लक्ष्मीप्रसाद देवकोटा ••
टी पार्टी थियो । सुबासिनी मान्छेहरूको कान्तिपुरीका महिला- वर्गमण्डली आगामी सुधारका घोषणाउपर टीकाटिप्पणी गरिरहेका थिए ।
लामो टेबुलको वरिपरि सब प्रगतिशील दाढी नदारत व्यक्तित्वहरू घुट्का लिन लागेका थिए । बिजुलीले बोलिन्, “शायद यहाँ धूम्रपान निषेध होला ?”
पाकेटबाट चट्ट लाइटर केस र चुरोट निक्ले र प्रश्नशील मुखको कोणमा ढल्किए । पराले बोलिन्, “छि: आइमाईले चुरोट खाएकी त कति पनि सुहाउँदैन नि ! ओठ सुक्छ, गाला टाँसिन्छ, रोगन शीशा हुन्छ है ।”
बिजुलीले आँखा तरिन्, “मैले त्यस्तो उपदेश माग्या होइन । यहाँको नियम पो सोध्या त ।”
पराले प्याकुलगाले, लेग्रे स्वरले जवाफ दिइन्, “ नीति नि । के नीति, नीति होइन नि ।”
बिजुली झोक्किन्, “मानिस कति सस्ता नीति-कदर हुन्छन्, बुझ्नु अघि ।”
“नीति भन्या के त हँ ?”
“चलकको नियम, चालकको काइदा ।”
“बेस… वैज्ञानिक नीति मान्नुहुन्छ कि धर्म्मनीति ?” “दुवै”
“धर्म्मनीति भने तपाईं देवराज चाहनुहुन्छ । यस समाजमा आउनु तपाईंको कालो भूल ।”
“वैज्ञानिक नीति मान्दछु म ता …!”
“त्यसो भए व्यक्तिगत टिप्पणी किन त ? के मेरो चाख
तपाईंलाई आदरणीय छैन ?”
“हो हुन ता; तर विज्ञान के भन्दछ ! निकोटिनको नाम सुन्नुभएको छ ?”
“नाम मात्र होइन, नाता पनि… म विज्ञानमा एम्. एस्सी. पढिरहेछु ।”
पराको नूर अलि गियो । उनी प्रथमासम्म पढेकी थिइन् तर थिइन् उच्च कुलीन ।
बिजुलीले थपिन्, “म धूम्र-पानी छु…बानीबाट अमलेख हुन ।” “हँ ? के भन्या हँ ?” -बीनु सोध्न आइपुगिन्, “केको झगरा हँ ?” “धूम्रपान खराब रे… ।” बिजुलीले जोरको नकली हाँसो निकालिन् ।
“हैन त भन्या छि: सुहाउँदैन है ।”
“कल्लाई ? गरीबलाई ?… सब उच्च कुलका धनी बुहारी आजकाल के गर्छन् ?”
“हो बा- हुन त साँच्चि हकि परादी अस्ति
बिजुलीले पराको मुख ताकेर थपिन्, “यो बिलकुल निर्दोष आदत हो । परिवर्तन एक औपन्यासिकता । नवीनता एक मोहनी । म परम्पराबाट अमलेख हुन चाहन्छु, व्यक्तित्वका लागि” उनले सिग्रेट सल्काइन्, फुर्र धूवाँ उडाइन् ।
“जो अप्रचलित छ त्यो मलाई बेस लाग्छ । जो परम्पराविरुद्ध छ, त्यसमा म व्यक्तित्व देख्छु । धेरै जना स्त्रीले धूवाँ पिउन लागेपछि म यो आदत जरूर छोड्नेछु ।”
नीला सुगन्धी कुकीहरू चिसा हावामा लहराए । बिजुली शान्त अखलबल थिइन् । “तपाईंहरू बोक्रे नीतिमा विश्वास गर्नुहुन्छ । के तपाईंलाई आमाबाबुले बूढो स्वामीसँग बिहा गरिदिए पोइलो जानेसम्म तपाईंको व्यक्तित्व छ ?” बिजुलीले भनिन् ।
पीनु, “ ह्या ! मोरी !”
बिजुली, “आम्मै ! खास कुरा गऱ्या मैले ।” पीनु, “लौ मारी !”
परा एकपछि चूप लागिन् । उनको मुख केही रातो भयो । उनको उमेर थियो १८ वर्षको तर उनका स्वामी थिए पैंतालीस । उनलाई एक किसिमको झनक्क रिस पनि उठेर आयो ।
“अझ सुन ! … के पक्क पर्नु भो ?”
“हामी पोइल जाने त्यस्ता नारी होइनौं !”
“तब घर सडाहा ?”
“सावित्री घर सडाहा ? “
“त्यो पुरातन अपवाद… म पुराना कथाले जीवन निर्माण गर्न चाहन्नँ ।”
“यो झूटो आदत हो । पुराना-परम्परा स्त्री भन्यो कि मलाई रिस उठ्छ । एक बित्ता अग्लो अलक मकुण्डो जस्तो ।’
“तपाईंहरू के आजकाल नयाँ वेद बनाउन लाग्नुभा’छ कि त ?” “बस्, औ के… बुझ्नुभो… आफ्नो वेद आफैँसँग हुन्छ, धर्म भनेको त अन्धो गल्ली हो ।”
हुन्छ ? “
“राम ! राम !!”
“के तपाईं दोस्रो पुरुष कल्पना गर्नदेखि घिनाउनु र तर्सिनु
“जरूर !” पराले नाक सिकुडिन् ।
“तब हेर्नोस्, तपाईंको र मेरो अन्तर, म पोइलो जाने कल्पनादेखि घिनाउनसट्टा खास पोइलो गएकी नारी हुँ, पतिता है ?”
सारा स्त्रीसमाज जिल्ल परी सुन्न लागे । यो के ? बिजुली ? महिला मण्डलकी सभानेत्री, बिजुली ?… त्यस्ती विदुषी बिजुली ? आफ्नै मुखबाट ? छिः छिः ठट्टा होला ! कस्ती नकच्चरी ए हँ ? हो त, खुर-खुरखुर मान्छे वा वेश्ये नै होऊ !
“पोइलो जानु कुनै खराब कुरा होइन”
“दुई-चार महिला कान समातेर उठेर निस्के । ”
“किन ?… लाटा, अतिरोगी, नपुंसक, अतिशिशु, अतिवृद्ध यी हाम्रा पुरुषै होइनन् बुझ्नुभो ।”
एक-दुई जना महिला फर्केर आएर मेचमा चाखले बसे। पीनुले सोधिन्, “अनि, अनि बिजुली दी …!”
“मेरो पहिलो विवाह भयो एउटा पचास वर्षको बूढोसँग, जब म १६ वर्षकी थिएँ- ऊ अति धनी थियो नाउँ लिन चाहन्नँ ।”
“आम्मै ! साँच्चै ?” ठूलो मानिस जसको म
“तब के म झूटो कुरा गरिरहेछु त ? उसको ठर्रो सेतो रौँ, बढो ढङ्ग र सिँगाने बानी देखेर मैले वेदसँग सङ्घर्ष आरम्भ गरेँ… मैले भनेँ, धर्म भनेको प्राकृत मानवजाति विकाशक नियम हो । डोको छोप्ने चलन होइन । मेरो आत्मा घिनायो । मैले विवाह गरेको एक हप्तामा उसको घरमा आवतजावत गर्ने युवकलाई आँखाले इशारा गरेँ, त्यो इशारा थियो, ‘अबलालाई पतनबाट र नरकबाट- हे युवा ! उद्धार गर ।’ उसले प्रत्युत्तर दियो । अनि म खसोखास पोइलो गएँ । अनि म ऊसँग दार्जीलिङ्गतिर भागेर गएकी थिएँ । उसको व्यक्तित्वविना र आफ्नो व्यक्तित्वविना त पढ्ने थिइनँ । मेरो जीवन झुल्काउने, यसमा प्रकाश हाल्ने केवल वैज्ञानिक नीतिअनुसारको शुद्ध त्यक्त विचार हो ।
“कति छन् स्त्रीहरू जसमा व्यक्तित्व छैन । ममा त्यो व्यक्तित्व थियो म उत्रें । मलाई समाज पतिता भन्ने थियो । मेरो पुरुषको व्यक्तित्वद्वारा म विश्वको मुखमा बट्टा लगाएर समाजको अरू चढ्दो, बढ्दो आदरपात्रिका छु । व्यक्तित्व भनेको जीवन हो । मनुष्यत्व हो । यसको अभाव रोग र मृत्यु हो । हामीमा आफ्नो आत्मालाई खराब परिस्थिति, मिथ्या पुरुषत्व तथा झूट परम्पराबाट छुटाउन सक्ने सामर्थ चाहिन्छ । त्यो सामर्थ ममा थियो, म उत्रें । मेरो जीवन बन्यो ! यसलाई कसैले अशुद्धि भन्न सक्तछ ? भन्नेहरूको समाजलाई म तिरस्कार र त्याग गर्दछु । यो मेरो आत्मविजयले म आज त्यही बिजुली छु जो तपाईंहरू देख्नुहुन्छ ।”
धेरै जना उठेर बाहिर निस्के । कोहीकोही चाख मानेर बसे । पीनुलाई साह्रै असजिलो लाग्यो । यी के छाँटकी मानिस होलिन् ? समाजमा खुलस्त यसरी ? पराले चूपचाप सुनिरहिन् । केही कुरा
जरूर साँचो थियो । तर यी धर्मछाडा नकच्चरीहरू छिः -यस्तो महिलामण्डलमा पदार्पण गर्नु… उनलाई उठेर बाहिर निस्कँनिस्कूँ जस्तो लाग्यो तर उनी अडिरहिन् । बिजुलीले थपिन्, “व्यक्तित्वविनाका पुरुषद्वारा जातिसंहार हुन सम्भव हुन जान्छ । व्यक्तित्वविनाका । स्त्रीहरूबाट मानवजातिको उच्च-विकास हुन सक्तैन ।’
पराले प्रश्न गरिन्, “तब के उमेर नमिले विवाह-विच्छेद गर्नैपर्दछ त सबले ?” बिजुलीले जवाफ दिइन्- “म सम्झन्छु बिलकुल आवश्यकीय छ । किनकि विषम उमेरको मेल प्रकृतिविरुद्ध छ । म जान्दछु मैले पाप गरिनँ । म जान्दछु म नरकमा पर्दिनँ । युवायुवतिसँग र वृद्धावृद्धसँगै मात्र जोडा मिल्दछ । मानवविकासको तत्त्वविरोधी सब क्रियाहरू पाप हुन् । त्यसका समर्थक र पोषक सब क्रियाहरू धर्म हुन् । म स्त्रीको मानवतातरफको उत्तरदायित्वको चेतले गर्दा म पोइलो गएँ । मलाई वैज्ञानिक पोइलोले विकास गयो । मलाई वेश्ये बिजुली भन्दछन् । यो कलङ्कले मलाई छुदैन । जस्तो आकाशलाई भलले । सारा समाज, देवीदेवता, विश्वका मुहारमा ठाडा हेरेर ठमठमाउँदै हिँड्न सक्छु । मैले बिलकुल पाप गरिनँ । तर मानव- विकासपथमा व्यक्तित्वसँगै चलें ।’
यति भाषणपछि सभा विसर्जन भयो । पीनुलाई फर्केर हेर्दा बिजुलीले देखिनन् । उनी घरतिर हिँडिसकेकी थिइन् ।
X X X
पराले घरमा बिजुलीको नकच्चरो भाषणउपर गौर गर्न लागिन् । उनले गीता पल्टाइन् । भागवत पढिन् । तर सुनेको कुराले जरो हाल्दो रहेछ । गीतामा कृष्ण थिए तरुना, राम्रा, अलबेला । स्त्रीको अन्तरहृदयमा विश्वपुरुषको भावनामा अमर बैँस तथा पुंसत्वकै भावना प्रधान रहन्छ । उनले जलले शरीर सेचन गरिन् । पञ्चामृत खाइन् । तर हृदयले इशारा गर्थ्यो अर्कै कुराको, केही वस्तुको ठोस अभाव घरमा अनुभव हुन्थ्यो । वेद र यौनभाव बराबर ठक्कर खान्थे । के भएको ? श्रीकृष्ण भगवान्लाई अक्षता, सिन्दूर, केरा, अम्बा चढाइन् । छि: किन आज जीउ गलीगली आएको होला यसरी । कूचो बढारिन् । तन्ना कसिन् । सिरक पल्टाइन् ।
“हँ के भन्यौ ?” स्वामीजी सशङ्क मुख हेर्न लागे ।
“खबरदार, जान पाउन्नौ ।”
“हजूरको के अधिकार छ त्यस्तो निषेध गर्ने ?”
स्वामीजी जिल्ला खाए । किन आज यत्रो विरोधको आँधी हँ ? उनले भूल गरेका थिए । केही चीज सामग्री किन्नुपर्ने थियो उनको । निमित्त । बिर्सेका थिए ।
“म के हजूरकी नोकर्नी हुँ, त्यत्रो जखडबन्धनमा राखिन बेकार ?”
‘उहुँ, ठीक चालो छैन, व्यर्थ बिहा गरेँ क्यार ! यो मानिस ?’ मनमनै सोच्दै साहिँला बाजेले भने, “किन ? किन ?”
“ हजूरहरू स्त्रीलाई मालताल सम्भिबक्सिन्छ ।” “अहँ ?” साहिँला बाजेले आँखा झिम्के ।
“के हजूरलाई स्त्रीको जरूरत थियो र ?”
“लौ पक्का पनि भेद खुल्यो” -साहिँला बाजेको अन्तरले भन्यो । “किन थिएन त ?” उत्तरमा भने ।
“झूटो बोल्छन् तिनीहरू जो नपुंसक छन् ।”
तब साहिँला बाजेले रोएर आफ्नो भूल स्वीकार गरे । उनलाई छोराछोरी हेर्ने मानिस चाहिएको थियो ।
भूल भयो । भेद पत्ता लागिहाल्यो । सूर्यलाई ढाकेर ढाकिन्थ्यो ? परा रिसले चूर भइन्, “अर्काकी छोरीको जीवन यसै गरी बिगारिदिने हो त ?… नपुंसक !”
साहिँला बाजेले हात जोडे, “नरिसाऊ- तिम्रो जे इच्छा गर, म केही भन्ने छैन !”
“के म रन्डी हुँ ? भ्याल ?”
‘धिक् ! के के आपद् आइलाग्यो गजबकी बघिनी पो रहिछन् । यत्तिका दिन सिकाएको ब्रह्मचर्य र धर्म माटैमा मिल्यो त ?’
“के गर्छौं त ? मलाई छोडेर जान्छौ त ?”
“जरूर ! म एक निमेष बस्न चाहन्नँ नौलीका पोइ !’ “विन्ति छ, मेरो बेइज्जत नगर ।’
“म संसारलाई जाहेर गर्दछु, नराधम !” परा हिँडिन्- कता ? को जान्न सक्तथ्यो ?
शायद त्यही बिजुलीकहाँ बस्न- जसतरफ उनको धार्मिक हृदयमा त्यत्रो जोर परेर घृणा उत्पन्न भएको थियो ।

