धनगढीदेखि कति सुदूर छ सुदूरपश्चिम प्रदेश ?

– लालबहादुर जाग्री

नेपाल एकीकरणको समयमा चौविसे राज्य मध्ये डोटी र अछाम राज्यले केन्द्रको अधिनतालाई अस्वीकार गरेका थिए । नेपाल एकीकरण भएकै बेला वि.सं. १८४७ मा नै अछाम राज्य विशाल नेपालमा गाभिए पनि १८४८ को चैते दशैको राती देवचन्द्र शाह (द्वितीय) ले विद्रोह गरी पुनः बान्नीगढी कब्जागरी अछाम राज्यको अस्तित्व राखेका थिए । त्यसपछि गएर मध्यकालमा पनि अछामले अनेक युद्ध खेपेको इतिहास छ । राजा दीपशाहीको पालामा कप्तान रणवीर खत्रीको नेतृत्वमा गएको नेपाली फौजले डोटीमाथि आक्रमण गरी विसं १८४७ सालमा विशाल नेपाल राष्ट्र अन्तर्गत विजय गरेको थियो । राणाकालमा प्रशासनिक केन्द्रको रूपमा तोकिएको डोटी गौंडाको नियन्त्रणमा अछाम, बाजुरा बझाङ, जुम्ला र बैतडी थिए । बम्म सिंहका जेठा छोरा शक्ति सिंहले वि.स. १५०३ सालमा बझाङ राज्य स्थापना गरेका थिए । बझाङ १८४७ सालमा नेपालमा समाहित भएको थियो । २०१७ सालमा राज्य अदालत र राज्य–रजौटा खारेजीपछि भने बझांगी राजा राम जंगबहादुर सिंह र उनका छोरा ओमजंगबहादुर सिंह प्रतिकारमा उत्रिए । उक्त विद्रोह सेनाको सहयोगमा नियन्त्रणमा लिइयो । भीमदत्तको विद्रोह पछि सुदूरपश्चिममा सेना परिचालन गरिएको माओवादीको विद्रोह वाहेक बझाङ विद्रोह दोस्रो घटना थियो । (विकिपिडिया)

उन्नाइ हजार नौ सय उन्नान सय विन्दु अठ्ठाइस वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको र २७ लाख ११ हजार, २ सय ७० जनसंख्या बसोबास गरिरहेको भु–भागलाई पहिले सुदूरपश्चिम विकास क्षेत्रका नामले चिनिने गरेको थियो भन्ने अहिले सुदूरपश्चिम प्रदेशका नामले देखाइन्छ । गणतन्त्र आउँदासम्म पनि काठमाडांैका शासकहरुको शासक मानसिकता र यस प्रदेशसभा सदस्यहरुको दासता, हिनता र पराधीनताको मानसिकतामा परिवर्तन हुन सकेनन् । यस क्षेत्रका विकास, पूर्वाधार शिक्षा, स्वास्थ्य लगायतका काममा त कुनै परिवर्तन हुन सकेन ।

धनगढीमा भएको प्रदेश राजधानीका लागि आफ्नै प्रदेश सुदूर– पश्चिम हुन गएको छ । धनगढीबाट पश्चिममा केवल कञ्चनपुर मात्र छ तर सुदूर (धेरै टाढा) छैन । धनगढीदेखि कति सुदूर छ सुदूरपश्चिम प्रदेश ? आफै उभिएको ठाउँलाई सुदूर र पश्चिम देख्ने दृष्टिदोष पनि अचम्मको छ ।

यसक्षेत्रमा नौवटा जिल्ला ८८ वटा स्थानीय तह (उपमहानगर, नगर, गाउँ) पालिका र ७२१ वडाहरु रहेका छन् । आधारभूत रुपमा तीन हिमाली जिल्ला मध्ये बझाङको पूर्वमा बाजुरा र हुम्ला, पश्चिममा बैतडी र दार्चुला, उत्तरमा हुम्ला र चीनको स्वाशासित क्षेत्र तिब्बत, दक्षिणमा बैतडी –डोटी अवस्थित छन् । जिल्लाको क्षेत्रफल ३,४२२ वर्ग किलोमिटर, जनसख्या १,८९,०९७ रहेको छन् । जयपृथ्वी, वुङगलनगरपालिका हुन भने, तलकोट, खप्तडछान्ना, थलारा, वित्थडचिर, सूर्मा, छविसपाथिभेरा, दुर्गाथली, मष्टा, केदारस्यु, साइपाल गाउँपालिका हुन । नगर र गाउँपालिकामा जिल्ला भरी ८० वडाहरु रहेका छन् । बाजुरा जिल्लाको सिमानामा पूर्वमा मुगु र कालीकोट, पश्चिममा बझाङ, उत्तरमा हुम्ला, दक्षिणमा अछाम र कालीकोट पर्दछन् । क्षेत्रफल २,१८८ वर्ग कि.मि., जनसंख्या १,३८,५२३ रहेको छ । जिल्लाभरीका नगर,गाउँपालिमा ६९ वडाहरु रहेका छन् । दार्चुला जिल्लाको सिमाना पूर्वमा बझाङ्ग, पश्चिममा भारतको उत्तराखण्ड राज्यको पिथौडागढ, उत्तरमा चीनको स्वशासित प्रदेश तिब्बत र दक्षिणमा बैतडीसँग जोडिएको छ । क्षेत्रफल २,३२२ कि.मि. जनसख्या, १,३५,०५६ रहेका छन् । महाकाली, शैल्यशिखर नगरपालिका र, अपि हिमाल, दुहुँ, नौगाड, मार्मा, मालिकार्जुन, लेकम र व्याँस गाउँपालिका छन् । जिल्लाका नगर र गाउँपालिमा ६१ वडा रहेका छन् । यी तीन जिल्ला मूलभूत ः रुपमा हिमाल जिल्लाभित्र पर्दछन् ।

पहाडका चार जिल्ला मध्ये बैतडी जिल्लाको पूर्व बझाङ र डोटी, पश्चिममा भारतको उत्तराखण्ड राज्य, उत्तर दार्चुला, दक्षिण डडेल्धुरा पर्दछन् । क्षेत्रफल १,५१९ वर्ग किलोमिटर जनसंख्या २,४४,४०० रहेको छ । दशरथचन्द्र, पाटन, मेलौली पुचौडी नगरपालिका र डिलासैनी दोगडाकेदार, पञ्चेश्वर, शिवनाथ, सिगास, सुर्नया गाउँपालिकाहरु रहेका छन् । सबै नगर, गाउँपालिकामा ८६ वटा वडाहरु रहेको छ । डडेल्धुराको पूर्वमा डोटी, पश्चिममा भारतको उत्तराखण्ड प्रदेश, उत्तरमा बैतडी, दक्षिणमा कैलाली–कञ्चनपुर रहेका छन् । यसको क्षेत्रफल १,५३८ वर्ग किमि, जनसंख्या १,३९,४२० रहेको छ । यस जिल्लामा अमरगढी, परशुराम नगरपालिका र आलीताल, भागेश्वर, नवदुर्गा, अजयमेरू, गन्यापधुरा गाउँपालिका रहेका छन् । सबै पालिकाहरु लाई ५२ वडामा विभाजित गरेको छ । डोटीको पूर्वमा अछाम–सुर्खेत, पश्चिममा डडेल्धुरा–बैतडी,उत्तरमा बझाङ्ग दक्षिणमा कैलाली–कञ्चनपुर रहेका छन् । यसको क्षेत्रफल २,०२५ वर्गकिमी जनसंख्या २,०५६,८३३ रहेका छन् । दिपायल सिलगढी, शिखर नगर र जोरायल, वडीकेदार, वोगटानफुड्सिल, के.आइ.सि., सायल, आदर्श र पूर्वीचौकी गाउँपालिका हुन । जिल्लाभरी ६५ वडाहरु रहेका छन् । अछाम पूर्वमा दैलेख, पश्चिममा डोटी, उत्तरमा कालीकोट–बाजुरा, दक्षिणमा सुर्खेतसँग जोडिएको छ । कुल क्षेत्रफल– १,६१० वर्गकिमी जनसंख्या २,२९८१६ रहेको छन् । मंगलसेन, कमलबजार, साँफेवगर, पञ्चदेवलविनायक नगरपालिका हुन भने रामारोशन, मेल्लेख, वात्रीगढीजयगढ, तुर्माखाँद, ढकारी, चौरपाटी गाउँपालिका हुन । जिल्लाभरी ९० वटा वडाहरु रहेका छन् । यी चार जिल्ला पहाडी जिल्लाहरु हुन ।

तराइका कञ्चनपुर–कैलाली जिल्लाहरु मध्ये कञ्चनपुर पूर्वमा कैलाली, पश्चिम तथा दक्षिणमा भारत, उत्तरमा डडेल्धुरासँग जोडिएको छ । यसको क्षेत्रफल १,६१० वर्गकिमी जनसंख्या ५,१७,६४५ रहेको छ । भिमदत्त, पुनर्वास, वेतकोट, महाकाली, शुक्लाफाँटा, वेलौरी, कृष्णपुर नगरपालिका र वेलडाँडी, लालझाडी गाउँपालिका रहेका छन् । जिल्लाभरीमा ९२ वटा वडाहरु रहेका छन् । कैलालीको पूर्वमा कर्णाली नदी बर्दिया–सुर्खेत, पश्चिममा कञ्चनपुर–डडेल्धुरा, उत्तरमा डोटी–डडेल्धुरा, सुर्खेत दक्षिणमा मोहनानदी र भारतको उत्तरप्रदेश रहेको छ । यसको क्षेत्रफल ३,२३५ वर्गकिमी जनसंख्या ९,११,१५५ रहेको छन् । धनगढी उपमहानगर, लम्किचुहा, टिकापुर, घोडाघोडी, भजनी, गोदावरी, गौरीगङ्गा नगर र जानकी, वर्दगोवरिया, मोहन्याल, कैलारी, जोशिपुर र चुरेगाउँपालिका रहेका छन् । जिल्लाभरीका सबै पालिकामा १२६ वडाहरु रहेका छन् ।

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजा अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू अछाम, बझाङ्ग, डोटी, बैतडी र डडेल्धुरामा पछिल्लो दश वर्षको अवधिमा जनसंख्या बृद्धिदरमा ह्रास आएको छ । जनसंख्या बृद्धिदर सबैभन्दा बढी ऋणात्मक रहेको अछाममा यो दर एक दशमलव नौ प्रतिशत रहेको छ । अछाममा २०६८ सालको जनगणना अनुसार दुई लाख ५७ हजार ४७७ जनसंख्या रहेकोमा दश वर्षको अवधिमा अर्थात् २०७८ सालसम्म २७ हजार छ सय ६१ ले कमी आएर दुई लाख २९ हजार आठ सय १६ मा झरेको छ । त्यस्तै, बझाङ्गमा जनसंख्याको वार्षिक बृद्धिदर सून्य दशमलव ३० ले ऋणात्मक रहेको छ । त्यस्तै, डोटीमा सून्य दशमलव २८, बैतडीमा सून्य दशमलव २५ र डडेल्धुरामा सून्य दशमलव १८ प्रतिशत जनसंख्या बृद्धिदर ऋणात्मक रहेको छ । कैलाली –कञ्चनपुरमा जनसख्याको वृद्धिदर उल्लेख मात्रामा रहेको छ ।
यस प्रदेशमा हिमालबाट बगी आएका नदीहरु महाकाली, कर्णाली, सेती, बुढीगंगा चौलानी हुन भने कतिपय खोलाहरु महाभारत र चुरेको जलाधारक्षेत्रबाट बगी आएको हुन । चुरे पहाड भन्दा तल कैलाली, कञ्चनपुर छन भन्ने महाभारत पर्वत भन्दा तल चुरे भन्दामाथि डडेल्धुराको जोगवुडा डोटीको विपी नगर रहेका छन् । अरु सबै भू–भाग महाभारत पर्वत भन्दा उत्तर तर्फ हिमालसम्म रहेको छ ।

यस क्षेत्रमा जातिगत आधारमा क्षेत्री ४१.७, थारु १४.८, ब्रामहण १२.७, विश्वकर्मा १०.८, ठकुरी ४.९, परियार–३.८, रानाथारू–३.९, मिजार–२.८, मगर–२, सन्यासी–०.९ प्रतिशत छन् । धर्मका आधारमा हिन्दु २७.४, औद्ध–०.८, इस्लाम ०.३, किरात–०.०१, क्रिश्चियन १.४ रहेका छन् । भाषाका हिसावले डोटेली १९.१, वैतडेली–१५.४, थारू १४.९, अछामी–१४.१, बझाङ्गगी– ७.८, नेपाली ६.९, दार्चुलेली–५.८, बाजुरेली–४.४, रानाथारू ३ प्रतिशतले बोल्ने गरेका छन् । जनगणनाको समयमा ४२.९ प्रतिशत जनसंख्या कामको खोजीमा घर बाहिर रहेको थियो भन्ने १७.८ प्रतिशत जनसंख्या विदेशमा रहेको थियो ।

सुदुरपश्चिममा डडेल्धुराका भिमदत्त पन्तले किसान विद्रोह कञ्चनपुरको व्रम्हदेवबाट शुरू गरी त्यसबेलाको कञ्चनपुरको सदरमुकामा बेलौरीमा आक्रमण गरे विद्रोही फौज डडेल्धुरा आलिताल नजिक ग्वालेकमा पुगेको समयमा भारतीय सेनाद्वारा भिमदत्तको हत्या गरी विद्रोहलाई दमन गरे पनि यस क्षेत्रको अन्याय, उत्पीडन आजसम्म पनि फरक स्वरुपमा कायमै रहेको छ । यस क्षेत्रका राजा रजौटा मुख्य जिम्मेवाल तराइका थारु जमिदारहरुका भाइ छोराहरु नेपाली कांग्रेसमा र पढे लेखेका गाउँ भन्दा बाहिर गएको पिढी मूलतः शिक्षकहरु यस क्षेत्रको वामपन्थी आन्दोलनमा लागेको पाइन्छ । अहिलेको अवस्थाको समाजमा शोषण अन्यायको स्वरुप परिवर्तन भएको स्थितिमा अन्तरविरोधको स्वरुप पनि फरक देखिन्छ । अन्तरविरोधको सही पहिचान गरी पीडित जनतालाई गोलबद्ध गर्दै यस क्षेत्रमा जनताको मुक्ति आन्दोलनलाई ठीक तरिकाले अगाडि बढाउनुको विकल्प छैन । यसका लागि सही कम्युनिष्ट पार्टीको नेतृत्व अति आवश्यक रहेको छ ।

सन्दर्भ सामाग्री– (क) विकिलिपिडिया (ख) जनगणना २०७८
(लेखक– अधिवक्ता एव ने.क.पा.(मशाल) का केन्द्रीय सदस्य हुनुहुन्छ)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित