– पवनमान श्रेष्ठ
७८ औँ नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवश र १५७ औँ लेनिन दिवशको अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा भएको कार्यक्रममा अतिथी वक्ताको रुपमा अखिल नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक क।पवन मान श्रेष्ठद्वारा व्यक्त गरिएको भनाई ःनेपालमा कम्युनिस्ट पार्टीको स्थापना क।पुष्प लाल श्रेष्ठको नेतृत्वमा भएको ७७ वर्ष पुरा भएर ७८ वर्ष लागेको छ । यस बीचमा नेपालमा कम्युनिस्ट आन्दोलनले विभिन्न आरोह अवरोह पार गरेको छ । ७७ वर्षको बीचमा महान् जनयुद्ध नै कम्युनिस्ट आन्दोलनको सबैभन्दा उच्च प्रकारको संघर्षको रुपमा रह्यो । यद्यपि यसका मूल नेतृत्वको आत्मसमर्पण र गद्दारीले आफ्नो लक्ष्य नयाँ जनवादी व्यवस्थामा पुग्न सकेन । त्यसैले हामी अहिले पनि क्रान्तिको बाँकी कार्यभार गर्न नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरी वैज्ञानिक समाजवादमा पुग्ने कुरा गरिरहेका छौँ ।
अर्कोतिर लेनिन सन् १८७० मा जन्मेको आज १५६ वर्ष पूरा भएर १५७ वर्ष लागेको छ । उहाँ १७ वर्षका उमेरमा स्कुल जीवन सकेर कजान युनिवर्सीटीमा पढ्दै गर्दा सन् १८८७ मा विद्यार्थी आन्दोलनमा सहभागी भएका कारण राज्यले गिरफ्तार गरेर जेलमा पठायो । उहाँको राजनीतिक जीवन यहीबाट शुरु हुन्छ र उहाँको निधन नहुँदासम्म सन् १९२४ सम्म निरन्तर जारी रह्यो । लेनिनको मृत्यु हुँदा उहाँको उमेर ५४ वर्षको थियो । यस बीचमा उहाँले सन् १८९३ सम्ममा लगातार ६ वर्षसम्ममा त्यति वेला उपलब्ध माक्र्सवादका सबै पुस्तकहरु अध्ययन गरेर त्यसलाई ग्रहण गरी सक्नु भएको थियो । उहाँ २५ वर्षको उमेरमा पार्टीको एक प्रमुख नेतृत्वको रुपमा स्थापित भइसक्नु भएको थियो । उहाँले ३० वर्षको उमेर नपुग्दै रुसमा ‘पुँजीवादको विकास’ नामक चर्चित ठूूलो ठेलीको पुस्तक लेखिसक्नु भएको थियो । सन् १९०५ को रुसको पहिलो असफल क्रान्तिको उहाँले नेतृत्व गर्नुभयो र सन् १९१७ मा ४७ वर्षको उमेरमा त्यति वेलाको परिस्थितिमा रुसमा समाजवादी क्रान्तिको सफल नेतृत्व गर्नुभयो र विश्व सर्वहारावर्गका नेता र गुरुका रुपमा स्थापित हुनुभयो । सन् १९१९ मा मेन्सेभिक महिलाले प्रहार गरेको ३ वटा गोली घाटीमा लागेर सिकिस्त विरामी हुनु भएका क।लेनिनको स्वास्थ्य कमजोर भएर ५४ वर्षको उमेरमा निधन भयो । हामी हाम्रो पार्टीका युवा नेताको कुरा गर्दा ५० वर्ष वरिपरि उमेरकालाई लिनु पर्ने स्थिति छ । जबकि क।लेनिनले यस उमेरमा रुसमा क्रान्ति सम्पन्न गरी सक्नुभयो । स्तालिन, माओ पार्टीको प्रमुख तथा क्रान्तिको नेता भइसक्दा उहाँहरुको उमेर ४० वर्ष वरिपरिको थियो । माक्र्सको कुरा गर्दा पनि उहाँले माक्र्सवाद, समाज विज्ञानको सिद्धान्त विकास गरी सकेर उहाँको निधन हुँदा उहाँको उमेर ६४ वर्षको थियो । कम्युनिस्ट पार्टीको घोषणा पत्र लेखिसक्दा उहाँको उमेर २९ वर्ष र एंजेल्सको उमेर २७ वर्षको थियो । विश्वमा भएका प्रायःजसो क्रान्तिको नेतृत्व युवा उमेरका नेताहरुबाट भएको देखिन्छ । नेपालको सवालमा पनि कम्युनिस्ट आन्दोलन र क्रान्तिको कुरा गर्दा सक्षम युवा नेताहरुको विकास नहुँदासम्म क्रान्तिको कुरा असम्भव जस्तै छ । त्यसैले युवा कम्युनिस्टहरुले मेहनतपूर्वक अध्ययन र संघर्ष तथा आन्दोलनमा सहभागी भई सक्षम क्रान्तिका नेताको रुपमा विकास हुन आवश्यक छ ।
लेनिनको अक्टोबर समाजवादी क्रान्ति र समाजवाद लागू गर्ने वेलासम्ममा माक्र्सवादका तीन वटै संघटक अंगहरु दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा थप गुणात्मक विकास गरी माक्र्सवादलाई नयाँ चरणमा विकास गर्नुभयो र माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादको चरणमा पु¥याउन योगदान दिनुभयो । त्यसो त माओले यसमा पनि थप गुणात्मक विकास गरेर पछि माक्र्सवाद–लेनिनवाद–माओवादको नयाँ चरणसम्म विकास गर्नुभयो । लेनिनले दर्शनशास्त्रमा विपरीतहरुको एकताको महत्वलाई द्वन्दवादको गुदी भन्नुभयो । त्यसै गरी पदार्थ अभिभाज्य परमाणुले बनेको भन्ने सन् १९०० भन्दा अगाडि भौतिकवादीहरुको भनाईलाई आदर्शवादीहरुले विज्ञानको विकासले परमाणु आफै इलेक्ट्रोन, प्रटोन र न्युट्रोनले बनेको कुराको आविष्कारपछि पदार्थको अन्त भएको र भौतिकवादको पनि अन्त भएको घाषणा गर्न थाले । रुसको सन् १९०५ को असफल क्रान्तिपछि बोल्सेभिकहरुमाथि पनि यसको ठूलो प्रभाव प¥यो । यसै वेला लेनिनले यसको खण्डन गर्दै पदार्थको अन्त होइन, बरु पदार्थ विभिन्न रुपमा व्यक्त हुने र यो गतिमा हुने कुराको व्याख्या गरी पदार्थको बुझाईलाई सही ठाउँमा ल्याउनुभयो । त्यसै गरी राजनीतिक अर्थशास्त्रमा पूँजीवाद प्रतिस्पर्धात्क पूँजीवादबाट एकाधिकार पूँजीवाद वा साम्राज्यवादमा विकास भएको र एउटै देशमा पनि सर्वहारा वर्गीय क्रान्ति अब सम्भव भएको बताउनु हुँदै साम्राज्यवादको विशेषताको विस्तृत रुपमा व्याख्या गर्नुभयो र रुसमा सोही आधारमा क्रान्ति सफल बनाई व्यवहारिक रुपमा पुष्टि गर्नुभयो । वैज्ञानिक समाजवादको क्षेत्र क्रान्ति गर्ने रणनीति र कार्यनीतिदेखि समाजवादको कार्यान्वयन पर्दछ । माक्र्स र एंजेल्सले यसमा महत्वपूर्ण केही विषय छोडेर जानु भएको भए पनि लेनिनले माक्र्सवादमा वैज्ञानिक समाजवादमा विस्तृत रुपमा विकास गर्नुभयो । यही उहाँको माक्र्सवादमा गुणात्मक विकासमा योगदान रहेको थियो र उहाँ सर्वहारा वर्गको गुरु बन्नुभयो । पछि माओले चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद लागू गर्ने सन्दर्भमा यसमा पनि थप गुणात्मक विकास गर्नुभयो । नेपालमा पनि क्रान्ति गर्न माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास गर्न सक्नु पर्छ । यो हाम्रो लागि मार्ग निर्देशक सिद्धान्त त हो तर यसमा विकास गर्न सकिएन भने हामी उहाँहरुले छोडेर जानु भएको विचारलाई मात्र व्यक्त गर्ने बाहेक केही गर्न सक्दैनौँ । यसको लागि गहिरो अध्ययन र संघर्षमा प्रत्यक्ष र निरन्तर सहभागिता अनिवार्य छ ।
अब नेपालतिर फर्कौँ । नेपालमा संसदीय पार्टी र नेताहरुको कुकर्मले गर्दा आज तल्लो सदनमा दुईतिहाइ भएको अमेरिकी साम्राज्यवादको कठपुली सरकार बनेको छ । यसले नेपाल युद्ध भूमिमा परिणत हुने दिशातिर अगाडि बढेको छ । यो नेपालको लागि एक हिसाबले दुर्भाग्य जस्तै भएको छ । यसले जनताका विभिन्न तप्काका अधिकार खोसिदै लगेको छ । विद्यार्थी र मजदुरबाट शुरु भएको यो काम अन्य क्षेत्रमा पनि विस्तार हुनेछ । यसले देश, जनता र क्रान्तिकारीहरुका लागि हिजोभन्दा प्रतिकुल बनाउँदैछ । यद्यपि अर्को कोणबाट हेर्दा क्रान्तिको लागि यसले फाइदा पनि पु¥याउँदैछ । यसमा द्वन्द्वात्मक सम्बन्ध रहेको छ । यसका विरुद्ध सबै देशभक्त र क्रान्तिकारीहरु एक जुट भई संघर्ष गर्नु पर्छ । नेपालको अवस्था रुसको जातीय अवस्थाभन्दा कम अप्ठ्यारो अवस्थामा छैन । सरकारी तथ्याङ्कक अनुसार पनि आदिवासी जनजातिहरु ३४.५ %छ । मधेशी, दलित, महिला, उत्पीडित क्षेत्र र वर्ग समेत लिँदा ९० % भन्दा बढी यो सत्ताबाट उत्पीडनमा परेको छ । महासंघले आदिवासी जनजातिको मुक्तिका लागि आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति र पहिचानसहितको संघीयता, स्वायत्तता, स्वशासनको अधिकार उठाएको छ । लेनिनले क्रान्ति गर्नु हुँदा विकास गरिएको जातीय नीतिलाई आधार बनाएर यसलाई अगाडि ल्याइएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले पनि यस नीतिलाई अंगिकार गरेको छ । चीनमा माओले हान जनजाति बाहेकका ६% अल्पसंख्यक जनजातिहरुको मुद्दा सही तरिकाले हल गर्नुभयो । नेपालमा पनि हामी सबै नेपालको जातीय समस्यामा पनि सतर्क हुनुपर्छ । आदिवासी जनजातिको समस्या हल नभई देशको समस्या कहिल्यै हल हुने छैन । यी सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको एकीकृत सशक्त आन्दोलनको उठान सर्वहारा वर्गको नेतृत्वमा गर्न नसक्दासम्म क्रान्ति सम्भव छैन । अन्तमा आज पार्टी स्थापना दिवश तथा लेनिन दिवशको अवसरमा अखिल नेपाल आदिवासी जनजाति महासंघ र मेरो व्यक्तिगत तर्फबाट पनि सबैमा शुभकामना दिन चाहन्छु । धन्यवाद !
Comments

