काठमाडौ । असोज ५ गते साँझ साढे सात बज्न आँटेको छ। सडकमा गाडीको लाइन पातलिंदै छ । रत्नपार्क स्थित आकाशे पुल मुनि एउटी नगर प्रहरी असई उभिएकी छिन ।बागबजारबाट सडक पार गरेर रत्नपार्क तिर जान थालेका राता,सेता ,काला प्लाष्टिकले बेरिएका पोका बोकेका मानिसहरूको लाइनलाई एउटी नगर प्रहरीले रोकिराखेकी छिन। करीव ५० जनाको लाइन भारी बोकेर उभिइरहेका छन्,कसैले भारी बिसाएका छन् ।
त्यत्तिकैमा करीव १५ जनाको त्यस्तै पोका बोकेका मान्छेहरुको हुल पारीपट्टी प्रहरी कार्यालयको छेउँ हुँदै रत्नपार्क तिर जाँदै गरेको देखिन्छ । ती नगर प्रहरीले औलोले ईसारा गर्दै तँहरूलाई नटेर मात्र तेरो हड्डी भाँचिदा थाहा पाउलास भनेर हप्काउँछिन। भारी बोकेका मान्छेहरू अगाडि बढेनन। किन रोक्नु भएको भन्ने प्रश्नमा नगर प्रहरी भन्छिन – फुटपाथ व्यापार गर्न पाईदैन । लाइनमा उभिएका एक जना व्यापारीको प्रतिक्रिया थियो –“फुट्पाथ व्यापार गर्न दिँदैनन। साढे सात बजे पछि नगर प्रहरी जान्छ ,अनि एक दुई घण्टा रत्नपार्कमा फुटपाथ व्यापार गर्नु पर्ला ।”अहिले काठमाडौ महानगरले फुटपाथ व्यापार माथिको प्रतिबन्धलाई कडाई गरे पछि बेलुकी अबेर तिर मात्र रत्नपार्कमा छोटो समय व्यापार हुने गरेको छ ।