– युवराज पन्थी
अध्यक्ष, माक्र्सवादी विचार मञ्च
० पुँजीवादी पार्टी वा संसदवादी कम्युनिस्ट पार्टीहरुले संसदीय प्रणाली वा लोकतन्त्र स्थापना भएको देशमा क्रान्ति भएका छैनन् । र त्यसैले क्रान्ति नेपालमा सम्भव छैन भन्छन् त्यसबारे तपाईको विचार ?
–क्रान्ति सम्भव छैन भन्ने कुरा गलत हो । क्रान्ति सम्भव छ । पहिलो कुरा त जसलाई यहाँ लोकतन्त्र भनिएको छ । सर्वहारा वर्गीय दृष्टिकोणबाट यो लोकतन्त्र नै होइन । गरीखाने वर्ग, उत्पीडित वर्गका लागि यहाँ लोकतन्त्र छैन । यहाँ पुँजीवादी अधिनायकवाद छ । क्रान्ति सम्पन्न भएपछि नै वास्तविक लोकतन्त्र वा जनताको प्रजातन्त्र स्थापना हुनेछ ।
कार्ल माक्र्सले यूरोपको सामाजिक अवस्थाको अध्ययन गरेर जुन देशमा पुँजीवादको उच्चतम विकास भएको हुन्छ । त्यो देशमा छिटो क्रान्ति सम्भव हुन्छ भन्नुभयो । माक्र्सको पालामा पुँजीवादले विश्वव्यापीरुप लिइसकेको थिएन । त्यो स्थितिलाई ध्यान दिएर माक्र्सले विकसित मुलुकमा पहिले क्रान्ति हुन्छ भन्नुभयो ।
लेनिनको समयसम्म आइपुग्दा पुँजीवाद एकाधिकार पुँजीवादमा विकास भएर साम्राज्यवादी रुप धारण गरिसकेको थियो । साम्राज्यवादी देशले उत्पीडित राष्ट्रहरुलाई शोषण गरेर अथाह सम्पत्ति थुपारेको हुन्छ । त्यसरी जम्मा भएको पैसा मध्येबाट आफ्नो देशमा बेरोजगार भत्ता, मजदुरहरुलाई बोनस, किसानहरुलाई अनुदान जस्ता सुविधा दिएर संघर्षमा वा विद्रोहमा जानबाट मजदुर, किसानलाई अलमलाईरहेको हुन्छ ।
त्यसैले आजको युग लेनिनवादी युग हो । लेनिनले भने झै साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । उत्पीडित राष्ट्रहरुलाई शोषण गरेर साम्राज्यवादी देशको शासकहरु बलियो भएका हुन्छन् । सबैभन्दा पहिले हामीले साम्राज्यवादी शोषणका नसाहरु काटिदिनु पर्दछ । उत्पीडित राष्ट्रहरुमा क्रान्ति सम्पन्न गर्नुपर्दछ । कार्लमाक्र्सले क्रान्ति पहिले विकसित राष्ट्रमा हून्छ भने पनि अब क्रान्ति विकसित राष्ट्रबाट भन्दा पनि उत्पीडित राष्ट्रबाट हुन्छ भन्ने लाग्छ ।
० नेपालमा नयाँ जनवादी क्रान्ति आवश्यक छैन । समाजवादी क्रान्ति गर्नुपर्दछ भन्ने विचार आएको त यहाँलाई थाहा नै छ । कतिपयले त नयाँ जनवादको कार्यक्रमलाई प्रतिगामी कार्यक्रम समेत भनेका छन् । यसबारे तपाईको विचार के छ ?
–नयाँ जनवादी क्रान्ति भनेको पुँजीवादी क्रान्ति हो । नयाँ जनवादी क्रान्ति आवश्यक छैन भन्ने कुरा त प्रतिक्रियावादी सत्तामा गएका र प्रतिक्रियावादी सत्तामा जाने वालाहरुको कुरा हो । क्रान्तिकारीहरुको त्यो कुरा हैन । नयाँ जनवादी क्रान्ति पूरा भयो भनेर केपी ओली, झलनाथ, माधव, प्रचण्डले भनेका छन् ।
हामी कम्युनिस्टहरुका लागि समाजवादी क्रान्ति वा साम्यवादी क्रान्ति प्रति पीर हुने कुरा भएन । त्यो त राम्रै कुरा हो । तर यहाँ नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्तिमा शत्रु र मित्र शक्ति फरक हुन्छन् भन्ने कुरालाई विर्सनु हुँदैन । नयाँ जनवादका बेलामा दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग शत्रु शक्ति हुन्छ । समाजवादमा पुँजीपति वर्ग शत्रु शक्ति हुन्छ । हामीले नयाँ जनवाद र समाजवादको भिन्नता छुट्टाचउन सक्नु पर्दछ ।
० वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व, सर्वहारा अन्तर्राष्ट्रवाद, माक्र्सवादको आधारभूत सिद्धान्त मानिन्छन् । तर तपाईले त वर्ग संघर्ष हैन सर्वहारा श्रमजीवी वर्गीय पक्षधरता नै आधारभूत सिद्धान्त हो भन्नुभयो । किन ?
–वर्ग रहँदासम्म वर्गसंघर्ष रहन्छ । दास समाज, सामन्ती समाज पुँजीवादी समाज र समाजवादी समाजमा वर्गसंघर्ष रहन्छ । स्टालिनले सर्वहारावर्गको सत्ता भएपछि शोभियत संघमा वर्गसंघर्ष छैन भन्नुभयो । त्यो उहाँको कमजोरी थियो । माओले आफ्नो व्यवहारबारे शीर्षकको आफ्नो दार्शनिक कृतिमा वर्गसापेक्षता वा वर्गीय पक्षधरतामा जोड दिनु भएको छ । वर्गसंघर्षको कुरा गरेर मात्र हुँदैन वर्गीय पक्षधरतामा जोड दिनुपर्दछ ।
०सोभियत संघ कालीन राज्यको स्वामित्वमा आधारित समाजवाद हैन सामुदायिक स्वामित्वमा आधारित समाजवाद हुनुपर्दछ अर्थात् राज्यले सम्पत्ति राख्नु हुँदैन, समुदायको मातहत स्वामित्व हुनुपर्दछ । यो भनाई पनि आएको देखिन्छ । यसबारे के भन्नुहुन्छ ?
–राज्यको स्वामित्व र समुदायको स्वामित्वलाई अलग अलग गर्न खोज्नु गलत हो । समुदायमा आधारित स्वामित्व मात्र कायम राख्ने कुरा साम्यवादमा मात्र सम्भव छ । जवसम्म समाजमा वर्गहरुको अस्तित्व हुन्छ त्यतिबेलासम्म राज्यसत्ता र सर्वहारावर्गको अधिनायकत्वको आवश्यकता हुन्छ । त्यसकारण राज्य र समुदायलाई छुटाउन मिल्दैन ।
० धर्मसम्बन्धी माक्र्सवादको आधारभूत सिद्धान्तलाई कसरी बुझ्नु पर्दछ ?
–कार्ल माक्र्सले “धर्म भनेको कामदार वर्गका लागि अफिम हो” भन्नुभयो । माक्र्सले भन्नुभयो तर व्याख्या गर्नु भएन । कम्युनिस्टहरुले माक्र्सको त्यस भनाईलाई विभिन्न प्रकारले अपव्याख्या गरेका छन् । तर एंगेल्सले माक्र्सको उक्त भनाइलाई पछि व्याख्या गर्नुभयो । एंगेल्सले के भन्नुभयो भने पहिले सर्वहारावर्गको आप्mनै पार्टी र सिद्धान्त थिएन । त्यस अवस्थामा धर्मले मजदुरवर्गका लागि अफिमले गर्ने काम ग¥यो । शरीरमा अत्यन्त दर्द (पीडा) महशुस भइरहेको बेला अफिम प्रयोग गर्ने हो भने त्यसले क्षणिक रुपमा भए पनि पीडाबाट राहत मिल्दछ । ठीक त्यसैगरी सर्वहारावर्गको पार्टी र सिद्धान्त निर्माण नभइसकेको अवस्थामा उनीहरुका लागि क्षणिक र अस्थायी रुपमा भए पनि राहत प्रदान गर्ने चीन धर्म थियो । तर अब वास्तविक मुक्तिका लागि सर्वहारा वर्गको पार्टी र सिद्धान्त अस्तित्वमा आइसकेपछि धर्मको आवश्यक छैन । त्यसरी धर्म आवश्यक नभएको कुरा एंगेल्सले स्पष्ट गर्नु भएको छ ।
० कम्युनिस्ट आन्दोलनलाई अतिवादी सोचले पनि अप्ठ्यारो पारेको छ भन्नुभयो । जस्तै ?
–अतिवादी सोंच र चिन्तन नीति, कार्यक्रम, व्यवहारमा प्रकट हुँदा त्यसले आन्दोलनलाई नै क्षति पु¥याउँदछ । जस्तै धर्म कै बारेमा हेरौं । धर्म मान्ने वा फरक धर्म मान्नेलाई दुत्कार्ने गरिन्छ । वैज्ञानिक तथ्यका आधारमा धर्मले अगाडि सारेका मूल्यमान्यता गलत हुन् भनेर प्रष्ट पार्ने कोशिश गर्नुपर्दछ । फरक विचार राख्ने वा धर्म मान्ने व्यक्तिहरुलाई पनि कम्युनिस्टहरुले आफ्नो मुख्य उद्देश्यका लागि सँगै लिएर हिंडाउन सक्नुपर्दछ । विगतमा नेकपा (मसाल) मा पार्टीको केन्द्रीय समितिले माओवादीलाई राजापरस्त भनेर निर्णय गरेको थिएन तर मोहनजीले राजापरस्त भनेर लेख लेखिरहनु हुन्थ्यो । पछि एकताकेन्द्रसित पार्टी एकता भएपछि नारायणकाजीले माओवादी जनयुद्धलाई सामाजिक फासिवादी प्रवृत्ति भन्नुभयो । मोहनजीले पनि नारायणकाजीको “सामाजिक फासीवादी” शब्द बोकेर हिंड्नु भयो । सामाजिक फासीवादी निकै गम्भीर कुरा हो । मैले सामाजिक फासीवाद भन्नु गलत हो भनेको थिएँ । मेरो कुरा सुनिएन । पछि (एकताकेन्द्र मसाल) बाट विभाजित भएर नेकपा (एकीकृत) बनेपछि मैले मोहनविक्रम र नारायणकाजीसित छुट्टिएपछि “सामाजिक फासीवाद” शब्द प्रयोग गर्नु गल्ती भयो भनौं भने । तर त्यो गल्तीलाई त्यसबेला पनि सच्चाइएन ।
कम्युिनस्टहरुले आफूलाई बढी हिंसात्मक देखाउन खोज्नु पनि अति हो भन्ने लाग्छ । शोषण, दमन रोक्नुपर्दछ, हामी कम्युिनस्टहरु शान्तिप्रिय हौं भन्नुपर्दछ । हामीले हाम्रा न्यायोचित अधिकार खोज्दा हामीमाथि विरोधी वर्ग र त्यो वर्गको सत्ताले हामीमाथि हिंसात्मक दमन गर्ने हुँदा हामीले आत्मरक्षाका लागि हिंसात्मक संघर्ष गर्न बाध्य हुनुपर्दछ । हामी निरपेक्ष रुपमा हिंसाका विरोधी हैनौं । यस्ता कैयौं अति प्रति सचेत हुनुपर्दछ ।
० अहिले प्रविधि नै मुख्य उत्पादक शक्ति हो भन्ने कुरा आएको छ । सुन्नु भएको छ ?
–विगतमा कुनै बेला यूरो कम्युनिज्ममा लागेकाहरुले यस्ता कुरा गर्थे । नेपालमा अहिले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले भन्ने गरेको छ । रकेट, कम्प्यूटर, एटम बम वा सामान्य उत्पादनको साधन सबै मानिसले नै निर्माण, प्रयोग र संचालन गर्ने हो । त्यसकारण प्रविधि नै उत्पादक शक्तिको प्रमुख पक्ष हो भन्न मिल्दैन ।
० नेपालको राजनीतिलाई कसरी हेर्नुभएको छ ?
–सर्वहारा वर्गीय राजनीतिक दृष्टिकोणबाट हेर्दा नेपालको राजनीति अत्यन्त गम्भीर अवस्थामा छ । अभूतपूर्व संकटमा छ । एकपटक राजा महेन्द्रले भनेका थिए नेपालीहरुमा नेपालीपन छैन । नेपालीमा नेपाली भावना छैन । आजको देशको अवस्था हेर्दा महेन्द्रको भनाईमा दुरदर्शिता रहेछ भन्ने लाग्छ । आफू सुुरक्षित भइन्छ भने अरु देश जानु पर्दछ भन्ने भावनाको विकास भएको छ । जनता मात्र हैन प्रधानमन्त्री भएको मानिसमा समेत त्यस किसिमको भावनाले काम गरेको छ भन्ने लाग्छ । वर्तमान प्रधानमन्त्री के.पी. शर्मा ओलीले कम्बोडियामा पैसा राखेको हल्ला चलिरहेको छ। प्रधानमन्त्री भएका व्यक्तिका बारेमा यति ठूलो हल्ला भइरहँदा उनी बोलेका छैनन् । उनले कम्बोडियालाई पत्र लेखेर वा कुटनीतिक माध्यमबाट कम्बोडियामा केपी शर्मा ओलीले पैसा राखेका छैनन् भनेर वक्तव्य निकाल्न लगाउन सक्थे । ओलीले पनि पैसा राखेको छैन भन्न सकेका छैनन् । मानौं राखेका रहेछन् भने अहिले यहाँ राखेको छैन भनेर वक्तव्य निकाल्दा त्यसैलाई आधार बनाएर पैसा खाइदिन पनि सक्ने भए । पैसा राखेका छन् वा छैनन् ? राखेका भए कति राखेका छन् त्यो हामीलाई थाहा हुने कुरा भएन । तर यो सबै मौनतालाई हेर्दा त्यहाँ केही न केही भएको छ भन्ने बुझिन्छ ।
० यस्तो अवस्थामा वामपन्थीहरुले के गर्नुपर्दछ ?
–सकभर एकताबद्ध हुनुपर्दछ । एकताको अर्थ जोडिनका लागि जोडिने हैन । निश्चित वैचारिक धरातल, निश्चित काम, योजनाका आधारमा एकता हुनुपर्दछ । मुख्यरुपले पार्टी एकतामै जोड दिनु पर्दछ । पार्टी एकता नहुँदासम्म वा पार्टी एकता हुन नसकेको अवस्थामा कार्यगत एकता वा संयुक्त मोर्चा बनाएर जानुपर्दछ ।
० कार्लमाक्र्सद्वारा लिखित पुस्तक “पुँजी भाग १,२,३” नेपाली भाषामा उल्था गर्नुभयो । तपाईकै मुखबाट सुनौं, पुँजी किन पढ्नु पर्दछ ?
–दर्शन, राजनीतिक अर्थशास्त्र, राजनीति, संस्कृति, संस्कार, समाज परिवर्तनको आधार यी सबै कुरा बुझ्नका लागि माक्र्सवाद पढ्नु पर्दछ । माक्र्सवादलाई साङ्गोपाङ्गोमा बुझ्नका लागि “पुँजी” पढ्नु पर्दछ । पुँजीको भाग १ मा पुँजीवादको बारेमा विश्लेषण गरिएको छ, भाग २ मा व्यवहारिक विषय र भाग ३ मा बढी सैद्धान्तिक विषय राखिएको छ र भाग ४ मा अतिरिक्त मूल्यको सिद्धान्तको विश्लेषण गरिएको छ । मैले अनुवाद गरेको भाग १,२ र ३ प्रकाशित भइसकेको छ र भाग ४ प्रकाशित भएको छैन । प्रकाशक भेटिएपछि भाग ४ पनि प्रकाशित हुन्छ ।
० तपाई हाँक साप्ताहिकको पूर्व कार्यकारी सम्पादक पनि हुनुहुन्थ्यो । हाँकलाई अहिले सल्लाह दिनुपर्दा के भन्नुहुन्छ ?
–हाँक साप्ताहिकलाई शोभाखर धनञ्जयले व्यक्तिगत पहलमा पंचायतकालमा स्थापना गर्नु भएको थियो । त्यसलाई पार्टीकरण गर्ने स्पीरिटका साथ स्थापना गर्नुभएको थियो । हाँक अध्ययनको स्रोत बन्नका लागि वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रयोगमा आधारित सामग्रीहरुलाई प्रकाशित गर्नुपर्दछ । सर्वहारा श्रमिक वर्गलाई फाइदा पुग्नेखालका विषयवस्तु हाँकले प्रकाशित गर्नुपर्दछ ।
० आगामी अध्ययनको योजना के हो ?
–कार्ल माक्र्सले लेखेको “पुँजी” लाई अहिले अंग्रेजी भाषामा नयाँ उल्था सहित प्रकाशित गरिएको रहेछ । जर्मनबाट पुरानो अंग्रेजी उल्था र अहिलेको नयाँ उल्थामा कति फरक छ ? मैले यसपटक अमेरिका जाँदा पुँजीको नयाँ अंग्रेजी अनुदित पुस्तक लिएको छु । कतै त्यसको सार र भावलाई तोडमोड गरिएको छ कि त्यसलाई तुलनात्मक अध्ययन गर्दैछु ।
० तपाईले नेतृत्व गर्नु भएको माक्र्सवादी विचारमञ्चको आगामी कार्यक्रम के छ ?
– बैठक बसेर आगामी कार्यक्रम बनाउँदै छौं । हाम्रो मञ्चका साथीहरु आ–आफ्ना काममा व्यस्तताका कारण पनि छिटो छिटो कार्यक्रम गर्न सकिएको छैन । आगामी लेनिन दिवस र पार्टी स्थापना दिवस मनाउने, नेपालको कम्युनिस्ट आन्दोलनको समीक्षात्मक कार्यक्रम राख्ने गरी योजना बनाउँदैछौं ।
० तीन पार्टीको एकीकरण गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भएको छ । यसलाई केही सुझाव छ कि ?
–यदि क्रान्तिकारी पार्टी नै बनाउने हो, क्रान्ति प्रति इमान्दार साथीहरुको एकता भएको हो भने पार्टीको संरचना भूमिगत बनाउनुपर्दछ । प्रतिक्रियावादका विरुद्ध लड्दा आफ्नो शक्ति देखाउनु हुन्न ।
वैचारिक धरातलका आधारमा पार्टीलाई अगाडि बढाउने प्रयास गर्नुपर्दछ भन्ने लाग्दछ । सम्पूर्ण क्रान्तिकारी शक्तिहरुलाई नजिक ल्याउने गरी व्यापक वैचारिक छलफल गर्ने मञ्चको निर्माण गर्ने विषयमा ध्यान दिइयोस् । कार्लमाक्र्सले विचार निर्माणका लागि वैचारिक संवाद समिति बनाएर छलफल चलाउनु भएको थियो । लेनिनले पनि विभिन्न समाजवादी समूहहरुका बीचमा छलफल चलाउनु भएको थियो । नयाँ ढंगले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन व्यापक वैचारिक मन्थनको आवश्यकता छ ।

