–संगीत
संयोजक, राजनीतिक संवाद थालनी
१. तपाईंहरूले लेनिन स्मृति शतवार्षिकी समारोह समिति नै बनाएर लेनिन स्मृति शतवार्षिकी मनाउनु भयो । समग्र शतवार्षीकि कार्यक्रमको समीक्षा कसरी गर्नु हुन्छ ?
सन् २०२४ मा विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको १०० वर्ष पूरा भएको छ । लेनिन सर्वहारा–श्रमजीवी वर्गका गुरु हुनुहुन्छ । रुसमा सन् १९१७ मा भएको क्रान्तिमार्फत् वैज्ञानिक समाजवाद एउटा सुन्दर व्यवस्था हो भन्ने प्रमाणित गर्ने अग्रणी नायक हुनुहुन्छ, उहाँ । गएको वर्ष संसारैभरिका कम्युनिस्ट क्रान्तिकारीहरुले लेनिनको स्मृतिको शतवार्षिकी मनाएका छन् । नेपालमा पनि माक्र्सवादी बौद्धिक, लेखक तथा संस्कृतिकर्मीहरुको पहलमा हामीले कमरेड निनु चापागाईंको संयोजकत्वमा ‘लेनिन स्मृति शतवार्षिकी, मूल आयोजक समिति’ निर्माण गरेर विभिन्न कार्यक्रम गरी मनायौं । शतवार्षिकी समितिले राजधानी काठमाडौं, गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको दाङमा गरी वैचारिक सांस्कृतिक प्रकृतिका आठवटा अलगअलग कार्यक्रम सम्पन्न गरिसकेको छ । अन्तर्राष्ट्रिय लेनिन सेमिनार, लेनिन काव्यगोष्ठी, आठ मार्च र लेनिन तथा आजको सन्दर्भमा लेनिनवाद विषयक गोष्ठीहरु ग¥यौं । यसमध्ये काठमाडौंमा भएको दुई दिवसीय ‘अन्तर्राष्ट्रिय लेनिन सेमिनार’मा नेपाल, भारत, चीन, बंगलादेशका लेनिनवादी राजनीतिकर्मी, लेखक तथा बौद्धिकहरुको कार्यपत्रसहितको विचारगोष्ठी उल्लेख्य थियो, त्यस गोष्ठीका कार्यपत्रहरुको संकलनलाई हामी स्मारिकामा छिटै प्रकाशन गर्दैछौं । त्यस्तै, लेनिनका ‘राज्य र क्रान्ति’, ‘साम्राज्यवादः पुँजीवादको उच्चतम अवस्था’, ‘माक्र्स र माक्र्सवाद’ पुस्तक पनि प्रकाशित गर्दैछौं । यसै सन्दर्भमा क्रान्तिकारी कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय संगठन ‘आइकोर’ले जर्मनीमा आयोजना गरेको ‘लेनिनका शिक्षाहरु जीवन्त छन्’ विषयक गोष्ठीमा शतवार्षिकी समितिका तर्फबाट कार्यपत्रसहित सहभागिता जनाउने काम भयो । अब आगामी अप्रिल २२ मा काठमाडौंमा विशेष सांस्कृतिक कार्यक्रम गरी समग्र शतवार्षिकी कार्यक्रम समापन गर्ने तयारी छ । समग्रमा भन्दा ‘लेनिन काम लाग्दैनन्’, ‘लेनिनले माक्र्स बुझेनन्’, ‘लेनिनको युग सकियो’ भन्दै नेपालमा लेनिनवादलाई निषेध गर्ने र लेनिनलाई क्रान्तिनायक र दार्शनिक होइन, बरु ‘तानाशाह’ वा इतिहासमा असान्दर्भिक पात्रका रुपमा विकृत पार्ने जुन काम भइरहेको थियो, शतवार्षिकी अभियानले त्यसविरुद्ध वैचारिक–सांस्कृतिक क्षेत्रबाट सशक्त प्रतिवाद गर्ने काम ग¥यो ।
२. आगामी अप्रिल २२ अर्थात् लेनिन दिवसका दिन विशेष सांस्कृतिक कार्यक्रम गर्ने भन्नुभयो । त्यो कस्तो प्रकृतिको कार्यक्रम हो ?
२२ अप्रिल पुष्पलालको नेतृत्वमा ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना भएको दिन हो र लेनिन दिवस पनि ! त्यस दिन हामीले मुख्यतः साङ्गीतिक साँझ (कन्सर्ट) गर्ने योजना बनाएका छौं । यो कार्यक्रम जनपक्षीय साङ्गीतिक ब्यान्ड ‘सुसेला सङ्गीत समूह’सँगको सहआयोजनामा सांस्कृतिक संस्थान, नाचघरको हलमा हुनेछ । यसमा नेपालका अग्रज जनसङ्गीतकर्मी रामेश, रायन, जीवन शर्मा, शरद पौडेल, माइला लामासहित सामना, इसास, रक्तिमजस्ता समूहका प्रस्तुति हुनेछन् । कार्यक्रममा विश्वप्रसिद्ध जनसङ्गीतकर्मी पिएरे दे गेतर, पल रब्सन, पिट सिगर, भूपेन हजारिकाका गीतसङ्गीतलाई ‘सुसेला’ ब्यान्डले नेपाली भर्सनमा प्रस्तुत गर्नेछ । संसार प्रसिद्ध गीतदेखि नेपालका समकालीन जनकलाकारको प्रस्तुति हुने भएकाले यो कार्यक्रम विशेष महत्त्वको हुने विश्वास गरिएको छ ।
३. तपाईं ‘राजनीतिक संवाद थालनी’ को संयोजक हुनुहुन्छ । यो संस्थाको परिचय दिनुपर्दा के भन्नुहुन्छ ?
नेपालमा पौने शताब्दी लामो कम्युनिस्ट आन्दोलनको एउटा चरण हामीले गुजारिसकेका छौं । अहिले हामी यस्तो संक्रमणकालीन अवस्थामा छौं, जहाँ हिजोका क्रान्तिकारी विरासत भएका शक्तिहरु संशोधनवादी कित्तामा पुगेर पुँजीवादको सेवक बनिसकेका छन् । नारामा नयाँ भाष्य बनाउन खोजिरहेका केही समूहहरु सारतत्वमा पुँजीवादी दर्शनलाई नै आत्मसात गरेर जान खोजेका देखिन्छन् । बदलिएको विश्वव्यवस्था, फेरिएको नेपाली समाजको चरित्र र नयाँ अन्तरविरोधहरुलाई सम्बोधन गर्ने गरी नयाँ चरणको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनले हामीलाई नवनिर्माणका लागि डाक हालेको छ । नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्मूल्याङ्कन र गम्भीर आत्मसमीक्षासहित नयाँ समाजवादी क्रान्तिका लागि सही ढंगको संगठन निर्माण (पार्टी निर्माण) अभियान आजको आवश्यकता बनेको छ । यही आवश्यकताको क्षेत्रमा पहलकदमी लिनका लागि र नयाँ चरणको वर्गसङ्ग्राम उठाउनका लागि प्रारम्भिक काम भनेको दार्शनिक, सैद्धान्तिक र कार्यक्रमिक तहबाट काम थाल्नु हो । हामीले त्यही कामको थालनीका लागि ‘राजनीतिक संवाद थालनी’ नामको मञ्च निर्माण गरेका हौं । यही मान्यताभित्र रहेर हामीले मुख्यतः वैचारिक–राजनीतिक र सांस्कृतिक क्षेत्रमा जनसङ्गठन, अध्ययन मञ्च (स्टडी सर्कल)हरु, सङ्गीत ब्यान्ड आदि निर्माण गरेर काम थालेका छौं । राजनीतिक र सांस्कृतिक क्षेत्रमा साझा मञ्च र संयुक्त मोर्चाहरुको गठन र सञ्चालनमा पनि भूमिका निर्वाह गरेका छौं । घोषित उद्देश्यपूर्तिका लागि आन्तरिक र बाह्य प्रकृतिका अध्ययन शृङ्खलाहरु र सार्वजनिक बहसहरु पनि चलाइरहेका छौं । देशभित्र र देशबाहिरका राजनीतिक कार्यकर्ताहरु, सामाजिक अभियानीहरु, क्रान्तिकारी बौद्धिकहरु र जनसंगठनकर्ताहरुबीच बहस सञ्चालन गर्ने र जनसंगठनका भ्रुणहरु विकसित गर्न पहल लिने उद्देश्यले सुरु गरिएको राजनीतिक अभियान हो – राजनीतिक संवाद थालनी ।
४. सांस्कृतिक क्षेत्रको कुरा गर्दा तपाईं ‘घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान’मा पनि आबद्ध हुनुहुन्छ । प्रतिष्ठानले अहिले के–कस्ता काम गर्दैछ ?
घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान साहित्यकार घनश्याम ढकालको रचनाकर्मलाई स्थापित गर्ने र वैचारिक विरासतलाई अगाडि बढाउने उद्देश्यले २०६९ सालमा स्थापित प्राज्ञिक प्रकृतिको संस्था हो । यसले एक दशकयता विचार गोष्ठी, प्रवचन, अन्तक्र्रिया, पुस्तक विमोचन, स्मृति दिवसजस्ता २० भन्दा बढी कार्यक्रम सम्पन्न गरिसकेको छ । घनश्याम ढकालको जीवन र रचनाको विवेचना गरेर झण्डै १०० जना व्यक्तिले लेखेको बृहदाकारको स्मृति ग्रन्थ र सुकुम शर्माले तयार गर्नुभएको ‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ पुस्तक प्रकाशित गरेको छ । उहाँका सम्पूर्ण रचनाहरुलाई क्रमशः प्रकाशित गर्ने योजनाअनुसार घनश्याम ढकाल रचनावलीका दुई खण्ड प्रकाशित भइसकेका छन् । पहिलोमा सौन्दर्यशास्त्रसम्बन्धी रचना समावेश छन् भने दोस्रोमा उहाँका सम्पूर्ण कथा समेटिएका छन् । तेस्रो रचनावलीका रुपमा समालोचना ग्रन्थ प्रकाशन गर्ने तयारी छ । आख्यानप्रधान पत्रिकाका रुपमा ‘कथालय’को पहिलो अङ्क पनि प्रकाशित भएको थियो । यसलाई भने निरन्तरता दिन सकिएको छैन ।
५. राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालमा तपाईं आबद्ध संस्था ‘प्रतिरोधः जनअधिकार आन्दोलन’ पनि एक सदस्य सङ्गठनका रूपमा छ । यो प्रकृतिको मोर्चा किन चाहिएको हो ?
साम्राज्यवादविरोधी आन्दोलन र विशेषतः एमसीसीविरुद्धको सडक सङ्घर्षका पृष्ठभूमिमा स्थापित भएको मोर्चा हो– राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल । त्यस अर्थमा यो मूलतः साम्राज्यवादविरोधी मञ्च हो । अवधारणापत्र तयार गर्दा हामीले नेपालमा प्रतिगमनविरोधी र साम्राज्यवादविरोधी क्रान्तिकारी कम्युनिस्टहरुको साझा मोर्चाका रुपमा यसलाई व्याख्या गरेका छौं । अहिले यसमा ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ ‘प्रतिरोधः जनअधिकार आन्दोलन’, ‘नेपाल कम्युनिस्ट पार्टी’, ‘अखिल नेपाल कम्युनिस्ट पार्टी’, ‘जनवादी मोर्चा नेपाल’ लगायतका पार्टी र संगठनहरु आबद्ध छन् । पछिल्ला दुई दशकमा नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको ठूलो हिस्सा संशोधनवादी र संसदवादी धारमा पतन भइसकेपछि सच्चा क्रान्तिकारी र साम्राज्यवादविरोधीहरुको ध्रुव कमजोर बनेको छ । संसदवादी र संशोधनवादीहरु साम्राज्यवादको दलालीमा आफ्नो शासन टिकाउनमा मग्न छन् । पछिल्ला दिनमा प्रतिगामी शक्तिले टाउको उठाउन खोजिरहेको छ । यस परिप्रेक्ष्यमा राष्ट्रिय क्रान्तिकारी मोर्चालाई क्रान्तिकारी ध्रुवको सशक्त, प्रभावकारी र संयुक्त आन्दोलनको मोर्चाका रुपमा अगाडि लैजानु आवश्यक छ ।
६. देशको वर्तमान राजनीतिक परिस्थितिको कसरी मूल्यांकन गर्नु हुन्छ ?
आज बेरोजगारी बेहद छ । शिक्षा–स्वास्थ्यजस्ता नागरिकका आधारभूत हक मुनाफाखोरका जिम्मा लगाइएका छन् । आधा करोडभन्दा बढी जनसंख्या आप्रवासी श्रमिकका रुपमा विदेशमा छ । विदेशी ऋण बढेको बढ्यै छ । बजारभाउ अनियन्त्रित छ । यो वास्तवमा पुँजीवादी अर्थव्यवस्थाले निम्त्याएको संकट हो । हरेक आर्थिक संकटले राजनीतिक संकटको रुप लिन्छ । त्यसले समाधानका लागि पनि राजनीतिक ‘मुभ’ खोज्छ । आज समयले त्यस्तो अग्रगामी ‘मुभ’ खोजिरहेको छ तर क्रान्तिकारी शक्तिको कमजोर उपस्थितिका कारण सतहमा पुनर्उत्थानवादी शक्ति र यथास्थितिवादी शक्ति बीचमै द्वन्द्व चलिरहेको छ ।
७. गणतन्त्रवादी र राजावादी वीचमा टकराव बढ्दै गएको देखिन्छ । के देश गृहयुद्धमा जान थालेको हो ?
सतहमा गणतन्त्रवादी र राजावादीका बीचमा देखिएको यो टकराव सारमा पुँजीपति वर्गभित्रकै अन्तरविरोध हो । राजनीतिक नेतृत्वमा देखिँदा परम्परागत सम्भ्रान्त वर्ग र नवसम्भ्रान्त वर्ग छन् । ज्ञानेन्द्र शाहले नेतृत्व गरेको वर्गले पनि देशभित्रका दलाल र बाह््य साम्राज्यवादी शक्तिकै आडभरोसा र उक्साहटमा शक्ति हत्याउन खोजेको स्पष्टै छ । संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरु पनि दलाल पुँजीवाद र साम्राज्यवादका प्रतिनिधि हुन् । यसले आज शासकवर्गबीचमा संकट असामान्य ढङ्गले चुलिएको छ भन्ने पुष्टि गर्छ । यतिखेर राजावादीका नाममा अगाडि आउन खोज्नेहरु खोलमा जे भए पनि अन्तर्यमा पुँजीवादी व्यवस्थाकै दलाल हुन् । आजको संकटलाई क्रान्तिकारी ढंगले समाधान गर्न क्रान्तिकारी शक्तिहरु धु्रवीकृत हुन जरुरी छ र सक्दो पहल लिन आवश्यक छ । तपाईंले भन्नुभएजस्तो देश तत्काल गृहयुद्धमा गइहाल्ने त देखिँदैन । तैपनि आजको व्यवस्थालाई अझै पछाडि धकेल्ने जुन दुष्प्रयासहरु भइरहेका छन्, तिनलाई रोक्न अग्रगामी शक्तिहरुबीच मोर्चाबन्दी आवश्यक छ ।
८. नेपालमा अहिले कम्युनिस्ट आन्दोलनभित्रको क्रान्तिकारी धार कमजोर देखिन्छ । यसलाई सबल, सुदृढ बनाउन के गर्नुपर्ने ठान्नुहुन्छ ?
पहिलो त, क्रान्तिकारी धार किन कमजोर भयो भनेर हामीले आफ्नो आन्दोलनको निर्मम र वस्तुगत ढङ्गले आत्मसमीक्षा गर्नैपर्छ । दोस्रो, बदलिएको विश्वपरिस्थिति र त्यसको सापेक्षतामा आजको नेपाली समाजको सही चरित्र विश्लेषण गर्नैपर्छ । तेस्रो, सही विचारधारात्मक, राजनीतिक, साङ्गठानिक र कार्यक्रमिक लाइनको निर्माण गर्नुपर्छ । र, चौथो, क्रान्तिकारी सङ्गठन र नेतृत्वको बलमा सही लाइनलाई कार्यान्वयनमा लैजाँदै व्यवहारद्वारा त्यसलाई समृद्ध गर्नुपर्छ । यी सबै कामका लागि क्रान्तिकारी शिविरभित्र छरिएर रहेका समूह, सङ्गठन, पार्टी र व्यक्ति–व्यक्तित्वहरुबीच सघन संवाद, निरन्तर सहकार्य र मोर्चाबद्ध सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ ।
९. नेपाली समाजको चरित्र र नेपाली क्रान्तिको कार्यदिशाबारे नेपाली कम्युनिस्ट आन्दोलनमा चलिरहेको बहसमा यहाँले आफ्नो मत राख्नुपर्दा के भन्नुहुन्छ ?
नेपाली समाज आज पुँजीवादी चरित्रको छ । नेपालमा २००७ साल, ०४६ साल र ०६३ सालमा भएका आन्दोलनहरु सारमा पुँजीवादी क्रान्तिका तीन धक्का हुन् । यसको अर्थ ती परिवर्तनहरु कम्युनिस्टहरुको अगुवाइमा भएका ‘नयाँ जनवादी क्रान्ति’ थिए भन्ने होइन । २०६३ सालयताको धेरै तथ्यहरुले हामीलाई भन्छन्– अब नेपाली समाज र राज्यको चरित्र सामन्ती वा अर्धसामन्ती छैन । यो आधारभूत रुपमा पुँजीवादी छ । २००६ साल वरपरदेखि सुरु भएको कम्युनिस्ट आन्दोलनको एउटा अध्यायको समाप्ति भएको छ र नयाँ अध्याय थालनीको चरणबाट हामी गुज्रिरहेका छौं । प्रतिगामी शक्ति वा सामन्तवादी धुरीले बेलाबखत टाउको उठाउन खोजेकै छ तर त्यो पनि देशभित्रको दलाल पुँजीपतिवर्ग र देशबाहिरको साम्राज्यवादी शक्तिको आडभरोसा लिएर सक्रिय हुन खोजेको कुरा छर्लङ्गै छ ।
तसर्थ, आज क्रान्तिकारी कम्युनिस्टहरुले आफ्नो कार्यदिशामा गुणात्मक विकास गर्नुपर्ने खाँचो अघिल्तिर छ । हिजो वर्गसङ्घर्षको अगुवाइ गरेको क्रान्तिकारी धाराको एउटा मूलहिस्सा तीव्र वेगमा दक्षिणपन्थी विचलनमा पुग्यो र पुँजीवादी व्यवस्थाकै गतिलो द्वारपालमा परिणत भएको छ । यस्तो अवस्थामा क्रान्तिकारीहरु सैद्धान्तिक अस्पष्टतामा बस्न मिल्दैन । दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, समाज–विज्ञान र नयाँ समाजवाद, पार्टी निर्माणको सिद्धान्त, सर्वहारा सांस्कृतिक क्रान्तिजस्ता मालेमावादी सिद्धान्तमा विकसित सङ्घटक पक्षहरुलाई दह्रोसँग आत्मसात् गरेर मात्रै नयाँ क्रान्तिकारी आन्दोलन निर्माण गर्न र युगानुकूल कार्यदिशा तर्जुमा गर्न सकिन्छ । यहाँनिर कमरेड माओत्से तुङले अक्टुबर क्रान्तिलाई उदाहरणका रुपमा अघि सार्दै पुँजीवादी देशमा सर्वहारा पार्टीको अभिभाराबारे प्रस्तुत गर्नुभएको विश्लेषण विशेष मननीय छ । माओले ‘युद्ध र रणनीतिका समस्याहरु’ नामक निबन्धमा भन्नुभएको छ, ‘मजदुरहरुलाई शिक्षित पार्नु र लामो समयको कानुनी सङ्घर्षद्वारा शक्ति निर्माण गर्नु र यसरी अन्तिम रुपले पुँजीवादको तख्ता पल्टाउने तयारी गर्नु पुँजीवादी देशहरुका सर्वहारा वर्गको पार्टीको अभिभारा हो । यी देशहरुमा लामो कानुनी सङ्घर्ष गर्ने, संसदलाई एउटा मञ्चको रुपमा उपयोग गर्ने, आर्थिक र राजनीतिक हडतालहरु गर्ने, ट्रेड युनियनहरु गठन गर्ने र मजदुरहरुलाई शिक्षित तुल्याउने सवाल उत्पन्न हुन्छ ।’ आज नेपाल विश्वपुँजीवादको अङ्ग बनिसकेको छ तसर्थ क्रान्तिकारीहरुले माओको शिक्षाअनुसार कार्यदिशा निर्माणमा सबैभन्दा बढी मिहिनेत गर्नुपर्नेछ । किनभने सबैभन्दा क्रान्तिकारीले नै सबैभन्दा सही निष्कर्ष निकाल्नुपर्नेछ । छरिएका र टुटफुट भएका क्रान्तिकारीहरुका बीचमा कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षाका बारेमा र वर्तमान नेपाली समाजको चरित्रका बारेमा सबैभन्दा बढी अध्ययन र मन्थन हुन आवश्यक छ । आन्दोलनभित्रै देखिएको अन्यौल, द्विविधा, हताशा र छटपटीबाट मुक्ति पाउने सही उपाय पनि आत्मसमीक्षा र अन्तरमन्थन नै हो । नेपाली समाजमा क्रान्तिकारी संकट छ अर्थात् क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल छ तर आत्मगत परिस्थिति कमजोर छ । भन्नुको मतलब सही र सशक्त क्रान्तिकारी कम्युनिस्ट पार्टी छैन । तसर्थ, कार्यदिशा निर्माण गर्दा पनि पार्टी निर्माणको कार्यभारलाई केन्द्रमा राख्नुपर्नेछ र विचारधारात्मक सङ्घर्षलाई प्राथमिकता दिनुपर्नेछ ।

