गरीबिको रेखा मुनि रहेका जनता भन्नाले ती व्यक्तिहरूलाई भनिन्छ जसले आफ्ना न्युनतम भौतिक आवश्यकता प्राप्त गर्न असमर्थ छन् । गरीबिको रेखाको अलग अलग देशमा अलग अलग मापदण्ड हुन्छ । अमेरीकामा गरीबिको रेखा भारतमा मानिएको गरीबिको रेखा भन्दा माथि हुन्छ ।
युरोपमा गरीबिको रेखाको मापदण्ड फरक हुन सक्छ । नेपालमा भारतको गरीबिको रेखाको मापदण्ड भन्दा केही फरक हुन सक्छ ।
गरीबिको रेखाको अबधारणा १९६४ तिर मौली अर्शाङ्कीद्वारा विकसित गरिएको थियो । डेभिड गोर्डनले गरीबिको रेखा निर्धारण गर्न निम्न आठ प्रकारका सूचकको वर्णन गरेका छन् – खानाको उपलब्धता,सफा पिउने पानी धाराको पहुँच, शौचालयको पहुँच,स्वास्थको पहुँच, बास स्थानको अवस्था, शिक्षाको पहुँच ,सुचनाको पहुँच ,रोजगारीको अबस्था । सामान्यतया उल्लेखित सूचकहरूलाई आधारा मानेर गरीबिको रेखा मुनि रहेका जनताको पहिचान गरिन्छ ।
नेपालमा जनता गरीबिको मारले थलिएका छन् ।गरीबिको मारबाट माथि आउने सपना सपनामै रहेको छ । जसको आम्दानी अत्यन्तै कम रहेको छ , उनीहरुले खर्च गर्न सक्ने कुरा पनि भएन ।
गरीबिलाई देखाएर विभिन्न योजना, कार्यक्रमहरु सार्वजनिक हुने गरेको छन् ।गरीबिलाई हटाउन भन्दै सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न योजनाहरु बन्ने गरेको तथा त्यसका लागि बजेट बिनियोजन , सहयोग तथा कार्यक्रमहरु संचालन हुने गरेको पनि वर्षौं भयो । तर गरिबी न्यूनीकरण हुन सकेको छैन । जुन सरकार आएपनि गरीबि निवारणको कुरा गरिरहेका हुन्छन् । विभिन्न पार्टीका चुनावी घोषणापत्र वा विधानहरुमा गरीबि निवारणको कुरा जोडतोडले नै उठ्ने गरेका छन् । तर देशमा गरीबि हट्न सकेको छैन ।
नेपाल जीवनस्तर सर्भेक्षण २०७९÷८०ले नेपालको कुल जनसंख्याको २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको जनाएकोछ । नेपालको कुल जनसंख्या मध्ये ५८ लाख ६३ हजार एक सय ९४ जना जनसंख्या अझैपनि गरीबिको रेखामुनि रहेको देखाइएको छ ।उनीहरुको वार्षिक खर्च अत्यन्त न्यून रहेको देखाएको छ । उनीहरुले मासिक रुपमा ६ हजार भन्दा माथि खर्च गर्न पनि नसक्ने स्थितिमा रहेका छन् ।
नेपालको गरीबि न्यूनीकरणकालागि सबै स्तरबाट भएका प्रयासहरु असफल भएको ,गरिबी न्यूनीकरण पछिल्लो १४ वर्षमा केवल ५ प्रतिशतले मात्रै घटेको सर्भेक्षणले देखाएको छ ।यस्तो हुनुमा को दोषी रहेको छ ? गम्भीर हुनु पर्ने छ ।गरिब नेपालीहरुले दुःख गरिरहेकै छन् । देश विदेश जहाँ पुगेर भएपनि पसिना बगाएका छन् । जनताहरू किन गरीबिको रेखा माथि आउन सकेनन् त ? र अझै यो रेखा पार गर्न अझै पनि कति समय पर्खिनु पर्ने होत ? नेपालीहरू लाखौंको संख्यामा गरीबिको रेखामुनि रहेर देश विकास सम्भव छ त ?गरीबि निवारणका सबै प्रयासहरु किन असफल भईरहेका छन्? यस्ता प्रश्नहरुको जवाफ खोजिनु पर्दछ ।
गरीबि कम नहुनुमा जताततै शोषण व्याप्त रहेको छ । मौका मिल्नासाथ जो कोही राजनीतिक नेता ,कर्मचारी, व्यापारी भ्रष्टाचार गर्दछन् । राज्यमा व्यापक मात्रामा असमानता कायम छ । हुनेहरु सधै हुनेको हुनमै रहेका छन् । प्राकृतिक साधन स्रोतमा उनैको पहुँच रहेको छ । जे गरेर भएपनि व्यक्तिगत सम्पत्ति जोगाड भइरहेको छ । राज्यले उनीहरुकै संरक्षण गरिरहेको छ । ठगी, भ्रष्टाचार ,अकुत सम्पति आर्जन उनै सीमित व्यक्तिहरूले गरिरहेका छन् । मुट्ठीभर धनीहरू राज्य भन्दा बलिया भएर बसेका छन् ।
बैंकमा अरबौं रकमहरु जम्मा भइरहेको छ । सरकारले यो रकमलाई उत्पादनमूलक काम ,उद्योग धन्दा कलकारखानामा लगाउन सकेको छैन । रोजगारी सिर्जना गर्न सकेको छैन । देशमा वैदेशिक ऋणको मात्रा बढिरहेको छ ।सरकार ऋण खोजेर प्रशासनिक खर्च धानिइरहेको छ । वैदेशिक लगानीमा आउनेहरुले देशलाई खोक्रो बनाइरहेका छन् । आयातमा देश चलेको छ । देशमा उत्पादन हुने सामानहरु पनि विदेशबाट आउने गरेको छ ।विदेशसँगको व्यापार घाटा न्यून हुन सकेको छैन । यस्तो अवस्थामा गरीबि न्यूनीकरण हुन सक्दैन ।
अहिले समस्याको मूल जरोमा नपुगिकनै माथि माथि समस्या समाधानका कुराहरु भइरहेका छन् । गरीबिको समस्या भनेको यो शोषणमूलक व्यवस्थाले जन्माएको हो । जबसम्म व्यवस्था शोषणमूलक रहन्छ तबसम्म गरीब र धनी रहिरहन्छन् । गरीबहरुले निकै दुःख गरेपनि एक छाक खान र एक आङ लगाउनको लागि कठोर परिश्रम गर्नु पर्दछ । गरीबिको रेखाबाट जनतालाई माथि ल्याउन राज्य सत्ताको शोषणमूलक चरित्रलाई परिवर्तन गरी सत्ताको चरित्रलाई समानतामूलक बनाउन जरुरी छ ।

