फासिष्ट हसिना शासनको अन्त्य प्रारम्भिक विजय हो

–बज्लुर रशिद फिरोज, महासचिव, बंगलादेश समाजवादी पार्टी

० बंगलादेशमा केही समय पहिले विद्यार्थी आन्दोलनले शेख हसिनाको सरकारलाई ढाल्यो । यहाँको पार्टीले त्यस विद्यार्थी विद्रोहलाई कसरी मूल्यांकन गरेको छ ?
–बंगलादेशमा एउटा अभूतपूर्व जनआन्दोलन र विद्रोह भर्खरै भएको छ । विद्यार्थीले नेतृत्व गरेको आन्दोलनको रुपमा त्यो विद्रोह सुरु भएको भए तापनि खासगरी मजदुरहरु र सबै क्षेत्रका जनताहरु धर्म, जाति,लिंगको वास्तै नगरिकन संघर्षमा आए र त्यो संघर्ष सबैको सामूहिक संघर्षको रुपमा विकास भयो । सम्पूर्ण सहभागीहरुले एउटै लयमा सामूहिक आवाज उठाए । परिणामस्वरुप बंगलादेशको फासीवादी सरकार र त्यसको नेता शेख हसिनाले राजीनामा दिएर देशबाट भाग्न बाध्य भइन् ।
तपाईलाई पहिले नै थाहा होला कि त्यो आन्दोलनमा १ हजार ५ सय ८१ जना मारिए भन्ने प्रतिवेदन छ तर अस्पताल नलगिएका र पोष्टमार्टम नगरिएका अरु कैयौंलाई गाडिएका थिए । यसको अर्थ झण्डै २ हजार जनाले त्यस रक्तपातपूर्ण विद्रोहमा बलिदानी दिएका छन् । त्यसरी बलिदान दिनेहरु विभिन्न क्षेत्रका जनता विद्यार्थी, मजदुर, केटाकेटी, साना व्यापारीहरु थिए । प्रहरीको एउटा अडियो कल सार्वजनिक भएको थियो । त्यसमा एउटा प्रहरीले आफू भन्दा माथिल्लो तहको प्रहरीलाई रिपोर्टिङ गर्दै भन्छ, “सर, आन्दोलनकारी विद्यार्थीहरु मध्ये एक जनालाई गोली हानेर मार्दा, त्यो एक जनालाई मार्न सकिन्छ तर बाँकी आन्दोलनकारी भाग्दैनन्, दृढतापूर्वक खडा हुन्छन् ।” आन्दोलनमा सहभागी भएका विद्यार्थीहरुको त्यो एउटा वीरताको कथा हो । सम्भवतः तपाईले सामाजिक संजालमा विद्यार्थी आन्दोलनकारीहरुको कैयौं विरताका कथाहरु देख्नु भयो होला ।
उल्लेखनीय कुरा के छ भने त्यो विद्रोह सुरु हुँदाखेरी कोटा प्रणालीको सुधार गरिनुपर्दछ भनेर माग गरेको देखिन्छ तर त्यस विद्रोहको विज धेरै पहिलेदेखि देखिएका थिए । त्यो सरकार (शेख हसिनाले नेतृत्व गरेको सरकार) ले २०१४, २०१८ र पछिल्लो पटक २०२४ मा कपटपूर्ण चुनाव गराएर १६ वर्ष सत्ता सम्हाल्यो । यसबीचमा, असहमत र फरक राजनीतिक विचारधारा माथि निर्ममतापूर्वक दमन ग¥यो । जवरजस्ती वेपत्ता पार्ने, हत्या गर्ने, गैरकानुनी ढंगले हत्या गर्ने विपक्षी नेता र कार्यकर्ताहरुलाई झुठो अभियोगमा जेल पठाउने जस्ता काम ग¥यो । मूल्यवृद्धि, मुद्रास्फ्रिति, बेरोजगारी, विकासको बहानामा अचाक्ली भ्रष्टाचार र सीमित व्यक्तिहरुको हातमा पुँजीको केन्द्रिकरण जस्ता तमाम बेथितिबाट जनताहरु भित्रभित्र उकुसमुुकुस भइरहेका थिए । राष्ट्रिय स्रोतहरु साम्राज्यवादको स्वार्थका सेवाका लागि बेचिए, भारतसित असमान सम्बन्धको विकास गरियो, मोदी सरकार र खर्वपति अदानीलाई अपारदर्शीढंगले फाइदा पु¥याउने काम भयो । स्थानीयस्तरमा सम्पन्न वर्गले जमिन कब्जा गर्ने, महिलामाथि दमन गर्ने, बलात्कार गर्ने जस्ता काम गर्दै आएका थिए । तथापि यी सम्पूर्ण अत्याचारका विरुद्धमा जनताले १५ वर्षदेखि लगातार विरोध, संघर्ष र प्रतिरोध गर्दै आएका थिए । कोटा प्रणालीमा सुधारको माग गर्दै जुलुश गरेर शुरु भएको विद्यार्थी आन्दोलनको उच्चरुप यो विद्रोह थियो । स्वतःस्फूर्तरुपमा उठेको विद्यार्थी आन्दोलनले सरकारको चरम दमनकारी व्यवस्था विरुद्ध उठेका जनताको आन्दोलनलाई एकीकृत ग¥यो र अन्तमा फासिवादी शासनलाई ढलाउन पुग्यो ।
यो स्वतःस्फूर्त आन्दोलन थियो । यो कुनै एउटा मात्र संगठित राजनीतिक नेतृत्वले चलाएको आन्दोलन थिएन । तसर्थ यस आन्दोलनको परिणामबारे धेरै पूर्व अनुमान गर्नु छिटो हुनेछ । तथापि, एउटा कुरा स्पष्ट छ, त्यो आन्दोलनको नाम हो–“विभेदका विरुद्ध विद्यार्थी आन्दोलन ।” यो आन्दोलनको मूल सन्देश हो “असमानताका विरुद्ध संघर्ष गर ।” टिटुमिर, अश्फाकुल्लाह, सूर्य सेन, प्रितिलता, भगतसिंह र खुदिराम जस्ता उपनिवेश विरोधी संघर्षका नायकहरु र रुमी र आसाद लगायतका हाम्रो मुक्ति युद्धका सहिदहरुका वलिदानका कथाहरुलार्य यसपटकको तमाम युवाजनको सहादतले पुनजीर्वित बनाएको छ ।
यो जनविद्रोहले निसन्देह नै बंगलादेशलाई नयाँ अध्यायतर्फ लगेको छ । फासिष्ट हसिना शासनको पतन प्रारम्भिक विजय हो । हाम्रो अन्तिम विजय त फासिवाद र असमानता जन्माउने पुँजीवादी व्यवस्था फ्याँके पछि मात्र हुनेछ । यस आन्दोलनको अन्तिम गन्तव्य त्यही नै हो र त्यसप्रति हामीलाई विश्वास छ ।
० बंगलादेश वाममोर्चाको गठन गर्नु भएको छ । त्यस मोर्चाको उद्देश्य के हो ?
–६ वटा वाम पार्टीहरु मिलाएर बंगलादेशमा वाम लोकतान्त्रिक गठबन्धन नामक एउटा सक्रिय मोर्चा बनाइएको छ । हामीले पार्टीको स्थापनाको सुरुवातदेखि नै अन्य वाम पार्टीहरुसित मिलेर आन्दोलनको निर्माणका लागि प्रयास गर्दै आएका छौं । न्यूनतम साझा कार्यक्रमका आधारमा स्पष्ट र एकीकृत वाम शक्तिहरुको उपस्थिति देशमा निर्माण गर्ने उद्देश्य पूरा गर्न हाम्रो प्रयास रहँदै आएको छ । जुन न्यूनतम कार्यक्रमले संघर्षमा एकतालाई बल पु¥याओस् ।
वाम लोकतान्त्रिक गठबन्धन बनाउने र त्यसलाई बलियो बनाउने उद्देश्यको पछि लाग्दा हामीले थुप्रै बाधा र व्यवधानहरुको सामना गर्नु परेको छ । हामीले अवसरवादी, सम्झौतापरस्त र दक्षिणपन्थीपरस्त प्रवृत्तिहरु जस्ता विभिन्न प्रवृत्तिहरुको सामना गर्नु परेको छ । वाम लोकतान्त्रिक गठबन्धनको मुख्य उद्देश्य भनेको बंगलादेशका वामपन्थी र लोकतान्त्रिक मानसिकता बोकेका जनतालाई संगठित गर्नु हो । उनीहरुलाई पुँजीवादी राजनीति भन्दा फरक प्रगतिशील र वाम राजनीतितर्फ लैजानु हो । यस गठबन्धनले क्रान्तिकारी आन्दोलनको निर्माणको खोजी गर्दछ ।
त्यसबाहेक त्यस भित्र आफैमा पनि क्रान्तिकारी दिशा लिनका लागि लगातार वैचारिक संघर्ष चलेको छ । यस प्रक्रियाबाट यस गठबन्धनले मजदुर वर्गको मुक्तिको आन्दोलनको उद्देश्य राखेको छ ।
० तपाईको पार्टीले भारतलाई विस्तारवाद भन्नु भन्दा साम्राज्यवाद भन्नुपर्ने किन ठान्यो ? कृपया त्यसका कारणहरु बताइदिनु हुन आग्रह गर्दछु ।
–विस्तारवादलाई विशेषतः नयाँ भूमिकाको खोजी गर्ने र भौगोलिक क्षेत्रमाथि नियन्त्रण गर्ने अर्थमा बुझ्ने गरिन्छ तर अझ अगाडि बढेर राजनैतिक, आर्थिक र सांस्कृतिक प्रभुत्व स्थापना गर्ने अर्थमा साम्राज्यवादलाई लिइन्छ । भारतको कामहरु साम्राज्यवादीको रुपमा देखिएका छन् । भारतले जमिन प्राप्तिको सीमा नाघेर राजनीतिक दबाब, आर्थिक प्रभुत्व र सांस्कृतिक हस्तक्षेपसम्म बढाएको छ । यसले सीमाको मामलाभन्दा अरु धेरै क्षेत्रमा नियन्त्रण र प्रभाव बढाएको छ ।
दक्षिण एशियामा भारतले छिमेकी देशहरुसित स्वतन्त्ररुपले नै आर्थिक नीति र व्यापार सम्झौताका कार्यहरु गर्दछ । नेपाल, श्रीलंका र बंगलादेश जस्ता साना राज्यहरुमा उसले अर्थ व्यवस्था र नीति निर्माणमा आफ्नो प्रभाव बढाउनेतिरै लागेको छ ।
भारतले अन्तर्राष्ट्रिय मञ्चहरु र द्विपक्षीय सम्बन्धहरुमा उसको राजनीतिक शक्तिलाई सिधै भौगोलिक क्षेत्र गाभ्ने भन्दा पनि सीमा नियन्त्रणलाई बलियो पार्ने आफ्ना रणनीतिक स्वार्थहरुको पक्षमा हुने गरी नीतिहरु बनाउनेतिर बारम्बार आफ्नो राजनीतिक शक्तिलाई प्रयोग गरिरहेको छ । भारतले आफ्नो देशको सिमाना भन्दा बाहिर सम्झौता र सहकार्यको माध्यमबाट उसको सैनिक उपस्थितिलाई वृद्धि गरिरहेको छ । जस्तै, भारतले हिन्द महासागर क्षेत्रमा चीन जस्ता अन्य मुख्य शक्तिहरुको प्रभावलाई सन्तुलनमा राख्न र सामुन्द्रिक मार्गहरुलाई रक्षा गर्न अन्य शक्ति केन्द्रहरुसित साझेदारी वा सहकार्य बढाएको छ । भारतले वरपरका देशहरुसित सुरक्षा सम्बन्धलाई बलियो पारेर रणनीतिक शक्ति सुनिश्चित गर्दछ । उसले बलिउड, शैक्षिक कार्यक्रम, संचारको प्रयोग गरेर सांस्कृतिक कुटनीतिलाई अगाडि बढाइरहेको छ । छिमेकी राज्यहरु र त्यसभन्दा बाहिर पनि आफ्ना सांस्कृतिक र वैचारिक मान्यताहरु फैलाउन उसले उक्त सांस्कृतिक कुटनीतिको प्रयोग गर्दछ । अन्य देशहरुमा उसले त्यसप्रकारको “सफ्टपावर” प्रयोग गर्नुको उद्देश्य विस्तार भन्दा पनि सांस्कृतिक र सामाजिक दृष्टिकोणबाट साम्राज्य बढाउने नै उद्देश्य देखिन्छ । नेपाल र भुटानको क्षेत्रमा भारतले राजनीतिक र आर्थिक क्षेत्रमा भन्दा अझ पर ऐतिहासिकरुपले नै सांस्कृतिक र धार्मिक प्रभाव बढाउँदै आएको छ, त्यसो गर्नु भनेको साम्राज्यवादी प्रकारको नियन्त्रण नै हो । भारत विभिन्न क्षेत्रीय परियोजनाहरुमा संलग्न हुँदै आएको छ । आलोचकहरुको तर्क के छ भने त्यस्ता परियोजनाहरुमा साना र स्रोत सम्पन्न छिमेकीहरुमाथि भारतले दबाब दिएर असमानुपातिकढंगले आर्थिक लाभ उठाउने गर्दछ । भारतले पूर्वाधारमा लगानी गर्न र ऋण लिन आर्थिक रुपले करकापमा पार्दछ र त्यसले ऋण लिने राष्ट्रहरुको नीतिमाथि प्रभाव बढाउँछ । भारतको सुरक्षाको विषय चीन र पाकिस्तान जस्ता छिमेकी शक्तिहरु विरुद्ध शक्ति सन्तुलन कायम गर्ने र गठबन्धन निर्माण गर्ने तथा उपमहाद्वीपमा आप्mनो हैकमवादी शक्तिको स्थितिलाई सधैभरी कायम राख्ने रहेको छ ।
० नेपाल–बंगलादेश द्विपक्षीय सम्बन्धलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
–नेपाल र बंगलादेशको द्विपक्षीय सम्बन्धलाई आर्थिक लाभ, वर्गसंघर्ष र क्षेत्रीय ऐक्यबद्धताको दृष्टिकोणबाट विश्लेषण गरिनुपर्दछ । दुई देशका बीचमा पारस्परिक आर्थिक लाभ र समन्वयको सन्दर्भमा कुरा गर्दा पुँजीवादी शोषण र दुवै राष्ट्रका कामदार वर्गका स्वार्थहरुलाई फराकिलो गतिशीलताका दृष्टिकोणबाट मूल्यांकन गरिनुपर्दछ । व्यापार सम्झौता र आर्थिक सहकार्यमा जस्तो कि उर्जा र स्रोतका सन्दर्भमा पनि प्रायः पारस्परिक लाभका रुपमा चित्रित गरिन्छ । तथापि, माक्र्सवादी विश्लेषणमा, त्यसप्रकारका सम्झौताले मजदुरवर्गको हितलाई बढावा दिन्छ वा शासक सम्भ्रान्त वर्ग र पुँजीवादी व्यवसायहरुको सेवा गर्दछ भन्ने कुराले निर्णायक महत्व राख्दछ । यदि यी आर्थिक सम्बन्धहरु अधिकतम नाफा कसरी उठाउन सकिन्छ भनेर गाँसिएका हुन् भने त्यस्ता सम्बन्धहरुले विद्यमान असमानतालाई बढावा दिनेछन् । त्यस द्विपक्षीय सम्बन्धले मजदुरवर्गलाई कस्तो असर गरेको छ भन्ने कोणबाट नेपाल र बंगलादेश दुवै देशमा विचार गरिनु पर्दछ ।
० नेपालबाट बंगलादेशले विद्युत खरिद गर्ने बारेमा नेपाल र बंगलादेशका बीचमा सम्झौता भएको छ । त्यस सम्बन्धमा तपाईको पार्टीको विचार के छ ?
–विद्युत खरिदका सम्बन्धमा नेपाल र बंगलादेशका बीचमा भएको सम्झौतालाई धेरै कोणबाट हेर्न सकिन्छ । एकतर्फ, यो क्षेत्रीय समन्वयलाई सकारात्मक रुपमा हेर्न सकिन्छ किनभने विद्युत खरिदबाट बंगलादेशका निम्ति आर्थिक वृद्धि र उर्जाको पर्याप्तता÷उपलब्धतामा मद्दत पुग्नेछ, शोषणमूलक विश्वशक्तिप्रतिको परनिर्भरतालाई घटाउने छ । यसले अझ बढी स्थिर र मूल्य प्रभावी उर्जा स्रोत सिर्जना गर्न सक्नेछ, जसबाट दुवै देशलाई फाइदा पुग्नेछ । हामीले विचार गर्नुपर्ने महत्वपूर्ण कुरा के छ भने यस्ता सम्झौताहरु प्राथमिकरुपले कामदारवर्ग र राष्ट्रिय स्वार्थको सेवा गर्ने गरी गरिएको छ वा छैन भनेर ध्यान दिनुपर्दछ । यदि यस्ता सम्झौताहरु सार्वजनिक हित र पूर्वाधारलाई मद्दत पुग्ने भन्दा पनि विदेशी लगानीकर्ता, निजी कम्पनीलाई फाइदा पुग्नेगरी असमानुपातिक ढंगले पुँजीवादी तत्वहरुको स्वार्थ अनुरुप गरिएको छ भने त्यसले आर्थिक असमानतालाई बढाउने छ ।
माक्र्सवादीका रुपमा हामीले यस्ता उर्जा सम्झौताहरुलाई सार्वजनिक स्वामित्व र सामाजिक समानताको सिद्धान्तबाट निर्देशित हुनुपर्दछ भनेर वकालत गर्दछौं । उर्जा प्राप्तिका लाभहरुलाई सार्वजनिक परियोजनाको विकास गर्नमा प्रयोग गरिनुपर्दछ, दिगो विकासलाई टेवा पुग्नुपर्दछ, कामदारवर्ग र सीमान्तकृत समुदायहरुको समस्याहरुलाई न्यूनीकरण गरिनुपर्दछ । त्यसका साथै, त्यस्ता सम्झौताले पर्यावरणीय क्षति पु¥याउनु हुँदैन । दीर्घकालीनरुपमा समाजवादी नीतितर्फ रुपान्तरण हुने उद्देश्य हुनुपर्दछ र जसले नाफालाई जनताको निम्ति प्राथमिकतामा राखियोस् । हाम्रो पार्टीले अन्तर्राष्ट्रिय समन्वयलाई सहकार्यलाई समर्थन गर्दछ । जुन पारदर्शी, स्पष्ट र जनताको सामूहिक आवश्यकताको सेवा गरोस् भन्ने ठान्दछ । त्यो सम्झौता कसरी लागु गरिंदैछ भनेर हामीले लगातार अनुगमन गर्नेछौं र त्यस सम्झौताबाट न्याय र समानतापूर्ण समाजका लागि योगदान पुग्नुपर्दछ भनेर वकालत गर्नेछौं ।
० बंगलादेशको कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास बताइदिनु हुन अनुरोध छ ।
–बंगलादेशमा कम्युनिस्ट आन्दोलनको इतिहासलाई उपनिवेशवाद विरुद्धको संघर्ष, किसानहरुको परिचालन, दशकौंदेखि राजनीतिक संलग्नतामा फेरबदललाई मानिन्छ । यहाँ इतिहासका केही मुख्य घटना बताउँछु –बंगलादेशमा कम्युनिस्ट आन्दोलनको उत्पत्तिबारे थाहा पाउनु पर्दा ब्रिटिश भारतको समय पुग्नु पर्ने हुन्छ । १९२० र १९३० को दशकमा माक्र्सवादी चिन्तकहरुका रुपमा र कार्यकर्ताका रुपमा वामपन्थी विचारकहरुले उपनिवेश विरोधी आन्दोलन फैलाउने काम गरे । उनीहरुले मजदुरवर्ग र किसान वर्गको हालतलाई सम्बोधन गर्न खोजे । यस अवधिमा भारतीय कम्युनिस्ट पार्टीले मजदुर र किसानहरुलाई संगठित गरेर ब्रिटिश शासनको विरोधमा र समाजवादी सुधारको पक्षमा आवाज उठाउने काम गरेर महत्वपूर्ण भूमिका खेलेको थियो ।
१९४७ मा भारत विभाजित भएपछि अर्को देश पाकिस्तान निर्माण भयो र पूर्वी बंगाल पूर्वी पाकिस्तान बन्यो । कम्युनिस्ट आन्दोलनले नयाँ गठन भएको पाकिस्तानी सरकारको दमन सामना गर्नुप¥यो । तथापि, माक्र्सवादी विचार बौद्धिक सर्कलमा, मजदुर युनियन र ग्रामिण गतिविधिमा निरन्तर प्रभावित भइरह्यो । १९४० को दशकमा किसानहरुको ठूलाठूला ते भागा आन्दोलन चल्यो । कृषकहरुले फसलको ठूलो हिस्सा (३ भागको दुईभाग दुई भाग) किसानहरुले पाउनुपर्ने आन्दोलन चलाए । त्यो किसान आधारित कम्युनिस्ट कार्यक्रम थियो ।
१९५२ मा पूर्वी पाकिस्तानमा भाषिक अधिकारको माग गर्दै जनताले भाषा आन्दोलन चलाए । त्यो भाषिक आन्दोलनमा वामपन्थी समूहहरुको महत्वपूर्ण उपस्थिति थियो । त्यस आन्दोलनले व्यापक राष्ट्रिय र सामाजिक आर्थिक संघर्षका लागि आधार निर्माण गरिदियो ।
१९६० को दशकमा पूर्वी पाकिस्तानमा कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारीकरण गर्ने कार्य भयो । विभिन्न खालका माओवादी समूह र सोभियतपरस्त समूहहरु देखा परे । वामआन्दोलनमा वैचारिक विभाजन देखियो । पूर्वी पाकिस्तानको कम्युनिस्ट पार्टी र अन्य माक्र्सवादी लेनिनवादी समूहहरुले सामन्त–जमिन्दारहरुको विरुद्ध र पाकिस्तानी राज्यको अर्ध औपनिवेशिक शोषणका विरुद्ध किसानहरुलाई परिचालन गर्न महत्वपूर्ण भूमिका खेले । कम्युनिस्ट र वामपन्थी समूहहरु बंगलादेश मुक्ति युद्धमा सक्रिय सहभागी बने । धेरै माक्र्सवादी समूहहरुले पाकिस्तानबाट स्वतन्त्रताको आन्दोलनमा भाग लिए । स्वतन्त्र बंगलादेशमा वर्गीय असमानता र आर्थिक विभेदको ठाउँमा केही न केही समाजवादी प्रकारको सिद्धान्त लागु होला भन्ने ठानेर त्यो आन्दोलनमा लागेका थिए ।
१९७५ मा बंगलादेशले स्वतन्त्रता प्राप्त ग¥यो । त्यसपछि कम्युनिस्ट आन्दोलनले एकपछि अर्को सरकारले सिर्जना गरेका चुनौतीहरुको सामना गर्नु प¥यो । सुरुमा नयाँ सत्ताको नेतृत्व गरेका शेख मुुजिवर रहमानले आलंकारिक रुपमा समाजवादको कुरा गरे तर उनले साँचो अर्थमा समाजवादलाई पछ्याउने काम गरेनन् । उनको आलोचना भयो । माक्र्सवादीहरु अरु विभाजित रहँदै गए, केही समूहहरु मूलधारको राजनीतिक दलहरुसित संलग्न भए भने केही क्रान्तिकारी विचारमा आबद्ध भए ।
आधुनिक बंगलादेशमा कम्युनिस्ट आन्दोलन अस्तित्वमा छ तर यसको ऐतिहासिक उचाइको तुलनामा कमजोर भएको छ । थुप्रै वाम पार्टी र संगठनहरुले मजदुरको अधिकार, सामाजिक न्याय, साम्राज्यवाद विरोधी नीतिको वकालत गर्दछन् तर अवामी लिग र बंगलादेश नेश्नलिष्ट पार्टी (वि.एन.पि)द्वारा प्रभुत्व कायम गरिएको विशाल राजनीतिक क्षेत्रभित्र वामपन्थी समूहहरुको प्रभाव सीमित मात्रामा छ । तर यी सबै व्यवधानका बाबजुद अहिले बंगलादेशमा बलियो कम्युनिस्ट आन्दोलन निर्माणको अवसर छ । अहिले हाम्रो पार्टीले सबै कम्युनिष्ट समूहहरुलाई एकताबद्ध गर्न प्रयास गरिरहेको छ । मजदुर अधिकार, भूमि सुधार, नवउदारवादी नीतिको विरोधका मुद्दाहरुका आधारमा आन्दोलन केन्द्रित गरिएको छ ।
० बंगलादेशको कम्युनिस्ट आन्दोलनमा के कति धाराहरु छन् ? संक्षिप्तमा जानकारी पाऊँ ?
–सन् १९२० मा स्थापना भएदेखि नै भारतीय उपहाद्वीपमा स्थापित पहिलो कम्युनिस्ट पार्टीले जनताको पक्षमा विभिन्न संघर्षहरुको नेतृत्व गर्दै आएको छ । १९६० को दशकदेखि विश्वव्यापीमा सोभियत धार र चिनियाँधारमा कम्युनिस्टहरु विभाजित भएका थिए र भारतीय उपमहाद्वीपमा पनि त्यही भयो । सोभियत धारले संसदीय बाटोबाट समाजवादमा जाने भन्यो र चिनियाँ धारले दीर्घकालीन जनयुद्धको बाटो रोज्यो । १९७२ को मुक्तियुद्धपछि अवामी लिगले नेतृत्व गरेको राष्ट्रवादी शक्तिबाट एउटा क्रान्तिकारी समूह विभाजित भयो र “हाम्रो लक्ष्य वैज्ञानिक ससमाजवाद हो ।” भन्ने घोषणा ग¥यो र जातीय समाजतान्त्रिक दल नामक स्वतन्त्र वामपन्थी आन्दोलनको गठन ग¥यो । राजनीतिक र रणनीतिक दृष्टिकोणमा भिन्नता भएकाले जातीय समाजतान्त्रिक दलबाट विभाजित भएर “समाजवादी पार्टी बंगलादेश” को गठन भयो । सोभियत धार र चिनियाँ धार दुवै तर्फका कम्युनिस्ट समूहहरु धेरै समूहमा विभाजित भएका छन् । एकपटक भूमिगत पार्टीहरुले गोरिल्ला युद्धको वकालत गरे तर ती सकिए । एउटा सोभियत संघ परस्त पार्टीले कम्युनिस्ट पार्टी विघटन गरेर शासक वर्गको पार्टी बाक्सालमा मिसिएको थियो । केही चिनियाँ धारपरस्त समूहहरु शासक वर्गको पार्टी वि.एन.पी.मा संलग्न भए । चिनियाँधार परस्त मजदुर पार्टी राजनीतिक रुपले पहिले नै फासिवादी सरकारमा संलग्न भयो र बदनामित भयो । जातीय समाजतान्त्रिक दल (व्ब्क्ब्म्) पनि विगतमा सरकारमा सहभागी भयो र विश्वास गुमायो ।
० बंगलादेशमा मजदुरको अवस्था र मजदुर अन्दोलनको अवस्था के छ ?
–बंगलादेशमा मजदुरवर्गको अवस्था निकै अप्ठ्यारो र गम्भीर छ । बंगलादेशको हरेक लोकतान्त्रिक आन्दोलनमा र भर्खरै भएको जनविद्रोहमा पनि मजदुर वर्गको निर्णायक भूमिका रहे पनि उनीहरुको अवस्थामा बिलकुलै परिवर्तन आएको छैन । बंगलादेशमा मजदुरहरुले लगातार कठोर चुनौतीहरुको सामना गरिरहेका छन् । राज्यको स्वामित्वमा रहेका कलकारखानाहरुलाई विस्तारै निजीकरण गरिएको छ, ती उद्योगहरु बन्द हुँदै गएका छन्, रोजगारीमा असुरक्षा बढ्दै गएको छ ।
० बंगलादेशमा किसान र किसान आन्दोलनको अवस्था के छ ?
–माक्र्सवादी दृष्टिकोणबाट हेर्दा बंगलादेशका किसानहरुको अवस्था निकै गम्भीर छ । ऐतिहासिकरुपले बंगलादेशको अर्थतन्त्र कृषिमाथि आधारित रहँदै आएको छ । कृषि क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो । किसानहरुको महत्वपूर्ण भूमिका रहेको भए तापनि उनीहरु व्यवस्थाबाट शोषणमा परेका छन् र सीमान्तीकृत भएका छन् । त्यसको प्रतिविम्व पुँजीवादी कृषि संरचनामा पर्न गएको छ । फकिर र सन्नास विद्रोह, निल विद्रोह, टंक र हाजङ विद्रोह जस्ता विद्रोहहरु ब्रिटिश औपनिवेशिक अवधिमा भएका थिए । बंगलादेशमा तेभागा आन्दोलन पनि किसानहरुको महत्वपूर्ण संघर्षका उदाहरण हुन् ।
० तपाईको पार्टीले प्यालेस्टाइन माथि इजरायलको आक्रमणलाई किन विरोध गरिरहेको छ ?
–प्यालेस्टाइनमाथि इजरायलको आक्रमणलाई हाम्रो पार्टीको विरोध साम्राज्यवादको विरोध, वर्गीय ऐक्यबद्धता औपनिवेशिक तथा पुँजीवादी शोषणको विरुद्ध संघर्षको सिद्धान्तमाथि आधारित छ । माक्र्सवादी विचारधाराले साम्राज्यवादलाई पुँजीवादको उच्चतम चरण मान्दछ । शक्तिशाली राज्यहरुले कमजोर इलाकामा त्यहाँका स्रोतहरुलाई नियन्त्रण र कब्जा गर्न तथा प्रभुत्व कायम गर्ने काम गर्दछ । इजरायल–प्यालेस्टाइन युद्धलाई अर्काको भूमिमा प्रवेश गरी बसेका उपनिवेशवादी र स्थानीय आदिवासी बीचको द्वन्द्वको रुपमा व्याख्या गर्ने गरिएको छ । इजरायलले पश्चिमा गठबन्धनको सहयोगमा आदिवासी प्यालेस्टाइनी जनतालाई दमन र विस्थापन गरेको छ । माक्र्सवादले मिहेनतकश वर्ग र उत्पीडित समुदायहरुको अन्तर्राष्ट्रिय ऐक्यबद्धतामा जोड दिन्छ । प्यालेस्टाइनीहरुले उनीहरुको भूमिमाथि इजरायलीको कब्जा, विस्थापन र आर्थिक कठिनाई व्यहोरिरहेका छन् । माक्र्सवादी–लेनिनवादी पार्टीले इजरायली सेनाको आक्रमणलाई विरोध गर्दछ किनभने तिनीहरुले प्यालेस्टाइनी कामदारवर्गमाथि असमानता, विस्थापन, अमानवीय उत्पीडन थोपरेका छन् ।
इजरायल–प्यालेष्टाइन द्वन्द्व पुँजीवादी र भू–राजनीतिक स्वार्थबाट संचालन भइरहेको अर्थमा पनि बुझ्न सकिन्छ । यसप्रकारको निरन्तर द्वन्द्वबाट हतियार र युद्ध सामाग्रीहरुको व्यापार भइरहेको छ । हाम्रो पार्टी सामाजिक न्याय, समानता र मानव अधिकारको संरक्षणको पक्षमा उभिन्छ । प्यालेष्टाइन विरुद्ध इजरायलको सैन्य आक्रमण, भूमि कब्जा, प्रतिबन्धको नीतिलाई हाम्रो पार्टीले आधारभूत मानव अधिकारको उल्लंघन र शान्ति तथा आत्मनिर्णयको अधिकार माथिको आक्रमण मान्दछ ।
० रुस र युक्रेन युद्धलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
–रुस र युक्रेन बीचको युद्धलाई साम्राज्यवादी स्वार्थहरु टकराइरहेको जटिल युद्धको रुपमा मूल्यांकन गर्न सकिन्छ र पुँजीवादी विस्तारको प्रयोगको रुपमा हेर्न सकिन्छ । यो केवल राष्ट्रहरुको द्वन्द्व मात्र हैन, सीमाका साम्राज्यवादी प्रतिद्वन्द्वीताको लक्षण पनि हो । रुसको युक्रेन माथिको आक्रमण उसको क्षेत्रीय प्रभुत्व र पश्चिमा शक्तिहरुको भूराजनीतिक प्रभुत्वलाई सन्तुलित गर्ने प्रयास समेत हो । अर्कोतर्फ अमेरिका र युरोपेली पुँजीवादी स्वार्थहरुद्वारा निर्देशित नेटोको विस्तार रुसको सिमानासम्म विस्तार भएको छ । माक्र्सवादी दृष्टिकोणबाट हेर्दा यो स्थिति भनेको साम्राज्यवादी शक्तिकेन्द्रहरुको टकराव हो, प्रत्येकले रणनीतिक स्वार्थ लिन खोजेका छन्, त्यसमा शक्ति र नियन्त्रणको पुँजीवादी महत्वकांक्षा प्रीतविम्वित भएको छ ।
यस युद्धलाई “प्रोक्सीद्वन्द्व” को रुपमा पनि बुझ्न सकिन्छ । रुस र पश्चिमा शक्तिहरुले नेतृत्व गरेको नेटोको स्वार्थको प्रतिस्पर्धा गर्ने युद्ध मैदान युक्रेन भएको छ । युक्रेनलाई नेटो देशहरुबाट उपलब्ध गराइएको व्यापक सैनिक सहयोग र आर्थिक सहयोगले रुस प्रभावित पूर्वी यूरोपमा उनीहरुको रणनीतिक स्वार्थलाई जनाउँदछ । माक्र्सवादी विश्लेषणमा, युक्रेनको सार्वभौमसत्ता निकै महत्वपूर्ण विषय हो । युद्धले ठूला पुँजीवादी देशहरुको सैन्य र आर्थिक शक्तिका लागि साधनको काम गर्दछ ।
० केही समय पहिले आइकोरको पाँचौं विश्व सम्मेलन सम्पन्न भएको थियो र त्यस सम्मेलनमा तपाईको पार्टीले पनि भाग लिएको थियो । त्यस सम्मेलनमा तपाईको पार्टीको भूमिका के रह्यो ?
–आइकोर (क्रान्तिकारी कम्युनिष्ट पार्टी र संगठनहरुको अन्तर्राष्ट्रिय समन्वय समिति) को पाँचौं विश्व सम्मेलनमा हाम्रो पार्टीले पनि भाग लिएको थियो । हाम्रो पार्टीले पहिलो पटक आइकोरको विश्व सम्मेलनमा भाग लियो । स्टालिन युगको अन्त्यपछि कम्युनिस्ट केन्द्रको अभाव रहँदै आएको छ । त्यसमा आइकोरले महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।
० अन्त्यमा थप भन्नु केही छ कि ?
–यस भन्दा बढी म आफ्ना कुरा राख्न चाहन्न । तथापि एउटा कुरा भन्न चाहन्छु कि नेपाली जनताको संघर्ष बंगलादेशका जनताका लागि ठूलो प्रेरणाको स्रोत हो । नेपालको राजनीतिक परिस्थितिले बंगलादेशका लागि शिक्षा हुन सक्छ ।
हामी आशा गर्दछौं कि नेपालका विभाजित कम्युनिस्ट समूहहरुको एकता हुनेछ र त्यस एकताले बुर्जुवा शासनलाई फ्याँक्ने छ र हिमालयको फेंदीमा शोषणरहित राज्य निर्माण गर्नेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित