क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषणा सभा

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल र नेकपा (मशाल) बिच एकता भएर बनेको नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वैशाख १९ गते घोषणा सभा काठमाडौंमा सम्पन्न भएको छ । घोषणा सभालाई पार्टीका बरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ ले अध्यक्षता गर्नु भएको थियो ।गजुरेलले केवल एकता लागि एकता होइन परिवर्तनका लागि एकता आवश्यक भएको बताउनु भयो ।

पार्टीका सहसंयोजक सन्तबहादुर नेपालीले ४० वर्ष अगाडि पार्टीको पाँचौ महाधिवेशन पछि टुटेकोकडीलाई यो पार्टी एकताले जोडेको छ भन्नू भयो । पार्टीका अर्का सहसंयोजक धर्मेद्र बास्तोलाले क्रान्तिकारी पार्टीको आबश्यकता रहेको र क्रान्तिकारी को हो भन्ने कुरा नेता र कार्यकर्ताहरूको कार्यशैली,ब्यबहार,जीवनशैली र पार्टीको कार्यक्रममा अभिव्यक्त हुनु पर्ने बताउनु भयो । पार्टीका सल्लाहकार इश्वरी दाहाल ‘असारे काका’ले पार्टीको क्रान्तिकारी लाईन निर्माण नभैकन क्रान्तिकारी आन्दोलन अगाडि बढ्दैन भन्नू भयो । पार्टीका अर्का सल्लाहकार गोविन्द सिंह थापा ‘मामा’ ले कार्यकर्ताहरू लाखौं लाख गरीव ,मजदुरहरूको बीचमा पुग्नु पर्ने बताउनु भयो । पार्टीका कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्मा ‘सागर’ ले मई दिवसको ईतिहास माथि चर्चा गर्दै मजदुर वर्गको सत्ता स्थापना नभई मजदुरको मुक्ति नहुने बताउनु भयो । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का संयोजक गुणनीधि आचार्यले पनि कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो।


पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको अध्यक्षता र कार्यालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनको सञ्चालनमा सम्पन्न घोषणा सभा कार्यक्रममा कार्यालय सदस्य कृष्णराज पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वक्ताहरुले छरिएर रहेका अन्य क्रान्तिकारीहरुलाई पनि एकताबद्ध तुल्याउँदै नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । “अन्तरास्ट्रिय” गीत गाउनुको साथै सहिदहरू प्रति मौन धारण र कलाकारहरूको “रातो लालटिन“गीतबाट स्वागत सहित कार्यक्रम अगाडि बढेको थियो ।

कार्यक्रममा रक्तिम साँस्कृतिक अभियान र सामना सांस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सुरुहुनुपूर्व गौशाला चोकबाट कार्यक्रम स्थल पुरानो बानेश्वरस्थित ओम साइ पार्टी प्यालेस सम्म मजदुरहरूले र्याली गरेकाथिए ।

कार्यक्रमका सन्चालक हेमन्त प्रकाश ओली सुदर्शनले नेकपा (क्रान्तिकारी माओवादी) ,नेकपा (बहुमत) र नेकपा (मशाल) तीन पार्टीका बीचमा २०७९ फागुनमा पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपाल राख्ने निर्णय भएको स्पष्ट गर्नु भएको थियो। सन्चालक सुदर्शनले बैशाख १८ गते सम्पन्न दुई पार्टीको एकता अधिबेशनले संयोजक मोहन वैद्ध “किरण”, सहसंयोजक सन्तबहादुर नेपाली र सहसंयोजक धर्मेन्द्र बास्तोला “कन्चन” चयन हुनु भएको २५ सदस्यीय कार्यालय , १०४ जना को सचिवालय र ३१७ जनाको एकता महाधिवेशन आयोजक समिति सदस्यहरू पनि चयन भएको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय समितिका संयोजक मोहन वैद्य किरणले २०८१ बैशाख १९ गते जारी गरेको “पार्टी एकता घोषणा बक्तव्य“ लाई पार्टीका केन्द्रीय कार्यालय सदस्य इन्द्रमोहन सिग्देल बसन्तले बाचन गर्नु भएको थियो ।

 

वक्तव्यको पूर्ण पाठ यस प्रकार छ,“१३५औं मे दिवस नेपाली तथा विश्वका मजदुरहरुका लागि सार्थक र भव्य बन्न गएको छ किनभने मजदुरहरुको अग्रदस्ताका रुपमा रहेका दुई क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) एकीकृत भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको छ । दुई पार्टीहरुबीचको धेरैपटकका वार्ता, छलफल र बहसबाट यही वि.सं. २०८१ बैशाख १३ पार्टी एकता संयोजन समितिको बैठकबाट पार्टी एकता सुनिश्चित भएको हो । आखिर श्रमजीवी तथा उत्पीडितवर्गको अग्रदस्ताका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधाराको सर्वाेच्च चेतनाद्वारा सुसज्जित मानिसहरुबाट बनेको साम्यवादी दलबिना उनीहरुको मुक्ति असम्भव छ । यसको साथै त्यो अग्रचेतनाद्वारा आलोकित एकीकृत साम्यवादी दल नभइकन कुनै आन्दोलन वा क्रान्ति सम्पन्न हुन सक्दैन । नेपाली साम्यवादी आन्दोलनमा एकता–संघर्ष–रुपान्तरण कम भएको छ भने एकता–संघर्ष–फुटबाट यो बढी आक्रान्त भएको छ । हामी यो महान चाडको अवसरमा एकता–संघर्ष–रुपान्तरणको प्रक्रियालाई हावी बनाएर लैजाने प्रतिवद्धता जाहेर गर्दछौँ ।
हाम्रो यो एकता माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधाराको सिद्धान्तमा आधारित रहेको छ । पार्टी एकता र पार्टी निर्माणका सन्दर्भमा हामीलाई लेनिनले निर्देशन गर्नुभएको छः “…यदि तपाईहरु एकता गर्न चाहनुहुन्छ भने आन्दोलनका व्यावहारिक उद्देश्यहरु पूरा गर्न सहमति गर्नुहोस्, तर सिद्धान्तको प्रश्नमाथि कहिल्यै पनि कुनै मोलतोल हुन नदिनुहोस्, सिद्धान्तको प्रश्नमाथि कुनै ‘छुट’ नदिनुहोस् । माक्र्सको विचार यही थियो ।”
हामीले लेनिनको यो संश्लेषणप्रति निष्ठावान रहँदै क्रान्ति पूरा गर्ने उद्देश्यमा पूर्ण रुपले सहमति गरेका छांै भने मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारा, क्रान्तिकारी कार्यदिशा — आम कार्यक्रम नयाँ जनवाद तथा आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद र साम्यवाद, क्रान्तिमा बल प्रयोगको भूमिका, सर्वहारा अन्तर्राष्ट्रियतावाद, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त, विद्यमान बहुलवादी संसदीय व्यवस्थाको अन्त र जनगणतन्त्र नेपालको स्थापना, वैज्ञानिक समाजवाद, सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत महान् सर्वहारा सांस्कृतिक क्रान्ति जस्ता सिद्धान्तहरुप्रति कुनै मोलतोल हुन नदिन र ‘छुट’ नदिन प्रतिबद्ध रहेका छांै । यी आधारभूत प्रश्नहरुमा आधारित रहेको एकताले नै यो पार्टी एकता सम्पन्न भएको घोषणा गर्दछौँ ।
हामीले माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधाराको मौलिकतालाई दृढतापूर्वक रक्षा गर्दै देश, काल र परिस्थिति अनुरुप यसको विकास गर्नैपर्दछ । यस सन्दर्भमा लेनिनको यो संश्लेषणलाई पनि हामीले आत्मसात गर्नैपर्दछ ः “साच्चै भन्ने हो भने माक्र्सवाद भनेको कुनै जीवनहीन जडसूत्र होइन, न त परिपूर्ण, बनिबनाऊ र अनुलंघनीय सिद्धान्त नै, बरु यो एउटा कार्यमा जीवन्त पथप्रदर्शक हो जुन आश्चार्यजनक रुपमा सामाजिक जीवनका अवस्थाहरुमा आकस्मिक परिवर्तनको प्रतिबिम्बनसँग जोडिएको हुन्छ ।”
लेनिनको यो निष्कर्षबाट निर्देशित भएर हामी के घोषणा गर्न चाहन्छौं भने हामीले आजको परिस्थितिका अन्तर्विरोधहरुको समाधान गर्ने माक्र्सवादको पनि विकास गर्नैपर्दछ । आज विज्ञान र प्रविधिको विकासले गर्दा सामाजिक जीवनका अवस्थाहरुमा आकस्मिक परिवर्तनहरु आएका छन् । त्यसलाई प्रतिबिम्बित गरेर मात्र मालेमावादको विकास हुन सक्दछ । यस सन्दर्भमा सृजनशील माक्र्सवादका पक्षपोषक र मौलिक माक्र्सवादका रक्षक माओले संश्लेषण गर्नुभएको छ ः “हामीले कुनै नयाँ कुराको वकालत गर्न र कुनै भिन्न चीजलाई स्थापित गर्न साहस गर्नैपर्दछ । कुनै नयाँ कुराको वकालत गर्ने र कुनै भिन्न चीजलाई स्थापित गर्ने प्रश्न पनि दुई प्रकारको हुन्छ ः लाल झण्डा फहराउनु राम्रो कुरा हो भने श्वेत झण्डा फहराउनु नराम्रो कुरा हो ।”
नयाँ कुराको वकालत र भिन्न चीजको स्थापना गरेर नै माओले रुसभन्दा भिन्न देश र कालको परिस्थिति हुँदाहुँदै पनि चीनमा क्रान्ति सम्पन्न गर्नुभयो । नेपालको परिस्थिति अनुरुप माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारालाई लागू गर्न र यो विशिष्ट परिस्थितिबाट यसको विकास गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल यसको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ । अर्थ–सामाजिक हिसाबले अर्ध–औपनिवेशिक, अर्ध–सामन्ती र मुख्यतः नव–औपनिवेशिक, वर्गविश्लेषणका हिसाबले बचेखुचेको सामान्तवाद, नोकरशाही पुँजीवाद, दलाल पुँजीवाद मुख्यतः दलाल पुँजीवाद दुश्मन शक्ति र मजदूर, किसान, सिपाही, सुकुम्वासी, राष्ट्रिय पुँजीपति लगायतको मित्रशक्ति रहेको अवस्थामा दलाल तथा नोकशाही पुुँजीवादी राज्यसत्ता र समग्र नेपाली उत्पीडित जनताका बीचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध रहेको छ । यसको समाधान नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गर्नेबित्तिकै पुगिने वैज्ञानिक समाजवाद हो भन्ने कुरामा हाम्रो पार्टी प्रतिबद्ध छ ।
देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेका छन् । एमसीसी र एसपीपी जस्ता सम्झौताहरुमा पुगेर राष्ट्रियताको समस्या भयानक बनेको छ । झुठा मुद्दामा राजनैतिक कार्यकर्ताहरुलाई फसाएर तथा बन्दी बनाएर जनतन्त्रको समस्यालाई चरमचुलीमा पु¥याइएको छ । बैङ्कहरुको संरक्षणमा लघुवित्तीय, मिटरब्याजी र कथित सहकारी संस्थाहरुको चरम सुदखोरीले जनजीविकाका समस्याहरु आकाशिएका छन् । राज्यसत्ता, सरकार र सम्वन्धित निकायहरु यी समस्याहरुको समाधान गर्नुको सट्टा आन्दोनलकारीहरुमाथि दमन गर्न उद्यत रहेका छन् । हाम्रो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधानका लागि जनसंघर्षको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।
यस अवसरमा विभिन्न संसदीय संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका विभिन्न समूहहरु र व्यक्तित्वहरुलाई यो ऐतिहासिक एकता प्रक्रियामा धु्रवीकृत र एकीकृत हुन आह्वान गर्दछौँ । तपाइँ हाम्रो यो एकताले नेपाली क्रान्तिको बलियो सदरमुकाम बन्ने छ र क्रान्ति सम्पन्न हुनेछ । बाटो जतिसुकै कठिन र यातनामय भएतापनि भविष्य उज्ज्वल छ ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित