले खासै ध्यान दिएको जस्तो लाग्दैन । उसले राम्रै कुरा गरे पनि समाजका मान्छेले माया गरेको जस्तो उसलाई लाग्दैन ।

उ यस्तो किन हुन्छ ? गाउँलेहरू, वरपरका चिनेजानेकाहरू किन मेरो लोग्नेको मेरो कुरामा खासै ध्यान दिंदैनन् ? उ सोंचमग्न हुन्छे । उसले लोग्नेलाई पनि यही कुरा सुनाउँछे । लोग्ने उसको कुरामा खासै ध्यान दिंदैन ? फेरि उ सोचमग्न हुन्छे । हैन मेरो बुढाको किन कुरा आउँदैन । र फेरि सोध्छे–हैन तिम्रो नाम नक्कले नै हो त ? अहिले भने लोग्ने अलि सोचमग्न हुन्छ । र भन्छ–“खै मैले त त्यही सुनेको सानैदेखि ।” “हैन तिम्रो नाम बा, आमाले के भने थाहा पाएनौँ ? फेरि स्वास्नीले सोध्छे । म अलि अलि सम्झने हुँदा बा आमा नै मरेको कहाँबाट थाहा हुने ? उसले जबाफ दियो । स्वास्नीको मनमा–खुल्दुली कायमै छ, यिनको नाम ‘नक्कले’ म नक्कली, छोरो काले म कालेकी आमा यो कसरी हुन्छ ? मेरो नाम किन पुकारिंदैन ? हैन यहाँका गाउँले नै यस्तै हुन कि म उस्तै हो ? मेरो लोग्ने उस्तै छन् कि गाउँले उस्तै हो ? उसको मनमा फेरि प्रश्नहरू खेल्न थाल्छन् । प्रश्न खेलाएर मात्र भएन त्यसको केही टुङ्गो लाग्ने जस्तो छैन ? तर कालेकी आमाको मन भने सन्तुष्ट छैन । सन्तुष्ट हुने न लोग्नेको जबाफ छ न गाउँलेको कुरा ।

हुन त आजसम्म उ गाउँलेलाई सोध्न त गएकी छैन, सोध्न जाने पनि कसलाई र ? केटा केटीलाई सोधे केही उत्तर दिने होइन । आइमाईलाई सोधे के भन्न सक्लान् र ? केटा मान्छेलाई सोधुँ भने कसलाई सोध्न जाऊँ ? उल्टो कालेको बाले के ठान्लान् ? बुढा उमेरकालाई सोधुँ भने, अहिलेका कुरा के थाहा ? भर्खरका केटालाई सोधुँ अलि अगाडिको कुरा के थाहा ? सोच्दा सोच्दै कालेकी आमा ढल्ने हो कि झैं भई उसको हालत दिनदिनै बिग्रन थाल्यो । उ सोच्दा सोच्दै भोक न तिर्खामा पुगी । लोग्नेले सम्झाउने पारामा भन्यो “किन चिन्ता यति साह्रो ? हैन, तिमीलाई मलाई ‘नक्कले’ ‘नक्कली’ भनुन् छोरालाई काले भनुन् जे भने पनि के भएको छ र ? हामीलाई खान, लाउन रोकिएको छैन । जीवन कटाउन रोकिएको छैन । अब यति चिन्ता लिएर हुँदैन । भोलि बिहान जे पर्छ टादै जाउँला ।”

अरु सबै कुरा त उसलाई त्यस्तै लागे “भोलि जे पर्छ टार्दै जाउँला” भन्ने कुराले झनै पीर पार्‍यो । कसरी तार्ने ? उही ‘नक्कले’ ‘नक्कली’ ‘काले’ बनेर टार्ने ? यो कुरा सधै सहेर बस्ने ? मन आत्तियो । मन आत्तिएर के गर्ने ? अहँ मनले मानिरहेको छैन । एक दिन त उसलाई अति असह्य भयो उ छोरा, बुढा लिएर त्यो गाउँ छोड्ने निधो गरी तर मन मनै । मनले जहाँ भन्छ त्यहाँ जान कहाँ मिल्छ र ? मन त जहाँ पनि पुग्छ तर मन जस्तो शरीर कहाँ जहाँ पनि पुग्न सक्छ र ? फेरि उसका पाइला मनले रोक्यो । र मनमनै सोचि रही मेरो नाम ‘नक्कली’ बाहेक अरु किन हुँदैन ? मेरो बुढाको नाम ‘नक्कले’ बाहेक किन हुँदैन । मेरो छोराको नाम ‘काले’ बाहेक अरु किन हुँदैन ? यदि यो नाम राखेकामा मलाई खुशी लाग्दैन भने अरु खुशी भएर के काम, नाम त मेरो हो नि । मान्छेले जीवन एक चोटी पाउँछ । एक चोटी पाउने जीवनमा नाम नै नराम्रो लाग्छ भने त्यो नाम पुकार्न किन पर्छ ? नाम नै फेर्न किन नहिंड्ने । म ‘कालेकी आमा’ होइन ‘नक्कली’ होइन आफ्नै नाम किन नचिनाउने ? कालेकी आमा एक चोटी जोस्सिई । कालेको आमा जोसिएको देखेर नक्कले अचम्म पर्‍यो र भन्यो ‘किन तिमी यसो गरेको ? नक्कलेको प्रश्नको जबाफ दिंदै कालेकी आमाले भनी “तिमीलाई दु:ख्दैन त मलाई दुख्छ”, तिमीलाई पोल्दैन त मलाई पोल्छ, मलाई त मेरो नाम थाहा पाउने मन छ, साँच्चिकै थाहा पाउने मन छ । त्यसैले मेरो मन जोस्सिइरहेको छ ।” कालेको आमाको यो कुरा सुनेर लोग्ने निकै सोचमग्न भयो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित