बलिभद्र शर्मा, जिल्ला प्रवक्ता, नेकपा (मशाल) काठमाडौं
१) तपाईं लामो राजनैतिक अनुभव बोकेको व्यक्ति हुनुहुन्छ । तपाई राजनीतिक गतिविधि तिर कसरी आकर्षित हुनु भएको हो ?
– म २०२६ सालतिर गल्कोट स्कूलमा अध्ययन गर्ने समयदेखि नै नेपालको कम्युनिस्ट आन्दोलनसँग जोडिन पुगें । त्यसबेला गल्कोटमा एउटा मात्रै माध्यमिक तहको स्कूल गल्कोट माध्यमिक विद्यालय (तत्कालिन गौमुखी हाइस्कूलको नामबाट संचालित) थियो । त्यस विद्यालयमा प्रायः गल्कोटभरीबाट अध्ययन गर्न विद्यार्थीहरु आउँथे र म लगायतका केही साथीहरु पनि हाम्रो घर चालिसेटोलबाट हिंडेर करिब डेढ घण्टामा हटिया बजारमा रहेको यस विद्यालयमा पढ्न आउने गथ्र्यौं । पढाउने शिक्षकहरुको अभावका कारण टाढाटाढाबाट शिक्षकहरु खोजेर ल्याउनु पथ्र्यो । त्यही सिलसिलामा गुल्मीबाट केशवराज ज्ञवाली र माधव ज्ञवाली भन्ने दुई जना शिक्षकहरु गल्कोटमा शिक्षण पेशामा आउनुभयो । उहाँहरु वामपन्थी विचारका हुनुहुन्थ्यो । उहाँहरुले विद्यार्थीहरुलाई छुट्टिको समयमा र विहान बेलुकी पनि समय मिलाएर वामपन्थी विचारधारा सम्बन्धी कलास दिने र विद्यार्थीहरुलाई संगठित गर्ने गर्नु हुन्थ्यो । त्यसै समयमा काठमाडौंबाट बालमुकुन्द खरेल र केही पछि झलनाथ खनाल पनि गल्कोटमा शिक्षक भएर जानु भयो भने उता हरिचौरमा चित्रबहादुर के.सी., प्र.अ.हुनुहुन्थ्यो । त्यतिबेला हरिचौरमा मिडिल स्कूल मात्र थियो र त्यसलाई हाईस्कूलसम्म बनाउने भन्ने पहल भयो । अरनिको हाइस्कूलको नामले हरिचौरमा पनि कक्षा दशसम्म पढाई शुरु भई गल्कोटमा दुईवटा हाईस्कूल संचालनमा आएका थिए । त्यतिबेलाको पिछडिएको जनचेतना, कमजोर आर्थिक अवस्था, अशिक्षित समाजको परिवेश आदिका कारण दुईवटा माध्यमिक तहका स्कूल संचालनमा कठिनाई हुने र विद्यार्थी संख्या पनि कम हुने भएकोले दुईवटा स्कूल एकीकरण गरेर बीचमा एउटै बनाउने अभियान शुरु भयो र मझुवा फाँटमा खरले छाएको छाप्रो बनाई दुवै तर्फका शिक्षक र विद्यार्थी भएर मझुवाफाँटमा पठनपाठनको शुरुवात भयो । दुवै तर्फका शिक्षकहरु कम्युनिस्ट विचार बोकेका हुँदा विद्यार्थीहरुमा सोही अनुसार कम्युनिस्ट विचारको क्लास दिने, प्रचारप्रसार गर्ने, संगठित गर्ने कार्यहरु हुनाले । तत्कालिन शिक्षक झलनाथ खनाल जो अहिले एकीकृत समाजवादीका नेता र पूर्व प्रधानमन्त्री समेत भैसक्नु भएको छ । उहाँले विद्यार्थी युनियनको गठन गर्नु पर्छ भनेर पहिलो चोटी विद्यार्थी युनियनको गठन प्रक्रिया गराई विद्यार्थीहरुलाई संगठित गर्ने कार्यमा सहयोग गर्ने र विभिन्न विद्यार्थी संगठनबारे जानकारी गराउने कार्य गर्नुभयो । यसै बेलादेखि म पनि नेपालको कम्युनिस्ट आन्दोलनतर्फ आकर्षित भएको हुँ ।
२) विद्यार्थी जीवनको कुनै स्मरणीय राजनीतिक घटना पनि छ कि ?
– विद्यार्थीकालमा गल्कोटमा कम्युनिस्टहरुको प्रभाव बढेको देखेर तत्कालिन सरकारले धरपकड गर्ने , विभिन्न झुटामुद्दा लगाउने, त्यहाँका शिक्षकहरुलाई गल्कोट छाड्न बाध्य पार्ने आदि कार्य गर्न शुरु ग¥यो । जसका कारण धेरै शिक्षकहरु गल्कोट छाडेर अन्यत्र अध्यापन कार्यमा सरुवा भए । बालमुकुन्द खरेल काठमाडौंतिर आए भने त्यहाँका स्थानीय शिक्षकहरु चित्रबहादुर के.सी, मथुराप्रसाद श्रेष्ठ, बद्री कुमार श्रेष्ठ, देवराज पन्त, दीर्घप्रसाद पाण्डे लगायतका धेरै जनालाई वारेन्टजारी गरेर पक्राउ गर्ने र जेल चलान गर्ने कार्य सरकारले शुरु गरेपछि चित्रबहादुर के.सी., भूमिगत हुन प¥यो भने झलनाथ खनाल लगायतलाई जेल चलान ग¥यो । झलनाथ खनाललाई पक्राउ गरी प्रहरीले ल्याइरहेको अवस्थामा म लगायतका विद्यार्थीहरुको समूहले उहाँलाई स्कूल नेर प्रहरीको पञ्जाबाट खोसेर स्कूलमा लगेर राखेका थियौं र पछि उहाँले म पक्रिएरै जान्छु । त्यति लामो समय जेल बस्न पर्दैन कि भन्ने मनसाय व्यक्त गरेपछि उहाँ प्रहरीसँगै जानु भएको मलाई राम्रो सँग स्मरण छ ।
३) पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा पढ्दा विद्यार्थी संगठन सित जोडिनु भयो कि भएन ?
–त्यो बेलाको पंचायती कानुनले कुनै पनि संगठन गर्न, संघसंस्था खोल्ने लगायतका गतिविधि गर्न कडा प्रतिबन्ध थियो भने अर्कोतिर पाल्पाको तानसेन बजारस्थित त्रिभुवन क्याम्पसमा त्यो समयमा वामपन्थी विद्यार्थीहरुको एकदमै न्यून उपस्थितिका कारण एक आपसमा वाम विद्यार्थीहरुका बीचमा छलफल, क्लास दिने र नयाँ विद्यार्थीलाई युनियनमा आबद्ध गर्ने बाहेकका संघर्षका उल्लेख्य कामतिर जोडिन पुगेको अनुभव छैन ।
४) तपाईले शिक्षण पेशा अपनाउनु भयो । तपाईको शिक्षक जीवन कहाँ कसरी बिताउनु भयो ?
– शिक्षक पेशा अपनाए तापनि मुख्य काम जनतामा कम्युनिस्ट पार्टीप्रति आकर्षित गर्ने गाउँगाउँमा जनचेतना जगाउने, गाउँमा शोषण गरेर सर्वसाधारण किसानलाई सताइरहेका पञ्च, ठूला वडा साहुमहाजन,मुखिया जिम्मावालको विरोधमा सर्व साधारण जनतालाई सजग र जागरुक बनाइ उनीहरुमाथि भइरहेको शोषणको विरोध गर्न लगाउने कार्यमा लागेको हुँदा म गाउँका ठूलाबडा हुँ भन्ने व्यक्ति पञ्च तथा प्रशासकको आँखाको कसिंगर बन्न पुगें । जसका कारण मलाई टाढाको दुर्गम स्थानमा सरुवा गर्न स्थायी नगर्ने, आदि इत्यादी गरेर दुःख दिने कार्य प्रशासनबाट हुन थाले र मलाई गल्कोटबाट ३÷४ दिन हिंडेर जानु पर्ने दुर्गम ठाउँमा सुरुवा गरियो ।
५) शिक्षक संगठन र शिक्षक आन्दोलनमा पनि लाग्नु भयो कि?
– जति प्रशासनबाट मलाई लखेट्ने काम शुरु भयो । उति नै म शिक्षक संगठनमा सक्रिय भए । शिक्षक संगठनको बागलुङ जिल्ला समितिमा रहेर शिक्षकहरुलाई संगठनप्रति आबद्ध गर्ने,शिक्षक आन्दोलनमा लाग्न प्रेरित गर्ने, शिक्षक हकहितको लागि संघर्ष गर्ने सिलसिलामा कैयौं साथीहरुलाई प्रशासनले पक्रेर अनेक यातना दिने र विद्यालय खोल्न धम्की दिने जस्ता कार्यमा भूमिगत रुपमै साथीहरुलाई भेटगरी स्कूल बन्द गर्न लगाउने आदि कार्यमा सक्रिय भएको कारण म तत्कालिन पंचायती प्रशासनको आँखाको निसाना नै बने ।
६) २०३४ सालको पर्चा काण्डमा देश भरी प्रहरीले दमन र धरपकड गरेको थियो । बागलुङमा ककसलाई गिरफ्तार गर्यो र यातना दियो ?
– २०३४ सालको आषाढ ७ गतेका दिन देश व्यापी रुपमा तत्कालिन पंचायती व्यवस्थाको मात्र होइन किसिधै राजतन्त्रको विरोध र राजासँग नेपाली कांग्रेसले लिएको मेलमिलापको विषयको विरोध गरी नेकपा चौथो महाधिवेशद्वारा पर्चा छरिएको थियो । सिधै राजदरबारको विरोधगरिएको कारण तत्कालिन प्रशासनले क्रुर दमनको नीति अपनायो र म लगायत धेरै साथीहरुलाई पक्राउ गरी कठोर यातना दिइयो । कैयौं साथीहरुलाई जेल चलान गरियो भने म लगायत केही साथीहरुलार्य २३ सौं दिनसम्म हिरासतमा राखेर कुटपिट गर्नुका साथै अनेकौं यातना दिंदा पनि सावित नभएपछि लोभ लालचसमेत देखाउने प्रपञ्च रचियो र त्यतिगर्दा पनि सावित हुन भएका साथीहरुलाई चौविसौं दिनमा प्रशासनबाट बोलाएका बखत हाजिर हुने सर्तमा हाजिर जमानत राखेर छोडियो र म पनि हाजिर जमानतमा छुटें ।
७) २०३६ सालको आन्दोलनको अनुभव सुनाउनु हुन अनुरोध छ ।
– २०३६ सालमा पाकिस्तानका पूर्व राष्ट्रपति जुल्फीकर अलि भुट्टोलाई त्यतिबेला सत्तामा रहेका सैनिक शासक जनरल जियाउल हकले मृत्युदण्ड दिएपछि त्यसको विरोधमा विरोधपत्रदिनका लागि पाकिस्तानी राजदुतावासमा जान लागेको विद्यार्थीको जुलुस माथि प्रहरीले अन्धाधुन्धा लाठीचार्ज गर्दै दमन गरेर घाइते बनाएपछि त्यसको विरोध गर्दै शुरु भएको विद्यार्थी आन्दोलन एक पछि अर्को ठाउँ गर्दै देशैभरी फैलिन पुग्यो । बागलुङ जिल्लाको विभिन्न ठाउँमा विद्यार्थीहरुले गरेको आन्दोलनलाई तत्कालिन समयमा प्रतिबन्धित राजनैतिक पार्टीहरुले पनि नेतृत्वदायी भूमिका खेलेर आन्दोलनलाई उचाईमा पु¥याएका थिए र राजा विरेन्द्रबाट जनमत संग्रहको घोषणा भएको थियो । विभिन्न वाम पार्टीहरुले मुख्य गरेर तत्कालीन समयमा ने.क.पा. चौमले सो आन्दोलनमा मुख्य भूमिका खेल्दै राजाबाट भएको जनमत संग्रहमा धोका हुन्छ भनेर सिधै बहुदलको घोषणा हुनुपर्छ भन्ने माग अगाडि सारेर आन्दोलनलाई निरन्तरता दिएको थियो । तर ने.का. लगायतका अन्य पार्टीहरुले त्यसलाई निरन्तरता दिनुको सट्टा राजाबाट घोषणा भएको र राजाकै इच्छामा गठन भएको सरकारले गराउने जनमत संग्रहको स्वागत गर्न पुगे । जसका कारण आन्दोलन कमजोर बन्न गयो र राजाले धाँधलीपूर्ण तरिकाले पंचायतले जितेको घोषणा गर्न लगाई पंचायती निरंकुश व्यवस्थालाई निरन्तरता दिए । त्यो आन्दोलनमा बागलुङको गल्कोटमा भएको जुलुस र आमसभामा भूमिगत जीवन बिताइरहेका चित्रबहादुर के.सी. र म पार्टीको तर्फबाट वक्ताको रुपमा उपस्थित थियौं भने अरु विद्यार्थीहरुले सभामा बोलेका थिए ।
८) तपाईले शिक्षक जीवनलाई किन निरन्तरता दिन सक्नु भएन ?
– माथि विभिन्न समयमा भएका आन्दोलनमा सहभागी भएको, कम्युनिस्ट पार्टीमा लागेर तत्कालिन पंचायती शासनको विरोध गरेको, शिक्षक संगठनमा नेतृत्वदायी भूमिका खेली शिक्षकहरुलाई संगठित गरेको आदि कारणबाट प्रशासनको तगारो बनेको हुँदा मलाई सरकारले शिक्षक पेशाबाट हटाउने दाउ रचेको र मलाई बागलुङको दुर्गम क्षेत्रमा पर्ने खुङखानीको लुकुरवनभन्ने ठाउँमा सरुवा गरी पठाएको कारण म त्यो ठाउँमा जान अस्वीकार गरे । अनि सरकारको आदेश पालना नगरी अटेर गरेको आरोप लगाई मलाई शिक्षण पेशाबाट हटाइएको कारण शिक्षक जीवनमा निरन्तरता दिन नसकेको हुँ ।
९) तपाईं कहिले काठमाडौं आएर व्यवसायिक जीवन शुरु गर्नु भयो ?
– म जब शिक्षक पेशाबाट निस्काशित भएँ, त्यसपछि मसँग दुईवटा मध्ये एउटा विकल्प रोज्नु पर्ने बाध्यता भयो , प्रथम त कि राजनैतिक होल्टाइमर भएर पार्टीले काम गर्नु पर्ने भयो भने दोस्रो केही व्यवसाय गरी छोराछोरी र आफू पालिने उपायतिर लाग्नु पर्ने बाध्यता भयो र म ससाना छोराछोरीलाई लिएर गल्कोटबाट काठमाडौंतिर आई व्यापार व्यवसाय गर्न थाले र राजनैतिक कार्यलाई पनि निरन्तरता दिइरहें ।
१०) २०४६ को जनआन्दोलनको अनुभव के छ ?
– २०४६ सालको फागुन ७ गतेका दिन विद्यार्थी र राजनीतिक पार्टीहरुले गल्कोटको हटिया बजारमा पंचायतको विरोधमा निकालेको विरोध जुलुसमा पुलिसले हस्तक्षेप गर्न खोज्दा प्रहरीको संख्या कम भयो भने जनमानसको सहभागिता अत्यधिक भयो जुलुशलाई पुलिसले रोक्न खोज्दा जनमानसले ढुंगामुढा गरी प्रहरीलाई लखेटे । भाग्ने क्रममा तीनवटा पुलिस जवानहरु दरमखोला हाम फाले । त्यही बेलामा प्रहरीलाई लखेटी लखेटी दौडिरहेका आन्दोलनकारीले खोलामा फेला पारेर दुई जना प्रहरी जवानले पिटेर घाइते बनाए र खोलामा चोपली छाडी दिए भने एकजना प्रहरी भने भाग्न सफल भएका थिए । जब प्रहरीमाथि कुटपिट भयो त्यस्को भोलिपल्ट गल्कोटका राजनीतिक विचार बोकेका पंचायत विरोधी व्यक्तिहरुलाई समातेर पक्राउ गर्न शुरु भयो । मेरो नाउमा पनि वारेन्ट जारी गरेको खबर मैले प्रहरी ठानारहेको हरिचौरको एकजना साथीबाट थाहा पाएँ । उनले सतर्क हुनभनी खबर समेत गरेका कारण म घरबाट बाहिर बसी पक्राउ पर्नबाट बचें । त्यसै सिलसिलामा म घरबाट हिंडेर गुल्मी रिढी,पाल्पा, बुटवल हुँदै काठमाडौं आए । काठमाडौंमा पढ्ने गल्कोटका विद्यार्थी साथीहरुलाई भेटेपछि त्यहाँ पनि जुलुस र सभामा सहभागी हुने मौका मिल्यो । त्यसै क्रममा रत्नपार्कको नजिकै रानीपोखरीको छेउमा रहेको अञ्चलाधिशको कार्यालयमा आगो लगाउने दिनमा म प्रहरीको घेरामा परे । तर रत्नपार्कको वारमाथि चढेर भाग्न खोज्दा घाइते भएँ ।
११) नेकपा (मसाल) को जिल्ला पार्टीमा रहँदाका उल्लेख्य कार्यक्रम के थिए ?
– म नेकपा (मसाल) को जिल्ला पार्टीमा रहँदा शिक्षक संगठनमा सक्रियता, विभिन्न आन्दोलनमा सहभागिता, विभिन्न ठाउँमा संगठन निर्माण आदि काम गरेका छन् ।
१२) गत दश वर्षे द्वन्द्वकालमा कहाँ कार्यरत रहनु भयो ?
– १० वर्षे द्वन्द्वकालमा म काठमाडौं थिएँ र त्यो समयमा व्यवसाय समेत शुरु गरेको हुँदा म काठमाडौं बाहिर नगै उपत्यका भित्र रहेर काम गरे ।
१३) ०६२÷०६३ सालको जनअन्दोलनको अनुभव के छ ?
– २०६२÷०६३ को जनआन्दोलनमा म काठमाडौंको कलंकी मोर्चामा सक्रिय रुपमा खटेर लागे । सबै आन्दोलनमा सहभागी पार्टीहरुको सहभागिाता र नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको थियो । जनमोर्चा नेपालको तर्फबाट कलंकीको मोर्चामा म सहित साध्यबहादुर भण्डारी र जमुना थापा सहभागी भएका थियौं लगातार आन्दोलनलाई अगाडि बढाउने कार्यमा सक्रिय भएर लाग्ने क्रममा कलंकीमा जुन दिन दोर्ज कुमार राईको नेतृत्वको सुरक्षा फौजले गोली चलाउँदा ज्यान जोगाउन भाग्ने क्रममा घाइते समेत भए ।
१४ ) राष्ट्रिय जनमोर्चाले सन्चालन गरेको संघीयता विरुद्ध आन्दोलनमा तपाईको भूमिका के रह्यो ?
– राष्ट्रिय जनमोर्चाले संचालन गरेको संघीयता विरुद्धको आन्दोलनमा पनि मेरो सक्रिय सहभागिता भयो । त्यसबेला म बागलुङ काठमाडौं सम्पर्क समितिको सचिव तथा राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला उपाध्यक्ष थिए र कैयौं बागलुङबाट आन्दोलनमा सहभागी भएका साथीहरुलाई व्यवस्थापन मिलाउने कार्यमा समेत लागे । यसरी संघीयता विरोधी आन्दोलनमा पनि मैले सक्रिय भूमिका खेले ।
१५)तपाईं जीवनको निकै लामो काल खण्ड नेकपा (मसाल) मा व्यतित गरेको व्यक्ति हुनुहुन्छ । आज आएर त्यो पार्टीबाट अलग भइ नेकपा ( मशाल) काठमाडौंको प्रवक्ता भएर काम गर्दा कस्तो महसुस गर्नु भएको छ ?
– म पहिला विद्यार्थी जीवनबाट नै कम्युनिस्ट आन्दोलनतर्फ आकर्षित भई २०३१ सालमा चौथो महाधिवेशन पश्चात् लगातार नेकपा(मसाल)मा लामो समय व्यतित गरें । अहिले नेकपा (मशाल) मा आबद्ध छु । नेकपा (मशाल) देश र जनताको मुक्तिको लागि निरन्तर संघर्षरत रहने छ ।
१६) देशको राजनीतिलाई कसरी मूल्यांकन गर्नु हुन्छ?
– अहिले नेपालको राजनीतिक अवस्था एकदमै नाजुक र जर्जर छ । सत्तामा विदेशी साम्राज्यवादीका दलाली र गर्ने जनविरोधी शक्तिको बाहुल्यता रहेकोले देश र जनताको हितमा होइन विदेशी शक्तिको इच्छा र इसारामा योजनाहरु तर्जुमा गरिन्छन् र विदेशीहरुको इच्छाअनुसार संविधान संशोधन गरी नीति नियमहरु तर्जुमा गरिन्छन् । उदाहरणका लागि एमसीसी पास गर्नु,नागरिकता विधेयक पास गर्नु, उर्जा सम्झौता गरी नेपालको विजुली सस्तोमा भारतमा विक्रीगर्ने, तर भारतबाट नेपालले किन्दा झण्डै डवल मूल्य प्रति युनिट फरकमा किन्नु पर्ने जस्ता कार्यले देशको भविष्य अन्धकारतर्फ धकेलिंदै छ । देशमा भएका उद्योग कलकारखाना कौडीको भाउमा बेचेर पूर्ण रुपले परनिर्भरतामा पु¥याउनु र खरबौं व्यापार घाटा बेहोर्नु पर्दा अर्थतन्त्र नै धरासायी भएर नेपाल असफल राष्ट्र घोषणा हुने सम्भावना बढेर गएको छ ।
१७) अबको कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्नु पर्दछ भन्ने ठान्नु हुन्छ ?
नेपाली जनताले कम्युनिस्ट पार्टीहरुलाई विश्वास र भरोसा गरी साथ र सहयोग गरेका छन् र अझै पनि गर्दछन् ।तर बारम्बार कम्युनिस्टको नाम राखेर सत्तामा पुगेका पार्टीहरुले जनतालाई धोका दिएर बेइमानी गर्दै आइरहेका छन् । जसका कारण जनतामा वितृष्णा र निरासाका लहरहरु देखिन थालेका छन् । त्यसैले अब देश र जनताको मुक्तिको लागि संघर्षरत क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु एक आपसमा छरिएर स साना झुण्ड समातेर होइन एकत्रीत मै संयुक्त रुपमा एक ठाउँमा गोलबन्द भै सशक्त कम्युनिस्ट पार्टी निर्माण गर्नु आजको मुख्य आवश्यकता भएको छ ।
१८) अन्त्यमा हाँक साप्ताहिक मार्फत् भन्नु केही छ कि ?
– अन्त्यमा हाँक साप्ताहिकले मेरो मनमा लागेका केही कुराहरु जनता माझ पु¥याई सहयोग गरे गराएकोमा आभार प्रकट गर्दै अब आउने दिनहरुमा पनि सही र सत्य समाचार प्रकाशन गर्दै जनचेतना फैलाई राष्ट्र र जनताप्रति अझ बढी जनउत्तरदायी भूमिका खेल्ने छ भन्ने विश्वास गर्दछु ।

