भूकम्प पीडितलाई राहत र पुनर्वासमा ध्यान देऊ

प्राकृतिक विपत्ति कतिबेला आउँछ कसैलाई थाहा हुने कुरा भएन । विपत्ति आईसकेपछि त्यसबाट प्रभावितहरूको तत्काल उद्धार, औषधि उपचार, व्यवस्थापन, पुन:स्थापना तथा पुनर्वासको व्यवस्था मिलाउनु पर्ने हुन्छ । विपत्तिको समयमा विपत्तिबाट कम प्रभावित जो सम्बन्धित स्थानमा रहेको छ, जो सक्ने छ उसैले त्यहीबाट नै प्रभावितको उद्धार, राहत कार्यमा सक्दो सहयोग गर्नु मानवीय जिम्मेवारी हो । विपत्तिको समयमा टोल छिमेकी, सक्ने मान्छेहरू, गाउँलेहरू, स्थानीय स्तरका, सरकारी तथा गैरसरकारी प्रतिनिधिहरू, समाजसेवी, प्राविधिकहरू सबैको ठूलोभूमिका रहेको हुन्छ । राज्यस्तरबाट सरकारी तवरको तथा विदेशी सबैतिरको विपत्तिमा परेका मानिसहरूलाई साथ र सहयोगको आवश्यकता हुन्छ । जो जहाँ छ त्यहीँबाट पीडितको लागि सक्दो सहयोग गर्नु सबैको काम हो । सबैको साथ सहयोगले नै मानवलाई बाँच्न सजिलो हुन्छ विपत्ति एक जनालाई मात्र पर्ने कुरा होइन । यो सबैलाई आईपर्न सक्ने कुरा हो ।

अहिले नेपालको पश्चिम भागको जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुबार ६.४ म्याग्नीच्यूडको भूकम्प गयो । त्यसपछि लगातार परकम्प गइरहेको छ । भूकम्प तथा लगातारको परकम्पले त्यहाँ र त्यसआसपासको जिल्लाहरूमा ठूलो जिउ, धनको क्षति भएको छ । अहिले सम्म १५० जनाको मृत्यु भएको, ठूलो सङ्ख्यामा घाईते भएको,करिब ३५हजारको सङ्ख्यामा घरहरूको पूर्ण रुपमा क्षति पुगेको र पीडितहरूको बास गुमेर पीडितहरू खुला आकाशमा बस्न बाध्य भएका छन् । उनीहरूको उद्धार, राहत, तथा पुन: स्थापनाको आवश्यकता रहेको छ । पीडितहरूलाई सम्पूर्ण हिसाबले साथ सरसहयोगको आवश्यकता छ । मृत्यु भएकाहरू मध्ये ११ जना त विद्यार्थीहरू रहेका छन् । २१३ विद्यालयहरूको पूर्ण रुपमा क्षति भएको छ । प्राकृतिक विपत्ति आईसकेपछि कैंयौँ अवस्थामा पीडितलाई विज्ञहरूबाट मनोवैज्ञानिक उपचार, सल्लाह सुझावको पनि आवश्यकता परेको हुनसक्छ । विद्यार्थीहरूलाई पूर्ण रुपमा मनोवैज्ञानिक सल्लाह र सुझावको आवश्यकता पनि पर्न सक्छ । पठनपाठनलाई व्यवस्थित बनाउन पनि निकै समय लाग्दछ । कैयौँ पीडितहरू सबै कुरा गुमेको अवस्थामा शारीरिक तथा मानसिक पीडा सहन नसक्ने अवस्थामा पनि पुग्न सक्दछन् ।

प्राकृतिक विपत्तिमा गास, बास र कपासको व्यवस्था गर्नु पर्दछ । पीडितलाई मनोवैज्ञानिक उपचार गर्नु पर्ने हुन सक्दछ । अहिले सरकारले पीडितको राहतको लागि एकद्वार नीति लागू गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कार्यक्रम अन्तर्गत सहयोग गर्नको लागि सरकारले अनुरोध गरेको छ । विपत्तिमा सबै बाँचौँ र सबैलाई बचाअौँ भन्ने भावनाका साथ काम गर्नु पर्दछ । सबैले सबै पीडितको मर्म बुझ्ने कोशिश गर्नु पर्दछ । पीडतहरूलाई हाललाई चाहिएको छोटो समयको लागि राहत र पुनर्वास हो भने दीर्घकालीन रुपमा भौतिक संरचनाहरूको पुनर्निर्माण हो ।

राहतको लागि सबैले सक्दो सहयोग गर्न आनाकानी गर्नु हुँदैन । यो नागरिक स्तर, सरकारी स्तर गैरसरकारी स्तर, तथा वैदेशिक सहयोगको माध्यमबाट जसरी भएपनि सहयोग गरी राहत तथा पुर्न:निर्माणमा जुट्नु पर्दछ । विपत्तिको यस अवस्थामा राहत तथा पुन: स्थापनाको लागि पीडितहरू जो वास्तवमै पीडित छन्, जोसङ्ग बैङ्क व्यालेन्स छैन, जोसङ्ग आय आर्जनको लागि स्रोतको अभाव छ जीवन जीउनको आधारहरू नपाएर जीवन चलाउँदै आइरहेका छन् । जसको एक सानो आश्रयस्थल पनि गुमेको छ उनीहरूलाई प्राथमिकतामा राख्न जरुरी छ । यस्तो समयमा जसरी भएपनि आफूलाई मात्र होओस् । अरु जे सुकै होउन् भन्ने सोच्नु हुँदैन । नेपालको २०७२सालमा गएको भूकम्पले राम्रो पाठ सिकाएको छ । भूकम्प गइसकेपछिको राहतको समयमा एकप्रकारको होडनै चलेको थियो, आ–आफ्नो तरिकाले सङ्घ संस्था मार्फत् व्यक्तिगत रुपमा पहुँच भएको स्थानमा मात्रै केन्द्रित हुने, आफ्नालाईमात्रै सहयोग गर्ने, पीडित भन्दा पनि पहुँचको भरमा सरकारी तथा गैरसरकारी स्तरबाट आएको सहयोग बाँड्ने, दूरपयोग गर्ने जस्ता कामहरू भएका थिए । अहिले यो अवस्था दोहोरिन नदिन सबैले ध्यान दिनु पर्दछ । पुनर्निर्माणमा भएका सहयोग देखावटी मात्रै भएको तथा सहयोगको आवश्यकता नरहेकाले पनि पाएको र लिएको देखिएको थियो ।

अहिले पश्चिम जाजरकोट आसपासमा गएको भूकम्प पीडितहरूलाई सहयोग गर्ने सन्दर्भमा यो नहोस् भन्नेमा सबै सचेत हुन जरुरी छ । अहिले पीडितहरू खुला आकाशमा बस्नु परेकाले पीडितहरूले बासको लागि हारगुहार गरिरहेका छन् । यो अवस्थामा पीडितहरूलाई बाँच्ने आधार निर्माण गर्नको लागि सरकारले विषेश ध्यान दिनु पर्दछ । सरकारले भूकम्पमा परी घाईते भएकाहरूको उपचार निशुल्क गर्ने निर्णय गरेको छ । तत्काल जाडोयाम सुरु भइसकेकाले तत्कालको लागि बासको व्यवस्था गर्न पर्ने छ । त्यसको लागि सकेसम्म कम खर्चमा स्थानीय श्रोत, साधन र ज्ञानको को प्रयोग गरी अल्पकालको लागि भूकम्प प्रतिरोधी बास निर्माण गर्न ध्यान दिनुपर्दछ । दीर्घकालनका लागि भने पुन:निर्माणको योजना बनाउनु पर्दछ । तत्कालको लागि राहत र पुर्नबासको व्यवस्था मिलाउन स्थानीय निकाय, सङ्घ प्रदेशहरूले ध्यान दिनु पर्दछ । राहत, सहयोग टोली, समिति गठन गरेर परिचालन गरेर, भएपनि सहयोग पुर्‍याउनु पर्दछ । प्राकृतिक विपत्तिबाट पीडित भएकाहरूमा थप अरु विपत्ति पछि आउने अनेक खालका सङ्क्रमण कष्टहरू नआओस भन्नेमा सतर्क रहनु पर्दछ । उनीहरूलाई मानवीय साथ र सहयोगको आवश्यकता रहेको छ । त्यसको व्यवस्थाको लागि सबैको ध्यान जानु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित