– राम कार्की (पार्थ)
केन्द्रीय सचिव, नेकपा (माओवादी केन्द्र)
राम कार्की माओवादी केन्द्रका एक बौद्धिक नेताकारुपमा चिनिन्छन । उनको सरकारी कागजातको नाम सुरेन्द्र कुमार कार्की हो । उनले रामराजा प्रशाद सिंहको पार्टीमा काम गरेका थिए । २०४२ को रामराजाको वम काण्ड भन्दा पहिले उनी मशालमा जोडिएका थिए । २०४७ मा विद्रोही मसाल एकताकेन्द्र बन्ने प्रक्रियामा गएपछि उनी पनि एकताकेन्दमा रही काम गरे । २०५२ देखि सुरु भएको जनयुद्धमा उनी युद्ध स्थलमा नगए पनि सोही पार्टीको जिम्मेवार पदमा रही काम गरे ।
कार्कीको जन्म २०१३ साल असोज ३१ गते भएको थियो । उनको पुर्ख्यौली घर ओखलढुंगा हो । उनको आमाको नाम रत्नादेबी कार्की र र बाबा अमृत कार्की हुन् । उनकी श्रीमती सेराप सिँगा हुन् । सेरापको तर्फबाट उनका दुई सन्तान एक छोरा र एक छोरी छन् – । सेरापको माइत भारतको सिक्किम हो । सेरापले इको टुरिजममा विद्यावारिधी गरेकी छिन् ।
राम कार्कीले नेपालमा सांसद र संचार मन्त्री सम्मको भूमिकामा रही काम गरिसकेका छन् । उनको युद्धकालमा जनतन्त्र सम्बन्धी पुस्तक प्रकाशित भएको थियो ।उनको भर्खरै “ विकल्प “ शीर्षकमा नयाँ पुस्तक बजारमा आएकोछ । उनले राजनीति शास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । यस पटक हाँक साप्ताहिकले माओवादी केन्द्रका केन्द्रिय सचिब राम कार्की सित गरिएको अन्तरङ्ग छलफललाई यहाँ दिइएकोछ ।
० अहिलेको राजनीतिक परिस्थितिलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
–नेपालमा कस्तो हुँदै आइरहेको छ भने कम्युनिस्टहरुले परिवर्तनको एजेण्डा अँगाल्दाखेरी ती एजेण्डा र मुद्दाले तदनुरुपका कार्यनीति र रणनीतिले उनीहरुलाई क्रान्तिकारी बनाइदिएको छ । तर जब उनीहरु यथास्थितिवादी बन्छन, उनीहरुको चरित्र, आचरण पनि टिठलाग्दो घिनलाग्दो हुने गरेको छ । विगत केही वर्षदेखि नेपालका कम्युनिष्टहरुले कुनै आक्रमक प्रकारको कार्यमक्रम लिइरहेका छैनन् । उनीहरुको कार्यक्रम अत्यन्त रक्षात्मक र विद्यमान अर्थ– राजनीतिक प्रणाली भित्र मात्र घुमिरहेको छ । वर्तमान अर्थ – राजनीतिक प्रणालीको घेरा तोड्ने कार्यक्रम कुनै पनि कम्युनिस्ट पार्टीले दिन सकिरहेका छैनन् ।
त्यसको प्रतिफलस्वरुप उनीहरुले आफ्नो जनवादी चरित्र समेत जोगाउन सकेका छैनन् । अहिलेको अर्थ– राजनीतिक प्रणालीलाई फेर्ने कार्यदिशा, रणनीति, कार्यनीति बनाउन सक्दा विस्स्तारै क्रान्तिकारी स्थिति बन्दै जान्छ ।
लेनिनले कार्यनीति भनेको आचरण हो भनेका छन् । नेपालका अहिलेका कम्युनिष्टहरुको दैनिकी हेर्ने भने उनीहरुको आचरण यही अर्थ राजनीतिक प्रणालीलाई टालटुल पार्ने कार्यमै सीमित भइरहेको छ । जस्तो कि संघीयता चाहिन्छ र चाहिंदैन भन्ने विवादलाई नै हेर्नुस् । संघीयताको कुरा कुनै कम्युनिस्ट सिद्धान्तभित्रको कुरा हैन । संघीयताका बारेमा लेनिन र रोजाका बीचमा काफी छलफल र विवाद भएको थियो । यो विवादलाई रोजाले धानको भूस सित तुलना गरेकी छिन् । लेनिनले पनि वर्गसंघर्ष र राष्ट्रियताको मुद्दा आयो भने वर्गसंघर्षलाई केन्द्र वा मूल मान्नुपर्दछ भनेका थिए । नेपालमा जुन प्रकारको संघीयता भनिएको थियो । त्यो त यहाँ लागु भएन । अहिले यहाँ समावेशी प्रजातन्त्र, धर्म निरपेक्षताका नारा अगाडि आए । नेपालका निम्ति ती नारा प्रगतिशील हुन् । तर त्यसलाई ठीक ढंगले कार्यान्वयन गर्ने र सही धरातलमा टेकाउन सक्ने काम भएन ।
० नेकपा (माओवादी केन्द्र) ले आफ्नो पछिल्लो महाधिवेशनबाट एक्काइसौं शताब्दीको समाजवादको कार्यक्रम पारित गरेको छ । यो एक्काइसौं शताब्दीको समाजवाद यही व्यवस्थाभित्रबाट कार्यान्वयन हुने कार्यक्रम हो कि त्यो भन्दा बाहिरको कार्यक्रम हो ?
–यो बडो ग म्भीर प्रश्न हो । अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि समाजवादको आधार निर्माण गर्ने भनिएको छ ।
सुधार आफैमा गलत होइन । सुधार क्रान्ति , परिवर्तन प्रति लक्षित छ कि यही पुँजीवादी व्यवस्थालाई डेन्टिङ, पेन्टिङ गर्नेतिर लक्षित छ भन्ने कुराले अगाडिको बाटो निर्धारण गर्दछ । तर मैले कम्युनिस्ट पार्टीहरुको जे जति वक्तव्यहरु पढिरहेको छु तर ती वक्तव्यहरुमा “फेर्ने” अभिप्राय वा चेष्टा भएको देखिंदैन ।
जब तपाईले समाजवादी क्रान्तिको निम्ति सुधारको अभियान चलाउनु हुन्छ , त्यहाँ वर्गसंघर्ष शुरु भइहाल्छ । जस्तो कि हामी यहाँ झापाको जुन इलाकामा बसिरहेका छौं । यहाँ पुराण वाचन चलिरहेको छ । त्यहाँ पुराण सुन्न गरिब, धनी सबै गइरहेका छन् । यहाँ वर्गसंघर्ष छैन ।
तपाईले पाठ्यक्रमबाट जात व्यवस्था हटाउने अभियान चलाउनु भयो भने त्यहाँँ वर्गसंघर्ष सुरु हुन्छ । सहभोजको कार्यक्रम नितान्त सुधारको कार्यक्रम हो । मुसलमान, दमाई, कामी, क्षेत्री, ब्राहमणलाई राखेर सहभोज गराइदिनुस्, त्यसको पक्ष र विपक्षका बीचमा विवाद शुरु भइहाल्छ । अहिले यति धेरै जातिपातीको कुरा पलाएर आएको छ । परिवर्तनको निम्ति कुनै कार्यक्रम नभएपछि वर्गसंघर्ष हुँदैन ।
० यसको अर्थ एक्काइसौं शताब्दीको समाजवाद भने पनि यो यही पुँजीवादी व्यवस्थालाई डेन्टीङ पेन्टिङ गर्न खोजिएको हो भन्न खोज्नु भयो ?
–अहिले चुनावदेखि चुनावसम्म बाहेक अर्को कार्यक्रम देखिएको छैन । मेरो आफ्नो रायमा विद्यार्थी, मजदुर, किसान, सिपाहीलाई स्वायत्त बनाउन पर्दछ । नियन्त्रण गर्नु हुँदैन । तपाईका सदस्यहरुलाई ती संगठनमा लगेर भर्नु भएको छ नि, ती हास्यास्पद भएका छन् । जस्तो कि करिब १५÷२० वर्षदेखि नेपालमा विद्यार्थी आन्दोलन भएको छैन । मजदुर संगठन बनाउँदा आफ्ना पार्टी सदस्यहरुलाई लगेर मजदुर संगठन बनाउनु भएको छ । वास्तविक मजदुरको बीचमा संगठन पुग्न सकेन ।
नेपालमा यसको सिद्धान्तकार मोहनविक्रम जी हो । त्यो स्टालिन र कमिन्टर्नको प्रभाव हो । मोहनजीको त्यो तरिकाबाट अरु पार्टीहरू पनि मुक्त भएकै छैनन् । ती संगठनहरुलाई विचारले प्रभाव र नियन्त्रण गर्ने कोशिश गरौं । तर आफ्नो पार्टी सदस्यहरुलाई लगेर यी मजदुरका, यी विद्यार्थीका तिम्रा नेताहरु हुन भनेर देखाइदिन्छौं । यसो गर्नु ठीक भएन । उनीहरूको सृजनात्मक क्षमता विकास गर्न दिनु पर्दछ ।
० पुष्पलालले जनवर्गीय संगठनहरुलाई सापेक्षिकरुपले स्वतन्त्र छाड्ने कुरा गरे कि ?
–यो छलफल कमिन्टर्नमा पनि भएको थियो । कमिन्टर्न (अक्टोबर क्रान्तिपछि गठन भएको कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय संगठन) मा त्यो बारे बेस्सरी छलफल भएको थियो । व्यवहारमा कम्युनिस्ट पार्टीको जुन अति केन्द्रीकृत संरचना छ, त्यसले जनवर्गहरुलाई कज्याउने काम मात्र ग¥यो । त्यहाँका कार्यकर्ताहरूको सिजनात्मक क्षमताको विकास हुन दिएन ।
० केन्द्रीयता पनि संगठन संचालनका लागि आवश्यक पक्ष हैन र ? केन्द्रीयता नहुँदा त संगठन अराजकतामा फस्छ, हैन र ?
–रोजा र लेनिनको बीचमा यो विषयमा छलफल भएको थियो । रोजाले त्यो मजदुर संगठन वा वर्गमा बाहिरबाट विचार दिनुपर्दछ । मजदुरले आफू लड्दै गएर सिक्दै जान्छ भनेका थिए ।
त्यसो भन्दा रोजालाई स्वतः स्फूर्तवादी भनियो । जवकि मार्क्स पनि त्यही विचारमा थिए । रोजाको विचार भनेको मार्क्सको जस्तै विचार हो । लेनिनले संगठन संचालनको अर्को कुरा लिएर आए । लेनिनको संगठनात्मक सिद्धान्त संशोधन गर्ने बेला भइसक्यो ।
म युवा छँदा कस्तो हुन्थ्यो भने पार्टीले निर्णय गरेर यी–यी युवा विद्यार्थीहरुले गिरफ्तारी दिनुप¥यो भनेपछि काठमाडौंको चिसो जाडोमा किसानका छोराहरु हिरासतमा जान भनेर तयार हुन्थे । तर अहिले तपाईको छोराले तपाईले भनेको मान्दैन । समाज बदलियो । बाबुले भनेको छोराले मान्दैन । यो प्रजातन्त्र समाजमा आइसक्यो । लेनिन महान् हुन तर अब परम्परागत लेनिनवादी संगठनात्मक सिद्धान्तले काम चल्दैन । संगठन संचालन गर्ने सिद्धान्त नयाँ बनाउनु पर्ने आवश्यकता छ ।
० नेपालको कम्युनिस्ट आन्दोलनमा पुँजीवादी क्रान्तिको सम्बन्धमा दुई खाले विचार देखिएको छ । एउटा पक्षले पुँजीवादी क्रान्ति सम्पन्न भयो । अब समाजवादको अभ्यासमा जानुपर्दछ भन्दछ र अर्को पक्षले पुँजीवादी क्रान्ति सम्पन्न भएकै छैन । जे जति पुँजीवाद यहाँ देखिन्छ । त्यो त दलाल पुँजीवाद हो । दलाल पुँजीवादलाई अन्त्य नगरी पुँजीवादी क्रान्ति हुन्न भन्छ । यसबारे तपाई के भन्नुहुन्छ ?
–दलाल पुँजीवादलाई समाप्त गरेर राष्ट्रिय पुँजीवादको विकास गर्ने भनिन्छ नि । त्यो कुुरा सही हैन । दलाल पुँजीवादीलाई अन्त्य गरेर राष्ट्रिय पुँजीवाद आउँदैन । पुँजीवाद भनेको पुँजीवाद नै हो । पुँजीवादको विरुद्ध संघर्ष गर्नु भनेकै समाजवादका लागि हो । मार्क्सले व्याख्या गरेको युरोपको सन्दर्भको स्टेज (चरण) को सिद्धान्त दक्षिण एशिया वा नेपालमा मिल्दैन । हामीसित दास व्यवस्था थियो कि थिएन भन्दा यूरोपको जस्तो दास व्यवस्था थिएन । यहाँ पनि नेपालमा कमाराकमारी राख्ने चलन थियो तर यूरोपको जस्तो थिएन ।
० कुनै न कुनै रुपको दास व्यवस्था त थियो नि । राणाकालमा चन्द्रशमशेरले दास उन्मुलनको घोषणा गरेका थिए, हैन र ?
–होइन, त्यो यूरोपको जस्तो दास व्यवस्था थिएन । यूरोपको दाससित नेपालको दासको तुलना नै गर्न सक्नुहुन्न । नेपालमा छोरी–चेलीको विवाह गरिदिंदा दाइजोको रुपमा सुसारे पनि सँगै दिइन्थ्यो । कमराकमारी राखिन्थ्यो । तर यूरोपमा त भेडा बाख्रा बिक्री गर्ने पसल जस्तै दास खरिद बिक्री गर्ने पसल नै हुन्थ्यो । दास बिक्री गर्ने हाटबजार नै लाग्दथ्यो । त्यो त नेपालमा थिएन नि ।
यूरोपमा एउटा जातिले अर्को जातिलाई दास बनाए जस्तो यहाँ नेपालमा थिएन । कमराकमारी बनाए पनि आफ्नै खस जाति भित्र थियो । अफ्रिकाबाट शिकार खेले जस्तै काला जातिका मान्छेलाई समातेर साङ्लोले बाँधेर लिएको छ । तपाई “स्पार्टाकस” पढ्नुस न । त्यसबाट यूरोपमा कस्तो दास व्यवस्था थियो भन्ने कुरा थाहा हुन्छ ।
दासलाई लिएर विद्यार्थीहरुको अगाडि शरीर चिरेर मुटु यहाँ छ, फोक्सो यहाँ छ भनेर देखाइन्थ्यो । दास बिक्रीका लागि भेडा बाख्राको जस्तै हाटबजार लाग्थ्यो । नेपालमा त्यस्तो थिएन ।हाम्रो नेपालको दास व्यवस्था, सामन्ती व्यवस्थाको अध्ययन हुन जरुरी छ । र, अर्को कुरा अहिलेको चरण जनवादी चरण हो कि समाजवादी चरण हो भन्ने शास्त्रीय कुरा हो । त्यो विषयमा जानु भन्दा पहिले हामीले आफ्नै समाजको चरणबारे अध्ययन गर्नुपर्दछ । एंगेल्सले लेखेको “परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति” पढेर मात्र भएन । त्यसलाई समाएर मात्र भएन । अध्ययनलाई त्यसभन्दा अगाडि लानुपर्दछ ।
समाजवाद भन्ने कुरा त बाहिरबाट आयातित आधुनिक विचार हो । यहाँ हामीसित रहँदै आएको ब्राहमणवादी संस्कृतिलाई बाहिरबाट आएको समाजवादी विचारले कति परिवर्तन ग¥यो ? मेरो विचारमा यहाँको ब्राह्मणवादी संस्कृति र विचारले बाहिरबाट आयातित समाजवादी विचारलाई जित्यो र ध्वस्त बनायो । ब्राहमणवादी संस्कृति नै यहाँ नेपालमा हावी रह्यो । उदाहरणको लागि यो विषयमा खुलेर कम्युनिस्ट पार्टीमा कहिलै छलफल पनि भएन ।
विवाहेत्तर सम्बन्धलाई मार्क्सले लेखिदिएनन् । हामीसित यहाँ हायु, जिरेल, मुसहर, डोम, थारु जातिभित्र पनि बिबाहेत्तर सम्बन्ध हुन्छ । त्यसलाई के गर्ने भन्ने बारेमा बाहुनले के भन्छ त्यसै गर्ने भनियो । नैतिक मापदण्ड बाहुनले भनेको कुरालाई मान्ने भनियो । मोहनविक्रम, निर्मल लामा जस्ता व्यक्तिहरुले यी कुराहरु लेखिदिएको वा बोलेको भए हुन्थ्यो ।
तल्लो कलासदेखि मास्टरसम्म पितृसत्ता र ब्राहमणवाद र जातव्यवस्थाले कोर्स भरिएको छ । त्यसलाई फेर्ने आन्दोलन चलाउनु भयो भने यहाँ मास्टर, पण्डित, गुभाजु, लामा सबै तपाईका विरुद्धमा उभिने छन् । विद्यार्थीलाई पढाउने पुस्तकहरुमा ज्ञान बाँड्ने भन्दा पनि विश्वास बाँड्ने काम भएको छ । ज्ञान बाँड्ने पाठ्यक्रमका चाहियो भनेर संघर्ष गर्नुभयो भने तपाईका विरुद्ध जाइलाग्न आउनेहरु थुप्रै हुनेछन् ।
० यहाँले नेपालमा अहिले जनवादी क्रान्तिको चरण हो कि समाजवादी क्रान्तिको चरण हो भन्ने विषयमा प्रवेश नै गर्नुभएन ?
–हैन, यो तपाईको एकाडेमिक एप्रोच मात्र भयो । विश्वविद्यालयमा बसेर समाज यो चरणमा छ र त्यो चरणमा छ भन्ने कुरा गरेर मात्र होइन । समाज बदल्ने लडाई शुरु गर्नुस् न । स्थिति के हो भन्ने कुरा थाहा भइ हाल्छ ।
अहिले भर्खरै हामी बसिरहेका ठाउँमा दश जना विद्यार्थीलाई गाउँमा डुलेर समाजमा के छ स्थिति भनेर लेखेर ल्याउन भन्नुस् । समाज अहिले सामन्ती अवस्थामा छ कि पुँजीवादी अवस्थामा छ भन्ने कुरा थाहा हुन्छ ।
मैले भन्न खोजेको कुरा के हो भने हाम्रो समाजको अवस्थाको बारेमा अध्ययन हुनु प¥यो । पुष्पलालले नेपालमा मातृसत्तात्मक समाज थियो भनेर लेखे । त्यतिबेलाको स्रोत साधनका आधारमा जे सम्भव थियो लेखे । तर नेपालका कम्युनिस्ट पार्टीको तर्फबाट हाम्रो समाजका बारेमा विस्तृत अध्ययन भइरहेको छैन । आलेश रावले विदेशी कर्पोरेट हाउस र यहाँको दलालहरुको कोल्यावोरेशनले यहाँको सामन्तवादलाई पनि बचाइरह्यो भनेका छन् । बेलायतमा जात व्यवस्था छैन । तर उनीहरु भारतमा आइ सकेपछि जात व्यवस्थालाई भत्काउने तिर ध्यान दिएनन् । अंग्रेजहरुले त्यसलाई टुलुटुलु हेरेर बसे । पुँजीवादले सामन्ती कुप्रथालाई हटाउनुपर्ने थियो तर उनीहरुले त्यसलाई हटाउनतिर लागेनन् । त्यसलाई हटाउनु भन्दा राख्नु नै उनीहरुको स्वार्थमा हुन्थ्यो र त्यसै गरे ।
अहिले अयोध्यामा देख्नु भएको छ । जनता भोकमरीले मरिरहेको छ । जनतालाई स्वास्थ्य, शिक्षा छैन । चिसोमा जनता कठङ्ग्रिएर भरिरहेको छ । उनीहरुलाई त्यसको मतलव छैन । यहाँ धर्म र जातलाई बेस्सरी उचालिदिएपछि उनीहरुलाई फाइदा छ । एउटा कुरा के स्पष्ट हुनुपर्दछ भने सामन्तवाद वा पुँजीवाद हिजोको जस्तो अवस्थामा छैन । पुँजीवाद पनि हिजोको जस्तो सेना लिएर कब्जा गर्ने पुँजीवाद छैन । आर्थिक ,साँस्कृतिक ,कुटनैतिक ढङ्गले साम्राज्यवादले उत्पीडित राष्ट्र र जनता माथि शोषण गर्न आउँदछ । नेपालमा सामन्तवाद माथि निर्णायक प्रहार गर्ने काम माओवादीको जनयुद्धले ग¥यो । तर सामन्तवादलाई बचाइरहने जुन सामाजिक, साँस्कृतिक र आर्थिक धरातललाई उन्मूलन गर्ने तिर हाम्रो ध्यान गएन ।
० पार्टीभित्र फरक मत पनि राख्दै आउनु भएको छ । संसदबाट एम.सी.सी. पारित गर्ने सन्दर्भमा पनि त्यस्तै देखियो । माओवादी केन्द्रले सडकमा कार्यकर्तालाई एमसीसी विरुद्ध उचाल्ने र उता अमेरिकाको निर्देशनमा त्यसलाई संसदबाट पारित गर्ने काम ग¥यो भनिन्छ नि ?
–माओवादीले आफ्नो क्रान्तिकारी विरासतलाई सम्हाल्न सकेको भए उसको हालत आज किन यस्तो हुन्थ्यो ? ३० लाख भोट ल्याउने माओवादी ११ लाखमा झर्नु परेको कारण त यस्तै राजनीतिक अडान नभएको भएरै हो त । सवाल माओवादी केन्द्रको मात्र हैन । पुराना पार्टीहरु सबै अहिले संकटमा छन् । कि त उनीहरुले आफूलाई परिस्कृत गर्नुपर्दछ । कि त विघटन हुन तयार हुनुपर्दछ ।
० जनताले कम्युनिस्ट बताउने पार्टीहरुलाई गाली गरिरहेका छन् तर कम्युनिस्ट प्रति सहानुभूति राख्ने ती जनताले सुधारिए हुन्थ्यो भन्ने पनि कामना गरेका छन्, हैन र ? अबको कम्युनिस्ट आन्दोलनलाई बचाउने उपाय के हो ?
– नयाँ पुस्ताले जवरजस्ती हस्तक्षेप गरेर नेतृत्व हातमा लिने एउटा उपाय हो । त्यो काम हुन सकेको छैन । हाम्रा पार्टीका दोस्रो, तेस्रो लेअरका नेताहरू प्रतिश्प्रधा गरेर आएका होइनन । उनीहरू पनि माथिल्लो नेताको तजबिजमा नेता बनाइएका हुन् । तजबीजिमा नेता बनेका नेताहरूले नेतृत्वलाई टक्कर दिन सक्ने रहेनछ । उनीहरूले नेतृत्वले भन्दा फरक मत राखेर जान सक्दा रहेनछन् ।
अब त्यस्तो पार्टी संरचना बन्नु पर्दछ जहाँ नयाँ पुस्ताले वैचारिक संघर्ष गर्न सकोस । पार्टीमा आफ्नो योजना पेश गर्न सकोस र लागू गर्न पनि सकोस् । त्यही काम नहुँदा पार्टी प्रति जनताको बितृष्णा उब्जिएकोछ । बितृष्णाले समाजमा अराजकता निम्त्याउँछ । अहिले नयाँ पार्टीले अप्रत्याशित मत प्राप्त गरेको देखिन्छ । त्यो उनीहरू राम्रा भएर होइन । हामी प्रतिको बितृष्णाका कारण यसो भएको हो ।
०कम्युनिस्ट आन्दोलनमा मोर्चा बन्ने क्रम चल्दैछ । ध्रुवीकरणको कुरा हुँदैछ । माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव सहितको समाजवादी मोर्चा बनेकोछ । मशाल, नेकपा, मार्क्सवादी पुष्पलाल, स्वतन्त्र वामपन्थीहरु सहितको राष्ट्रिय क्रान्तिकारी मोर्चा बनेका छन् । मोर्चाको जरुरी हो ?
–खाइपाइ आएको चीजलाई जोगाउन वा अस्तित्व जोगाउनको लागि मात्र मोर्चा बनेको हो भने त्यसको कुनै अर्थ छैन । मोर्चा बन्दा एजेण्डा वेश हुनु प¥यो । उदाहरणको लागि विभिन्न वामपन्थी पार्टीहरुले कार्यकर्ता छनौट गरेर ३ महिना कर्णालीमा “विज्ञान चेतना अभियान” संचालन गर्न पठाउँ । कमसेकम सेनिटरी प्याडको प्रयोगबारे , नङ काट्ने, छाउ गोठमा नबस्ने जस्ता कार्यको लागि जनतालाई प्रशिक्षित गर्न सबै पार्टीले कार्यकर्ता छनौट गरेर कर्णाली पठाइदिउँ । यस्ता कामका लागि मोर्चा बनाए राम्रो हुन्छ । राष्ट्रिय स्वाधीनतामाथि विदेशी हस्तक्षेपलाई विरोध गर्न वा प्रतिकार गर्न मोर्चा बनाउनुपर्दछ । मेरो भन्नुको मतलव मोर्चा एजेण्डा वेश हुनुप¥यो ।
पार्टीहरू एजेन्डा बिहीन भए जसले गर्दा जनतामा निरासा आयो । जनताले अघि पछि बदला लिन सक्दैन ।त्यो रिस चुनाबका बेला पोख्दो रहेछ । झापाको बिर्तामोड भनेको कम्युनिस्टको किल्ला हो । बिर्तामोडमा एउटा स्वतन्त्रले १८ हजार मत ल्याए । म बसेको मेची नगरमा स्वतन्त्रले ८ हजार मत ल्याए ।
अत्तालिएर मोर्चा बनाउने कुरा बसिबियालो मात्र हुन्छ । एजेन्डामा आधारित भएर एकता र मोर्चा निर्माणको काम हुनु पर्दछ ।
० तपाई त २०४२ को रामराजाको वमकाण्डसित पनि जोडिनु भएको हो है ?
–२०४२ मा बम काण्ड हुँदा म सहित केही साथीहरु रामराजाबाट छुट्टिएर मसालमा आइसकेका थियौं । म (ओखलढुंगा), दिलीप चौधरी (सप्तरी), कुमार पौडेल (सप्तरी), शोभाखर धनञ्जय (अर्घाखाँची) लगायत मसालमा आइसकेका थियौं । २०४० सालमा लामा जीसित विभाजन हुनुभन्दा पहिले नै हामी त्यस पार्टीमा आइसकेका थियौं ।
तपाईलाई यो कुरा रोचक हुन सक्छ कि म मसालमा आउँदा साथीहरूले अरुलाई सिधै पार्टीमा ल्याउनु भयो । तर मलाई मधेश तिर जग्गा पनि भएको र तुलनात्मकरुपमा माथिल्लो वर्गको भएकाले सिधै पार्टीमा ल्याउनु भएन । तपाईं परीक्षणबाट गुज्रनु पर्दछ भन्नू भयो । कति सम्म भने मलाई कलास दिन पठाइन्थ्यो । नुवाकोटमा पोष्ट बहादुर बोगटीजीले लिएर जानू भयो । मैले प्रशिक्षण दिन्थे । कुन तहका कार्यकर्तालाई प्रशिक्षण दिए भन्ने कुरा मलाई गोप्य राखिन्थ्यो किनकि म परीक्षणमा थिएँ । वम काण्ड भए पछि हामीलाई खतरा भयो । भारत जानू पर्दछ भनेर पठाइयो । म करीब ढाई वर्ष भारतमा चौकिदारी गरेँ । म परीक्षणमा पास भएछु के रे । अनि बल्ल मलाई पार्टी सदस्यता दिइयो। त्यो कुरामा मलाई गर्व नै छ ।
त्यतिखेर खतरा थियो । दिलिप चौधरी जीलाई पन्चायतले हत्या नै गर्यो । त्यस्तो पार्टीको हालत आज यस्तो छ !
० २०४७ मा मसालबाट छुट्टिएर एकाकेन्द्र बन्दाको अनुभव सुनाउनुहोस् ।
– परासीको सम्मेलनमा हरिबोलजी र मैले फरक प्रस्ताब राखेका थियौँ । बाबुराम भट्टराईजीले लेखेको राजनीतिक प्रस्ताव हरिबोलजीले प्रस्तुत गर्नुभयो । मैले सांगठनिक प्रस्ताव राखे ।
छुट्टिएपछि हरिबोल, म र विनबहादुर कुँवरजीमा महासचिव बन्नै नमान्ने स्थिति रह्यो । मैले विनबहादुरलाई भन्ने विनबहादुरले मलाई भन्ने आखिरमा हरिबोलजीलाई बनाइयो । उता महामन्त्री मोहन बिक्रम जी यता त्यसलाई काउन्टर दिने महासचिव बन्न लाज लागेर बन्नै नमान्ने । आखिरमा हरिबोलजीले मान्नु भयो ।
हाम्रो यतातिर यो हुँदै गर्दा उता हरिबोलजी र बाबुरामजीले मोटो मशालसित पार्टी एकीकरणबारे छलफल चलाउँदै रहनु भएको रहेछ र पछि हामी एकताकेन्द्रमा आबद्ध भयौं ।
० विगतको द्वन्द्वकाललाई सम्झनु पर्दा ?
–म दश वर्षे जनयुद्धमा पार्टी हेडक्वाटर नजिकै रहेर काम गरें । प्रकाशन विभाग, विदेश विभागमा रहेर काम गरें । म युद्धमा गइन । प्रचण्डजीले नै अध्ययन ,लेखन , सूचना आदि कार्यमा सहयोग पुर्याउनु पर्ने भएकाले हेडक्वाटर नजिक रहेर काम गर्न भन्नू भाथ्यो ।
० तपाईको भर्खरै प्रकाशित भएको पुस्तक “विकल्प” को सन्देश के हो ?
–देशलाई विकल्प चाहिएको छ र त्यो सही विकल्प मार्क्सवादसित छ भन्ने सन्देश यस पुस्तकबाट दिन खोजिएको छ । यो पुस्तकका कुरा मेरा अन्तिम कुरा होइनन । म यसलाई छलफलका लागि प्रस्ताव हो भन्छु ।
० राम कार्की कितावको किरो हो । बौद्धिक बिलासितामा रमाउँछ, जनताको दैननदिनका समस्यासित जोडिंदैन भन्ने तपाईप्रतिको आलोचना सुन्नु भएको छ ?
–मेरो पनि केही कमजोरी होला तर जनतासित पूरै नजोडिएको भन्ने हैन । मेरो जिम्मेवारी नै प्रायः त्यस्तै भयो । त्यसले गर्दा लगातार फिल्डमा रहन पाइएन । ब्रतबन्ध ,विवाह ,मृत्युमा नेता देखिनु पर्ने ।त्यस्तो भए नेता भइने । त्यस्तो कुरा प्रति मेरो खासै रुचि छैन । अहिलेको फेसबुके राजनीति प्रति पनि मेरो खास रुचि छैन । पुराण वाचन कार्यक्रममा गएर पैसा राख्नु पर्दछ भनिन्छ । पुराण बाचन कार्यक्रम सम्पन्न ब्यक्तिले आयोजना गर्दछ । गरीबले त्यो गर्दैन । सहयोग त गरीब र कमजोरलाई गर्ने हो । आफै सबल र सम्पन्न मान्छेलाई किन सहयोग गर्नु पर्यो ? म त्यस्ता कार्यक्रममा प्रायः जाँदैन । मान्छे मरेकै छैन तर समवेदना दिन दौडा दौड गर्ने गरिन्छ । को पहिला समवेदना दिन पुग्ने प्रतिश्पर्धा हुन्छ । अप्ठ्यारोमा सहयोग गर्नु पर्दछ ।त्यो जायज छ । तर समवेदना दिन कुदाकुद यो राम्रो हैन । एक पल्ट कस्तो सम्म भयो भने एक जना मान्छे मरे भन्ने हल्ला आयो । मेचीका मेअर र म दौडिदै समवेदना दिन भनेर पुग्यौं ।मरेकै रहेनछन ।
० सांसद वा मन्त्री बनेर तपाईले आफ्नो निर्वाचन क्षेत्रमा के के काम गर्नुभयो ?
–प्रत्येक वडामा प्याथोलोजीको व्यवस्था गर्न लगाएँ । आवासविहीनलाई आवासको व्यवस्थाको पहल गरें । झापा आन्दोलनका लामो जेल जीवन विताएका सानो दुर्गा अधिकारीलाई बस्ने बास बनाउन मद्दत गरेँ । एक जना घरवारविहीनलाई घर बनाउने कुरा भयो मैले साँसद विकास कोषबाट केही सहयोग गरें । समाजमा नराम्रा मान्छे मात्र छैनन् ।सहयोगी मान्छे पनि छन् । विदेशबाट एक जनाले ट्वाइलेट बनाउन सहयोग गर्छु भने । एक जानाले पलङ्ग बनाइदिन्छु भने । आखिरमा एउटा गरीबको घर भन्यो । घरको चाबी हस्तान्तरण गर्दाका क्षण मलाई असाध्य खुसीको अनुभुति भयो ।
कोभिडको बेलामा मेची अस्पताललाई २० लाख रुपैयाँ छुट्टाएर कोभिडका विमारी बस्ने ओछ्यान बनाउन लगाएँ । केही रकम पत्रकारलाई छुट्टाइदिने केही रकम त्यसरी नै प्रचारमा लगाइदिने विकासको काम थोरै गरेमा नेता भनेर फेस बुक ,सामाजिक सन्जालमा प्रचार हुँदो रहेछ । मैले त्यसो गरिन ।
० तपाईको पारिवारिक अवस्था के हो ?
–मेरी श्रीमती भारत सरकारको आइ.ए.एस.( भारतीय प्रशासनिक सेवा) अफिसर हुन् । उनको मासिक साढे तीन लाख भारु तलव थियो । अहिले उनी पेन्सन निस्किसकेपछि १ लाख भारु पेन्सन हुन्छ । त्यसबाट पनि मेरो खर्च चलिरहेको छ । मसालका साथीहरु सबैलाई थाह छ मेरो पहिलेकी श्रीमतीबाट एउटी छोरी थिइन । उनलाई ब्याचलर पढ्न सम्म मैले मद्दत गरेँ।
काठमाडौंमा धुमबाराहीमा घरछ । यहाँ झापामा राजनीति गर्ने भए पछि यहाँ पछिल्लो अवधिमा घर बनाइयो ।
० अन्त्यमा, हाँक साप्ताहिक मार्फत् भन्नु पर्ने थप केही छ कि ?
–हाँक साप्ताहिक शोभाखरजीको “ब्रेण्ड चाइल्ड” हो । अत्यन्त कष्ठपूर्ण अवस्थामा पनि हामीले हाँक साप्ताहिक संचालन गरेका थियौं । हाँक साप्ताहिकको प्रारम्भिककालमा मैले पनि लेखहरू उपलब्ध गराएको थिएँ । साथीहरूले यो पत्रिकालाई निरन्तरता दिनु भएकोमा खुसी लाग्यो । यो पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

