– विमल शर्मा
“सामाजिक संस्कार” संग जोडिएका दसैं, तिहार, ईद, वकरिद, छठ, उधौली, उभौली आदि चाडपर्व त प्रत्येक वर्ष आइरहन्छन् । आम जनताको चेतनालाइ ती संस्कारले प्रभाव पारिरहन्छन् । जसको पुर्खाले जे मान्दै आयो उसलाई निरन्तता दिने विचारले त्यसको सकारात्मक र नकारात्मक छलफल गर्दैन । समाजले स्थापित गरेका कति विषयले समाजलाई प्रगतितिर अग्रसर गराउछन् त कुनैले प्रतिगमनतर्फ । ती विषय कति गम्भीर प्रकारका छन् । यो समाजका नयाँ चेतनशील वर्गले प्रतिगमनतर्फ होइन प्रगतितर्फ लाग्ने व्यवहारलाई अपनाउनु पर्दछ । मैले राप्ती लुम्बिनीमा संगठनको कामगर्दा एउटा अविस्मरणीय घटना भएको थियो । त्यसबेला म नवलपरासीदेखि रुकुमसम्म राप्ती–लुम्बिनी क्षेत्रको मसालको सेक्रेटरी थिएँ । त्यसका साथै अर्घाखाँची जिल्ला हेर्ने समेत निर्णय थियो । संगठनको कामको सिलसिलामा अर्घाखाँची गएको समयमा जिल्लामा आन्दोलनलाई कसरी केन्द्रित गर्ने भन्ने विषयमा छलफल चल्यो ।
अर्घाखाँचीको नरपानीमा सिमेन्टको लागि चुनढुङ्गा उत्खनन् कार्य हुँदै थियो । त्यसले गर्दा पर्यावरणीय समस्या उत्पन्नहुने भएकोले त्यसका विरुद्धको आन्दोलन अगाडि बढाउने छलफल चल्यो । त्यहाँ चुनढुङ्गाका लागि उत्खनन् कार्य दिनु हुँदै भनेर निर्णय गर्ने बेलामा जिल्ला समितिका साथीहरुले नयाँ रिपोर्ट प्रस्तुत गरे । “केन्द्र र जिल्लाका नेताहरुले चुनढुङ्गा उत्खनन् गर्ने साहुसँग रकम लिने अनि हामीलाई संघर्षमा जान लगाउने ? नेताहरुले त्यस्ता व्यवहार छाड्नु पर्दछ” भन्ने बिषय बैठकमा उठाए । विषय के रहेछ भने अर्घाखाँचीबाट पार्टी र राष्ट्रिय जनमोर्चाको केन्द्रमा भएका व्यक्तिलाई चुनढुङ्गा उत्खनन गर्ने साहुले दशैं खर्च भनेर उच्च प्रकारको एक लिटर अंग्रेजी रक्सी र १० हजार नगद साथै बिस्कुट, चाउचाउ आदि पाकेट बनाएर जिल्लाका दुई जना नेतालाई दिन भनि एउटा होटलमा दिएको रहेछ । होटेलवाला साथी मसाल समर्थक । उनले ती पाकेट दिने भनेका दुईओटा नेतालाई पु¥याएछन् । ती नेताले त्यसलाई स्विकार गरेछन् । एक जनाले त दशहजार रुपयाँ जिल्ला आम्दानिमा बाँधे भनेर बताएका थिए । त्यो रिपोर्ट प्राप्त भएपछि सम्बन्धित व्यक्तिलाई बैठकमा नै सोधपुछ भयो । उनीहरुले स्विकार गरे । मलाई त्यति राम्रो लागेन । एकजना व्यक्ति म सँगै पार्टी केन्द्रमा थिए । केन्द्रीय समितिको बैठकमा मैले त्यो विषय उठाएँ । कुनै व्यक्तिले आन्दोलनलाई मत्थर पार्न वा प्रभावित गर्न त्यसरी दिइने स्रोत (सहयोग) लिन हुने वा नहुने, पार्टी केन्द्रमा छलफल चल्यो । त्यो छलफलको निष्कर्षमा महामन्त्रीले “उपहारको रुपमा दिएको कुनै वस्तु अस्विकार गर्न हुँदैन । उपहार प्राप्त भएपछि सहि वा गलत के हो छलफल गर्नुपर्दछ र निर्णय गर्नुपर्दछ” भन्ने जानकारी गराए, त्यही निर्णय भयो । धनी पुँजीपतिहरुले दिने उपहारको नाममा संघर्षलाई नियन्त्रण गर्न दिएका हुन् भनेर त कसैले भन्दैनन् । पछि छलफल गर्ने निर्णय सही थिएन । पुँजीपतिहरूले नेताहरुलाई दिने उपहारले कम्युनिष्ट नैतिकता र व्यवहारलाई कहाँ पुराउँछ भन्ने लाग्यो । ती नेताहरुलाइ नत आलोचना भयो नत चेतावनी । अहिले देशमा भ्रष्टाचार भएका समाचार आइरहेका छन् । अनैतिकता र भ्रष्टाचारका जरा कहाँ सम्म छन् ? त्यसको खोजि कसरी गर्ने ? यो गम्भीर समस्या छ ।